Friday, December 23, 2011

‘पागल बस्ती’ पढेर सरुभक्तलाई भेट्दा


प्रतीक्षाको फल
गत वर्ष साउनमा लमजुङ् यात्राका क्रममा रुबिना (श्रेष्ठ) दिदीलाई नजिकबाट चिनेपछि उहाँसँग अनलाइन कुराकानीको क्रम बढ्दै गएको थियो । कुराकानीका क्रममा साहित्यका प्रसङ्ग आउने बित्तिकै उहाँ मलाई सरुभक्तको ‘पागल बस्ती’ पढ्न सिफारिस गर्नुहुन्थ्यो । “बरु किताब किन्न मन नलागे मैरै दिउँला, पढेर फिर्ता गर्नू”, एक दिन उहाँले भन्नुभयो । त्यसबिच मैले केही पटक उहाँसँग त्यो पुस्तक मागेँ । उहाँले सायद् त्योभन्दा धेरै पटक मेरा नाममा त्यो पुस्तक पठाउनुभो होला । तर मेरा हातमा उहाँको त्यो पुस्तक गत कार्तिक ७ गते मात्र आइपुग्यो, चेतना (तुलाचन)जी मार्फत् । (फिर्ता चै गरेको छैन है अझैसम्म पनि !)
‘पागल बस्ती’लाई मैले ‘पढ्न सिफारिस गरिएका पुस्तकहरू’को सूचीमा गत वर्ष नै राखेको थिएँ, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’सँगै । हुन त म पढ्न चाहेर पनि आजसम्म पढ्ने बानी विकास गर्न नसकेको मान्छे भन्छु आफूलाई । ‘जीवन काँडा कि फूल’लाई आफ्नै गतिमा पढिसकेर पर्ल एस् बक्को ‘द गुड अर्थ’ भ्याउँदासम्म भने मलाई मैले पढ्ने अर्को पुस्तक छान्न हतार भइसकेको थियो । यसबिचमै अनपेक्षित रूपमा ‘पागल बस्ती’ हात प-यो ।