Thursday, May 6, 2010

बन्दको ब्लग

“देशै बन्द छ भने म खुला हुनुको के अर्थ ?” मैले अस्ति अल्छीलाग्दो पारामा फेसबुक स्ट्याटस् लेखेँ । साँच्चै नै, यो बन्दमा दिक्क लागेको छ । 
पहिलो कारण, बन्द लामो अवधिको भयो । यदि बन्द नभएको भए मेरो दिन पूरै दौडधुपमा बित्ने थियो, पढाइ र विभिन्न साना–ठुला कामहरूमा । तर अहिले, थाहा पाइहाल्नुभयो होला नि । घरबाट बाहिर निस्कन पनि पाएको छैन । कहाँ जाने ? कसलाई भेट्ने ? के गर्ने ? कसरी जाने ? किन जाने ? त्यसैले, दिउँसोभरि घरमा बस्छु । मन लागे पढ्छु, मन लागे टिभी हेर्छु, मन लागे फेसबुक चलाउँछु, मन लागे कम्प्युटरमा अन्य काम गर्छु, केही गर्न मन नलागे सुत्छु । 
तर पनि मैले यति फुर्सद पाउँदा पनि ब्लगमा नलेखेको भने धेरै भइसक्यो । बन्दको बेला किन हो ब्लग लेख्न मनै लागेन । के विषयमा लेख्ने ? दिमागमा बन्दबारे केही पनि छैन । बन्दबारे के लेख्ने ? सबैले भनिरहेकै छन् कि बन्दले दिक्क लागिसक्यो । मैले पनि त्यो फेरि भनिरहनुपर्ने आवश्यकता छ र ? ती आयोजक र आयोजकका अन्धसमर्थकबाहेक कसलाई पो बन्द रमाइलो भयो होला र ? त्यसैले त प्रतिकार सुरु भइसकेको छ । 
हुन त, यति लामा बन्द नभएका होइनन् । २०६२÷६३को आन्दोलन योभन्दा धेरै नै लामो थियो । तर, त्यो बेलाको बन्द र अहिलेको बन्दमा धेरै फरक छ । त्यसबेला आम जनता आन्दोलनकारी थिए, आज निश्चित पार्टीका कार्यकर्ता आन्दोलनकारी छन् । त्यस बेला माग राज्यव्यवस्था र कानुनकै परिवर्तन थियो, आजको माग (बन्द गर्नै नसुहाउने, भन्नै लाजलाग्दो) प्रधानमन्त्री परिर्वनको छ । त्यतिबेलाको आयोजक बहुदलीय थियो, यति बेलाको आयोजक एउटा दल मात्र हो । आयोजकले ‘जनआन्दोलन’ भने पनि यो जनआन्दोलन त होइन नै, किनभने यसका आयोजक र सहभागीले जनआन्दोलनको जस्तो समग्र जनताको प्रतिनिधित्व गर्दैनन् । 
हुन त, आन्दोलन प्रजातन्त्रिक अधिकारको प्रयोग हो, तर पनि लाग्छ यो प्रजातन्त्रका लागि होइन । अस्ति एक जना राजनीतिलाई मेरो भन्दा नजिकबाट बुझेका आदरणीय व्यक्तिसँग बन्दबारे कुरा भएको थियो । उहाँले सुरुमा “ठिकै छ, आन्दोलन गरून्, यो प्रजातन्त्रको विषय हो” भन्नुभो । अनि, मैले “के अहिलेको आन्दोलन सफल भयो भने प्रजातन्त्र बलियो हुन्छ” भनेर सोधेँ । उहाँले भन्नुभयो, “बलियो त के हुन्थ्यो भाइ, उल्टै कति गुणा कमजोर हुने हो !”   
मेरो आशा यो बन्द छिट्टै टुङ्गियोस् भन्ने हो । हिजो फेरि फेसबुकमा नयाँ स्ट्याटस् हालेको छु, “बन्द कहिले सकिने रहेछ, कसैलाई केही थाहा छ ?” अहिलेसम्म कसैले पनि केही उत्तर दिएको छैन । म भने त्यही प्रश्नको उत्तर पर्खेर बसेको छु ।