Friday, March 22, 2013

औलाभन्दा सियोको पिर

फोटो : एटमको फेसबुक एकाउन्टबाट

नेत्र एटम (२०२६, मानपुर, दाङ्) नेपाली भाषा तथा साहित्यका क्षेत्रमा एक परिचित व्यक्तित्व हुनुहुन्छ । उहाँ पेसागत रूपमा काठमाडौँमा रहेका त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग तथा जनमैत्री बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ । साहित्यका क्षेत्रमा उहाँका कविता, समालोचना तथा गजल विधामा विभिन्न पुस्तकहरू प्रकाशित छन् । समालोचनातर्फ ‘उपन्यासको विश्लेषण’, ’उपन्यास सिद्धान्त र नेपाली उपन्यास’, गजल विधामा ‘भित्र कतै दुख्छ भने’, तथा ‘सीमान्त आकाश : स्रष्टासितको अन्तर्यात्रा’ नामको निवार्ता (निबन्ध र अन्तर्वाताको संयुक्त स्वरूप) उहाँका केही चर्चित कृतिहरू हुन् । उहाँ यसबाहेक करिब तीन दर्जन शैक्षिक पाठ्यपुस्तका लेखक हुनुहुन्छ । ‘तन्नेरी’, ‘रजनी’, ‘खसानी’ र 'The Bud' जस्ता पत्रिकाहरूमा पनि उहाँको संलग्नता छ । यसरी राष्ट्रको शिक्षा, भाषा तथा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएबापत उहाँले नवकविता प्रतिभा पुरस्कार (२०५१), उत्कृष्ट निबन्ध पुरस्कार (२०५४), हृदयचन्द्रस्मुति समीक्षा पुरस्कार (२०६०), नन्द प्रज्ञा पुरस्कार (२०६६) लगायतका पुरस्कारहरू प्राप्त गर्नुभएको छ । हाल बल्खुमा बस्दै आउनुभएका एटमको बाल्यकालका विविध अनुभवहरू यस पटकको बालककालका कुरामा समेटिएको छ । 

मेरो जन्म २३ मङ्सिर, २०२६ मा दाङ् जिल्लाको मानपुरमा भएको हो । बुबा टीकाराम सुवेदी तथा आमा कमला सुवेदीको छोराको रूपमा मेरो जन्म भएको हो । मेरो बुबाका दुई श्रीमतीमध्ये मेरी आमा जेठी हुनुहुन्थ्यो । म आमाका लागि सातौँ तथा बुबाको लागि एघारौँ सन्तान थिएँ । सबै गरेर हामी दाजुभाइ–दिदीबहिनी १३ जना थियोँ । यस प्रकार हाम्रो परिवार सामान्यतः ठुलो नै थियो । हामी दुबै आमाका छोराछोरीहरू पछिसम्म पनि सँगै बस्योँ । मेरा केही दाजुदिदीहरू मभन्दा धेरै ठुला नै थिए । उनीहरूभन्दा बरु उनीहरूका छोराछोरी (भान्जाभान्जी, भतिजाभतिजी) पो मेरा साथी हुन्थे त । आर्थिक तथा सामाजिक रूपमा हाम्रा् परिवार मध्यम वर्गाीय नै थियो । कमाएकोले खान ठिक्क पुग्थ्यो । 
म छ वर्षको उमेरमा पहिलोपटक स्कुल भर्ना भएको हुँ । तर त्यसभन्दा अगाडिको एक वर्षदेखि नै म नियमित स्कुल जान्थेँ, र कक्षा एकमा पढ्नुपर्ने सबै पढिसकेको थिए । मैले श्री मा.वि., मानपुरमा सात कक्षासम्म पढेँ । त्यसपछि भने स्कुल जान नै धेरै दुःख गर्नुपर्ने भयो । कक्षा आठमा पढ्दा म दुई घण्टा हिँडेर श्री सिद्धरत्ननाथ नमुना मा.वि., नारायणपुर जानुपथ्र्यो । हुन त नजिकै अर्को स्कुल पनि थियो, तर त्यहाँ जान पनि खोला तर्नुपर्ने भएकाले मेरा लागि टाढाको स्कुल नै रोजियो । मैले कक्षा नौ र दस भने सदरमुकाम घोरहीको पद्मोदय पब्लिक व्यवसायी स्कुलमा पढेँ । यो हाम्रो जिल्लाकै एक ठुलो स्कुल थियो । एउटा कक्षामै तीन सय जना विद्यार्थी हुने भएकाले सय–सय जनाको तीन सेक्सन बनाइएको थियो । 
म स्कुलमा राम्रो विद्यार्थी नै थिएँ । हुन त मलाई म सात कक्षासम्म कस्तो पढ्थेँ थाहा थिएन, तर पनि फेल भने कहिल्यै पनि भइँन । कक्षा आठदेखि नै ममा पढ्नुपर्छ भन्ने भावना आएको हो । म कक्षा आठमा भने पहिलो भएँ । त्यसपछि भने मलाई आफू अरूभन्दा जान्ने रहेछुजस्तो लाग्यो र अझ थप मेहनत गर्न प्रयास गरेँ । कक्षा नौमा म आफ्नो सेक्सनमा पहिलो भएँ भने एस्एल्सीमा त स्कुलबाट नै सर्वप्रथम भएँ । मैले कक्षा आठभन्दा पछाडिका सबै मार्कसिटहरू आजसम्म पनि सुरक्षित राखेको छु । 
(म पढाइमा राम्रो रहेछु भन्ने कुरा पछि मैले अचम्मसँग महसुस गरेको छु । नेपालीमा एम्ए पढेपछि मैले एम्एड् पढ्ने विचार गरेँ । त्यसअगाडि नै मैले समालोचनाको एउटा पुस्तक लेखिसकेको थिऐँ । त्यो पुस्तक एम्एड्को पाठ्यक्रममा राखिएको रहेछ । म कक्षामा आउने सूचना पाएपछि उक्त विषय पढाउने शिक्षकले नै स्वयं लेखकलाई नै उसैको पुस्तक पढाउन अफ्ठ्यारो लाग्न सक्ने बताउनुभएको मैले सुनेँ । त्यसपछि म एक दिन मात्र उहाँको कक्षामा गएँ, त्यसपछि उहाँको कक्षामा नै गइँन । एक दृष्टिकोणबाट हेर्दा यो मेरो जीवनको एक ठुलो उपलब्धि होजस्तो लाग्छ । ) 
म स्कुलबाट दौडिदै घर आउँथेँ । अनि आमाको दुध खान्थेँ । आमाको दुध छुटाउनका लागि मेरो बुबाले निकै प्रयास गर्नुपरेको थियो । उहाँ आमाको स्तनमा एउटा तितो झार लगाइदिनुहुन्थ्यो । मलाई आज यो कुरा सम्झदा रमाइलो र अचम्म लाग्छ । 
मेरो एक जना दाइ गणित विषयको शिक्षक हुनुहुन्थ्यो । साथसाथै उहाँको साहित्यमा पनि एकदम रुचि थियो । दाइकै सङ्गतले मेरो पनि साहित्यमा रुचि बढ्न लागयो । ममा स्कुल पढ्दा नै बेलुका गृहकार्य सकेपछि जासुसी उपन्यास पढ्ने बानी बस्यो । आजकाल नेपाली साहित्यमा जासुसी उपन्यासको त्यति धेरै लोकप्रियता नभएपनि त्यस बेला भने त्यस्ता कृति खुब लोकप्रिय मानिन्थे । म दीर्घबाबु, एस्पी आशा आदिले लेखेका जासुसी उपन्यास बडो चासोपूर्वक पढ्थेँ । 
म कक्षा सातसम्म हुँदा गणित विषय अत्यन्त गाह्रो लाग्थ्यो । दाइ रोल्पाको स्कुलमा गणित पढाउने शिक्षक भइसक्नुभएको थियो । उहाँ घरमा आएको बेला मलाई गणितको अभ्यास गराउनुहुन्थ्यो । एक पटक घरमा आएको बेला मलाई बीजगणितको भाग गर्न लगाउनुभयो, तर मैले जानिनँ । त्यसपछि दाइले मेरो पेटमा चिमोट्नुभयो, जसले गर्दा मलाई अत्यन्त दुख्यो । त्यसको इखले मैले बीजगणितमा विशेष मेहनत गरेँ । किताबमा भएका सबै अभ्यासहरू खोजीखोजी पूरा गर्न लागेँ । मैले अरू धेरै बदमासी भने खासै गरिनँ । बुबा कडा स्वभावकै मान्छे भएपनि मलाई डर भने लाग्दैनथ्यो । एक पटक बदमासी गर्दा भने मैले बुबाबाट कारबाही भोग्नुपरेको छ । बुबाले बारीको बारमा बकाइना रोप्नुभएको रहेछ । मैले केही साथीहरूलाई त्यहाँ लिएर गएँ, अनि बकाइनाका हाँगा भाँचेर त्यसलाई घोडा बनाएर चढ्दै घरतिर आयौँ । बुबाले ती हाँगाहरू कहाँबाट ल्याएको हो भनेर सोध्नुभयो, मैले बताएपछि उहाँले डोरीले मेरा हातखुट्टा बाँधिदिनुभयो । त्यपछि उहाँले भैसी बाँध्ने किलामा लगेर बाँध्नुभयो र त्यही बकाइनाको लठ्ठीले पिट्नुभयो । त्यसपछि भने मैले त्यस्तो बदमासी गरिनँ । 

हामीले खेल्ने खेल भनेको कपर्दी मात्रै हुन्थ्यो त्यस बेला । स्कुलमा क्यारम बोर्ड देखे पनि छुन र खेल्न भने पाइएन । गोठालो जाँदा खेतमा कपर्दी खेल्थ्यौँ । कहिलेकाँही हामी साथीहरूबीच दौड पनि गथ्र्यौँ । अलि पछि दाइले चेस खेल्न सिकाउनुभयो । उहाँले झन् चेस बोर्ड नै किनेर ल्याइदिएपछि त म दाइसँगै राती अबेरसम्म चेस खेलेर बस्थेँ । यद्यपि, खेलमा मेरो धेरै रुचि भने भएन । 
दसैँको बेला मानपुरमा रामलीला हुन्थ्यो । त्यस समय रामायणका घटनाहरू अभिनय गरेर देखाइन्थे । नाचगान, बजाना पनि हुन्थ्यो । यसका लागि भारतदेखि कलाकारहरू आउँथे । रातभरि नै बजार लाग्थ्यो । हामी साथीहरू मिलेर घुम्न जान्थ्यौँ । कहिलेकहिले जम्मा गरेर राखेको एक—दुई रुपैयााले फलफूल किनेर खान्थ्यौँ । अरू बेला त हाम्रा् गोजीमा एक सुका पनि हुन्नथ्यो । यस्ता मेलाहरूबाट मैले हुलमुलमा कसरी बच्ने भनेर सिकेँ । रामलीला अर्कातर्फ स्वतन्त्रताको सङ्केत थियो । हामी अरू बेला बजार घुम्न पाउँन्नथ्यौँ, त्यसमाथि राती त सौच्नै सकन्नथ्यो । यस स्वतन्त्रताको दुरुपयोग गर्दै चुरोट सेवनजस्तो नराम्रो बानी पनि विकास हुन सक्थ्यो । तर म भने यसतर्फ सधै सजग रहेँ, र अम्मलको रूपमा कुनै पनि बानी विकास गरिनँ । 
यसबाहेक प्रजातन्त्र दिवस, पञ्चायत दिवस (१ पुस), राजारानीको जन्मदिनजस्ता अवसरहरूमा कार्यक्रमहरू गरिन्थे । हामी स्कुलबाट -यालीसहित सहभागी हुनुपथ्र्यो । कार्यक्रममा नारा लगाउँदै सहभागी हुन्थ्यौँ, विभिन्न झाँकीहरू हेर्न पाइन्थे । कार्यक्रम सकिएपछि हामी बजार घुम्थ्यौँ । उखु, बदाम, सुन्तला आदि किनेर खान्थ्यौँ । कहिलेकाँही त सर्कसहरू पनि हुन्थे । 
विसं २०३३ सालमा बुबाले हाम्रा् गाउँमा नै पहिलोपल्ट रेडियो ल्याउनुभयो । स्वभावैले उहाँ अलिकति बढी सौखिन हुनुहुन्थ्यो । काठमाडौँमा आउनुभएको एक जना छिमेकीमार्फत् तीन सय रुपैयाँको ‘नेसनल पानासोनिक’ ब्रान्डको रेडियो किन्दा सबै गाउँलेहरू दङ्ग परे । रेडिाये ल्याइदिन जिम्मा दिइएको छिमेकीले रेडियो साँझतिर घरमा ल्याउनुभएको थियो । त्यसपछि बुबाले रेडियोमा ब्याट्री हालेर बजाउन सुरु गर्नुभयो । अनि त धेरै गाउँले जम्मा भए । मैले भिड व्यवस्थापन गर्न पालेको काम गर्नुपर्ने भयो । यस क्रममा मैले आफुलाई मन नपरेका केही बालबालिकालाई त आउनै दिइँन ।   मलाई त्यस दिन साँझ सात बजे सुनेको समाचारको धुन अझै पनि याद छ । त्यति बेला दुर्गानाथ शर्माले समाचार भन्नुभएको थियो । त्यपछि मैले नियमित रेडियो सुन्न पाएँ । रेडियोका कार्यक्रमहरूमध्ये यज्ञनीधि दाहालको ‘साहित्य संसार’ कार्यक्रम खुब मन पथ्र्यो । रेडियो जति सुने पनि हामी छुन भने पाउन्नथ्यौँ । कपडाको खोल हालेर साना मान्छेले नभेट्ने ठाउँमा राखिएको हुन्थ्यो यो रेडियो । बुबा, दाजुहरूले खोल्नुभए न सुन्ने हो ! तर कहिलेकाँही भने दाइले रेडियो खेतमै बोकेर पनि जानुहन्थ्यो । 
हाम्रो परिवार अरू ब्राह्मण परिवारभन्दा उदार थियो । हुन त बुबा आवश्यक परेको बेला मामाघरतिर पूजापाठ गराउन जानुहुन्थ्यो, तर हाम्री कान्छी आमा भने मगर हुनुहुन्छ । त्यसकारण हाम्रा घरमा छुवाछुतलगायत केही कट्टर प्रवृत्तिहरू भने हटिसको थिए । मेरो व्रतबन्ध पनि कुनै तडकभडक र भव्यताबिना मन्दिरमा गएर गरिएको हो । अरू चाडपर्व भने सामान्य रूपमा मनाइन्थे । मलाई दसैँ, तिहार र तिजको बढी सम्झना छ । बुबा दसैँमा नौ दिन नै चण्डी पाठ गर्नुहुन्थ्यो । मलाई छन्दोबद्ध रूपमा श्लोकहरू पाठ गरेको एकदम मन पथ्र्यो । साथै बुबा तिजको पूजा गराउन मामाघर जानुहुन्थ्यो । त्यतिबेला म पनि उहाँसँगै जान्थेँ र भगवान्लाई चढाएको प्रसाद खान्थेँ । 

हाम्रो परिवार थारू समुदायको बीचमा बसेको हुनाले माघीमा पनि विशेष चहलपहल हुन्थ्यो । माघे सङ्क्रान्तिको समयमा थारूहरू चार–पाँच दिनसम्म माघी मनाउँछन् । यसका लागि उनीहरू चामलको पिठो उसिनेर ‘ढिक्री’ नामको एक परिकार बनाउँछन् । यो करिबकरिब नेवार समुदायमा प्रचलित ‘योमरी’जस्तै हुन्छ । हामी ढिक्री मागीमागी खान्थ्यौँ । 
मेरो एक जना दिदीको म सानै छँदा मैले थाहै नपाई बिहे भइसकेको थियो । पछि २०३७ सालमा कान्छी दिदीको बिेहे गरेर पठाउँदा भने म धेरै बेर रोएको थिएँ । मेरो दाइदिदीहरू मभन्दा धेरै जेठा भएकाले उहाँहरूसँग मेरो मित्रवत् सम्बन्ध भएन । बरु, दाजुदिदीका छोराछोरीहरू (भान्जाभान्जी, भतिजाभतिजी)को लागि पो म साथी बनेँ त ! यसबाहेक मेरा आत्मीय साथीहरू खासै कोही पनि भएनन् । सायद् यो मेरो आफ्नै कमजोरी होला । म पहिल्यैदेखि नै अन्तर्मुखी थिएँ, आवश्यक नपरी कोहीसँग पनि नबोल्ने । साथै अर्काका लागि मरीमेटी काम गर्ने बानी पनि कहिल्यै भएन । हुन त साथी नै नभएका भने होइनन् । तर पनि उनीहरूसँग संवेदनशील आत्मीयता भने मेरो भएन । कक्षा चारदेखि सातसम्म सँगै पढेको एक साथी धनबहादुर ओलीसँग भने मेरो सम्बन्ध अझै पनि राम्रो छ । 

मेरो ठुल्दाइ शिक्षक भएपनि बहुप्रतिभाशाली हुनुहुन्थ्यो । उहाँ धेरै कुरामा सिपालु हुनुहुन्थ्यो । उहाँ गीत गाउनुहुन्थ्यो, हार्मोनियम र मुरली बजाउनुहुन्थ्यो । सारङ्गी आफै बनाउनुहुन्थ्यो । तर जत्ति कोसिस गरे पनि उहाँले राम्रोसँग सारङ्गी बजाउन भने जान्नुभएन । अझ अनौठो कुरा त उहाँ आफ्नो परिवारका लागि आफै लुगा सिलाउन सक्नुहुन्थ्यो । एक पटकको कुरा हो । म सायद् चार वर्षको थिएँ होला ।  म दाइको लुगा सिउने कल चलाउँदै थिएँ, असावधानीबस सियो मेरो औलामा प¥यो । एकातर्फ सियो भाँच्चियो भने अर्कातर्फ औलाबाट रगत बग्न लाग्यो । तर मलाई भने आफ्नो औलाभन्दा सियोको पिर भो । दाइको आग्रहअनुसार म बजार जान हिँडिसक्नुभएको बुबालाई सियो पनि किनेर ल्याउन भन्नका लागि खेततिर दौडिएँ । बुबा निकै पर पुगिसक्नुभएको रहेछ । बल्लबल्ल बुबालाई भेटेँ । आफूभित्रको डरलाई जबर्जस्ती दबाएर रुँदै बुबालाई सियो ल्याउन भनेँ । तर बुबाले भने मलाई धेरै माया गर्नुभयो । उहाँले मलाई पनि बजारतर्फ लग्नुभयो । बजारमा लगेर एउटा हलुवाइको पसलमा बर्फी खुवाउनुभयो । त्यो दिन मैले पहिलोपल्ट बुबाको माया प्रष्ट महसुस गरेँ । मैले बाल्यकालमा खासै मिठाई खान नपाउने भएकाले त्यस दिन खाएको मिठाईको स्वाद मैले सधै सम्झिरहेँ । 

माइलो दाइ पनि साहित्यमा रुचि राख्ने मानिस हुनुहुन्थ्यो । उहाँले पछि ‘यादव प्रेमी’को नाममा धेरै कविता लेखनुभयो र प्रसिद्धि पनि पाउनुभयो । स्कुल पढ्दा भइरहने कविता प्रतियोगिताहरूमा उहाँ भाग लिनुहुन्थ्यो र प्रायजसो पहिलो वा दोस्रो हुनुहुन्थ्यो । उहाँले पुरस्कारस्वरूप पाउनुभएको किताबहरू पढ्दा ममा पनि साहित्यतर्फ लाग्ने रुचि बढ्यो । यी दुई जना दाइहरू नै मेरो बाल्यकालका प्रेरणास्रोत हुनुहुन्थ्यो । 
दाजु त्यति बेला रोल्पामा पढाउनुहुन्थ्यो । घरबाट जान तीन दिन लाग्थ्यो । सायद्, दाइलाई त्यहाँ एक्लो महसुस हुँदो हो । त्यसकारण पनि उहाँ घरमा बारम्बार चिठी लेखिरहनुहुन्थ्यो । उहाँले लेखेको चिठीमा त्यहाँको स्थानीय रहनसहन, बाटो, भौगोलिक अवस्था, संस्कृति, खानपान, भाषा, जीवनका कठिनाइलगायत जीवनका सबै पक्षहरूको सजीव व्याख्या र चित्रण गरिएको हुन्थ्यो । त्यस्तो संवेदनशील चिठी सुनेपछि आमा रुनुहुन्थ्यो । म पनि संवेदनशील हुन्थेँ । पछि मैले विश्लेषण गर्दा दाइमा रहेको साहित्यिक प्रतिभा चिठीमा पोखिएको मैले महसुस गरेँ । त्यस्तो चिठी देखेपछि मलाई पनि केही लेखौँलेखौँ लाग्थ्यो । सायद् म साहित्यमा लाग्नुमा मेरा दाइका चिठीहरूको पनि भूमिका छ । 
यसबाहेक अगाडि नै उल्लेख गरिएका रेडियो नेपालका ‘साहित्य संसार’जस्ता कार्यक्रमहरू, तथा बिबिसी, रेडियो पेकिङ्, चिन र रेडियो मस्को, रुसका कार्यक्रमहरूले पनि मलाई साहित्यतर्फ बढाए । पछि मैले रेडियो नेपालका फर्माइसी कार्यक्रमहरू (अनुरोध गरिएका गीतहरू बजाइने कार्यक्रमहरू)मा चिठी लेख्न लागेँ । मस्को रेडियोको प्रभावले मैले एस्एल्सीपछि रुसी भाषा पनि सिकेँ । साथमा, जासुसी उपन्यासले पनि मलाई साहित्यको नजिक बनाए । 
मैले आज बाल्यकाललाई सम्झिदा मेरो बाल्यकाल दबाबमा बितेकोजस्तो लाग्छ । म सधैँ परिवारकै निगरानीमा हुन्थेँ । अलिकति स्वतन्त्र वातावरणमा हुर्किन नपाएकाले मलाई आफू अन्तर्मुखी भएजस्तो लाग्छ । यसले गर्दा निर्णय गर्ने सीप पनि राम्रोसँग विकास हुन पाएन, किनकी मैले कहिल्यै निर्णय गर्नै परेन । मेरा लागि परिवारले नै सबै निर्णय गरिदियो । यदि मलाई केही स्वतन्त्र छोडिदिएको भए, राम्रो निर्णय गर्ने क्षमता विकास गर्थेँ कि ? म फेरि बालक बन्न पाएँ स्वतन्त्रता चाहन्थेँ । 

म आजका बालबालिका पनि स्वतन्त्र बनून् भन्ने चाहन्छु । उनीहरू अरूले बनाएको बाटो पछ्याउने मात्र नहून्, यान्त्रिक नबनून् । उनीहरूले स्वतन्त्रता पाऊन्, किनकी स्वतन्त्रताले सृजनशीलता बढाउँछ । उनीहरूमा पर्याप्त आत्मविश्वास होस्, भित्रैदेखि सक्षम बनून् । उनीहरू आफ्नो बारेमा निर्णय गर्न सक्षम बनून् । उनीहरूले कसैसँग ढाँट्नु नपरोस्, गाली खानु नपरोस् । 
बालबालिकाले बालककालमा नै आफ्नो जीवनको लक्ष्य स्पष्ट गर्नुपर्छ । लक्ष्य स्पष्ट गरिसकेपछि त्यसलाई भेट्नका लागि अगाडिको बाटोमा हिँड्नुपर्छ । लक्ष्य नै स्पष्ट भएन भने तयो बाटो गाह्रो हुन सक्छ । तर, धेरै मानिसहरूको लक्ष्य एकातर्फ र उनीहरू हिँडिरहेको बाटो अर्कातर्फ भइरहेको छ ।  त्यस्तो फरक राम्रो होइन । अबका बालबालिकाको लक्ष्य एकातर्फ, बाटो अर्कातर्फ नहोस् । 

२०६७/४/७
diwapyak@gmail.com

No comments:

Post a Comment