प्रतीक्षाको फल
गत वर्ष साउनमा लमजुङ् यात्राका क्रममा रुबिना (श्रेष्ठ) दिदीलाई नजिकबाट चिनेपछि उहाँसँग अनलाइन कुराकानीको क्रम बढ्दै गएको थियो । कुराकानीका क्रममा साहित्यका प्रसङ्ग आउने बित्तिकै उहाँ मलाई सरुभक्तको ‘पागल बस्ती’ पढ्न सिफारिस गर्नुहुन्थ्यो । “बरु किताब किन्न मन नलागे मैरै दिउँला, पढेर फिर्ता गर्नू”, एक दिन उहाँले भन्नुभयो । त्यसबिच मैले केही पटक उहाँसँग त्यो पुस्तक मागेँ । उहाँले सायद् त्योभन्दा धेरै पटक मेरा नाममा त्यो पुस्तक पठाउनुभो होला । तर मेरा हातमा उहाँको त्यो पुस्तक गत कार्तिक ७ गते मात्र आइपुग्यो, चेतना (तुलाचन)जी मार्फत् । (फिर्ता चै गरेको छैन है अझैसम्म पनि !)
‘पागल बस्ती’लाई मैले ‘पढ्न सिफारिस गरिएका पुस्तकहरू’को सूचीमा गत वर्ष नै राखेको थिएँ, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’सँगै । हुन त म पढ्न चाहेर पनि आजसम्म पढ्ने बानी विकास गर्न नसकेको मान्छे भन्छु आफूलाई । ‘जीवन काँडा कि फूल’लाई आफ्नै गतिमा पढिसकेर पर्ल एस् बक्को ‘द गुड अर्थ’ भ्याउँदासम्म भने मलाई मैले पढ्ने अर्को पुस्तक छान्न हतार भइसकेको थियो । यसबिचमै अनपेक्षित रूपमा ‘पागल बस्ती’ हात प-यो ।
चाडपर्वको बेला भएकाले खासै अरु केही काम पनि थिएनन् । अतः मैले पाएको भोलिपल्टै उक्त पुस्तक पढ्न सुरु गरेँ । तर मेरो छिटो पढ्ने बानी नभएकाले करिब २० दिनमा मात्र त्यो सकियो ।
‘पागल बस्ती’भित्र पसेपछि
उपन्यासको पहिलो भागमा यात्रारत कथा वाचकले घान्द्रुक र घान्द्रुक जाने बाटोबारे कुरा गर्दा नै म लोभिएको थिएँ, किनकि घान्द्रुक मैले भ्रमण गरेकामध्ये एक उत्कृष्ट ठाउँ लागेके थियो मलाई । तर दोस्रो भागसम्म आइपुग्दा यी यावत् कुरा त गौण भइसकेका थिए नै, स्वयं कथा वाचक पनि कथा क्रमबाट बाहिरिसकेको थियो । यस हिसाबमा, उपन्यासको कथा वाचन शैली मलाई प्रयोगमूलक लाग्यो । भाषा शैली भने सामान्य नै छ । बिचबिचमा फुटकर अङ्ग्रेजी वाक्य प्रयोग गरिएका छन्, सायद् संवादलाई थप जीवन्त बनाउन ।
समग्रमा कथावस्तु राम्रो नै लाग्यो मलाई । तर यसले मलाई “पागल बस्ती, पागल बस्ती” भन्ने गरी “पागल” नै बनाउन भने सकेन । चाखलाग्दा घटना श्रृङ्खला हुँदाहुँदै पनि भारी दर्शनले मलाई अल्मल्यायो । बिचबिचमा यसको कथानकलाई बढी ध्यान दिने कि दर्शनलाई भन्नेमा म धेरै रनभुल्लमा परेँ ।
उपन्यासका मुख्य पात्रहरू — (आदिगुरु) प्रशान्त र (आदिमाता) मार्थाको मानसिक अवस्था र तिनमा हुने बारम्बारका परिवर्तन नै मेरो अध्ययनका केन्द्र विन्दु बने । मूलतः शीर्ष विपरीत दर्शन बोकेका र बारम्बार वादविवाद गरिरहने यी दुईको मानसिक अवस्थामा भने मैले धेरै नै समानता पाएँ । दुबै एकअर्काप्रति असन्तुष्ट थिए र दुबैमा आफ्न विगतका प्रति पश्चाताप थियो । अनि दुबै ती पश्चातापलाई सामना गर्दै असन्तुष्टिलाई मेट्ने उपयुक्त बाटोको खोजीमा थिए । मार्थालाई पहिला प्रेम गर्ने प्रशान्त मार्थाको अस्वीकारपछि आदिगुरुका रूपमा बदलिएको थियो । उता मार्थालाई प्रशान्तले छाडेपछि मात्र प्रेमको मूल्य ज्ञान भएको थियो, अनि त्यसैले प्रशान्तलाई भेट्न “आदि” बस्ती पुगेकी थिइन् । अब मार्थाको प्रस्तावलाई अस्वीकार गर्ने पालो प्रशान्तको थियो । यसभन्दा अघि बढेर प्रशान्तले मार्थालाई “आदिमाता”का रूपमा ‘देवत्वकरण’ गरिदिएको थियो । यस क्रममा मार्थाका सोचाइ र आदिगुरुका व्यवहारप्रति उसका प्रतिक्रियाहरू साँच्चै नै चाखलाग्दा लागे मलाई ।
आदिगुरुका नाममा प्रकट भएको “अहंवादी” दर्शन मैले भने राम्रोसँग बुझ्नै सकिनँ । अतः उपन्यासको दार्शनिक पाटोबारे अहिले चर्चा नगर्नु नै उपयुक्त होला ।
पात्रगत रूपमा भन्नुपर्दा मैले मुख्यभन्दा पनि गौण पात्रहरूलाई बढी मन पराए । प्रशान्त र मार्था लगायत सबै पात्र मानवीय कमजोरीले जेलिएका थिए, जुन यथार्थ प्रतिनिधित्वका लागि आवश्यक नै थियो । त्यसैले कसैलाई पनि मैले “आदर्श पात्र” भन्न सकिनँ । हुन त कुनै पनि पुस्तकमा त्यस्तो आदर्श पात्र हुनुहुन्न भन्ठान्छु र खोज्न पनि चाहान्नँ । ‘पागल बस्ती’का पात्रहरूमध्ये मलाई सबभन्दा असल, निर्दोष, अनुकरणीय र साँच्चै नै ‘वाह !’ भन्न लायकको लागेको पात्र भने प्रेममूर्ति हो । उसमा कुनै त्यस्तो ठुलो मानवीय कमजोरी देखिँदैन र उसको आत्म समझदारी साँच्चै नै प्रशंसनीय छ ।
धेरै पाठकहरूलाई जस्तै उपन्यासको अन्त्यले मलाई पनि छक्क बनायो । प्रशान्तले मार्थालाई बस्ती छाड्न र अन्यसँग विवाह गर्न दिएको सुझाव साँच्चै नै निरपेक्ष पाठकका लागि अनपेक्षित नै हुन्छ । अर्कातर्फ, बस्ती विघटन गर्ने प्रशान्तको त्यसपछिको निर्णय झन् बढी अनपेक्षित छ ।
सरुभक्तसँग भेटघाट
‘पागल बस्ती’ पढिसकेको एक हप्ता पनि नपुग्दै एउटा कार्यक्रमका लागि म पोखरा जाने भएँ । बसमा सहयात्री परिन्. — नौडाँडाकी अनिता । आफ्नो घर पोखरा नजिकै भएको बताएपछि मैले कहाँ भनेर सोध्दा उनले ‘नौडाँडा’ भनिन् । “यो त सरुभक्तको ‘पागल बस्ती’को सेटिङ् होइन भन्या !” भन्दै हामीले केही समय यसै पुस्तकका बारे चर्चा ग-यौँ ।
बाटामै अरु सहयात्री इन्जिना र निरुले अनितालाई सरुभक्तको ठेगाना थाहा छ कि भनेर सोधे । कुरा गर्दै जाँदा इन्जिनाले सरुभक्तलाई सम्भव भए भेट्न चाहेको बताइन् भने अनिताले पनि सकेसम्म सहयोग गर्ने वचन दिइन् । पछि थाहा भयो, इन्जिनाले सरुभक्तका धेरै कृति पढेकी रहिछिन् अनि उनकी एकदमै प्रशंसक (फ्यान) । पोखरा पुगेकै साँझ इन्जिना र निरुले विभिन्न व्यक्तिको सहयोगमा सरुभक्तको फोन नम्बर पत्ता लगाए । सुरुवाती प्रयास असफल भए पनि अन्ततः लेखकसँग त्यसै साँझ कुरा गरे र भोलिपल्ट साँझका लागि भेटघाट तय गरे ।
भर्खरै ‘पागल बस्ती’ पढिसकेको अनि साहित्य र साहित्यकारका जीवनबारे केही रुचि भएकाले इन्जिनाको सरुभक्त भेट्ने प्रस्तावलाई मैले सुरुदेखि नै साथ दिइरहेको थिएँ । भोलिपल्ट साँझ सरुभक्तलाई भेट्ने भनेपछि मलाई पनि रमाइलो लागेको थियो ।
तर हामी जुन कार्यक्रमका लागि पोखरा गएका थियौँ, त्यसैका लागि भोलिपल्ट (कार्तिक २९ गते) बिहानदेखि बेलुकासम्म नै व्यस्त भयौँ । फलतः सरुभक्तले हामीलाई समय दिइसक्दा पनि हामीले आफ्नै इच्छालाई समय दिन सकेनौँ । हामी त दुःखी थियौँ नै, सायद् इन्जिना नै सबभन्दा बढी दुःख र रिसको मिश्रित भावमा थिइन् ।
तैपनि उनीहरूले फेरि प्रयास गरे अनि भोलिपल्ट (कार्तिक ३० गते) बिहानका लागि भेटघाट तय भयो । हाम्रो कार्यक्रमलाई असर नपरोस् भनेर हामी जतिसक्दो बिहानै सरुभक्तकहाँ जाने भयौँ ।
अघिल्लो रातको रमझमले ११ बजे मात्र सुत्ने बेला हुँदा भोलिपल्ट बिहान साढे ५ बजेसम्मै म मस्त निदाएको थिएँ । निरु ढोका ढक्ढकाउन आइपुगिन्, अनि मात्र म बिउँझिएँ । हतारहतार तयार भएर बिहान ६ बजे नै म, इन्जिना, निरु, अनिता र रूपेश होटलबाट निस्कियौँ । अनितालाई गाइड बनाउँदै आधा बाटो हिँडेर आधा बाटो माइक्रोबाट तय गर्दै ७ बज्न केही मिनेट बाँकी रहँदा हामी सरुभक्तको ‘ओम् निवास’ पुग्यौँ । तर सरुभक्त त उठेकै रहेनछन् । करिब १५ मिनेटको प्रतीक्षापछि बल्ल हामी बसेको कोठामा उनको आगमन भयो ।
नमस्कारको आदानप्रदानपछि हामी सबैले आआफ्नो परिचय दियौँ । नाम, ठेगाना, पढाइ आदिको कुरा हुँदा ५मध्ये ४ जना साहित्यको विद्यार्थी भएको थाहा पाउँदा उनी खुसी भए । साहित्यमा रुचि बसेपछि जुन भाषाको साहित्य पढे पनि उही हो भन्दै उनले आफूले विद्यार्थी कालमा विज्ञान त्यागेर अङ्ग्रेजी साहित्य पढेको सम्झिए । उनको यो विचारले हामी चारै जनालाई समेटेको सम्झेर हामी झन् खुसी भयौँ । ठेगानाका क्रममा अनिताले नौडाँडा भनेपछि सरुभक्तले उनको नाम नै अब “पागल बस्तीकी अनिता” राखिदिए । उनले अब पोखरा आएका बेला प्रत्येक पल्ट सरुभक्तकहाँ आउने निम्तो समेत पाइन् ।
चियापानसँगै कुराकानी चल्यो । इन्जिनाले उनका धेरै पुस्तक पढेकाले धेरै प्रश्न उनले नै सोधिन् । त्यसपसिछ, निरु, म र अनिताले क्रमशः कम । रूपेशले खासै प्रश्न गरेनन्, सुनिमात्र रहे । मैले ‘पागल बस्ती’को अहंवादी दर्शन कतै लेखककै दर्शन त होइन भन्ने जिज्ञासा राखेँ । जवाफमा उनले सहमति जनाए र अहंवादी दर्शनमै केन्द्रित रहेर आफू अर्को गैर आख्यान कृतिको तयारीमा रहेको पनि बताए । यो दर्शनलाई विस्तृतमा नबुझेकाले मैले यसै सम्बन्धी थप प्रश्न गरिनँ । बरु छलफललाई नै उनका नाटकहरूतर्फ मोडेँ । साहित्यका अन्य विधाका तुलनामा नाटकका पाठक कम हुने तथ्यका जानकार नाटककारले नाटकबारे हामीले कुरा गर्दा उत्साह प्रकट गरे । अनि किन उनका नाटक बढी विज्ञान विषयक हुन्छन् भन्ने हाम्रो जिज्ञासामा उनले नेपाली भाषामा रहेको विज्ञान साहित्यको अभावलाई पूर्ति गर्न यस्तो गरेको बताए । विज्ञान पढेकाले विज्ञान नाटक लेखेको हाम्रो अनुमानलाई पनि उनले समर्थन गरे ।
यस बाहेक साहित्यकारलाई आइपर्ने चुनौतीहरूबारे बढी कुरा भए । ‘पागल बस्ती’को आधार भूमि नौडाँडाका बासिन्दाले “हाम्रो गाउँलाई पागल बस्ती बनायौ” भनेर आफूलाई आरोप लगाएको पनि उनले सम्झिए । तर आजभोलि भने त्यस्तो अवस्था नरहेको, बरु कतिपयले ‘पागल बस्ती’कै कारणबाट नौडाँडा थप परिचित बनेको आफूलाई सुनाएको पनि उनले बताए । त्यस्तै ‘तरुनी खेती’ उपन्यासको शीर्षकमै नारीवादी लगायतका धेरै बुद्धिजीवीले समेत आपत्ति जनाएको उनले सुनाए । तर त्यस कृति पढेपछि भने धेरै पाठकले उनको प्रशंसा नै गरेका रहेछन् ।
सायद् सरुभक्तको नाम लिने बित्तिकै धेरै जनाले उनको नाम किन र कसरी रह्यो भन्ने सम्बन्धमा आफूलाई जानकारी भए / नभएको बताउँछन् । बजारमा उनका नामबारे धेरै हल्ला चलेका होलान्, जसमध्ये केहीलाई हामीले पनि सुनेका थियौँ । तर सरुभक्तको नाम किन सरुभक्त भन्नेमा हामी सबै अन्योलमै थियौँ र यसलाई सम्बोधन गरिदिन निरुले आग्रह गरिन् । “मेरो नाम नै मेरो पहिचान हो, मेरो नाम नै मेरो अस्तित्व हो । मैले यो नाम किन र कसरी रोजेँ भनेर आजसम्म सार्वजनिक गरेको छैन र गर्दिनँ पनि ।” उनको यो गर्बिलो जवाफबाट हामीले यसबारे प्रश्न सोध्ने बाटो नै बन्द भएको महशुस ग-यौँ र विषयान्तर रोज्यौँ ।
मैले फेरि एउटा प्रश्न गरेँ, “चाइना कम्पनी” गीतबारे । “मेरो माया भन्दामा कस्तो छ, गिट्टी अनि बालुवा जस्तो छ”, गिट्टी अनि बालुवालाई मायाको ‘मेटाफर’का रूपमा प्रयोग गर्नुको अर्थ के ? (हुन त यही प्रश्नमा आधारित एउटा लेख मैले ‘कान्तिपुर कोसेली’मा पढिसकेको थिएँ । तैपनि थप केही थाहा हुन्छ कि भनेर फेरि सोधेको थिएँ । जवाफ दिने क्रममा लेखकले पनि उक्त लेखलाई सम्झिए ।) गिट्टी कुट्न र बालुवा चाल्न एउटा श्रमिकले गर्ने मेहनतलाई माया पाउन गरेको मेहनतसँग तुलना गरेको रे ! सरल भाषामा बुझ्दा, धेरै मेहनत गरेकाले मेरो माया (फल) मिठो हुनुपर्छ भन्न खोजिएको रे !
हामी पनि कस्ता ! लेखकलाई भेट्न जाने रे, तर एक टुक्रा कागज पनि साथमा नलिई । हिँड्ने बेला निरुले सङ्कोच मानीमानी उनको हस्ताक्षर मागिन् । अब सरुभक्तले हामीलाई अर्को कोठामा लगे, जहाँ किताब बाहेक केही थिएनन् । अनि हामी सबैलाई बाँडीबाँडी पढ्न भनेर एक एक पुस्तक दिए । सबैका पहिला पृष्ठमा आफ्नो हस्ताक्षर पनि दिए, “सप्रेम” सन्देशसँगै । हामीलाई ९ बजे कुनै पनि हालतमा होटल आइपुग्नु थियो । यति बेलासम्म ८ बजिसकेको थियो । त्यसैले हतारमा तय भएको यो भेटलाई हतारमा टुङ्ग्याउँदै हामी बिदा भयौँ ।
भेटघाट तय गर्न निरुले फोन गर्दा “म निरु” भनेपछि सरुभक्तले “अँ बहिनी ! भन, के छ तिम्रो खबर !” भने रे । के भएछ त भन्दा सरुभक्त भुक्किएछन्, कुनै परिचित बहिनीले फोन गरेको भ्रममा । भेटघाटको अन्त्यमा त्यो चर्चा हुँदा उनले अब नबिर्सने, बरु काठमाडौँ आएका बेला निरुलाई खबर गरेर हामीलाई भेट्ने अवसर दिने पनि बताए । ती दिन आउने हुन् कि होइनन् त्यो त अहिल्यै भन्ने स्थिति भएन ।
ट्याक्सीमा फर्कँदा बाटैमा सरुभक्तका केही मुक्तक पढेर रमाइलो गरियो । इन्जिना “अब यिनका प्रत्येक नयाँ पुस्तक खोजीखोजी पढ्छु” भन्दै थिइन् । हामी अरु भने नेपाली साहित्यमा पृथक् परिचय बनाएका साहित्यकारसँग प्रत्यक्ष कुराकानी गर्न पाएकामा त्यसैत्यसै मख्ख थियौँ ।
पौष ८, २०६८
nice to read this diwaker..and congratulations for meeting sarubhakta ..
ReplyDeleteधन्यवाद रुबिना दिदी । तपाईँको सहयोगमा नै यो सम्भव भएको हो ।
ReplyDeleteramilo laghyo..pheri sarubktha lai vetna man laghyo....
ReplyDeletekasto ramro alekh ho. lekhi rakhnus hai diwakar ji hami pani padirahun la.
ReplyDeletesagun
Ramro lekh waha ko kehi samagri khojne silsila ma yeha samma aaipuge ramailo lagyo.
ReplyDelete