Saturday, February 16, 2013

त्यागिएको योजनाका बाबजुत लेखिएको यो संस्मरण


समर्पण उहाँलाई नै
अब मनस्थिति नै यस्तो बनेको छ कि प्रत्येक यात्रा संस्मरणमा म उहाँलाई नै सम्झन पुग्छु । उहाँ अर्थात्, रुबिना (श्रेष्ठ) दिदी । परार लमजुङ् सँगै जाँदा उहाँले “यात्रा संस्मरण लेख है, दिवाकर” भनेर उक्साएपछि प्रायः नयाँ ठाउँतिर जाँदाका एक दिनभन्दा लामा यात्रालाई सकेसम्म संस्मरण बनाउने गरेको छु । सायद् समय अभावले केही छुटे होलान् ।

मेरो फेसबुक स्ट्याटसमा सितिमिती कमेन्ट नगर्ने उहाँले मेरो कार्तिक २०को स्ट्याटस “जीवनको पहिलो उडानका लागि उत्साही — धनगढीतर्फ”मा “सुरक्षित उडान होस् । संस्मरण आउँछ पक्कै भन्ने लागेको छ” भनेर कमेन्ट गर्नुभो । हुन त मलाई यो यात्राको संस्मरण त्यति लामो र चाखपूर्ण हुने विश्वास नै थिएन, किनकि तुलनात्मक रूपले छोटो समयको यस यात्राका सहयात्री मसँग त्यति निकटका थिएनन् । रमेश भिनाजु (रमेशकुमार पौडेल, हिमराइट्स) मात्र मैले पहिल्यै चिनेका एक जना हुनुहुन्थ्यो । तर उहाँ पनि अलिक पाको उमेरकै भएकाले रमाइलोकै लागि भने म सामान्यभन्दा बढी उत्साहित थिइँन । त्यसैले संस्मरणको सोच आए पनि योजना त्यागिसकेको थिएँ । तर आंशिक रूपमा रुबिना दिदीको कमेन्टले र आंशिक रूपमा आफ्नै मन बदलिएकाले फेरि लेख्दै छु, यात्रा संस्मरण लायक भए पनि नभए पनि ।

अर्कैका नाममा टिकट
तर कृपया रमेश भिनाजुको युवामैत्री ख्यालठट्टालाई कमजोर नसम्झिदिनुहोला । उहाँलाई मैले भेटेको आठ वर्ष भयो । म बाल्यकालदेखि नै नजिक रहेको संस्था सिविसमा रहेका युवराज घिमिरे र कमल चापागाईँका भिनाजु नाता पर्ने भएकाले सिङ्गो सिविसले नै उहाँलाई भिनाजु भन्थ्यो । त्यसै लहडमा म पनि उहाँलाई भिनाजु नै भन्छु ।
गत कार्तिक १६ गते बिहान काम विशेषले युवराज सरलाई फोन गरेको थिएँ । मेरा कुरा सकेपछि उहाँले “मैले नि तिम्लाई फोन गर्न लाग्याथेँ” भन्दै रमेश भिनाजुसँग धनगढी जाने प्रस्ताव गर्नुभयो । उहाँकै सुझाव अनुसार मैले भिनाजुलाई तत्काल फोन गरेँ र २० गते धनगढी जाने कार्यक्रम निधो भयो ।
भएछ के भने हिमराइट्ससँग सहकार्यरत संस्था बियोन्ड बेइजिङ् कमिटी (बिबिसी)ले महिला र बालबालिकाका सवालबारे सरकारी सरोकारवालासँग धनगढीमा सार्वजनिक सुनुवाइ गर्न लागेको रहेछ । बिबिसी र हिमराइट्सले यस्ता कार्यक्रम धेरै जिल्लामा गरिसकेछन्, जसका लागि एउटा निश्चित समूह रहेछ । यस समूहका टिपोटकर्ता (नोट टेकर) राजन महर्जन कार्य व्यस्तताले धनगढी जान नपाउनुहुने भएछ । अनि रमेश भिनाजुले त्यस कार्यका लागि मलाई सम्झनुभएछ । कस्तोसम्म भने, जिन्दगीमा पहिलो चोटि चढेको विमानको टिकट पनि अर्कैका नामको प-यो !

उड्न पलाएका पखेँटा
धेरैलाई सामान्य नै लागे पनि एअरपोर्टभित्र कहिल्यै नपसेको आफूलाई आकाशमा उड्नु ठुलै कुरा थियो । केके न होला भन्ने थियो । त्यसैले कार्यक्रमको विवरणभन्दा पनि मलाई विमान चढ्ने योजनाले नै बढी तानेको थियो कि जस्तो लाग्छ (नलजाइकनै भन्दिएँ मैले त !) । त्यसैले १६ गते बिहान कुरा भएपछि १८ गते दिउँसोसम्म कुनै खबर नपाउँदा मन कम्ता तुलबुल भएको थिएन । १९ गते हिमराइट्स अफिसमै भिनाजुसँग कुरा गरेपछि मात्र मन ढुक्क भएको थियो ।
कार्यक्रम र त्यसमा मेरो भूमिकाबारे विस्तृतमा बुझ्न १९ गते भिनाजुलाई भेटेँ । सार्वजनिक सुनुवाइका क्रममा उठ्ने सवाल र त्यसका जवाफलाई तत्क्षण कम्प्युटरमा टिपेर जवाफ दिने सरोकारवालाले त्यसमा हस्ताक्षर गर्ने गरी प्रतिबद्धता पत्र तयार गर्नु मेरो काम रहेछ । काम रमाइलो लाग्यो । त्यसै बेला सार्वजनिक सुनुवाइ चलाउने शिव अधिकारीसँग पनि परिचय भयो । रमेश भिनाजुले मलाई भोलि बिहान १० बजेको टिकट भएकाले ९ बजेतिरै एअरपोर्ट आउन भन्नुभयो । गेटमा भेटको सहमति भयो ।

बिचरा पहिलो अनुभव !
लौ न त भनेर २० गते बिहानै खाना खाएर सवा ८ बजे घरबाट निस्केँ । ९ बज्दा नबज्दै पुगिहालेँ । भिनाजुलाई फोन गर्छु त “भाइ, हामी त अफिसमै छौँ । साढे १०को टिकट हो, १० बजेतिर आउँछौँ” भन्नुहुन्छ । विकल्प नै के थियो र, “म कुर्छु” भन्नु बाहेक । १० बजेसम्म एअरपोर्ट बाहिरको सडकमा सुस्ताएँ । टिकट सिकट केही नभए नि अलि भित्रसम्म जान पाइन्छ भन्नेसम्म थाहा भएको भए पनि भित्रै घुमिन्थ्यो नि । त्यो थाहा नपाउनाले नि कम्ता लाज भएन ! पछि त रमेश भिनाजुहरू एअरपोर्टभित्र पसिओरी “भाइ, हामी त यहाँ आइसक्यौँ । खोइ त तपाईँ ?” भनेर फोन गर्नुहुन्छ । मैले अगिन गेट भनेको उहाँले आन्तरिक टर्मिनलको गेट बुझ्नुभएछ, जब कि म त बाहिरै थिएँ ।
बोर्ड हेर्दै र सोध्दै आन्तरिक टर्मिनल भेटेँ । (बाहिरबाट हेर्दै त्रिभुवन विमानस्थलका अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलबिच धेरै फरक पाएँ मैले ।) रमेश भिनाजुसँगै एक अपरिचित हुनुहुन्थ्यो, जो हिमराइट्स र बिबिसी दुबैका लेखापाल विजय महर्जन हुनुहुनछ भन्ने मैले हिजोको कुराकानीका आधारमा ठम्याइहालेँ । सुरुमै उहाँले मलाई कसैले एअरपोर्टमा नाम सोध्यो भने “राजन महर्जन भन्नू” भन्ने सम्झाउन रमेश भिनाजुलाई भन्नुभयो । तर मलाई कसैले पनि नाम के भनेर सोधेन, आनन्द !
सामानको सुरक्षा जाँचपछि भिडभाडपूर्ण प्रतीक्षालय पुग्दा करिब सवा १० बजेको थियो होला । विजय सर ‘बोर्डिङ् पास’ लिन लाग्नुभो । उहाँ भन्दै हुनुुहन्थ्यो कि १०ः५०को टिकट हो, एअरलाइनवाला भने धनगढीको उडान १२ः१०मा मात्र हुने भन्दै थियो । त्यस बेला शिव सर पनि आइसक्नुभएको थियो । उहाँहरू तिनै जना “तनावम् भवति” भन्दै एकअर्कालाई हेर्न लाग्नुभो । अब झन्डै २ घण्टा कुर्नुपर्ने भो । “खाना खाएको छैन, खान भ्याइने भो” भन्दै शिव सर र विजय सर बाहिर निस्कनुभो । रमेश भिनाजुले औषधी खानुपर्ने हुनाले बिहानै खाना खाइसक्नुभो रे । उहाँ झोलाबाट जगदीश घिमिरेको ‘सकस’ किताब निकालेर पढ्न लाग्नुभो । मेले पनि भइ पो हाल्छ कि भनेर तिन दिनअघि किनेको नयाँ ल्यापटप झोलाबाट निकालेँ । कुनै पनि कनेक्सनको सेक्युरिटी कोड थाहा नहुँदा नेट चलाउन भने पाइएन । त्यतै सोधिहाल्ने जाँगर पनि त्यति चलेन । त्यसैले चारैतिर हेर्दै समय कटाएँ ।

उडान अनुभव
करिब पौने १२ बजेतिर हामी एउटा प्रतीक्षालयबाट अर्को प्रतीक्षालयतिर पस्यौँ । मैले उहाँ तिन जनाका गफ सुन्दै गर्दा एक आवाजले विमानतर्फ प्रस्थान गर्न बोलायो । एउटा बसमा चढेपछि त्यस बसले ठ्याक्क विमान अगाडि पु¥याउने रहेछ । अनि ढोकामा उभिएकी एअर होस्टेसको मुस्कान सहितको स्वागत खादै हामी आआफ्नो सिट खोजेर बस्दा करिब १२ः१० नै भएको थियो । शिव सर र म सँगै परेछौँ, टिकट नम्बर अनुसार । मैले उहाँलाई म झ्यालमा बस्छु भनेर अनुरोध गरेँ किनकि मलाई अनुभव गर्नु थियो ।
अब एउटा आवाजले गन्तव्य, लाग्ने समय, उचाइ आदिका बारे जानकारी दिँदै मोबाइल पनि बन्द गर्न आग्रह ग¥यो । शिव सर भन्दै हुनुहुन्थ्यो कि मेरो पहिलो उडान नै अलिक सहज र सुविधायुक्त विमानमा प-यो रे । “आर्एको भइदिया भए त पछाडि हल्लिन्थ्यो”, उहाँ भन्दै हुनुहुन्थ्यो । (नेपाल वायुसेवालाई आर्ए भनिने रैछ । पहिला रोयल नेपाल एअरलाइन्स हुँदा त आर्एको अर्थ सजिलै आउँथ्यो । तर आजसम्म पनि यही छोटकरी रूप प्रयोग भइरहनुको अर्थ मैले बुझिँन ।) हाम्रो विमान भने बुद्ध एअरको ७२ सिटे थियो, जुन आन्तरिक उडानका औसत विमानभन्दा ठुलो हो रे । आवाजले विमान टेक अफ र ल्यान्ड हुने बेला इलेक्ट्रोनिक सामान सबै बन्द गर्नु भनेकाले मैले प्रत्येक पल फोटो खिच्ने मेरो रहरलाई दबाएँ । अरुभन्दा नि बिडम्बना के भो भने जमिनको सबभन्दा सुन्दर दृश्य त्यही टेक अफ र ल्यान्ड हुने बेला देखिने रहेछ । अरुभन्दा पनि जमिन छोड्ने बित्तिकै देखिएको बौद्ध क्षेत्रको दृश्य भने मलाई ‘आहा !’ भन्न लायक लाग्यो । बरु जाने बेला नै खिच्नुपर्ने रहेछ, आउने बेला पनि त्यो आवाजले “ल्यान्ड हुन लाग्यो । सबै इलेक्ट्रोनिक सामान बन्द गर्नुहोला” भनिहाल्यो बौद्ध आइपुग्नु अगाबै । अर्को चोटि फेरि काठमाडौँ विमानस्थलबाट विमान चढियो भने बौद्ध क्षेत्रको फोटो खिच्ने दृढ सङ्कल्प गरेको छु ।
त्यसपछि त हामी माथि, माथि भइहाल्यौँ नि । घरहरू साना साना हुँदै हराए, हरिया जङ्गल र त्यसबिचका खोला साना धर्साका रूपमा देखिए । अरुभन्दा पनि कुहिरोका फोटा गज्जबले खिचिए धित मर्ने गरी । एउटा त क्या राम्रो आएजस्तो लाग्यो मलाई ।

धनगढी झरेपछि
करिब साढे १ बजे हामी धनगढी विमानस्थल उत्रियौँ । आवाजले बताए अनुसार यो १ घण्टा १० मिनेटको अवधि थियो काठमाडौँबाट उडेदेखिको । मलाई धनगढी र काठमाडौँ एअरपोर्ट पनि धेरै फरक लागे । धनगढीमा यात्रु र सामानका जाँच, नाप, पासका लागि आवश्यक प्रविधि र पूर्वाधार रहेनछन् । सायद् नेपालका काठमाडौँ बाहेकका सबै एअरपोर्टको हालत यस्तै होला ।
कार्तिकको २० पुगिसक्दा पनि धनगढी गर्मी नै थियो । पहिल्यै बोलाइएको गाडीमा बसेर हामी सवा २ बजे होटेल विद्या, मेन रोड, धनगढी पुग्यौँ । सामग्रीहरू कोठामा थन्काउन नपाई हामी बाहिर निस्केर कुराकानी गर्न लाग्यौँ । बिबिसीकै आयोजनामा त्यहाँ विगत ५ दिनदेखि महिला अधिकारका विषयमा भइरहेको तालिमबारे मलाई जानकारी थिएन । खालि मलाई त २२ गते सार्वजनिक सुनुवाइ र त्यसका लागि २१ गते हुने अभिमुखीकरण मात्र थाहा थियो । होटलमा तालिमे टोलीसँग भेटघाट भो । बिबिसीकी महासचिव सुजिता शाक्य, स्थानीय रूपमा तालिम संयोजन गरेकी विन्दू शर्मा, काठमाडौँबाटै आएकी बिबिसीकी अन्जू श्रेष्ठ र हिमराइट्सकी श्वेता ढकालसँग परिचय भो । बेलुकी क्यामेरा पर्सन धर्म पराजुली पनि आइपुग्नुभो ।

भोकमा बिच सहजताको अनुभव
एक छिनको गफमा खाजाको कुरा निस्किए पनि खाजा नै भने निस्किएन । बिहान ८ बजेको भातको प्रभाव बिस्तारै कम हुँदै थियो । करिब ३ बजेतिर रमेश भिनाजु साथी भेट्न बाहिर निस्कन आँट्नुभो र म पनि सँगै जाने वातावरण सजिलै बन्यो । हामी रिक्सा मार्फत् करिब १५ मिनेटमा रमेश भिनाजुका बाल्यावस्था र युवावस्थाका एक जना साथीका पसलमा पुग्यौँ । उहाँ नभएर उहाँकी श्रीमती पसलमा हुनुहुन्थ्यो, जोसँग भिनाजुले विगतबारे खुलेरै कुरा गर्नुभयो । पैदलै फर्किदा मैले भिनाजु जमानामा विद्यार्थी राजनीतिमा पनि संलग्न रहेको जानकारी साथै उहाँका जीवन दृष्टिकोण पनि थाहा पाएँ । त्यति बेलासम्म त मलाई राम्ररी भोक महसुस भइसकेको थियो । होटेलमा फर्केपछि पुनः चप्पल किन्ने बहानामा म निस्किएँ र खाजा खान गएँ ।
मेरो कोठामा म र रमेश भिनाजु थियौँ । खाना खाइसकेपछि टिभी हेर्दाहेर्दै उहाँ निदाउनुहुने रहेछ । म भने ल्यापटप साथमा भएकाले होटलको वाइफाई प्रयोग गरेर नेट चलाउँदै थिएँ । साथमा ल्यापटप र हरदम नेट उपलब्ध भएकाले यस भ्रमणमा काठमाडौँबाट टाढा भएको एक महसुस भएन । भोलिपल्ट २१ गते काठमाडौँमा भूकम्पको हल्ला चलेछ, त्यो पनि तत्काल थाहा भयो । काठमाडौँमा जस्तै प्रत्येक दिन साथीहरूा खबर थाहा पाउन सक्थेँ ।

२१ गते
बिहान चाँडै बिउँझिने भिनाजु र मेरो बानी मिल्ने रहेछ । टोलीका अरु उठेर तयार हुन्जेल हामी सहरका कुनाकाप्चा घुमेर आइसक्थ्यौँ ।
२१ गते भोलिपल्टका लागि अभिमुखीकरण बाहेक अरु कुनै कार्यक्रम थिएन । अघिल्लो दिन नै सुजिता, विन्दू लगायतले सार्वजनिक सुनुवाइका लागि गरिएको निम्तालाई सम्बन्धित सरकारी निकायहरूले, विशेष गरी प्रमुख जिल्ला अधिकारीले, सकारात्मक जवाफ नदिएको समस्या सुनाइसक्नुभएको थियो । यसलाई समाधान गर्ने उद्देश्यले रमेश भिनाजु, शिव सर, सुजिता म्याम लगायत ती मान्छेलाई भेट्न अभिमुखीकरणकका बिचमै निस्कनुभो । नतिजा मिश्रित भएछ ।
साँझ हामी सबै सँगै बाहिर निस्कियौँ । ननभेजले सेकुवा र हामी भेजले जुस खायौँ । तालिमका प्रायः सहभागीका लागि अन्तिम रात भएकाले राति खाना खाइसकेपछि गीतसङ्गीत सहित जमघट गर्ने प्रयास भयो । तर यो खालि प्रयासमै सीमित भयो किनकि अत्यन्तै थोरै मात्र सहभागी हुनुभयो । भोलिपल्टका लागि आज सङ्कलन गरिएका केही प्रश्नहरू टाइप गर्नुपर्ने भएकाले रमेश भिनाजु र म पनि धेरै बेर बसेनौँ ।

शङ्का, अन्योल र सफलता
२२ गते सार्वजनिक सुनुवाइको कार्यक्रम भएका छिट्टै खाना खाएर हामी सबै कार्यक्रम स्थलतिर लाग्यौँ । बोलाइएका सबै सरकारी सरोकारवाला आउनेमा हामी सबैमा शङ्का थियो । तैपनि हामी सबै कार्यक्रमको तयारीमा लाग्यौँ ।
कार्यक्रम सुरु गर्ने भनिएको समय १२ बजेसम्म पनि कोही अतिथि आएनन् । बरु स्थानीय रेडियो प्रत्यक्ष प्रसारणका लागि तयार भइसक्यो । विन्दू दिदीहरू सबै नआए पनि जिल्ला शिक्षा र प्रहरी कार्यालयबाट प्रतिनिधि आउनेमा ढुक्क हुनुहुन्थ्यो । समय बित्दै जाँदा आयोजक टोलीमा अन्योल बढ्दै गयो । झन्डै पौने १ बजेसम्म पनि कोही नआएपछि शिव सरले गैरसरकारी प्रतिनिधिलाई राखेर कार्यक्रम गर्ने प्रस्ताव गर्नुभयो । बरु उहाँले पत्रकार महासङ्घ, बार एसोसिएसन लगायत नागरिक समाजका प्रतिनिधिलाई फोन गर्दै बोलाउन लाग्नुभो । उहाँकै योजना अनुसार १ बजे कार्यक्रम सुरु भो । शिव सरले सरकारी प्रतिनिधि अपमानपूर्ण र गैरजिम्मेवार तरिकामा अनुपस्थित भएको बेलीविस्तार लगाएर कार्यक्रम सुरु गर्दै गर्दा जिल्ला शिक्षा अधिकारी र प्रहरीको महिला तथा बालबालिका सेलका प्रमुख आए । १ घण्टा बिना उपलब्धि खर्चिइसकेकाले कार्यक्रम बडो हतारमा भयो । शिव सरलाई त्यसै दिन ४ बजे फर्किनुपर्ने भएकाले पनि कार्यक्रम हतारमा गरियो । थोरै सहभागीले मात्र प्रश्न गर्न पाए । (तर यसले मलाई भने सजिलो नै भयो !)
जिम्मेवार सरकारी निकायका प्रमुख जिल्ला अधिकारी र जिविस प्रमुख लगायतका प्रतिनिधिले सहयोग नगरे पनि कार्यक्रम राम्रोसँग सम्पन्न भएकामा हामी दङ्ग थियौँ । त्यसैले हामी सबै खानपिनका लागि बाहिर गयौँ । केही साथीहरूले किनमेल नि गर्नुभो ।

चोक्टा खान जाँदा झोलमा डुबियो
भोलिपल्ट (२३ गते) बिहान रमेश भिनाजु कतै निस्कन मान्नुभएन, बरु उहाँ ‘सकस’ सिध्याउने धुनमा लाग्नुभो । त्यसैले म एक्लै निस्किएँ । मैले बजार क्षेत्रभन्दा विपरीत दिशाको बाटो रोजेँ । मूल सडकको एक कुनाबाट भित्र पसेको त बडो खुला चौर भेटियो । सुरुमा ‘आहा !’ भनौँ लागेर अगाडि बढेको केही समयपछि “बेक्कार आएछु” भन्न मन लाग्ने दृश्य देखिए । त्यहाँ केही पशुको हत्या पश्चात् मासु काटकुट हुँदै थियो, त्यसैले कुकुरहरूको भिड थियो । अझ नजिकै त्यो क्षेत्र अझै खुला दिसायुक्त नै रहेका प्रमाणहरू रङ्गेहात देखिन्थे । बेक्कार देख्नेलाई नै लाज ! बिहानै यस्ता चौरमा निस्कनु म यस क्षेत्रको नवआगन्तुकका लागि ठुलै भुल भएछ ।
तर पनि म अझैँ अगाडि बढेँ । ट्याक्टरसम्म अट्ने एउटा बाटो सिधा अगाडि गएको देखियो । मैले त्यसैबाट अगाडि बढेर अलि परबाट मूल सडकतिर मोडिने निधो गरेँ । १५—२० मिनेट अगाडि बढ्दा पनि मैले सोचेजस्तो मूल सडकतिर मोडिने बाटो फेला परेन । मौलिक थारू बस्ती रहेछ । अलि पर एउटा दोबाटो भेटियो तर दुबैले मलाई मूल बाटोमा पु¥याउने कुरामा भने शङ्का रह्यो । त्यहाँ भेटिएका एक वृद्धलाई सोध्दा त उनले दुबै बाटा बजारतर्फ नपुग्ने, बरु एउटा जङ्गल र अर्को मोहनातर्फ जाने बताए । त्यसैले म पुरानै बाटो फर्किएँ । खुला दिसा र पशु वधका मैदानलाई छल्न अलिकति घुमेर मूल बाटो निस्किएँ र होटेल पुगेँ ।
होटलमा पुगेर म गाउँ क्षेत्र घुमेर आएको र झन्डै मोहनासम्म पुगेको बताउँदा होटेलवालाले त्यो क्षेत्र भारत सीमा नजिक रहेको बताए । साथै उनले “मोहना त तपाईँको काठमाडौँको आर्यघाटजस्तै हो यहाँका लागि” भने । उनले “आर्यघाटजस्तै” भनेर के भन्न खोजेँ, मैले पटक्कै बुझिँन । जे होस्, म झन्डै हराउने गरी गाउँ पसेको कुरा हाम्रो टोलीका लागि एक्कै छिनका लागि चर्चाको विषय बन्यो । एक छिनपछि हामी सबै सँगै बजार डुल्न निस्कियौँ । केही साथीले फेरि किनमेल गरे, केही भने मात्र डुलिरह्यौँ । मैले पनि एउटा बेतको टोकरी किनेँ । माफ गर्नुहोला, किनेँ हैन, उपहार पाएँ किनकि त्यस बेला पैसा हाल्दिने अन्जूजीले पछि पैसा लिनै मान्नुभएन ।

टोकरी किनेको ठाउँमा
फिर्ती
करिब १२ बजे खाना खाएपछि हामी फर्कने बन्दोबस्तका लागि झोला पोका कस्न लाग्यौँ । सुजिता म्याम, शिव सर र धर्म दाइ विविध कामका लागि आआफ्ना गन्तव्यतर्फ लागिसकेकाले रमेश भिनाजु, विजय सर, श्वेताजी, अन्जूजी र म मात्रै सँगै फर्कदै थियौँ । बोलाइएको मोटरले ढिला गर्दा हामी १ः१५मा मात्र होटलबाट निस्कियौँ । अलिक ढिला भएकाले मोटर तीव्र गतिमा हुइँकियो र हामी साढे १मा एअरपोर्ट आइपुग्यौँ ।
तर ढिला भएको पनि यस कारण ठिकै भयो कि हामीले कुर्नु परेन । सामान जाँच पास भइसक्दा विमान उड्ने समय भइसकेको थियो । करिब १ः५०मा हामी जहाजभित्र पस्यौँ होला । यस पटक मेरा सिटमेट विजय सर हुनुहुन्थ्यो । पुनः मैले झ्यालतर्फ बस्ने इच्छा व्यक्त गरेँ र पाएँ पनि । जाँदाजस्तै मैले कुहिरो र खोलाका फोटा खिचिरहेँ । शिव सरभन्दा विजय सर अलिक कम बोल्ने भएकाले त्यति गफगाफ पनि भएन ।
ठ्याक्क ३ बजे हामी काठमाडौँ विमानस्थल ओर्लिसकेका थियौँ । एअरपोर्टको बाहिरी गेटसम्म हामी एउटै गाडीमा आयौँ । त्यसपछि म बाहेक सबै एकै दिशातर्फ जाने हुनाले मैले उहाँहरूलाई बिदा गरेँ । म भने आफ्नो झोला र टोकरीलाई काखमै राखेर सार्वजनिक माइक्रो चढेँ । चाबहिलबाट त सदाझैँ पैदलै आउन सहज लाग्यो । ४ बज्दा नबज्दै म घर आइसकेको थिएँ । त्यसपछि त आमा, बा, दिदीहरूलाई प्लेन(plane / plain !) अनुभव सुनाउनमै व्यस्त !
यसरी यो यात्रा सोचेजस्तै त्यति धेरै रमाइलोमुखी भएन । तर अविस्मरणीय यस अर्थमा भयो कि यो मेरो पहिलो विमान यात्रा थियो । साथै म अपरिचित समूहका बिच थिएँ । यस सम्झनाले मलाई आगामी दिनमा अपरिचित व्यक्तिहरूका बिच परिचय र सहकार्य गर्न सजिलो बनाइदिनेछ ।
भनेपछि, यो यात्रा संस्मरण लेख्नका लागि लायक भयो वा भएन मैले अझै छुट्याउन सकेको छैन । के लाग्यो तपाईँलाई ?

५ फागुन २०६९

3 comments:

  1. Good one...keep it up ani don't limit it to blogs..try to get it published in dailys....

    ReplyDelete
  2. last ko tapaiko question ko answer hai. lekhna layak cha kinaki hami jasta ahilesamma biman bhitra nachireka lai ta kei thaha bhayo ni,
    overall comment- dammi cha tapaiko lekh, sabailai sametera samjhera lekhnubhako raicha, padhda khusi lagyo sathai ramesh sir sangako "vinaju" sambandha pani khulera bujhna paaiyo =D :P

    ReplyDelete