Showing posts with label आफ्नै विचार. Show all posts
Showing posts with label आफ्नै विचार. Show all posts

Thursday, October 13, 2016

विचारका अगाडि भावनाको औचित्य

Courtesy: http://www.bpcoachtrain.com/
“यहाँ देशको छ चिन्ता, तिमी माया–माया भन्छौ,
साँच्चै नबुझ्ने हो कि नबुझ्ने जस्तै गर्छौ ?..........”

गीतकार कृष्णहरि बरालद्वारा सिर्जित यी पङ्क्तिहरू नचाहँदा–नचाहँदै पनि मेरा ओठबाट निस्किरहन्छन्, बेला न कुबेला । हुन त मेरो गायन क्षमता शून्यबराबर नै छ । साथीहरूबीच विषयान्तर कुराकानी भइरहेका बेला मबाट यस्तो गीत सुन्दा उनीहरूले मलाई धेरै पटक हाँसोको पात्र बनाएका छन् । जिन्दगीको दुई दशक पनि पार गरिनसकेको एउटा ठिटो*, यदि म चाहान्छु भने आफ्नै परिवारका दैनिक समस्याहरूबाट त मुक्त हुन सक्छु । आफ्नो पढाइ, भविष्य, अन्तर्सम्बन्धहरू र दैनिक आयव्यय छोडेर केको देशको चिन्ता ? देशको चिन्ता हुँदैमा देशका लागि केही गर्न सकिन्छ त ? — कहिलेकाँहि आफैँद्वारा आफैँलाई सोधिएका प्रश्नहरूले मलाई समस्यामा पार्छन् ।

Sunday, February 17, 2013

सम्पन्नताले पारेको अप्ठेरो

नेपाली र अङ्ग्रेजी भाषाबिच तुलना गर्दा धेरैले नछुटाउने एउटा कुरा के हो भने अङ्ग्रेजीमा दोस्रो पुरुषलाई सम्बोधन गर्ने शब्द एउटा मात्रै ‘यु’ छ भने नेपालीमा आदरका तह अनुसार भिन्न रूप छन् । धेरैले यसलाई नेपाली भाषाको सम्पन्नता (रिचनेस)को एक पक्ष मान्छन् । हुन पनि हो, “तँ यता आइज” र “तपाईँ यता आउनुहोस्”बिचको फरक अङ्ग्रेजी समानार्थी वाक्य “क्यान यु प्लिज कम हियर”मा सायदै भेटिन्छ । तर यही सम्पन्नता कहिलेकाँहि समस्या हुने रहेछ । 

Wednesday, November 2, 2011

आधुनिकताबिच देउसीको परम्परा

तिहार भन्नेबित्तिकै सम्झिइने कुराहरूमध्ये देउसीभैलो पनि एक प्रमुख पक्ष हो । सेलरोटी, फुलमाला र झिलिमिली बत्तीका बिच ‘देउसिरे’को सङ्गीत — दाजुभाइ र दिदीबहिनीबिच प्रेम र आत्मीयता बाहेक तिहारको सबभन्दा महत्वपूर्ण तत्व सायद् यही नै हो ।
हुन त देउसीभैलोको प्रचलन कुन समयमा, कोबाट, कसरी र केका लागि सुरु भयो भन्ने सम्बन्धमा मलाई पर्याप्त जानकारी छैन । भैली गीतका बिचमा धेरैले “हामी त्यसै आएनौँ, बलि राजाले पठाए”  भन्ने गाएको सुनिन्छ । बलि राजाले केका लागि पठाएका थिए कुन्नि ! सायद् आजको युगसम्म आइपुग्दा देउसीभैलोको महत्व र आवश्यकतामा पनि परिवर्तन आइसकेको छ ।
अचेलका देउसीभैलो मुख्यतः दुई कारणबाट सञ्चालन हुने गरेको पाइएको छ । प्रथमतः चाडपर्वको रमाइलोलाई यसले थप उत्सवमय बनाउँछ, साथीभाइको जमघटसँगै टोलछिमेक घुमेर सबैसँग चाडपर्वको शुभकामना साट्ने अवसर दिलाउँछ । अर्को पक्ष भने देउसीभैलो मार्फत् अर्थ सङ्कलनको अभियान हो, जुन समाजका विभिन्न पक्षबाट यदाकदा आलोचित पनि छ । अनौपचारिक रूपमा जम्मा भएको समूहभन्दा पनि औपचारिक रूपमा सङ्गठित सामाजिक (विशेषतः गैर नाफामूलक) समूह र संस्थाहरूले देउसीमार्फत् आफ्नो आर्थिक कोष उकास्ने गरेको पाइन्छ । यसलाई कतिपयले संस्कृतिका नाममा विकृति भिœयाएको, जबर्जस्ती चन्दा सङ्कलन गरेकोजस्ता आरोप लगाउने गरेको पाइन्छ । यद्यपि व्यक्तिगत रूपमा म भने त्यस्तो विरोधको औचित्य देख्दिनँ । यदि कसैले परम्परागत संस्कृतिको एक अभ्यासलाई आफ्नो उद्देश्य प्राप्तिका लागि सिर्जनात्मक प्रयोग गर्न सक्छ भने के आपत्ति ? तर चासो यतिमात्र हो कि त्यसले कुनै पनि मानिसलाई इच्छा विपरीत कुनै क्रियाकलापमा सहभाग िनगराओस् । अझ प्रष्ट शब्दमा भन्दा दाताको इच्छा नभईकन पैसा उठाउने प्रवृत्ति भने स्थापित हुनु हुँदैन भन्ने कुरामा हामी सचेत हुनुपर्छ ।

Saturday, September 11, 2010

जागिर ः अनुभवीलाई मात्र !

निश्चित योग्यता हासिल गरिसकेपछि आफ्नो र आफ्नो योग्यताको मूल्य खोज्ने मनोवृत्ति आम मानिसमा हुँदो रहेछ । यसैअनुसार, आफूलाई आवश्यक होस् वा नहोस् वा नहोस््, म पत्रिकाका पेजहरूमा आवश्यकताका विज्ञापनहरू (Vacancy Announcements) हेर्ने गर्दछु, नियमित रूपमा । हो, मलाई अहिले कुनै त्यस्तो रोजगारीको आवश्यकता पनि छैन, न त जागिरे हुने रहर नै । विज्ञापनहरूमा आँखा डुलाउनुको मेरो उद्देश्य हुन्छ ः आफू कस्तो–कस्तो कामका लागि सक्षम भएछु भन्ने पहिचान गर्ने र यसको सहयोगमा आत्ममूल्याङ्कन गर्ने ।
शैक्षिक योग्यता, इच्छाशक्ति, चासोको विषय आदि विविध पूर्वसर्तहरू पूरा भएपनि एउटा सर्तले सधै मलाई अयोग्य बनाउने प्रयास गरिरहेको हुन्छ — कम्तीमा पनि ‘निश्चित’ वर्षको सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव । म र मजस्ता सयौँ युवायुवतीले अभिव्यक्त गरे वा नगरेपनि अनुभव गरेको र आफ्नो मनमा उठाउने गरेको प्रश्न के हो भने काम गर्ने अवसर नै नपाई अनुभव कहाँबाट आउने ? नयाँ व्यक्तिलाई पनि कामका लागि पुरानो अनुभव चाहिने रहेछ, यहाँ ! कामले अनुभव दिने हो कि अनुभवले काम ???
उत्तर दिन सायद् रोजगारदाताका प्रतिनिधिहरूलाई पनि गाह्रो पर्ला । यो कुरामा विवाद गर्न मिल्दैन कि अनुभवले कर्मचारीको सम्बन्धित क्षेत्रमा ज्ञान र दक्षता बढाउँछ । “पढेरभन्दा परेर जानिन्छ” भन्ने उखान त्यत्तिकै जनजिब्रोमा स्थापित भएको होइन । यो पनि प्रायशः सत्य नै हुने गरेको छ कि नवप्रवेशीभन्दा अनुभवीहरूले नै कुनै पनि संस्थालाई राम्रोसँग सञ्चालन गरी राम्रो नतिजा दिलाउन सक्छन् । तर पनि, मेरो प्रश्न कहाँनिर हो भने नयाँ व्यक्तिले काम गर्ने अवसर नै पाएनन् भने अनुभवी व्यक्ति कसरी विकास हुन सक्छ ? आजको अनुभवी पनि त हिजो त नयाँ नै थियो होला नि, होइन र ? उसले पनि जागिरका लागि अनुभवको योग्यता कुर्नुपरेको भए आज ऊ अनुभवी हुन्थ्यो होला र ? कि उसले ‘नवप्रवेशी’ हुनुभन्दा अगाडि नै ‘अनुभवी’को दर्जा अथवा प्रमाणपत्र पाइसकेको थियो ?
हाम्रो नेपालमा शिक्षसँगै व्यवसायिक अभ्यास (जस्तो अरू देशमा Internshipको प्रचलन छ) को खासै प्रचलन नै छैन । यदि सबै विद्यार्थीले कोर्स पूरा गर्न कार्यमूलक अभ्यास गर्नैपर्ने अनिवार्य व्यवस्था गर्ने हो भने उनीहरूले पढ्दापढ्दै छोटो अनुभव प्राप्त गरिसकेका हुन्थे । यहाँ त एउटा पत्रकारिताको विद्यार्थी क्लासरुमबाट सिधै न्युजरुममा जान्छ (यदि मौका पायो भने) र आफूले कक्षामा पढेको सिद्धान्त सम्झिदै कार्यक्षेत्रको वातावरणबाट डराएर भाग्न पुग्छ । अन्य सबै क्षेत्रमा सिधै अध्ययन बाट कार्यक्षेत्रमा हाम फाल्नेहरू आफूले कहिल्यै नसोचेको समस्याका अगाडि रन्थनिन पुग्छन् ।
अनुभवले काममा दक्षता दिने हो, तर काम दिन नै अनुभव खोज्नु प्रकृतिविपरीत हो । कार्य–कारणको प्राकृतिक नियममा अनुभव कार्य हो भने त्यसको कारण काम हो । प्रकृतिको स्वभाव कामले अनुभव दिने हो, न कि अनुभवले काम । जबसम्म अनुभवलाई जागिरको पूर्वसर्त मानिन्छ, तबसम्म अनुभवी व्यक्तिको सङ्ख्या दिनानुदिन घट्दै जान्छ, किनकी अनुभवी बन्नका लागि एक नयाँ व्यक्तिले पनि कार्यक्षेत्रभित्र पस्न पाउनुपर्छ । यही प्रचलन रहेसम्म, बरोजगार सधै बेरोजगार रहन्छन्, अनि रोजगारलाई रोजगारीको मारामार हुन्छ । कार्यक्षेत्रमा कर्मचारीको अभाव हुन्छ, अनि कार्यक्षेत्रभन्दा  बाहिर रहेकालाई कामको ।
आजका रोजगारदाताले चाहिँ कामको परिणाम अनुभव हो भन्ने प्राकृतिक सिद्धान्त नै नबुझेका हुन् कि ? अथवा उनीहरूले यसका विरुद्ध ‘अनुभवको परिणाम काम’को नयाँ सिद्धान्त प्रतिपादन गरेका हुन् ??

Tuesday, March 30, 2010

धर्मनिरपेक्षताले हिन्दूलाई केही घाटा गर्दैन

अहिले देशमा फेरि धर्मनिरपेक्षताको बहस बढ्दै गएको छ । बाहुन र क्षेत्रीका विभिन्न सङ्गठनहरूले नेपालाई हिन्दू राज्यकै रूपमा पुनस्र्थापना गर्न मााग गरिरहेका छन् । झन् केही साताअघिको काली बाबाको यज्ञले त यो विषयलाई झन् आगोमा घिउ थपिदिएको छ । 
हो, म पनि एक हिन्दू हुँ । मलाई पनि अन्य हिन्दूहरूजस्तै आफ्नो धर्मप्रति आस्था छ । मलाई पनि थाहा छ, नेपालका असी प्रतिशतभन्दा बढी जनता हिन्दू छन् । तर पनि म हिन्दू राष्ट्रको पक्षमा छैन । किन त ?
पहिलो कुरा, हामी हिन्दूहरूले हिन्दू राष्ट्रको पालामा जे सुविधा पाएका छौँ, त्यसमा निरपेक्षताको जमानामा पनि केही कमी आएको छैन । न त, धर्मनिरपेक्ष समयमा हामीलाई आफ्नो इच्छाअनुसार धार्मिक गतिविधि गर्न बन्द गरिएको छ । 
दास्रो कुरा, धेरै स्विकारिसकेका छन् कि धर्म व्यक्तिले मान्ने हो, राष्ट्रले होइन । त्यसकारण सबै व्यक्तिले आआफ्नो धर्म मान्ने स्वतन्त्रता पाएको खण्डमा राज्यको छुट्टै धर्म हुनु आवश्यक छैन । 
तस्रो, हिन्दू धर्म समावेशी र सहिष्णु छ । हामीले अरुको फरकलाई स्विकानुपर्छ । यदि धर्मनिरपेक्ष राज्य हुँदा अन्य धर्मका दाजुभाइ–दिदीबहिनी खुसी हुन्छन् भने हामीले टाउको दुखाउनुपर्ने कारण के छ ?
बरु, केही धार्मिक विद्वान्ले धर्मनिरपेक्षको सट्टा ‘सर्वधर्म समभाव’ राख्न सुझाएका छन् । यसतर्फ भने सोच्न सकिन्छ ।
यो विचार नितान्त व्यक्तिगत हो । मेरो परिवार र समुदाय यसमा असमत हुन पनि सक्छ । 

Monday, March 8, 2010

दिवसको सार्थकताका लागि

आज हामी सयौँ नारी दिवस मनाइरहेका छौँ । हामीले यस्ता विविध नामका दिवसहरू वर्षका धेरै दिनहरू मनाइरहेका हुन्छौँ । सायद् वर्षमा त्यस्तो दिन विरलै होला, जुन दिन कसैका लागि कुनै पनि क्षेत्रमा कुनै दिवस नपरेको होस् । 
मैले दिवस मनाउनै हुँदैन भन्न खोजको पनि होइन । हुन त दिवस मनाउदैमा केही हुने पनि होइन । खालि यी विशेष दिनहरूले केही सकारात्मक परिवर्तनका लागि विश्वले गरेको सकारात्मक प्रयासलाई सम्झाउने र त्यसैअनुसार अगाडि बढ्नका लागि हामीलाई प्रेरणा मात्र दिने हो । दिवसलाई यसै रूपमा बुझ्ने हो भने दिवस मनाउने केही हानि हुनेवाला छैन, सकारात्मक परिवर्तनका लागि नै बल पुग्नेछ । 
तर, आज आएर वास्तविकता अलि फरक भएको छ । दिवस दिवसका लागि मात्र मनाइने गरेको छ । कुनै एक दिन सम्बन्धित दिवस मनाइसकेपछि त्यसको सन्देशलाई ३६५ दिनपछि आउने अर्को वर्षको सोही दिवसमा मात्र सम्झिने गरेको पनि पाइन्छ । यसले नराम्रो त केही नगर्ला, तर राम्रो पनि केही गर्दैन । केही प्रभाव नपार्ने दिवस मनाउनुको के अर्थ हुन्छ र !
अब भने दिवस दिवसका लागि मात्र होइन, प्रतिबद्धता र प्रयासका लागि मनाउनुपर्ने बेला भएको छ । नारी दिवस पुरुषले ‘पुरुष दिवस खोइ त ?’ भनेर प्रश्न गर्ने दिन होइन, न त यो महिलाले ‘३६४ दिन पुरुषकै हो’ भनेर जवाफ दिने दिन हो । ३६५ दिन नै पुरष र महिलाका लागि बराबर महत्वपूर्ण छन् । ऐतिहासिक आधार लिएर मात्र मार्च ८ लाई नारी दिवस मानिएको हो । अतः यसको प्रयोग पुरुषविरोधी तर्कका लागि भन्दा पनि समतामूलक समाज बनाउने प्रयासका खातिर हुनुपर्दछ । 
सार्थक र उद्देश्यमूलक नारी दिवसका लागि सबै समानताप्रेमीहरूलाई शुभकामना !