Thursday, March 28, 2013

कमिला जुधाउने मेरो रहर


प्रस्तुति : दिवाकर प्याकुरेल

डा. कृष्णहरि बराल (वि.सं २०१०, हत्पते, सिन्धुली) नेपाली गीतसङ्गीत क्षेत्रमा सर्वाधिक लोकप्रिय गीतकारहरूमध्ये एक हुनुहुन्छ । “म भक्त हुँ यो देशको ...”देखि “यहाँ देशको छ चिन्ता ...” हुँदै छिट्टै सार्वजनिक हुन लागेको “भन्न त सबै भन्छन् जमाना खराब छ ...” लगायतका गरी उहाँले करिब छ सय गीत तथा गजल लेख्नुभएको छ । यसमध्ये करिब तीन सय रेकर्ड भएका छन् भने त्यसमध्ये आधाभन्दा धेरै लोकप्रिय छन् । उहाँका एकल गीतिएल्बमको सङ्ख्या झन्डै एक दर्जन पुग्न लागिसकेको छ । गीत र गजलका अतिरिक्त उहाँको साहित्यिक समालोचना क्षेत्रमा पनि छुट्टै पहिचान छ । यस क्षेत्रमा उहाँका ‘गीत : सिद्धान्त र इतिहास’, ‘गजल : सिद्धान्त र परम्परा’, ‘कवि भूपि : विश्लेषण र मूल्याङ्कन’, ‘संदृष्टि’ लगायतका कृतिहरू प्रकाशित छन् । पाठ्यपुस्तकहरूसमेत उहाँका प्रकाशित पुस्तकहरूको सङ्ख्या ४०भन्दा बढी छ । सङ्गीत र साहित्यमा पु-याउनुभएको योगदानबापत उहाँले ‘छिन्नलता सङ्गीत पुरस्कार’, ‘नई कलानीधि सङ्गीत पुरस्कार’, ‘भुपालमान सिंह युवा साहित्य पुरस्कार’, ‘गजलश्री सम्मान’ लगायत दर्जनौ पुरस्कार, अभिनन्दन र सम्मान पाउनुभएको छ । पेसागत रूपमा उहाँ त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत हुनुहुन्छ । हाल बल्खुमा बस्दै आउनुभएका बरालको बाल्यकालका रमाइला सम्झना यस पटकको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ । 

मेरो जन्म वि.सं. २०१० सालमा सिन्धुली जिल्लाको हत्पते डाँडामा भएको हो ।  बुबा खडानन्द बराल र आमा स्वर्गीय पद्मकुमारीको म जेठो छोरो हुँ । मेरा चार भाइ र एक बहिनी छन् । आमा म छ वर्षको हुँदै बित्नुभएको हो । बुबा अझै पनि सिन्धुलीमै हुनुहुन्छ । 
मेरा हजुरबा ‘जिमदार’ भए पनि बुबाको पालासम्म आइपुग्दा भने हाम्रो परिवार मध्यम वर्गीय नै थियो । परिवारको आम्दानीको स्रोत खेतीपाती थियो । हामी हत्पते डाँडामा बस्थ्यौँ । वर्षको दुई महिना जाडोमा भने कमलाखोँच बेसीमा बस्थ्यौँ । गर्मीमा त त्यहाँ रात बस्न नै सकिन्नथ्यो नि, औँलो लागिहाल्थ्यो । तर पनि खै कसरी हो, स्थानीय दनुवारहरूले भने औँलो पचाइसकेका थिए । पछि भने विदेशी आर्थिक सहयोगमा औँलो उन्मूलन गरियो । 
मैले कक्षा सातसम्म हत्पतेकै कमला अपर प्राइमरी स्कुलमा पढेँ । पूरा स्कुलभरि गरेर जम्मा एक–दुई जना शिक्षक हुन्थे । सात कक्षासम्म पढाइ हुने स्कुलमा सबै कक्षाहरूलाई एउटै कोठामा राखेर एउटै शिक्षकले पालैपालो पढाउने व्यवस्था थियो । तर, विषय भने धेरै नै पढ्नुपथ्र्यो । त्यसो त एउटा कक्षामा पाँच–छ जनाभन्दा बढी विद्यार्थी पनि हुन्नथे । अलि पछाडि भने कक्षा एक र दुईलाई छुट्टै सारिएको थियो । पछि थाहा भयो कि म राम्रै पढ्ने विद्यार्थी रहेछु । मलाई गणितको अङ्कगणित पूरै आउँथ्यो भने बीजगणित अत्यन्त गाह्रो लाग्थ्यो । कारण, बीजगणित त मेरो शिक्षकलाई नै राम्रोसँग आउन्नथ्यो । इतिहासको विषयमा जङ्गबहादुरको समयदेखि आधुनिक इतिहासम्म कण्ठस्थ थियो । कक्षा सातसम्म इतिहास पढेको भरमा मैले बिएमा नेपालको इतिहासको परीक्षा दिएर त सफल भएँ !
कक्षा आठ पढ्न म जनकपुर आएँ । श्री सरस्वती मल्टीपर्पोज हाई स्कुल नामको त्यो स्कुल साँच्चै नै भव्य सहरको भव्य स्कुल मात्र नभएर राष्ट्रिय स्तरमा प्रसिद्ध थियो । 
कक्षा सातसम्म पढ्दा मोटर नदेखेको मान्छे, जनकपुर आउँदा चार माइलको बाटो मोटर चढियो । त्यस बेलासम्म फोटो खिचेको थिएन, जनकपुरको स्कुलले त भर्ना गर्दा फोटो पनि माग्यो । अझ त्यसभन्दा अचम्म मैले जनकपुरमा सिनेमा देखेँ । मैले हत्पतेमा पढेको स्कुलमा जम्माजम्मी त साठी जना विद्यार्थी पुग्ने थिएनन्, त्यहाँ त एउटा कक्षामा दुईटा सेक्सन, अनि एउटा सेक्सनमा साठी जना ! मलाई यसभन्दा बढी अचम्म के भयो होला र ? प्रत्येक पटक घण्टी लाग्दा एउटा शिक्षक निस्किने, अनि अर्को शिक्षक आएर अर्को विषय पढाउने चलन पनि मलाई अचम्म नै लाग्यो । अङ्ग्रेजीको कक्षामा अङ्ग्रेजी भाषाामा मात्र बोल्नुपथ्र्यो । नेपाली र अङ्ग्रेजीबाहेक अन्य सबै विषय हिन्दीमा पढाइ हुन्थ्यो । हिन्दीमा पढाइ हुने भए पनि खासै गाह्रो भएन किनभने हत्पतेको स्कुलमै पनि कहिलेकाँही शिक्षकले हिन्दीका पुस्तक लगेर पढ्न दिनुहुन्थ्यो । तर पनि जनकपुरमा नेपाली भाषी कोही पनि नभेट्दा भने साह्रै नमज्जा लाग्थ्यो । 
कक्षा नौदेखि अतिरिक्त कृषि विषय लिएर पढेँ । कृषि विषयमै एस्एल्सी दिएर गाउँमा फर्किएँ । केही महिनापछि एस्एल्सीको रिजल्ट भयो । तर रिजल्ट भएको खबर गाउँमा पुग्न करिब एक महिना लाग्यो । पास भएँ कि फेल त यहाँ बसेर कसरी थाहा पाउनु ? जनकपुर फर्केँ । रिजल्ट हेर्दा दोस्रो श्रेणीमा पास भएछु । त्यस समय दोस्रो श्रेणी भनेको राम्रो मानिन्थ्यो । त्यसमाथि म कक्षा सातसम्म केही सुविधा नभएको स्कुलमा पढेर आएको विद्यार्थी । अझ अचम्मको कुरा त कृषि पढ्नेमध्ये दोस्रो श्रेणी ल्याउने त म मात्रै परेछु ।
जनकपुर स्कुलको हेड सरदेखि साह्रै डर लाग्थ्यो । बाटामा कतै जाँदा लठ्ठी टेक्दै हिँड्नुभएको हेड सर भेट्यौँ भने हामी बाटै बदलेर हिँड्थ्यौँ । सरले कक्षा नौमा पढ्दा अङ्ग्रेजी पढाउनुहुन्थ्यो । उहाँलाई आफ्नो प्राध्यापनप्रति बडो गर्व थियो । “अङ्ग्रेजी सिख्ना हे तो गङ्गाधरदत्तके पास आओ”, उहाँ भन्नुहुन्थ्यो । हामीलाई पनि गङ्गाधर सरले पढाउने विद्यार्थी हुन पाउँदा बडो गर्व थियो । 
त्यस्तो डरलाग्दो सरले मलाई एस्एल्सी रिजल्ट आएपछि आफ्नो कार्यालयमा भेट्न बोलाउनुभएको खबर पाएँ । डराउँदै सरलाई भेट्न गएँ । पाकिस्तानबाट कृषि पढ्नका लागि छात्रवृत्तिको लागि आह्वान भएको रहेछ । सरले त्यसका लागि फारम भर्न भन्नुभयो । नागरिकता चाहिने रहेछ, अनि नागरिकताका लागि सरकारी अधिकृतको सिफारिस । नेपाली बोल्ने मान्छे त मुस्किलले पाइने जनकपुरको बिरानो सहरमा मैले चिनेको अधिकृत कहाँबाट भेट्नु ! एक जना मामा पर्ने मानिस नायब सुब्बा हुनुहुन्थ्यो । उहाँसँग गएर समस्या बताएँ, “म गर्छु भान्जा, पिर नमान” भन्नुभो । केही दिनपछि उहाँले भूमिसुधार कार्यालयको एक जना अधिकृतको सिफारिस ल्याइदिनुभयो । त्यसलाई लिएर म नागरिकता बनाउन जलेश्वरतिर लागेँ । नागरिकता दिने कार्यालयका मान्छेले “कस्को सिफारि ल्याएको ?” भनेर सोधे । मैले सबै कुरा सत्यसत्य बताइसकेपछि उनले भने, “भाइ, उहाँले तिमीलाई राम्रोसँग चिन्छु लेख्नुभएको छ, अब तिमी यो कसले लेख्यो नाम नै भन्न सक्दैनौ । यो मिल्दैन भाइ, जाऊ, सहीसँगै के नाम हो प्रष्ट बुझिने गरी लेख्न लगाएर ल्याऊ ।” म निराश भएर फर्केँ । यसरी समयमा नागरिकता नपाएर म पाकिस्तान पढ्न जाने अवसरबाट वञ्चित भएँ । 
म बाल्यकालमा हजुरबासँगै सुत्थेँ । बिहानबिहान उठ्नेबित्तिकै हजुरबा महाभारत र रामायणका श्लोकहरू गाउनुहुन्थ्यो । त्यसपछि मात्र मेरो निद्रा खुल्थ्यो । अक्षर चिन्नुपहिले नै मलाई रामायण र महाभारतका पुस्तकमा रहेका चित्रहरू हेर्ने बानी लागिसकेको थियो । अर्कातर्फ बुबाले देवकोटा र लेखनाथका कविताहरू पढ्नुहुन्थ्यो । उहाँले पढ्नुभएका लेखनाथको ‘बुद्धिविनोद’का “तँलाई मालुम् छ कि यो कुरा मन ?”जस्ता श्लोकहरू मलाई अझै पनि याद छन् । उहाँले त्यस्ता श्लोकहरू पढ्दा मेरो पनि ध्यान त्यतातिर केन्द्रित हुन्थ्यो । हाम्रो गाउँमा साँझपख केटाहरूबीच मादल बजाएर नाचगान गर्ने चलन थियो । विशेषतः चाडबाडको समयमा खैजडी भजनमा नाच्ने चलन प्रसिद्ध थियो । एक जना कलाकार लोकबहादुर क्षेत्रीको खैजडी भजन त झन् जिल्लाभर लोकप्रिय थियो । हामी उहाँको भजन सुन्न एक दिन पूरै हिँडेर अरू गाउँमा पनि जान्थ्यौँ । मैले कक्षा सातसम्म आइपुग्दा रामायण, कृष्णचरित्र, महाभारत आदि धार्मिक कथाहरू पढिसकेको थिएँ । यिनीहरूमा आधारित भएर म रातभर भजन गाउन सक्थेँ । यो भजन गाउने संस्कृृतिले पनि मलाई पछि साहित्य र सङ्गीतमा लाग्न प्रभाव पारेको होला । 
करिब कक्षा छतिर पढ्दा गाउँमा रेडियो आयो । पूरै गाउँमा जम्मा एक–दुई ओटा मात्र रेडियो थिए । हामी रेडियो सुन्न डाक्टर मुरलीप्रसाद सिंहको घर जान्थ्यौँ । उहाँलाई जुनसुकै बेला समाचार मात्र सुन्न मन लाग्थ्यो । हामी भने खालि गीत मात्र सुन्न चाहन्थ्यौँ । रेडियो नेपालबाट प्रसारण हुने ‘प्रश्नोत्तर’ कार्यक्रममा मैले प्रश्नहरू पठाउन सुरु गरेँ । जनकपुरमा आएपछि यो गति झन् बढ्यो । मैले यति धेरै प्रश्नहरू पठाएछु कि म बिए पढेर काठमाडौँ आएपछि रेडियो नेपाल जाँदा कार्यक्रम सञ्चालक पाण्डव सुनुवार र देवी शर्माले मलाई नामैले चिन्नुभयो । अनि मैले गीत लेख्ने कुरा बताएपछि उहाँहरूले नै मलाई गीत रेकर्ड गराउन सुझाव दिनुभयो । उहाँहरूकै सुझावले मेरो पहिलो गीत “म भक्त हुँ यो देशको ...” रेकर्ड भयो । पछि त म उहाँहरूको घनिष्ठ मित्र पो भएँ त !
रेडियो नेपाल सुन्ने बानीले मलाई नेपाली गीत र कविता लेख्न सिकाइसकेको थियो । कक्षा पाँचमा पढ्दा स्ुकलमा भएको एउटा कार्यक्रममा सबैले हिन्दी भाषाको गीत सुनाए । तर मैले भने नेपाली कविता सुनाएँ । फलस्वरूप मैले पुरस्कार पनि पाएँ । 
झन् म जनकपुर बस्न सुरु गरेपछि त लेखनको गति झन् बढ्यो । कुनै पनि गीत मन परिहाल्यो भने फिल्म हेर्ने बानी बस्यो । यस क्रममा त्यस समयका अधिकांश हिन्दी फिल्महरू हेरेँ । तिनै फिल्मका गीतको प्रभावले नै मैले भविष्यमा चलचित्रका लागि धेरै गीत लेख्न सकेँ । साथै यही समयमा मैले हास्यव्यङ्ग्य पनि लेख्न सुरु गरेँ । तर पनि त्यसै समयमा भने मैले आफ्नो भविष्यबारे केही सोचेको थिइँन । 
हामीले खेल्ने बाल्यकालका खेलहरू आजका भन्दा फरक थिए । एकले अर्कालाई भेट्टाउने प्रकारको डुम खेल हामीले सबभन्दा बढी खेल्ने खेल थियो । म कक्षा सातसम्म पढेको हत्पतेको स्कुलनजिकै एउटा ठुलो समीको रुख थियो । खाजा खाने समयमा हामी त्यो रुखमा चढेर डुम खेल्थ्यौँ । कहिलेकाँही हाँगामा समातेर पिङ् खेल्थ्यौँ । वयस्क भएपछि त्यस ठाउँमा गएर त्यो रुखलाई देख्दा भने मलाई बाल्यकालमा कसरी चढियो होला जस्तो लाग्थ्यो । अहिले भने त्यो रुख ढलिसकेको छ । डुमपछि हामीले सबभन्दा बढी खेल्ने खेल भनेको कपर्दी हो । कपर्दी खेल्दा लडेर लागेको चोट अझै पनि मेरो अनुहारमा छ । 
मलाई बाल्यकालदेखि नै किराहरूसँग खेल्न मन पथ्र्यो र म कमिलालाई जुधाएर रमाइलो गर्थेँ । फट्याङ्ग्रालाई मारेर कमिलाका दुई गुँडबाहिर राखिदियो भने फरकफरक गुँडका कमिलाहरू एकआपसमा मज्जासँग जुध्छन् त्यस फट्याङ्ग्राका लागि । त्यस्तै म कमिलालाई नयाँ गुँड पनि बनाइदिन्थेँ । नयाँ गुँड बनाइसकेपछि एउटा फट्याङ्ग्राको सहायतामा कमिलाको समूहलाई त्यतातिर डो-याइन्थ्यो र त्यो फट्याङ्ग्रालाई गुँडमा राखिदिएपछि सबै कमिला हामीले बनाइदिएको गुँडमा गएर बस्थे । साथै मलाई मौरीहरूसँग पनि खेल्न मन पथ्र्यो । अझै पनि म मौरीपालनप्रति अत्यन्त सौखिन छु । सायद् कृषि पढेकाले पो हो कि, मलाई रुखविरुवा र जनावर धेरै मन पर्छन् । 
बाल्यकालदेखि नै ममा चाडपर्वको तडकभडक र रमझमप्रति त्यति धेरै रुचि थिएन । तैपनि, बाल्यकाल न हो ! एक जोर नयाँ लुगा लगाउन पाउँदा दङ्ग परिन्थ्यो । चाडपर्व मनाउने तरिका करिबकरिब अहिलेको जस्तै हो । मलाई विशेष गरी साउने सङ्क्रान्तिको सम्झना छ । कुरिलो, भलायो आदि बोटविरुवा ल्याएर बलेको अगुल्टो (‘लुतो’) फाल्ने चलन हुन्थ्यो । तराइमा भने त्यस्तो चलन हुँदैन । तराइमा समथर जग्गा र घना बस्तीले बल्दो अगुल्टो फाल्नु कहाँ सम्भव हुन्छ र ? त्यस्तै गरी, माघे सङ्क्रान्तिमा मासु खाने चलन हुन्थ्यो । अहिले सम्झँदा मलाई त्यस बेलाभन्दा अहिले चाडपर्वको रौनक घटेजस्तो लाग्छ । 
मेरा लागि भाइबहिनीहरू साथीजस्तै थिए । हामी सँगै खेल्ने, सँगै स्कुल जाने गथ्र्यौँ । मलाई विशेष गरी कमिलाहरूसँग खेल्न र जङ्गलमा गएर थाकल खान भाइले साथ दिन्थ्यो । साथीहरूसँग भने सामान्य सम्बन्ध थियो । बाल्यकालका केही साथीहरूसँग अचेल पनि भेट हुन्छ । उनीहरूसँग भेटेर बाल्यकाललाई सम्झँदा रमाइलो लाग्छ । अहिले सबै आआफ्ना बाटामा छन् । 
हाम्रो गाउँमा कहिलेकाँही चितुवा अथवा बाघ आएर खसी मार्थे । यसको प्रतिरोधका लागि कृत्रिम खोर बनाएर चितुवा तथा बाघलाई समात्ने काम पनि उत्तिकै हुन्थ्यो । एक पटक एक जना छिमेकीको चार ओटा खसी बाघले मारिदिएछ । त्यसै समयतिर थापेको खोरमा चितुवा परेछ । खोरमा चितुवा फसेको खबर सुन्नेबित्तिकै धेरै मान्छेहरू हेर्नका लागि त्यतातिर लागे । म पनि त्यतै लागेँ । हामीलाई पढाउने सर पनि जानुभएछ । भोलिपल्ट स्कुलमा मैले ‘किङ् त्रिभुवन एन्ड डेमोक्रेसी’(King Tribhuvan and Democracy) भन्ने पाठ सुनाउनुपर्ने थियो । अघिल्लो दिन पढ्न नभ्याएकाले त्यो पाठ सुनाउन सकिनँ । अनि सरले त मलाई “दिनभरि चितुवा हेर्न जान्छन् । अनि कसरी सक्छन् त पाठ भन्न ?” भनेर एक थप्पड हान्नुभो । त्यसै सरले पहिल्यै नै एक दिन मेरो घरमा आएका बेला “कति कविता पढ्छस् ?” भनेर गाली गरिसक्नुभएको थियो । उहाँका अनुसार कविता धेरै पढ्यो भने गद्य (निबन्ध, कथा आदि) पढ्न मन लाग्दैन रे । साँच्चै नै त्यस्तै हुने रहेछ कि क्या हो ? 
मैले बाल्यकालमा सम्झनलायकको फट्याइ खासै केही पनि गरेको छैन । त्यस कारण मैले माथि भनिएको सरबाट एक थप्पडबाहेक अन्य कसैबाट थप्पड पनि खानु परेन । 
त्यस बेलामा बालअधिकारको सिद्धान्तबारे कसैले केही पनि बुझेको हुन्नथ्यो । यद्यपि हामीले बाल्यकालमा बालअधिकार पाएकै जस्तो लाग्छ । राम्रैसँग खाना खान पाइन्थ्यो । स्कुल पनि गइन्थ्यो । प्रायः सबै अधिकारहरू मैले पाएको थिएँ, सिद्धान्तबारे थाहा नपाएपनि । मलाई भविष्यमा प्रभाव पार्ने तत्वहरूमा बुबा र हजुरबाले दिनुभएको घरेलु वातावरण, रेडियो कार्यक्रमहरू र जनकपुर हेरिएका फिल्महरू नै हुन् । यसबाहेक ‘रोल मोडल’ वा प्रेरणाको स्रोत खासै मेरो कोही पनि थिएन । 
आज फेरि एक पटक आफ्नो बाल्यकाललाई सम्झँदा म फेरि बालक बन्न पाए सायद् कमिला र मौरीकै अनुसन्धानमा लाग्ने थिएँ कि जस्तो लाग्छ । मेरो प्रारम्भिक रुचिको विषय पनि यही थियो, तर भविष्य भने अर्कै बाटोतर्फ लाग्यो । मेरो बाल्यकालमा मेरो रुचिलाई बढावा दिने वातावरण पनि भएन । घरपरिवारले सहयोग गरेको भए कृषितर्फ नै लाग्ने थिएँ कि !
आजका बालबालिका ‘जन्मिदै तीन पात’ भनेजस्ता टाठाबाठा छन् । हाम्रा पालामा एस्एल्सीसम्म पढ्दा जानेका कुरा उनीहरू आज कक्षा चारमा पुग्दानपुग्दै जान्ने भइसकेका छन् । उनीहरूको मानसिक विकास अत्यन्त छिटो हुने गरेको छ । हाम्रो पुस्ताभन्दा धेरै सक्रिय छन् । तर, हाम्रो देशको शिक्षा नीति र व्यवहारले गर्दा उनीहरूले आफ्नो मानसिक क्षमताजत्तिको अभ्यास गर्न अझै पनि पाएका छैनन् । बढ्दो मानसिक क्षमताअनुसार पाठ्यक्रम पनि विकास हुन सकेको छैन । परीक्षा प्रणाली पुरानै छ । यी सबैले उनीहरूको क्षमतालाई सीमित बनाएको छ । म आजका बालबालिकाहरू अझ बढी क्षमतावान्, प्रतिभाशाली र सक्रिय बनून् भन्ने चाहान्छु । तर त्यसका लागि शिक्षासँग सम्बन्धित नीति तथा व्यवहारले साथ दिनुपर्ने आवश्यकता छ । 
हामीले पहिलेदेखि नै जे पढ्छौँ, त्यसलाई व्यवहारमा उतानुपर्छ । समयको अधिकतम सदुपयोग गर्नुपर्छ । पढ्ने समयमा पढ्नुपर्छ, खेल्ने समयमा खेल्नुपर्छ । यदि यसो गर्न सकेमा हाम्रो वर्तमान र भविष्य दुबै राम्रो हुन सक्छ । 
diwapyak@gmail.com
२५ भदौ, २०६७


No comments:

Post a Comment