Showing posts with label बानीव्यहोरा. Show all posts
Showing posts with label बानीव्यहोरा. Show all posts

Thursday, October 13, 2016

विचारका अगाडि भावनाको औचित्य

Courtesy: http://www.bpcoachtrain.com/
“यहाँ देशको छ चिन्ता, तिमी माया–माया भन्छौ,
साँच्चै नबुझ्ने हो कि नबुझ्ने जस्तै गर्छौ ?..........”

गीतकार कृष्णहरि बरालद्वारा सिर्जित यी पङ्क्तिहरू नचाहँदा–नचाहँदै पनि मेरा ओठबाट निस्किरहन्छन्, बेला न कुबेला । हुन त मेरो गायन क्षमता शून्यबराबर नै छ । साथीहरूबीच विषयान्तर कुराकानी भइरहेका बेला मबाट यस्तो गीत सुन्दा उनीहरूले मलाई धेरै पटक हाँसोको पात्र बनाएका छन् । जिन्दगीको दुई दशक पनि पार गरिनसकेको एउटा ठिटो*, यदि म चाहान्छु भने आफ्नै परिवारका दैनिक समस्याहरूबाट त मुक्त हुन सक्छु । आफ्नो पढाइ, भविष्य, अन्तर्सम्बन्धहरू र दैनिक आयव्यय छोडेर केको देशको चिन्ता ? देशको चिन्ता हुँदैमा देशका लागि केही गर्न सकिन्छ त ? — कहिलेकाँहि आफैँद्वारा आफैँलाई सोधिएका प्रश्नहरूले मलाई समस्यामा पार्छन् ।

Sunday, May 10, 2015

सबभन्दा डरलाग्दो दिन : वैशाख १२को डायरी

त्यो दिन बिहानैदेखि मौसम अलि अनौठो थियो । सामान्यतया मध्य वैशाखमा बिहानैदेखि घाम लाग्छ । तर, २०७२ वैशाख १२ गतेको बिहान भने चिसो हावा चलेको थियो । अरु त सबै सामान्य नै थियो ।
बाको बिहान खाना नखाई हिँड्नुपर्ने थियो । ७ बजेतिरै उहाँ निस्कनुभयो । आमा र म २ जना मात्र भएपछि खाना बनाउने, खाने काम पनि छिटोछिटो नै भयो । मेरो १२–१२ः३०तिर अफिस पुग्नुपर्ने । करिब १० बजे नै खाना खाइसकेको तथा घरमा पनि केही काम नभएको हुनाले म त्यति बेला नै निस्किएँ । अफिस जानु अगाडि बिजुलीको पैसा तिरेर बिजुली अड्डा नजिकै रहेकी साथी गङ्गासँग भेटघाट गरीवरी अफिस जाने योजनाका साथ म निस्किएको थिएँ । तर बाटामा पुगेपछि खबर गर्दा ऊ घरमा नभएको थाहा भयो । अनि मैले योजना बदलेँ ।

Sunday, February 17, 2013

सम्पन्नताले पारेको अप्ठेरो

नेपाली र अङ्ग्रेजी भाषाबिच तुलना गर्दा धेरैले नछुटाउने एउटा कुरा के हो भने अङ्ग्रेजीमा दोस्रो पुरुषलाई सम्बोधन गर्ने शब्द एउटा मात्रै ‘यु’ छ भने नेपालीमा आदरका तह अनुसार भिन्न रूप छन् । धेरैले यसलाई नेपाली भाषाको सम्पन्नता (रिचनेस)को एक पक्ष मान्छन् । हुन पनि हो, “तँ यता आइज” र “तपाईँ यता आउनुहोस्”बिचको फरक अङ्ग्रेजी समानार्थी वाक्य “क्यान यु प्लिज कम हियर”मा सायदै भेटिन्छ । तर यही सम्पन्नता कहिलेकाँहि समस्या हुने रहेछ । 

Wednesday, November 2, 2011

पुरा हुन नसकेको रहर

यस पालिको तिहार भर्खर सकियो । तर अबको एक वर्षसम्म म भने तिहार कहिले आउला भनेर कुरी बस्न बाध्य भएको छु । कारण, यो तिहारले ममा देउसीभैलोप्रतिको आकर्षणलाई पुनर्जीवन दिएको छ ।
देउसीभैलोमा मेरो सहभागिताका यादहरू सम्झनामा अझै स्पष्ट छन् । विसं २०५८भन्दा अगाडि हाम्रो परिवार काभ्रे, पात्लेखेतमा बस्थ्यो । हाम्रो गाउँतिर औँसी ÷ लक्ष्मीपुजाको साँझ र राति केटीहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भैली ÷ भैलो भनिन्थ्यो । त्यसको भोलिपल्टको साँझ र राति केटाहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भने देउसी भनिन्थ्यो । सहरबजारको जस्तो बाह्य गीतमा नाचगान प्रस्तुत हुँदैनथे । भैलोमा “भैलिनी आइन् आँगन” शैलीका केही गीतका साथमा एकले भट्याउँदा सबैले “भैलिनी” भन्ने प्रचलन थियो । देउसी भने जहिले र जहाँ पनि “ए, भन मेरा भाइ हो — देउसिरे”बाट सुरु भएर भट्याउनेले केही सदावहार र केही परिस्थितिजन्य पदावली भन्दा अरुले “देउसिरे” भनेर सकिन्थ्यो ।
त्यस प्रकारको देउसीमा म एक रात मज्जासँग सहभागी भएको छु । भाइटिकाको अघिल्लो साँझदेखि भाइटिकाको दिन बिहान करिब आठ बजेसम्म हामी चारपाँच जनाले मट्टितेलको भाँडोमा कपडाको झुम्रो बालेर वरिपरिका टोल चहारेका थियौँ । जे होस्, रमाइलो भएको थियो । त्यसभन्दा अगाडि, उमेर अझ सानै भएको अवस्थामा नजिकका दुईतिन साथीसँग आफ्नै टोलमा ख्यालख्यालमा देउसी खेलेको पनि अलिअलि याद छ ।

आधुनिकताबिच देउसीको परम्परा

तिहार भन्नेबित्तिकै सम्झिइने कुराहरूमध्ये देउसीभैलो पनि एक प्रमुख पक्ष हो । सेलरोटी, फुलमाला र झिलिमिली बत्तीका बिच ‘देउसिरे’को सङ्गीत — दाजुभाइ र दिदीबहिनीबिच प्रेम र आत्मीयता बाहेक तिहारको सबभन्दा महत्वपूर्ण तत्व सायद् यही नै हो ।
हुन त देउसीभैलोको प्रचलन कुन समयमा, कोबाट, कसरी र केका लागि सुरु भयो भन्ने सम्बन्धमा मलाई पर्याप्त जानकारी छैन । भैली गीतका बिचमा धेरैले “हामी त्यसै आएनौँ, बलि राजाले पठाए”  भन्ने गाएको सुनिन्छ । बलि राजाले केका लागि पठाएका थिए कुन्नि ! सायद् आजको युगसम्म आइपुग्दा देउसीभैलोको महत्व र आवश्यकतामा पनि परिवर्तन आइसकेको छ ।
अचेलका देउसीभैलो मुख्यतः दुई कारणबाट सञ्चालन हुने गरेको पाइएको छ । प्रथमतः चाडपर्वको रमाइलोलाई यसले थप उत्सवमय बनाउँछ, साथीभाइको जमघटसँगै टोलछिमेक घुमेर सबैसँग चाडपर्वको शुभकामना साट्ने अवसर दिलाउँछ । अर्को पक्ष भने देउसीभैलो मार्फत् अर्थ सङ्कलनको अभियान हो, जुन समाजका विभिन्न पक्षबाट यदाकदा आलोचित पनि छ । अनौपचारिक रूपमा जम्मा भएको समूहभन्दा पनि औपचारिक रूपमा सङ्गठित सामाजिक (विशेषतः गैर नाफामूलक) समूह र संस्थाहरूले देउसीमार्फत् आफ्नो आर्थिक कोष उकास्ने गरेको पाइन्छ । यसलाई कतिपयले संस्कृतिका नाममा विकृति भिœयाएको, जबर्जस्ती चन्दा सङ्कलन गरेकोजस्ता आरोप लगाउने गरेको पाइन्छ । यद्यपि व्यक्तिगत रूपमा म भने त्यस्तो विरोधको औचित्य देख्दिनँ । यदि कसैले परम्परागत संस्कृतिको एक अभ्यासलाई आफ्नो उद्देश्य प्राप्तिका लागि सिर्जनात्मक प्रयोग गर्न सक्छ भने के आपत्ति ? तर चासो यतिमात्र हो कि त्यसले कुनै पनि मानिसलाई इच्छा विपरीत कुनै क्रियाकलापमा सहभाग िनगराओस् । अझ प्रष्ट शब्दमा भन्दा दाताको इच्छा नभईकन पैसा उठाउने प्रवृत्ति भने स्थापित हुनु हुँदैन भन्ने कुरामा हामी सचेत हुनुपर्छ ।

Sunday, May 29, 2011

भुलक्कड भएछु !

आजभन्दा केही महिनाअघिसम्म म मेरी एक जना निकटतम साथीलाई उसको भुलक्कडपनाको सन्दर्भमा व्यङ्ग्य गर्थेँ, “मोबाइलमा मात्र मेमोरी कार्ड भएर हुँदैन क्या । त्यो तिम्रो माइन्डमा पनि हुनुपर्छ ।” अचेल पनि ऊ मौका प¥यो कि जिस्काउँछे, “तिमी त ठुलो क्षमताको मेमोरी कार्ड भएको मान्छे !” तर, अचेल मेरो हालखबर भने बेग्लै छ ।

करिब एक हप्ताअगाडि लेख्न सुरु गरेको यो सामग्रीको दोस्रो अनुच्छेद लेख्ने साइत बल्ल आज जुरेको छ । कारण, म भुलक्कड भएछु । आज पुनः उही साथीसँग फोनमा कुरा गर्दा उसले त्यही डाइलग पेलेपछि मात्र मैले म मेरो भुलक्कडपनाबारे लेख्दै थिएँ भन्ने सम्झेँ ।

हो, म कुनै रङ्गीचङ्गी बनावटी गफ दिँदै छैन । बाले “थाहा पाइने गरी आँखा कमजोर हुँदै गए” भनेजस्तै म पनि ‘थाहा पाइने गरी’ भुलक्कड भएको महसुस गरेको छु मैले । यहाँसम्म कि, आज कुन बार हो भन्ने बिर्सिदा अस्तिको हप्ता म दुई दुई पटक तिनछक परेँ ।

कुनै जमाना थियो, म धेरैका लागि विभिन्न खाले तथ्याङ्कहरूको स्टोर हाउस वा डाटाबेस थिएँ । ‘तिम्रो र मेरो भेट पहिलो चोटि साँच्ची कहिले भएको हो दिवाकर ?”, धेरै साथीहरू सोध्थे । “गिरिजाप्रसाद मरेको मिति भन् त !”, बा भन्नुहुन्थ्यो । “सिडिओ पिट्ने राज्यमन्त्रीको पोर्टफोलियो के थियो रे ?”, अर्को साथी सोध्थ्यो । “मलाई घानाको राजधानी कुन हो, एस्एम्एस् गरिदेऊ त !”, अर्कीले भन्थी । “त्यो कार्यक्रममा कति जना आएका थिए रे ?’, अर्को प्रश्न आउँथ्यो । उनीहरू सबैका लागि म ती र त्यस्ता धेरै प्रश्नहरूको उत्तर भएको किताब वा हार्ड डिस्क हुन्थेँ । (हुन त यहाँ उल्लिखित सबै प्रश्नको उत्तर म आज पनि दिन सुक्छु है !) कुनै मित्रले कुनै समयमा मैले विभिन्न सन्दर्भका मितिहरू बताइदिँदा “यी मान्छे त क्यालेन्डर नै र’छन् नि” भनेको मलाई अद्यापि सम्झना छ । हुन त आज पनि मेरा केही सहपाठीहरू मलाई “मिस्टर् गुगल्”को सम्बोधन दिन्छन् । तर मलाई अचेल त्यो मात्र व्यङ्ग्य लाग्न लागेको छ, जसले मलाई कताकता चसक्क पार्छ ।

यो यो सामान किन्छु भनेर पसल गयो, फर्किदा एक दुई ओटा सामान छुट्ने । साथीले त्यो कापी ल्याइदे न है भनेर फोन गर्छ, भोलिपल्ट कलेज हिँड्ने बेला भुसुक्कै । अब हुँदाहुँदा दारी काटेको र नुहाएको कहिले हो र कति दिन भयो बिर्सिसकेपछि, अब फेरि यी काम कहिले गर्नुपर्ने हो, सम्झना कसरी हुनु र ! (नित्तान्त व्यक्तिगत कुरा — सायद् मैले यहाँ खुलाउनुहुँदैनथ्यो कि ?)

तर पनि म डराएको चै पटक्कै छैन है । मलाई यो भुलक्कडपना कुनै स्थायी रोग वा कमजोरी चै लागेको छैन । हुन सक्छ, मेरो दिमाग अचेल ओभरलोडेड भएको छ । हुन सक्छ, म कुनै तत्कालीन चिन्ताको सिकार भएको छु । हुन सक्छ, यो बढ्दो व्यस्तताको अस्थायी प्रभाव हो । यो पनि हुन सक्छ कि, कहिलेकाँहि यस्तो हुनु सामान्य, प्राकृतिक र नियमित मानव स्वभाव हो । अर्कातर्फ आफ्नो भुलक्कड बानीले धेरै दुःख पाएका धेरै मानिसहरू मैले भेटेको छु । म त्यतिसम्म डरलाग्दो भइसकेको छैन र त उनीहरूलाई हेरेर चित्त बुझाइरहेको छु । तर, संयोगवश मेरो भुलक्कडपना बढ्दै गयो भने .......... ! ओहो, त्यस्तो दुर्घटनाको कल्पना पनि नगरौँ यहाँ । ................ ह्या ........, म यसलाई कन्ट्रोल गर्न सकिहाल्छु नि जब आवश्यकता महसुस हुन्छ ।

मानव स्मरण प्रणालीलाई भर्चुअल मेमोरी कार्डसँग तुलना गर्दै मैले एक दिन फेसबुकमा ‘मेन्टल मेमोरी कार्ड’ रिफ्रेस गर्नुपर्ने आवश्यकता महसुस गरेको स्ट्याटस लेखेँ । त्यसमा कमेन्ट गर्ने धेरै साथीहरूले रिफ्रेस गरेर मात्र नपुग्ने, फम्र्याट् नै गर्नुपर्ने आवश्यकता सुझाए । तर, भनेजस्तो सजिलो कहाँ छ र मित्र, मेन्टल मेमोरी कार्ड फम्र्याट् गर्न ! मिल्ने भए त म फम्र्याट् मात्र के, पुराना सूचनाहरूलाई ड्याङ्ड्याङ् ब्याक्अप् डिस्क्मा थन्काइदिएर करेन्ट मेमोरी स्पेसियस (Spacious) बनाइहाल्थेँ नि ! मान्छे सर्वश्रेष्ठ प्राणी भन्छन् । सर्वश्रेष्ठ प्राणीलाई त प्रकृतिले सूचना भण्डारणको स्थायी क्षमता दिएको छैन भने अरु प्राणीको हालत के होला । बिचरा !

हो, मष्तिष्क व्यवस्थापन (Mind Management) साह्रै कठिन कार्य हो । तर पनि, म अचेल कसरी आफ्नै सोचाइलाई व्यवस्थित पार्न सकिन्छ भनेर सोच्दै छु, ता कि त्यहाँको अव्यवस्थाले मेरो स्मरण प्रणालीलाई भद्रगोल हुने गरी नखल्बल्याओस् ।

अचेल मलाई ‘मिस्टर् गुगल्’ र ‘तिमी त ठुलो क्षमताको मेमोरी कार्ड भएको मान्छे’जस्ता सम्बोधनले मेरा विगत र वर्तमानलाई तुलना गर्न बाध्य बनाउँछन् । तुलना गर्दा प्रायशः वर्तमानलाई कमजोर पाउने गरेको छु । तर पनि, केही समयपछि नै पुनः ती सम्बोधनले मलाई मेरो स्मरण शक्तिमा गौरवान्वित र मख्ख बनाउनेछन् भन्ने आशामा बाँचेको छु ।

Tuesday, June 22, 2010

अक्षरको डर

सबै विद्यार्थीहरूमा परीक्षा दिइसकेपछि नतिजा नआउन्जेलसम्म डर हुने गर्छ । हुन त मलाई अरू साधारण विद्यार्थीहरूको जस्तो धेरै डर त हुँदैन । तर पनि, नतिजा आउन लाग्यो भन्नेबित्तिकै एउटा किसिमको डर भने आइहाल्छ । अक्षरको डर । न परीक्षकले मेरो अक्षर नै बुझेन कि ?

मैले बाल्यकालदेखि नै धेरै कुरा सुनेको छु, राम्रा अक्षर कस्ता हुनुपर्छ भनेर । मैले व्यक्तिगत रूपमा अक्षर नराम्रो भएकै कारणले आजसम्म कुनै निर्णायक परीक्षामै असफल हुनुपरेको त छैन, तर आन्तरिक परीक्षाहरूमा परीक्षकको मप्रतिको पहिलो कमेन्ट हुन्छ, “कस्तो नराम्रो अक्षर !”, “यदि तिम्रा अक्षर राम्रा भइदिएका भए ...”, “मैले तिम्रो ५ अङ्क घटाइदिएँ किनकी ...”, "You have so terrible handwriting" आदिआदि । 
एक जना सरले केही समयअघि भन्नुभयो, “हेर भाइ, तिमीले आफ्नो अक्षर सुधार है । नत्र पछि तिमीले दुःख पाउछौ ।” मेरा लागि यस्ता सुझाव कुनै नयाँ थिएनन्, त्यसैले त सजिलै भनिदिएँ, “ह्या.... । आजसम्म चलिरहेको छ । चल्दै जान्छ । जे होला होला ।” यो कुरा सुनेपछि सरले भन्नुभएको अर्को कुरा भने अलि गम्भीर नै थियो । “तिमीलाई थाहा छ कि छैन, मानिसले लेख्ने अक्षरले उसको मनोवैज्ञानिक अवस्था (Psychological state) बताइरहेको हुन्छ । तिमी आफ्नो अक्षर जस्ता हुन् वास्ता गर्दैनौ भन्नुको अर्थ हो, तिमी आफ्नो जीवन पनि जता जान्छ, जाओस् भन्ठान्छौ । खासै वास्ता राख्दैनौ आफैप्रति ।” मैले यो कुरामा सहमति जनाउन त सकिनँ नै, न त विरोध नै गर्ने हिम्मत गरेँ । 
एक जना म्याडम हुनुहुन्छ । प्रत्येक परीक्षाको नतिजा आएपछि मलाई भन्नुहुन्छ, “तिमी आफूले पढाइमा खर्च गर्ने कुल समयको २५ प्रतिशत अक्षर सुधार्न खर्च गर । क, ख, ग, घ, A, B, C, D देखि नै सुरु गर ।” कक्षाका साथीहरूबीच म हाँसोको पात्र हुन्छु । तर पनि अहँ म त्यहाँ केही गर्न सक्ने अवस्थामा हुन्न । 
बेलाबेलामा शिक्षकहरूबीच विद्यार्थीको प्रस्तुतिबारे छलफल हुन्छ रे । अरू साथीहरूका विविध पक्षमा कुरा हुन्छन् रे । तर मेरा बारे सरम्याडमले के भन्नुहुन्छ त ? अवश्य पनि मलाई यसमा चासो हुने नै भयो । अप्रत्यक्ष रूपमा यो कुरा थाहा पाउन म विविध प्रश्न सोध्छु । फेरि पनि मेरो अरू कुनै पक्षभन्दा पनि त्यही विषयको चर्चा हुन्छ, “यसको अक्षर राम्रो छैन । बुझ्न गाह्रो छ ।” 
केही दिनअघि मैले एक पुस्तकमा पढेँ “अक्षराणी बाटुलानी, घनानी र पृथक्पृथक् ।” अर्थात्, अक्षरहरू बाटुला, बाक्ला र फरकफरक छुट्याएर लेख्नुपर्छ रे । मैले त्यही भनाइलाई उद्धरण गरेर फेसबुकमा स्याटस लेखेँ र थपेँ “अब मैले के गर्ने होला ?” एक जना दाइले मेरो अक्षरलाई नै पनि राम्रो नै भनिदिनुभयो (सायद् उहाँको मेरोभन्दा पनि नराम्रो भएर हो कि ?) । अर्को एक साथीले “नानीदेखि लागेको बानी छुटाउन गाह्रो पर्ला । बरु पढ्नेले नै अक्षर बुझ्ने बानी विकास गर्नुपर्ला” भन्ने विचार राख्नुभयो । अर्को एक साथीले, “मानिस सबै पक्षमा पूर्ण हुने नभएकाले” चित्त बुझाउन सुझाव दिनुभयो । अरू केही फुटकर कमेन्ट पनि आए । 
हुन त मैले सधै चित्त बुझाउँदै आइरहेको छु । तर, मैले आजसम्म पनि अक्षर सुधार्न आएका अनगन्ती सुझावहरूलाई गम्भीर रूपमा लिएकै छैन । न त कहिल्यै अक्षर सुधार्ने प्रयास नै गरेको छु, न त अक्षर नराम्रो हुँदा मेरो जीवन नै बर्बाद हुन्छ भन्ने लागेको छ । 
तर पनि, अहिले पनि म डरमा छु । परीक्षा दिएर नतिजा कुरेर बसिरहेको बेला म सोचिरहेको छु, “कतै परीक्षार्थीले मेरो अक्षर बुझेन भने र त्यसकै कारणले म फेल भएँ भने कसैले आश्चर्य नमाने हुन्छ ।”




Tuesday, March 2, 2010

रिसमाथिको जितका लागि कृत्रिम हाँसो



साथीहरु म रिसाएकाले हिजो असिनापानी परेको रे, म झनै रिसाएको भए आकाश खस्थ्यो रे!
मैले हिजो फेसबुकमा यो स्ट्याटस् लेख्दा एक जनाले मात्र कमेन्ट गरे पनि भेटिएका धेरैले छक्क लाग्यो भन्नुभयो । 
यहाँ प्रयुक्त "रे"ले प्रष्टै बताउँछ कि यो मेरो भनाइ होइन । एक जना मित्रले हिजो एस्एम्एस् गरेर मलाई यसो भनेकी हुन् ।  
उनका अनुसार म त्यो दिन रिसाएको थिएँ रे । अनि रिस प्रदर्शन गर्ने कला नभएका कारण मैले कृत्रिम हाँसो देखाएको थिएँ रे । हो यसमा म पनि सहमत छु । त्यो बेला म आफैँसँग सन्तुष्ट थिइँन विभिन्न कारणहरु थिए यसका पछाडि । 
तर मेरो कृत्रिम हाँसो मेरा लागि एउटा नियमित्र व्यवहार थियो । मैले धेरै साथीहरुलाई भनेको छु कि म पहिला धेरै नै रिसाउथेँ । करिब तीन-चार वर्षअघिदेखि भने म विस्तारै रिस कन्ट्रोल गर्न सक्ने बानी विकास गर्ने प्रयास गर्दै छु । जब म रिसमा हुन्छु म खासै कोहीसँग पनि बोल्न चाहान्न । म अधिकांशको जस्तो एउटाको रिस अर्कोमाथि पोख्न चाहान्न । त्यसैले त धेरै मित्रहरुले म रिसाएको कुरा थाहा पाउन सक्दैनन् नि जबसम्म उनीहरुले मेरो रहस्य बुझ्दैनन् ।  
मेरो रिस नियन्त्रण गर्ने यो बानी मलाई प्रभावकारी लाग्छ । त्यसैले मैले यो अभ्यास गरेको छु । तर पनि कहिलेकाँही सार्वजनिक स्थानमा भएको बेला कसैसँग नबोली बस्नु अव्यवहारिक हुने भएकाले मैले आफूलाई सम्हाल्नका लागि उनीहरुको कुरामा सहमति जनाउने र कृत्रिम हाँसो हाँस्ने गर्छु्र । 
हुन त यो तपाईँलाई व्यक्तिगत गन्थन लाग्यो होला तैपनि 'आफूलाई अभिव्यक्त गर्ने थलो' भनेर ब्लग बनाइसकेपछि मैले आफ्नो यति सानो बानी पनि व्यक्त गरिनँ भने त मलाई दोष लाग्ला नि हैन र?