Tuesday, November 22, 2011

‘एभरेस्ट विक्ली’का लागि गरिएको इन्टर्नसिप अनुभव

बिए तेस्रो वर्षको कार्यमूलक पत्र ‘नेपाली पत्रकारिता’ विषय अन्तर्गत गर्नुपर्ने प्रयोगात्मक अभ्यासका लागि साथीहरूबिच कार्य विभाजन गर्दा मैले हङ्कङ्बाट प्रकाशन हुने ‘एभरेस्ट विक्ली’ रोजेँ । यसका पछाडि मुख्यतः दुई कारणहरू थिए । प्रथमतः त्यो अन्तर्राष्ट्रिय स्तरको पत्रिका थियो । दोस्रो, म मेरा अन्य साथीका भन्दा फरक काम गर्न चाहान्थेँ, र यो प्रत्यक्ष समाचार लेखन नभई अनुवाद भएकाले अन्यको भन्दा फरक थियो । यसै कारण म घरमै काम गर्न सक्थेँ र यसलाई धेरैद्वारा सजिलो सोचिएको थियो ।

Wednesday, November 2, 2011

पुरा हुन नसकेको रहर

यस पालिको तिहार भर्खर सकियो । तर अबको एक वर्षसम्म म भने तिहार कहिले आउला भनेर कुरी बस्न बाध्य भएको छु । कारण, यो तिहारले ममा देउसीभैलोप्रतिको आकर्षणलाई पुनर्जीवन दिएको छ ।
देउसीभैलोमा मेरो सहभागिताका यादहरू सम्झनामा अझै स्पष्ट छन् । विसं २०५८भन्दा अगाडि हाम्रो परिवार काभ्रे, पात्लेखेतमा बस्थ्यो । हाम्रो गाउँतिर औँसी ÷ लक्ष्मीपुजाको साँझ र राति केटीहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भैली ÷ भैलो भनिन्थ्यो । त्यसको भोलिपल्टको साँझ र राति केटाहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भने देउसी भनिन्थ्यो । सहरबजारको जस्तो बाह्य गीतमा नाचगान प्रस्तुत हुँदैनथे । भैलोमा “भैलिनी आइन् आँगन” शैलीका केही गीतका साथमा एकले भट्याउँदा सबैले “भैलिनी” भन्ने प्रचलन थियो । देउसी भने जहिले र जहाँ पनि “ए, भन मेरा भाइ हो — देउसिरे”बाट सुरु भएर भट्याउनेले केही सदावहार र केही परिस्थितिजन्य पदावली भन्दा अरुले “देउसिरे” भनेर सकिन्थ्यो ।
त्यस प्रकारको देउसीमा म एक रात मज्जासँग सहभागी भएको छु । भाइटिकाको अघिल्लो साँझदेखि भाइटिकाको दिन बिहान करिब आठ बजेसम्म हामी चारपाँच जनाले मट्टितेलको भाँडोमा कपडाको झुम्रो बालेर वरिपरिका टोल चहारेका थियौँ । जे होस्, रमाइलो भएको थियो । त्यसभन्दा अगाडि, उमेर अझ सानै भएको अवस्थामा नजिकका दुईतिन साथीसँग आफ्नै टोलमा ख्यालख्यालमा देउसी खेलेको पनि अलिअलि याद छ ।

आधुनिकताबिच देउसीको परम्परा

तिहार भन्नेबित्तिकै सम्झिइने कुराहरूमध्ये देउसीभैलो पनि एक प्रमुख पक्ष हो । सेलरोटी, फुलमाला र झिलिमिली बत्तीका बिच ‘देउसिरे’को सङ्गीत — दाजुभाइ र दिदीबहिनीबिच प्रेम र आत्मीयता बाहेक तिहारको सबभन्दा महत्वपूर्ण तत्व सायद् यही नै हो ।
हुन त देउसीभैलोको प्रचलन कुन समयमा, कोबाट, कसरी र केका लागि सुरु भयो भन्ने सम्बन्धमा मलाई पर्याप्त जानकारी छैन । भैली गीतका बिचमा धेरैले “हामी त्यसै आएनौँ, बलि राजाले पठाए”  भन्ने गाएको सुनिन्छ । बलि राजाले केका लागि पठाएका थिए कुन्नि ! सायद् आजको युगसम्म आइपुग्दा देउसीभैलोको महत्व र आवश्यकतामा पनि परिवर्तन आइसकेको छ ।
अचेलका देउसीभैलो मुख्यतः दुई कारणबाट सञ्चालन हुने गरेको पाइएको छ । प्रथमतः चाडपर्वको रमाइलोलाई यसले थप उत्सवमय बनाउँछ, साथीभाइको जमघटसँगै टोलछिमेक घुमेर सबैसँग चाडपर्वको शुभकामना साट्ने अवसर दिलाउँछ । अर्को पक्ष भने देउसीभैलो मार्फत् अर्थ सङ्कलनको अभियान हो, जुन समाजका विभिन्न पक्षबाट यदाकदा आलोचित पनि छ । अनौपचारिक रूपमा जम्मा भएको समूहभन्दा पनि औपचारिक रूपमा सङ्गठित सामाजिक (विशेषतः गैर नाफामूलक) समूह र संस्थाहरूले देउसीमार्फत् आफ्नो आर्थिक कोष उकास्ने गरेको पाइन्छ । यसलाई कतिपयले संस्कृतिका नाममा विकृति भिœयाएको, जबर्जस्ती चन्दा सङ्कलन गरेकोजस्ता आरोप लगाउने गरेको पाइन्छ । यद्यपि व्यक्तिगत रूपमा म भने त्यस्तो विरोधको औचित्य देख्दिनँ । यदि कसैले परम्परागत संस्कृतिको एक अभ्यासलाई आफ्नो उद्देश्य प्राप्तिका लागि सिर्जनात्मक प्रयोग गर्न सक्छ भने के आपत्ति ? तर चासो यतिमात्र हो कि त्यसले कुनै पनि मानिसलाई इच्छा विपरीत कुनै क्रियाकलापमा सहभाग िनगराओस् । अझ प्रष्ट शब्दमा भन्दा दाताको इच्छा नभईकन पैसा उठाउने प्रवृत्ति भने स्थापित हुनु हुँदैन भन्ने कुरामा हामी सचेत हुनुपर्छ ।