Thursday, October 13, 2016

विचारका अगाडि भावनाको औचित्य

Courtesy: http://www.bpcoachtrain.com/
“यहाँ देशको छ चिन्ता, तिमी माया–माया भन्छौ,
साँच्चै नबुझ्ने हो कि नबुझ्ने जस्तै गर्छौ ?..........”

गीतकार कृष्णहरि बरालद्वारा सिर्जित यी पङ्क्तिहरू नचाहँदा–नचाहँदै पनि मेरा ओठबाट निस्किरहन्छन्, बेला न कुबेला । हुन त मेरो गायन क्षमता शून्यबराबर नै छ । साथीहरूबीच विषयान्तर कुराकानी भइरहेका बेला मबाट यस्तो गीत सुन्दा उनीहरूले मलाई धेरै पटक हाँसोको पात्र बनाएका छन् । जिन्दगीको दुई दशक पनि पार गरिनसकेको एउटा ठिटो*, यदि म चाहान्छु भने आफ्नै परिवारका दैनिक समस्याहरूबाट त मुक्त हुन सक्छु । आफ्नो पढाइ, भविष्य, अन्तर्सम्बन्धहरू र दैनिक आयव्यय छोडेर केको देशको चिन्ता ? देशको चिन्ता हुँदैमा देशका लागि केही गर्न सकिन्छ त ? — कहिलेकाँहि आफैँद्वारा आफैँलाई सोधिएका प्रश्नहरूले मलाई समस्यामा पार्छन् ।

हो, आफू र आफ्नो भविष्यका अगाडि देशको चिन्ता मेरो प्राथमिकता हुँदै होइन । न त मेरो चिन्ताले देशलाई नै केही गर्न सक्छ । साँढे दुई करोडभन्दा बढी जनतामध्येको म एक्लैले देशका निमित्त उल्लेख्य केही पनि गर्न सक्दिन । फेरि, मैले देशको बारेमा केही गर्न खोजेको पनि होइन, खालि ‘चिन्ता’ मात्र लिएको हो । कार्य रूपमा नबदलिएसम्म चिन्ता र चिन्तनको कुनै औचित्य नै रहन्न । व्यवहारबिनाको विचार र सदुपयोगबिनाको सिद्धान्त मूल्यहीन हुन्छन् भनेर मैले नै धेरै पटक, धेरै स्थानमा, धेरै जनालाई बताइसकेको छु । यस अर्थमा यस्तो चिन्ता भावनाको बहाबभन्दा बढी केही पनि हुन सक्दैन भन्ने अधिकांश मित्रहरूको ठम्याइ पुष्टियोग्य छ ।

मान्छेको अभिव्यक्तिका मूलतः दुई स्रोत हुँदा रहेछन् : मष्तिष्क र मन । मष्तिष्कले तर्क र विचार अभिव्यक्त गर्छ भने मनले भावना र संवेदनाका श्रृङ्खलाहरू । भावनाभन्दा तर्क बढी शक्तिशाली हुन्छ, त्यसैले यो बढी मूल्यवान् मानिन्छ । संसारको औपचारिकता र नियमितता तर्कको आधारमा चल्नुपर्छ भन्ने मत यसै कारणले गर्दा दिनानुदिन सशक्त बन्दै छ । तर पनि तर्क असफल हुँदा भावनाले काम गर्ने रहेछ । तर्कले सन्तोष दिन नसकेको अवसथामा भावनाले मानिसलाई प्रफुल्ल बनाउँदो रहेछ । जहाँ विवेक कमजोर सावित हुन्छ, त्यहाँ आस्थाले विवेकमाथि शासन गर्छ भन्ने भनाइले पनि यसको पुष्टि गर्छ । अझ कहिले त तर्कले नै भावनालाई तर्क बन्न बल पु~याउने रहेछ । अर्थात्, तर्ककै सहयोगमा कहिलेकाँहि भावना तर्क बन्ने रहेछ ।

यस रचनाका पहिला दुई अनुच्छेद पूर्णतः तर्कमा आधारित छन् । यिनीहरूको सशक्त पुष्टि थाहा पाएर पनि म भावनामा डुबेर एकाएक तर्कलाई बिर्सन पुग्ने रहेछु । आफ्नो कर्तव्य र आफ्नो प्रयासको सार्थकता बिर्सने रहेछु । आफ्नो मष्तिष्कलाई आफ्नो मनभित्र लुकाउने रहेछु । अर्कातर्फ मेरो यो क्रियाकलापबाट म जीवनको एउटा यथार्थ सिक्दै रहेछु । त्यो के भने — विचार र भावना उस्तै र एउटै त होइनन् नै, तर यिनीहरू पूर्ण विपरीत पनि होइनन् । वास्तवमा भावना र विचार एक–आपसका निषेधक (Mutually exclusive) होइनन्, बरु एक–अर्काका परिपूरक हुन् ।

मान्छे न त भावना एक्लैले बाँच्न सक्छ, न त विचार । भावनाको गहिराइ र विवेकको उचाइ दुबै उत्तिकै पीडादायक हुन्छन् मान्छेका लागि । हामीले विचारलाई वास्ता नगरी भावनाको पछि दगु~यौँ भने पृथ्वीलाई छोडेर स्वर्ग जान खोजेको आरोप लाग्न सक्छ । हामी भगुवा (escapist)मा गनिन सक्छौँ । विपरीतमा भावनालाई वास्ता नगरी विचारलाई मात्र बोक्यौँ भने हामीले पृथ्वीलाई नै स्वर्ग बनाउन खोजेको आरोप लाग्न सक्छ, जुन कल्पनामा मात्र सम्भव छ । हामी ‘कोरा आदर्शवादी’ ठहरिन्छौँ । यी दुबै अवस्थाहरू पूर्णत असम्भव नै हुन् । अर्कातर्र्फ  अतिवाद कुनै पनि अवस्थामा नकारात्मक नै हुन्छ । जिन्दगीको यो यात्रामा न विशुद्ध विचार बग्ने खोला भेटिन्छ, न विशुद्ध भावनाको । वास्तवमा विचार र भावनाको सङ्गम भएको दोभानबाट नै हाम्रो जीवन सुरु भएको हुन्छ ।
मन र मष्तिष्कबीचको असामाञ्जस्य नै मान्छेभित्रको एक प्रमुख समस्या बनेको छ आज । तर क्षमतावान् आँखाका लागि विचार र भावनाको द्वन्द्व नै यथार्थमा जीवनको सङ्घर्ष हो, जसले हामीलाई बाँच्नका लागि उर्जा प्रदान गरेको छ । जिल्दगीको मूल्य नै सङ्घर्ष र सफलतामा खोज्ने हामीले विचार र भावनालाई सन्तुलनमा राख्न सक्नुपर्दछ । विचार र भावनाको निरन्तर अन्तद्र्वन्द्वमा दुबैले जित्न सक्ने अवस्था (Win-win condition) निर्माण गर्न सकेको खण्डमा सफलतालाई पहिल्याउन र प्राप्त गर्न सक्छौँ ।

अवश्य नै विचारले काम गर्ने ठाउँमा भावनाले काम गर्न सक्दैन भने भावना आवश्यक भएको अवस्थामा विचारले । तर, आवश्यक परेको समय र स्थानमा उचित तरिकाबाट हामीले यिनीहरूको प्रयोग गर्न सक्यौँ भने हामीले आवश्यक परेको र चाहेको नतिजा प्राप्त गर्न सक्छौँ । कुन अवस्थामा मन र कुन अवस्थामा मष्तिष्कको प्रयोग गर्ने भन्ने निर्णय गर्नु नै वास्तवमा विवेक हो ।

आवश्यकता र उपयोगिताको तर्कका अगाडि ‘देशको छ चिन्ता...’को भावना अब भावनाको नदी मात्र रहेन, मन र मष्तिष्कको सन्तुलनका लागि अगाडि बढेको अभिव्यक्ति हो यो । यो कर्तव्य र जिम्मेवारीको परिपूर्ति सँगसँगै आवश्यक पर्ने भावनाको उद्गार हो, अनि भावना र विचारसहितको पूर्ण मानवको अपेक्षा । यो रचनालार्इै पनि विशुद्ध भावना वा विशुद्ध विचारभन्दा पनि मानव जीवनको प्रतीकको रूपमा भावना र विचारको सम्मिश्रण मान्नु राम्रो होला ।

*यो लेख १५ वैशाख २०६६मा लेखिएको हो, जति बेला म १९ वर्षको थिएँ । पछि सन्जोग ठकुरी दाइ मार्फत् कतै यसको प्रकाशन पनि भएको छ ।


No comments:

Post a Comment