Tuesday, March 17, 2015

एस् एल् सीअघि नै छ हजार किताब सक्दा

प्रस्तुति : दिवाकर प्याकुरेल
प्रतीक ढकाल (वि.सं. २०१६, दागापेला, भुटान) प्रसिद्ध यात्रा साहित्यकार हुनुहुन्छ । अनुवाद, काव्य तथा प्रशासनबारे समेत गरी एक दर्जनभन्दा बढी पुस्तकका लेखक ढकाल विशेषतः नियात्रा लेखनका लागि प्रसिद्ध हुनुहुन्छ । वि.सं. २०६२देखि २०६७सम्म साझा प्रकाशनद्वारा प्रकाशित तथा वितरित पुस्तकहरूमध्ये उहाँको ‘हिमालपारि पुगेपछि’ले सर्वाधिक बिक्री हुने पुस्तकको रेकर्ड कायम गरेको छ । त्यस बाहेक ‘सेती पनि काली पनि’, ‘चीनको विचित्र चित्र’, ‘सगरमाथाको आधारशिविरबाट’ लगायत उहाँका नियात्रा कृतिहरू लोकप्रिय छन् । अझ उहाँका दुई कृतिहरू ‘सेती पनि काली पनि’ र ‘सगरमाथाको आधारशिविरबाट’ त विश्व कीर्तिमानी आरोही आपा शेर्पा लगायतले सगरमाथा शिखरबाट विमोचन गरेका हुन् । त्यसैले ढकालले सगरमाथा शिखरबाटै पुस्तक विमोचन गराउने विश्वकै पहिलो लेखकका रूपमा मान्यता पाउनुभएको छ । बालबालिकाकै लागि भनेर उहाँले केही गीतहरू लेख्नुभएको छ । ट्राफिक सन्देशबारेको लगायतका उहाँका केही बाल गीत जेम्स स्कुलले एल्बमका रूपमा प्रकाशित गरेको छ । पेसागत रूपमा उहाँ नेपाल सरकार, निजामती सेवामा कार्यरत हुनुहुन्छ । हाल मनोहर बस्ती, काठमाडौँमा बस्दै आउनुभएका ढकालका बाल्यकालका अनुभव यस पटकको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ ।  
मेरो जन्म विसं. २०१६ साल जेठ १३ गते भुटानको दागापेला जिल्लामा भएको हो । बुबा अनन्तप्रसाद ढकाल र आमा पवित्रा ढकालका दुई जना छोरीपछि जेठो छोराका रूपमा म जन्मिएको हुँ ।
त्यति बेला नेपालको पूर्वी पहाडका नेपालीहरूलाई राजनीतिक सीमाको ज्ञान खासै हुन्थेन, खासै आवश्यक पनि थिएन । धेरै नेपालीहरू नेपालको सीमा काटेर भुटान, सिक्किम लगायत म्यानमार÷बर्मासम्म पुग्थे र उतै बसोबास सुरु गर्थे । मेरो हजुरबा पनि १३ वर्षको हुँदा ताप्लेजुङ्को हाम्रो गाउँ छाडेर भुटान जानुभएको हो रे । (हाम्रो त्यस गाउँ भने हाल पाँचथरको अमरपुर गाविसमा पर्छ ।) त्यसै क्रममा मेरा बाको र पछि मेरो पनि जन्म भुटानमा नै भएको हो । हजुरबा ५५ वर्षको भएपछि बल्ल झापा फर्किनुभो । त्यति बेला म चार वर्षको थिएँ । त्यसपछि हाम्रो परिवार निरन्तर बुधबारे, झापामा बसिरहेको छ । म काठमाडौँ बसेपनि मेरा बुबा र भाइहरू अझै पनि झापामै हुनुहुन्छ ।
त्यसैले भुटानमा जन्मे पनि मेरो बाल्यकाल भने सम्पूर्ण रूपमा झापामा नै बितेको हो । त्यति बेला बुधबारे गाविसका नौ वडामा नौ वटा निःशुल्क तथा अनिवार्य प्राथमिक पाठशाला थिए । हाम्रो वडामा रहेको निःशुल्क तथा अनिवार्य प्राथमिक पाठशाला, केन्द्र नम्बर २ जयपुरमा मेरो प्राथमिक तहको पढाइ सुुरु भो । कक्षा छका लागि भने म बुद्ध आदर्श हाई स्कुलमा भर्ना भएँ र एस्एल्सीसम्म नै त्यही पढेँ ।
स्कुले जीवन
त्यस बेलाको हाम्रो पढाइमा घोक्ने काम नै बढी हुन्थ्यो । गृहकार्य पनि हाम्रो सामान्य क्षमताभनदा बढी नै कठिन हुन्थ्यो । विशेष गरी अङ्ग्रेजी विषयको गृहकार्य गर्न हम्मे नै पथ्र्यो । म सम्झन्छु कि एक पटक हामीलाई भोलिपल्ट आउँदा ६० वटा अङ्ग्रेजी क्रियापदका सबै रूप हिज्जे (स्पेलिङ्) समेत सुनाउन भनिएको थियो । त्यतिबेला मलाई ’फ्लाइ’को पूर्ण पक्ष ‘फ्लोन’को स्पेलिङ् नआएर बेन्चमाथि उभ्याइएको थियो । धन्न कुनै पनि साथीले मलाई जिस्काएनन्, किनकि उनीहरू सबैलाई थाहा थियो कि त्यही सजाय पाउने पालो अब तिनीहरूको हो । बरु म उभिएको देखेर उनीहरू पनि डराए । त्यो घटना मेरो स्कुले जीवनको पहिलो र अन्तिम सजाय भयो ।
सामान्यतः म पढाइमा राम्रै थिएँ । कक्षामा प्रायः पहिलो र कहिलेकाँहि दोस्रो र तेस्रोसम्म हुन्थेँ । पढाइका विषयमा बीज गणित (अल्जेब्रा) अरु विषयभन्दा गाह्रो लाग्थ्यो । अङ्ग्रेजी त गाह्रो लागेजस्तो कहिल्यै भएन । तर अचम्मको कुरा के भने घरमा कहिल्यै पनि अङ्ग्रेजीको पाठ्यपुस्तक खोलेर पढ्न मन लागेन ।
साहित्यतिरको आकर्षण
सायद् विसं. २०२३मा होला, शिशु कक्षाबाट पास हुँदा म प्रथम भएँ । प्रथम भए बापत कक्षा फड्केर मैले एक्कै चोटि दुई कक्षा चढ्न पाउने त भएँ नै, पुरस्कारका रूपमा एक पोको किताब पनि पाएँ । त्यस पोकोभित्र अरु किताबसँगै ‘आजको दुनियाँ’ शीर्षकको एक कथाको किताब पनि रहेको मलाई सम्झना छ । मैले त्यस बेलासम्म स्कुलमा पढाइ हुने पाठ्यक्रमका किताब र घरमा रहेका धार्मिक ग्रन्थ बाहेक अन्य पुस्तक देखेकै थिइँन । पाठ्यक्रम र धर्मकर्म बाहेक अरु पनि किताब हुँदा रहेछन् भनेर पनि मैले त्यसै बेला थाहा पाएँ । त्यसै घटनाले मलाई पाठ्यक्रमभन्दा बाहेकका किताब पढ्नलाई आकर्षण ग¥यो, जुन मेरो आजसम्मको दैनिकीको अभिन्न अङ्ग हो । अचेल पनि म नाम चलेका र नचलेका लेखकका नाम चलेका र नचलेका किताब मन परे भने सबै नै पढ्छु ।
त्यति बेला नै हाम्रो गाउँमा नवज्योति पुस्तकालय नामको एक पुस्तकालय थियो । बुभ्mनु नबुभ्mनु आप्mनो ठाउँमा छ, मैले त्यस पुस्तकालयका किताब निरन्तर पढ्ने बानी बसालेँ । एस्एल्सी परीक्षा दिनु अगाडिसम्म त त्यस पुस्तकालयका करिब सबै किताब नै मैले सायद् पढिसकेथेँ । बानीले त होला नि विषयवस्तुको सामान्य ज्ञान समेत नभएको ‘नेपाली मुद्रा शास्त्र’जस्तो प्राविधिक किताब पनि मैले पढेँ पढ्नका लागि । अधिकांश नेपालीका र केही अङग्रेजीका गरी झन्डै छ हजार जति किताब पढेँ होला मैले त्यस पुस्तकालयबाट ।
मैले सानै हुँदा नै सुनेको थिएँ कि अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कन धेरै नै पुस्तक पढ्थे । त्यस कुराले मेरो मनमा सफल र ठुलो मान्छे बन्न सकेसम्म धेरै नै पढ्नुपर्ने रहेछ भन्ने प¥यो । त्यसैले त्यस बेलाका मेरा कक्षाका साथीहरू राधा बाँस्तोला (पूर्व मन्त्री चक्रप्रसाद बाँस्तोलाकी बहिनी) र सुरेश ढकाल लगायतका साथीहरूका घरमा रहेका किताब पनि दिनहुँ मागीमागी पढ्थेँ म ।
लेखनको सुरुवात
पढ्ने बानीले लेख्ने बानी पनि लगाउने रहेछ । कक्षा ६मा पढ्दा ‘लालीगुराँस’ शीर्षक राखेर एक कविता सङ्ग्रहको पाण्डुलीपि नै तयार पारेको थिएँ । हुन त त्यो सङ्ग्रह प्रकाशित त भएन तर पछि विश्लेषण गर्दा पत्ता लगाएँ कि थाहा नपाएरै पनि धेरै कविता छन्दमा लेखिएछन् त्यस बेला । मेरो पहिलो प्रकाशित रचना भने विसं. २०२८ सालमा प्रकाशित ‘धार’ कविता हो । झापाको ‘सूर्योदय’ नामको एक पत्रिकामा नेपाली जातिको अस्तित्वको आधार खुकुरीको धार हो भन्ने भावना समेटिएको एक कविता प्रकाशित भएको थियो । एक हिसाबले सायद् पहिचानको खोजी रहेछ क्यारे त्यो कविता ।
कवितासँगको त्यो आकर्षणलाई मैले उच्च शिक्षाका क्रममा साहित्यभन्दा बिल्कुल फरक विषय पढ्दा पनि कायमै राखेँ । रसायन विज्ञानका कति पाठलाई कविता बनाएर घोकेको मलाई अझै याद छ ।
चौतर्फी चासो
पढाइ मात्र होइन, मेरो चासो अरु विषयमा पनि थियो । म राम्रो फुटबल खेलाडी पनि थिएँ । स्कुलको फुटबल टिमको एक सदस्य थिएँ । कुनै जिल्ला स्तरीय फुटबल प्रतियोगिता खेल्नका लागि स्कुलबाट जिल्ला सदरमुकामसम्म पुगेको छु म । त्यति बेला यस्ता खेलकुद प्रतियोगिता सङ्ख्यामा कम नै हुन्थे, तर भएका कार्यक्रमले एकदमै महत्व र आकर्षण पाउँथे । फुटबल खेलाइ पनि अहिलेको भन्दा त केही फरक नै थियो । सायदै कुनै टोलीमा प्रशिक्षक (कोच) हुन्थे । अतिरिक्त खेलाडी पनि कुनै टोलीमा हुँदैनथेँ । अर्थात् सबै फुटबल टिममा ११ जना मात्र हुन्थे ।
हामी साथीहरूबीच भने दिनहुँजसो फुटबल आदि खेल भइरहन्थेँ । बजारमा न त बल किन्न पाइन्थे, न त हामीसँग पुग्दो पैसा नै हुन्थ्यो । कसैले कसैको मोजा चोरेर ल्यायो भने न खुसी भएर बल बनाएर खेल्ने हो । हुन त त्यो समय त्यो गाउँठाउँमा मोजा लगाउने चलन नै कति मानिसमा थियो र !
साथै, हामीले त त्यसै बेला पनि क्रिकेट खेल्न पायौँ । गोपीकृष्ण निरौला भन्ने एक व्यक्तित्वले हामीलाई धान काटेपछि खालि भएको खेतमा क्रिकेट खेलाउनुहुन्थ्यो । सबै नियम त हामीले के जान्नु र, चौका छक्का अनि कति रन भयो भन्ने आदि बुझ्थ्यौँ ।
खेलकुद त भयो नै, हाजिरजवाफ, वक्तृत्वकला प्रतियोगिता जस्ता बौद्धिक अभ्यासका क्रियाकलापमा पनि म पछि हट्दिनथेँ । विसं. २०३२मा भएको एक जिल्ला स्तरीय प्रतियोगितामा म झापा जिल्ला प्रथम भएँ । (हुन त त्यसको १० वर्षपछि युवाका रूपमा विसं. २०४२को राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगितामा पनि मैले स्वर्ण पदक जितेँ ।)  खेलकुदमा चासो यति धेरै बस्यो कि आज पनि फेरि बालक बन्न पाएँ भने फुटबलसँगै अरु खेलमा आफूलाई पोख्त बनाउँथेँ जस्तो लाग्छ ।
चाडपर्वमा चलाखी
अचेलका बालबालिकालाई चाडपर्वको खासै अर्थ हुँदैन । तर त्यस बेला यस्ता अवसरको छुट्टै महत्व हुन्थ्यो । हामीलाई मिठो खान र राम्रो लाउन दसैँ नै आउनुपथ्र्यो । दसैँ कुन दिन भन्ने थाहा पाइसकेपछि कहिले स्कुल बिदा होला र घरका लागि पनि घाँसपातको जोहो गरेर साथीहरूसँग रमाइलो समय बिताउन पाइएला भन्ने हतार हुन्थ्यो । जस्तो ः गाईबस्तुका लागि घाँस काट्ने जिम्मा आफ्नो हो भने दसैँभन्दा एक दुई हप्ता अगाडिदेखि नै दिनुहँ केही मुठा घाँस बढी काटेर कतै लुकाएर जम्मा गरेर राख्थ्यौँ, ता कि दसैँका बेला त्यो घाँस प्रयोग गर्न पाइयोस् र हामी फेरि घाँस काट्न जानु नपरोस् ।
दुई जना दिदी र म मिलेर घर व्यवहार सम्हाल्नुपथ्र्यो । नौ वर्षको उमेरमा आमा बित्नुभएपछि पारिवारिक भार झनै बढेको थियो । त्यसपछि बुवाले दोस्रो बिहे गरेपछि जन्मिएका भाइ बहिनीबीच त उमेरको अन्तर धेरै नै भयो ।
साथी सङ्गत
मेरो मिल्ने साथीहरूमा स्कुलकै सोमनाथ कँडुवाल अदि थिए । हाम्रो घर पनि एउटै टोल अनि स्कुलमा पनि एउटै कक्षाका भएकाले धेरैजसो समय सँगै नै हुन्थ्यौँ । हामी सँगै पढ्थ्यौँ, सँगै गुच्चा खेल्थ्यौँ । सायद् पाठ्यक्रम बाहेकका अरु किताब पढेर पनि होला हामीले चोरी लगायत उट्पट्याङ् काम भने गरेनौँ । त्यसैले मसँग चोरी, बदमासी आदि घटनाका संस्मरण उल्लेख्य छैनन् ।
त्यति हुँदाहुँदै पनि एक पटक भने पैसा चोरेको सम्झना छ । आमा बितिसक्नुभएको थियो । सायद् सहजै पैसा माग्ने मानिस कोही पनि भएन । हामीलाई भने स्कुल जाँदा आउँदा केके खान मन लाग्थ्यो होला । त्यसैले भुटानबाट आउनुभएको एक जना पाहुनाको १० भारतीय रुपैयाँ चोरेको थिएँ । पछि प्रहरी हवल्दार रहनुभएका मेरा काकाले मलाई पिट्नुभयो नि पत्ता लागेपछि ।  
आज त हाम्रो समाजमा कति विभेद छ भने त्यति बेला त कस्तो होला । आफ्ना साथी कुन जातका, कुन थरका भन्ने परिवारमा खुब चासो हुन्थ्यो । तर विसं. २०२८ सालमा मैले ठुलो साहस गरेर दलित भनिएका साथीलाई पनि घरभित्र आफ्नो कोठामा लगेर राखेँ । घर र छरछिमेकका अरुलाई यो काम पटक्कै मन परेन । तर पनि मैले मतलब गरिँन ।
सुखदुःखका सम्झना
वर्षैपिच्छे परीक्षाको नतिजा आएपछि पुरस्कार पाउँदा खुबै रमाइलो हुन्थ्यो । प्रायः पहिलो, अन्यथा दोस्रो वा तेस्रो हुने भएर पुरस्कार कुनै वर्ष पनि टुटेन । अझ कक्षा छ पछाडि त मलाई कापी किताब किन्नै परेन । सबै पुरस्कारले नै पुग्यो । अर्कातिर स्कुलको शुल्कमा पनि सधै छुट पाएँ । मलाई त सधैँ नै दसैँ आएजस्तो पो भयो त, एक हिसाबले !
अहिले सम्झँदा, बाल्यकालको सबभन्दा दुःखद् घटना चाँहि आमा बित्नुहुँदाको क्षण हो । म नौ वर्षको थिएँ र त्यस्तै दुई–तीन कति कक्षा पढ्थेँ । सबैले ’मर्नुभो’, ‘मर्नुभो‘ भने तर आफूलाई मर्नु भनेको के हो भन्नेसम्म नि थाहा भएन । त्यसको अर्थ आमा अब कहिल्यै फर्कनुहुन्न भने कसरी बुझ्नु र मैले ? त्यसैले आमाको शरीरलाई चितामा जलाएपछि भने झनै धेरै पीडा भयो । अब आमा फर्किएर आउनुहुन्न भन्ने लाग्यो ।
रोल मोडलको अभाव
त्यति बेलाको गाउँको परिवेशमा शिक्षित मानिस खासै थिएनन् तर आफूलाई भने पढाइ लेखाइमा नै बढी चासो थियो । त्यसैले आफू पनि पछि त्यस्तै बन्छु भनेर पछ्याउन लायकको कुनै व्यक्ति आफू वरिपरि नै त भेटिन । देवेन्द्र अधिकारी नामका एक शिक्षक हुनुहुन्थ्यो । उहाँ मलाई असाध्यै मन पथ्र्यो, किनकि उहाँले बडो मजाले कथा सुनाउनुहुन्थ्यो हामीलाई । तर पनि उहाँले धेरै पढ्नुभएको छैन भन्ने पनि हामीलाई थाहा थियो । उहाँजस्तै अरु कति शिक्षकले त हामीसँगै एस्एल्सी दिनुभएको थियो ।
अधिकारी सरजस्तै पुरुषोत्तम सिग्देल, जयनारायण न्यौपाने लगायतका शिक्षकहरूले पनि हामीलाई राम्राराम्रा नीतिकथा राम्रोसँग सुनाउनुहुन्थ्यो । त्यसैले उहाँहरू नै मेरा लागि एक किसिमले रोल मोडल हुनुभयो ।
यसभन्दा बाहेकका बढी प्रभावशाली रोल मोडल भने मैले नदेखेका संसारका मानिस हुन्थे । धर्मराज थापाको ’हाम्रो तेन्जिङ् शेर्पाले...’ गीत सुनेका भरमा सगरमाथाका पहिलो आरोही तेन्जिङ् नोर्गे शेर्पा मेरा रोल मोडल भए । उनीहरूका सङ्घर्ष र सफलता पढेका भरमा अमेरिकाका अब्राहम लिङ्कन, अश्वेत अधिकारकर्मी नेता बुकर टी वासिङ्टन जस्ता व्यक्ति पनि मेरो प्रेरक व्यक्तित्व भए ।
बाल अधिकार
सायद् त्यति बेलासम्म बाल अधिकार भन्ने शब्द नै बनिसकेको थिएन होला । अधिकार प्राप्तिका हिसाबमा भने हामीले केही पाएका थियौँ भने केही थिएनौँ । हामी नमानी नमानी खेल्न त खेल्थ्यौँ,  तर अभिभावकमा खेल्नु भने नपढ्नु र बिग्रनु हो भन्ने मान्यता थियो । त्यसैले खेलकुदका क्रियाकलापमा घर परिवारबाट खासै प्रोत्साहन हुँदैनथ्यो ।
मेरो बुवा अलिक झोकी हुनुहुन्थ्यो भने आमा बढी नरम । सानातिना गल्तीमा पनि बुवाको गाली खाने डर हुन्थ्यो । त्यस अवस्थामा म आमाको शरणमा पुग्थेँ । यस हिसाबले मेरो बाल अधिकारको प्रथम संरक्षक मेरी आमा हुनुभयो । म मात्र होइन, हाम्रो समयका प्रत्येक घरका आमाहरू बाल अधिकारका संरक्षक थिए । हुन त अलिअलि हाम्रो शिक्षा प्रणालीकै पनि दोष हो कि बालबालिकाहरूलाई निश्चित उमेरपछि तर्साएर हुर्काउनुपर्छ भन्ने भावना थियो अभिभावकहरूसँग । आमाहरू केही नरम हुनुहुन्थेन भने केटाकेटीलाई हुर्काउन गाह्रै हुन्थ्यो त्यो समय !
अचेलका बालबालिका
हाम्रो देशका अचेलका बालबालिकाको अवस्था ठाउँ अनुसार फरक फरक छ । सहरी क्षेत्रका कतिपय बालबालिकामा अनाज्ञाकारिता र जिद्दीपना बढेको देख्छु म । हुन त यसमा पनि बालबालिकाभन्दा अभिभावककै बढी दोष होला । आमाबाबुले समय दिन नसकेकाले यसो भएको होला । गाउँतिरका बालबालिकाको भने अवस्था फरक छ । म धेरै हिमाली गाउँहरू घुमिरहेको हुन्छु । हिमाली क्षेत्रका कति बालबालिका स्कुल नगएर घरै बसेको देख्छु । अझ कति त पढाउनलाई पैसा हालिदिने मानिसहरू कुरेर बसिरहेका हुन्छन् । विदेशीले बनाइदिएका ठुला स्कुले भवन त छन्, तर त्यहाँ पढ्ने विद्यार्थी नै छैनन् । सायद् यसमा स्वयं बालबालिकाका अभिभावक, बाल अधिकारका लागि काम गर्ने संस्था र सरकारको ध्यान नै पुगेको छैन । पर्वतारोहणमा सहयोग गरेर राज्यलाई हरेक वर्ष हजारौँ डलर उपलब्ध गराउने शेर्पा समुदायका बालबालिकालाई राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
आजका बालबालिका कस्ता बनून् भनेर कामना गर्न सकिने अवस्था नै छैन अहिले त । हामीजस्ता बनून् भनेर भन्न मिल्दैन किनकि आजको युगमा उनीहरू हामीभन्दा धेरै अगाडि बढ्नुपर्नेछ । त्यसका लागि उनीहरूले हामीले नसोचेका, नजानेका काम गर्नुपर्छ । त्यसैले यस्तो होस् भनेर हामी कामना गर्नै सक्दैनौँ नि । फेसन डिजाइनिङ्जस्ता हाम्रा पालामा कल्पनै नगरिएका विषय विश्वविद्यालयमा पढाइ भइरहेका छन् । के थाहा आजका बालबालिकाले समुद्रमा खेती गर्छन् कि ! त्यसैले यति मात्र कामना गरौँ कि जे गरून्, राम्रैसँग गरून् र अद्भूत प्रगति गरून् ।
आजका बालबालिकालाई जान्ने हुनू तर अभिमानी नहुनू भन्न चाहन्छु । फलेको हाँगो त सधै नै झुक्नुपर्छ । अबको जमानामा कुनै पनि क्षेत्रमा औसत भएर मात्र कामै छैन । सफल हुनलाई औसत भएर हुँदैन । औसतभन्दा राम्रो हुुनुपर्छ ।
हाम्रो मुलुकको एक महत्वपूर्ण पहिचान हिमाल हो भनेर आजका बालबालिकाले बुझ्नुपर्छ । हालसम्म संसारमा नेपालका सीमित पहिचान छन्, सगरमाथा लगायतका हिमाल र गौतम बुद्ध, जो प्रकृतिले दिए । कर्मका आधारमा गोर्खा सैनिक र शेर्पा जाति मार्फत् पनि हामीले पहिचान त स्थापना गरेका छौँ, तर जे भए पनि हिमाललाई छुटाउन सकिने अवस्था छैन । त्यसैले किताबमा नभए पनि नेपाली बालबालिकाले हिमाललाई पढ्नुपर्छ ।

No comments:

Post a Comment