Sunday, September 29, 2013

वनका बाँसदेखि पत्रिकाका पानासम्म मेरा कविता

प्रस्तुति : दिवाकर प्याकुरेल
महेश पौड्याल (वि.सं. २०३८, सुलुबुङ्, इलाम) बाल साहित्यकार तथा समीक्षक हुनुहुन्छ । उहाँले बालबालिकाका लागि ‘आमा नहुँदा एक साँझ’ (नाटक), ‘सपनाको पुल’ (कथा सङ्ग्रह), ‘लिटिल मास्टर्स’ (अङ्ग्रेजी कथा सङ्ग्रह), ‘लिटिल लभर्स’ (अङ्ग्रेजी उपन्यास) लगायत कथा, उपन्यास र नाटक गरी १०भन्दा बढी कृति लेख्नुभएको छ । साथै उहाँले केही बाल नाटक निर्देशन पनि गर्नुभएको छ । हाल बाल साहित्यका बारेका साहित्यिक क्षेत्रमा बहस चलाउने थोरै समीक्षकमध्ये उहाँ पनि पर्नुहुन्छ । बाल साहित्य बाहेक पनि उहाँका विभिन्न कथा तथा कविताहरू प्रकाशित छन् । साहित्यिक समालोचनाका बारेका उहाँका लेख रचना अङ्ग्रेजी तथा नेपाली पत्रपत्रिकामा प्रकाशन भइरहन्छन् । पेसागत रूपमा उहाँ त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुर तथा पोखरा विश्वविद्यालयको आएसर नामक कलेजमा अध्यापनरत हुनुहुन्छ । हाल रातोपुल, काठमाडौँमा बस्दै आउनुभएका पौड्यालको बाल्यकालका रमाइला सम्झना यस पटकको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ ।    
मेरो जन्म वि.सं. २०३८ फागुन ४ गते इलाम जिल्लाको सुलुबुङ्मा भएको हो । बुबा खुमप्रसाद पौड्याल र आमा पुष्पाकुमारी पौड्यालका ३ छोरा र ३ छोरीमध्ये म छोराहरूमध्ये माइलो र समग्रमा पाँचौँ सन्तान हुँ । त्यति बेला बुबा भारत सरकारको शिक्षा मन्त्रालय अन्तर्गत अङ्ग्रेजी विषयको विद्यालय शिक्षक हुनुहुन्थ्यो । त्यस कारण म इलाममा जन्मिए पनि मेरो सम्पूर्ण बाल्यकाल भारतको मणिपुरमा बित्यो ।
मणिपुरको ग्रामीण परिवेशमा हुर्किदै गर्दा सानै उमेरदेखि नै अङ्ग्रेजी, हिन्दी तथा मणिपुरी साहित्यको स्वाद चाख्न पाएँ मैले । घरमा ‘रामायण’, ‘महाभारत’ लगायतका धार्मिक पौराणिक ग्रन्थदेखि लिएर ‘गुण रत्नमाला’सम्मका किताबहरू थिए । तिनै पुस्तकले मलाई कथा वाचनको परम्परासँग परिचित गराए र म तिनबाट धेरै नै प्रभावित भएँ । साथै, भारतका विभिन्न पत्रपत्रिकालाई मैले सानैदेखि आफ्नै घरमा देख्न र पढ्न पाएँ । तिनले पनि मलाई भाषा र साहित्यका नजिक ल्याए ।
स्कुले जीवन
कक्षा ३सम्म म हिन्दी माध्यमबाट पढाइ हुने सरकारी स्कुलमा पढ्थेँ । कक्षा ४देखि भने अङ्ग्रेजी माध्यममा पढाइ हुने निजी विद्यालयमा पढ्न थालेँ । यस स्कुलमा सबै विषय नै अङ्ग्रेजीमा पढाइ हुन्थे । त्यो स्कुलमा एक विशाल पुस्तकालय थियो । साथै एउटा यस्तो नियम पनि थियो कि सबै विद्यार्थीले प्रत्येक हप्ता एक एक ओटा पुस्तक पढ्नुपथ्र्यो र त्यस पुस्तकका बारेमा बोल्नुपथ्र्यो । प्रायः पुस्तकहरू बाल साहित्यका थिए । त्यसमा पनि, धेरै त दन्त्य कथा र परी कथाहरू थिए । सायद् त्यस बेलाको पढ्नैपर्ने बाध्यताले पनि म साहित्यतर्फ अझ आकर्षित भएँ ।
म बाल्यकालमा अतिरिक्त क्रियाकलापमा खुब सक्रिय थिएँ । स्कुलमा हुने खेलकुद बाहेकका प्रायः सबै प्रतियोगिताहरूमा भाग लिएकै हुन्थेँ । ती सबैमा राम्रै प्रदर्शन हुन्थ्यो मेरो । नाटक पनि खुबै गर्थेँ । कक्षा ५ मा पढ्दा मणिपुरमै आयोजना गरिएको एक महायज्ञ कार्यक्रममा मैले अनाथ बालबालिकाका बारे एक नाटक लेखेर प्रस्तुत गरेँ । त्यसको लेखक, निर्देशक र एक प्रमुख कलाकार म आफैँ थिएँ । अहिले सम्झँदा मेरो नेतृत्व क्षमता त्यस बेलादेखि नै राम्रो रहेछ भन्ने कुराको प्रमाण यो घटना हो जस्तो लाग्छ मलाई । साथै, तिहारका बेला बर्सेनी हुने देउसी भैलोका लागि आफैँ गीत बनाउँथेँ र साथीहरूसँग भाका मिलाएर गाउथेँ ।
म कक्षा ७मा पढ्दा भएको एक कारुणिक घटनाले मैले स्कुल बदल्नुप-यो । हाम्रो दोस्रो आवधिक परीक्षा चलिरहेको समय थियो । भोलिपल्ट जाँचको तयारीका लागि म घरमै पढ्नमै व्यस्त थिएँ । करिब ३ किलोमिटर टाढा रहेको हाम्रो स्कुलतिरबाट बमबारीको डरलाग्दो आवाज सुनियो । उठेर हेर्दा आगोको ज्वाला पनि देखियो । के भएछ भनेर बुझ्दा नागा जातिले हाम्रो स्कुलमा आक्रमण गरेछन् । त्यति बेला हामी बस्ने मणिपुरको सेनापती जिल्लामा नागा र कुकी नामका दुई जातिबीच लडाइँ चलिरहेको थियो । त्यसपछि त हाम्रो स्कुल नै बन्द हुने निर्णय भएछ । कक्षा ७ त के, हाम्रो दोस्रो आवधिक परीक्षा पनि पूरा हुन पाएन । हाम्रो परिवार नै सेनापतीबाट इम्फाल भन्ने छिमेकी जिल्लामा बसाइ स-यो ।
विज्ञानप्रतिको चासो 
तर नयाँ स्कुलमा मैले झन् धेरै कुरा सिक्ने मौका पाएँ । विज्ञान प्रविधि मेरो चासोको विषय थियो र आज पनि छ । पुस्तक महलले प्रकाशन गर्ने ‘द वन्डर अफ साइन्स’ नामक पत्रिकाको म नियमित पाठक थिएँ । त्यसमा समेटिएका विभिन्न वैज्ञानिक जिज्ञासा र तिनको समाधानमा मेरो गहिरो चासो हुन्थ्यो । साथै त्यस बेला भारत सरकारले देशैभरिका स्कुले विद्यार्थीलाई समेट्ने गरी नियमित विज्ञान गोष्ठी (साइन्स सेमिनार) गथ्र्यो । त्यस्ता गोष्ठीमा विद्यार्थीहरूले विभिन्न विषयमा आफ्ना ज्ञान तथा जानकारी प्रस्तुत गर्नुपथ्र्यो, अनि विज्ञानसँग सम्बन्धित धेरै विषयमा छलफल हुन्थे । त्यस्ता गोष्ठी जिल्ला, राज्य तथा राष्ट्रिय तहमा हुन्थे । मैले पटक पटक जिल्ला तहका यस्ता गोष्ठीमा भाग लिएँ र मणिपुर राज्य तहका गोष्ठीका लागि छानिएँ । तर म राष्ट्रिय तहको विज्ञान गोष्ठीमा भने प्रायः पुगिनँ ।
कक्षा ९मा पढ्दा भारतको केन्द्रीय शिक्षा मन्त्रालय अन्तर्गत ‘अल इन्डिया साइन्स कङ्ग्रेस’मा मैले सरसफाइबारे अध्ययन गर्ने एक प्रस्ताव पेस गरेँ । यसै कार्यक्रम अन्तर्गत मैले पानीखेती गाउँको सरसफाइको अवस्थाबारे ६ महिनासम्म अध्ययन गरी त्यसको प्रतिवेदन जिल्ला, राज्य र राष्ट्रिय तहमा सार्वजनिक गरेँ । यस अध्ययनबापत म पुरस्कृत पनि हुने भएँ । जिन्दगीमा पहिलो पटक रेल चढेर हैदरावाद गइयो । त्यहाँ मैले पछि भारतको राष्ट्रपति भएका वैज्ञानिक एपिजे अब्दुल कलामको हातबाट रजत पदक मात्र पाइँन कि भारतको शिक्षा मन्त्रालयबाट ‘बाल वैज्ञानिक’ समेत घोषित भएँ । नेपाली मूलका कोही पनि विद्यार्थी त्यस स्थानसम्म सायद् पुगेका थिएनन् । त्यसैले मैले अलि बढी नै चर्चा पाएँ ।
विज्ञानमा त्यति गहिरो चासो र क्षमता हुँदाहुँदै पनि मैले विज्ञान विषयको शिक्षालाई अगाडि बढाउन सकिँन । आज फेरि बालक बन्न पाए म विज्ञान विषयमा पनि साहित्यको जस्तै उच्च अध्ययन गर्थेँ । त्यस बेला म कमजोर भएको गणित विषय राम्रोसँग पढ्थेँ । अनि मेरो वैज्ञानिक ज्ञानलाई साहित्यमा प्रयोग गरेर साहित्य र विज्ञानका बीच गहिरो सम्बन्ध स्थापित गर्थेँ ।
केही बिर्सन लायक घटना
तर स्कुले जीवन सधै सफलता र प्रशंसामै मात्र बितेको चाँहि होइन । कक्षा ९मै पढ्दा म एक पटक ७दिनका लागि स्कुलबाट निष्काशित भएको छु । खै कताबाट कुन्नि विद्यार्थी युनियन बनाउनुपर्छ भन्ने विचार आएको थियो हामी केही विद्यार्थीहरूमा । विद्यार्थी युनियन चाहिन्छ भन्ने विचारलाई मैले नेतृत्व गरेको थिएँ । तर निष्काशित हुने बित्तिकै मैले त्यस सम्बन्धी क्रियाकलाप गर्न छोडेँ र पढाइमै आफ्नो ध्यान केन्द्रित गरेँ । कक्षामा सधैँ पहिलो हुने विद्यार्थी निष्काशित हुँदा बडो बेइज्जत र लज्जा महसुश भएको थियो । तर पनि म कक्षा ८देखि नै अखिल भारतीय विद्यार्थी परिषद् नामको सङ्गठनमा थिएँ ।
त्यस्तै सम्झदा नरमाइलो लाग्ने अर्को घटना पनि छ । हामीलाई अङ्ग्रेजी पढाउने सरले ‘द हिमालय’ नामसँग एक वचन (सिङ्गुलर) क्रियापद लगाउनुभो । म लगायत केही साथीले ‘द हिमालय’ले एउटा हिमाल मात्र नभएर सिङ्गो हिम श्रृङ्खला बुझाउने हुँदा यो सदैव बहु वचन (प्लुरल) हुने तर्क ग¥यौँ । अङ्ग्रेजी भाषाको आधारभूत ज्ञान राम्रो भएकाले मैले पूर्ण आत्म विश्वासका साथ तर्क गरेको थिएँ । विवाद चर्कदै गयो र स्कुलले नै यस विषयमा छानबिन गर्ने भो । स्कुलले छानबिनपछि हाम्रो तर्क नै सही भएको निष्कर्ष निकालेपछि सरले नैतिकताका आधारमा राजीनामा दिनुभो । तर कताकता त्यस घटनामा हाम्रो पनि गल्ती भो कि जस्तो लाग्छ ।
भारतमा एस्एल्सी सरहको परीक्षालाई ‘एच्एस्एल्सी’ (हाई स्कुल लिभिङ् सर्टिफिकेट) भनिन्थ्यो । म मेरो समयको एच्एस्एल्सीमा इम्फाल जिल्लाको प्रथम र मणिपुर राज्यमै एक्काइसौँ स्थानमा आउन सफल भएँ । उत्कृष्ट ३० विद्यार्थीको नाम पत्रपत्रिकामा प्रकाशित हुने हुँदा त्यस बेला मलाई नचिन्ने कोही भएनन् । त्यसमाथि पनि नेपाली मूलको विद्यार्थी जिल्लामै प्रथम हुनु सिङ्गो नेपाली समुदायका लागि खुसीको कुरा थियो । यसै कारणले म जिल्लाभर नै थप चर्चित भएँ । जिल्लाकै उत्कृष्ट भए बापत मलाई नेपाली ब्याङ्करहरूले एक हजार भारतीय रुपैयाँको पुरस्कार दिए । १० रुपैयाँका १००ओटा नोटको बन्डल कम्ता आकर्षक थिएन, त्यसैले मैले त्यसलाई धेरै पछिसम्म जोगाएर राखेँ ।
लेखनको सुरुवात
सानै छँदादेखि नै शारीरिक रूपमा अलिकति कमजोर भएकाले घरबाट खेतको काम गर्न त्यति अह्राइन्नथ्यो मलाई । त्यसैले घरबाट प्रायः गाई चराउन मै जान्थेँ । गाई चराउने चौर वरिपरि बाँसका झ्याङ् थिए । म बाँसका बोटमा कम्पासको सियोले कविता लेख्थेँ । आज पनि ती ठाउँमा गएर हेर्दा मैले लेखेका कविता प्रष्टै देखिन्छन् । त्यहाँ जाने बित्तिकै मलाई सम्झिने अरु साथीहरू पनि बताउँछन् ।
त्यति बेलादेखि नै मलाई टेगोरका कथाले मन लोभ्याएका थिए । एक हिसाबले रवीन्द्रनाथ टेगोर मेरा रोल मोडल नै भइसकेका थिए । साथै, मेरो घरको भित्तामा स्वामी विवेकानन्दको फोटो थियो । मैले विवेकानन्दका धेरै भनाइ नेपालीमा उल्था गरी सँगालेर राखेको थिएँ । विेवेकानन्द मेरा लागि एक ‘अप्राप्य नायक’ थिए । कताकता आफूमा पनि टेगोर र विवेकानन्दको जस्तै आध्यात्मिक मन भएको पाउँथेँ म ।
मेरो औपचारिक साहित्यिक लेखन पनि स्कुले जीवनदेखि नै सुरु भएको हो । कक्षा ८मा पढ्दा मैले ‘ओ चेयर, माई चेयर’ शीर्षकको अङ्ग्रेजी कविता ‘सङ्घाई एक्सप्रेस’ नामको पत्रिकामा प्रकाशित गराएको थिएँ । यसमा मानिसमा व्याप्त कुर्सी मोहलाई व्यङ्ग्य गरिएको थियो । त्यसपछि स्कुल सक्नु अगाडिसम्म मेरा ‘द लिभ टेकिङ्’ र ‘लाइफ फर लाइफ’ शीर्षकका दुई कथा पत्रिकामा प्रकाशित भए । पाठक पत्र ÷ सम्पादकलाई चिठी त कति लेखिए कति । सम्पादकलाई चिठी लेखेकै कारणले मैले एउटा अनौठो जिम्मेवारी पाएँ स्कुल सकिएपछि ।
सडक किनारमा साँझ खुलमखुल्ला रक्सी बेच्ने चलनबारे ‘सङ्घाई एक्सप्रेस’मा एक पाठक पत्र लेखेको थिएँ । मैले सभ्य समाजका लागि मदिराको कारोबार यसरी खुला हुनुहुँदैन भनेर लेखेको थिएँ । पाठक पत्र छापिएपछि एक दिन हाम्रा घरमा प्रहरी आएर मलाई समाए । उनीहरूले मलाई के कसरी समस्या आइरहेको छ अनुसन्धान गरी समाधानका लागि सुझाव समेत समेटेर प्रतिवेदन बुझाउन भने । दिदीको हौसलाले मैले स्थानीय प्रशासनबाट अनुसन्धानका लागि अधिकार पत्र लिएँ र अनुसन्धान सुरु गरेँ । केही समयपछि प्रहरीलाई प्रतिवेदन पनि बुझाएँ । आफूलाई यस्तो काम गर्न पाएकामा खुसी त लाग्यो तर यसै कारणले गर्दा त्यस्ता व्यवसायमा संलग्न केही छिमेकीहरूसँग सम्बन्ध बिग्रियो ।
चकचकी
हामी ३ दिदीबहिनी र ३ दाजुभाइ भएकाले ख्यालख्यालमा जेठी दिदीको दाइ, माहिली दिदीको म र कान्छी दिदीको भाइ भनेर दाजुभाइ दिदीबहिनी बाँडिन्थ्यो बेलाबेला । सायद् त्यो विभाजन धेरै पटक सुनिने भएर होला, कहिलेकाँहि त कताकता हो कि हो कि जस्तो लाग्थ्यो । बाल्यकालमा दाजुभाइ र दिदीबहिनीबीच सानातिना विवाद र झगडा त जसका पनि भइहाल्छन् । त्यस बाहेक हामीमा कुनै कटुता थिएन । बरु प्रत्येक साँझ सबै मिलेर आँगनको निमको बोटमुनि गीत गाउँथ्यौँ । यही वातावरणको प्रभावले म आज पनि सङ्गीतको सौखिन छु । अझ भाइ त पछि गायक नै भयो ।
कक्षा ५मा पढ्दा मनोज नाम गरेको एक साथीले आफूभन्दा माथिल्लो कक्षामा पढ्ने नागा जातकी एक केटी मन पराएछ । आफूले उसलाई मन पराउने कुरा व्यक्त गर्दै उसका लागि चिठी लेखिदिन मनोजले मलाई आग्रह ग¥यो । मेरो पालो, विभिन्न फिल्मका सुहाउँदा गीतका हरफ समेत जोड्दै हिन्दी भाषामा चिठी लेखिदिएँ । नागा समुदायका धेरैले हिन्दी बुझ्दैनथे । ती केटीले पनि हिन्दी बुझिनन् र त्यो चिठी मेरा दाइलाई देखाइछिन् । दाइले त मेरा अक्षर चिनिहाल्नुभयो । अब मलाई आपत् प-यो । बल्लबल्ल दाइलाई के भएको हो सम्झाएँ । पछि केटीले हिन्दीमा चिठी नलेख्न आग्रह गर्दै मनोजलाई उत्तर दिइछ । तर साथीहरूले भने पछिसम्म मलाई उडाउन छोडेनन् ।
एक पटक घर नजिकैको एक नदीमा पौडी खेल्दै थियौँ । फुपूका छोरा साथमा थिए । तर उनले त हामीले फुकालेका सबै लुगा नदीमा बगाइदिएछन् ! कम्ता आपत् परेन । छलिदै छलिदै नाङ्गै घर पुगियो ।
यता नेपालका स्वास्थ्य सेविकाजस्तै हाम्री आमा पनि स्वास्थ्यकर्मी हुनुहुन्थ्यो । घरमै स्वास्थ्य क्लिनिक हुन्थ्यो । एक पटक गाउँका सबै बालबालिकालाई खोप लगाउने कुरा भो । मलाई खोप भनेपछि साह्रै डर लाग्थ्यो । त्यसैले म त कुरा सुन्ने बित्तिकै नै भकारीभित्र रहेको गुन्द्रीभित्र लुकेँ । म दिनभरि त्यहाँ बस्दा मेरो गाउँभरि नै खोजी भएछ । खोप लगाउने मान्छेहरू गएपछि मात्र म भकारीबाट निस्किएँ ।
यस बाहेक चकचकी र उपद्रवका खासै अरु सम्झना छैनन् । शारीरिक रूपमा अलिकति कमजोर भएकाले पनि सायद् त्यसो भएको होला ।
बाल अधिकारका कुरा र आजका बालबालिका
न त हामीलाई बाल अधिकारबारे केही थाहा हुन्थ्यो, न त थाहा पाउनु आवश्यक नै थियो । बाल श्रम शोषण र बाल बेचबिखन लगायत अधिकार हनन हुने कार्यहरू केही पनि हुँदैनथे हाम्रो समाजमा । हामी प्रकृतिमा स्वतन्त्रता पूर्वक हुर्किन पाउँथ्यौँ । आमाबाबुको माया, शिक्षाको अवसर, खेलकुद र मनोरञ्जनका लागि साथीभाइ र उपयुक्त वातावरण सबै पाइएकै त थिए ।
हामी प्रकृतिमै व्यावहारिक भएर हुर्किएका थियौँ । तर आजका बालबालिका कताकता सैद्धान्तिक र काल्पनिक जीवन बाँचिरहेका जस्तो लाग्छ मलाई । यो डिजिटल युगमा बालबालिकाहरू पनि कतै ‘डिजिटलीकृत’ त भएनन् भन्ने चिन्ता पनि लाग्छ बेलाबेला । त्यस हिसाबले सायद् आजका बालबालिकाले जीवन र यसको गहिराइलाई अझै राम्रोसँग बुझ्नै पो बाँकी छ कि !
आजका बालबालिकाले आफ्ना देश, भाषा, संस्कृति र सभ्यताबारे बढीभन्दा बढी थाहा पाऊन् भन्ने मेरो इच्छा छ । विज्ञान र प्रविधिको जति नै विकास भए पनि मानवमा मानवीय मूल्य मान्यता तथा नैतिकता हुनुपर्छ । यसो भएन भने भोलि गम्भीर समस्या पनि आउन सक्छ । यस्ता मूल्य मान्यता सिकाउनमा साहित्यले पनि भूमिका खेल्न सक्छ । त्यसैले बालबालिकामा पढाइको संस्कृति विकास गर्नु जरुरी छ । साथै पढाइको बानीले बालबालिकाको कल्पना क्षमता र भाषाको सीप विकासमा धेरै योगदान गर्न सक्छ । आजका शिक्षक र अभिभावकले यो कुरा बुझेर अगाडि बढ्नुपर्छ । हाम्रो शिक्षा प्रणालीको आजको सबभन्दा ठुलो कमजोरी पनि सायद् पठन संस्कृतिको अभाव नै हो । हाम्रो स्कुलमा त त्यति बेला नै नियमित पढ्नैपर्ने बाध्यता थियो, र त ममा यो चेतनाको विकास भयो ।
बालबालिकाले पनि यो कुरा बुझून् र सकेसम्म धेरै पढ्ने बानी बसालून् । शुभ कामना !
७ आषाढ २०७०



 

No comments:

Post a Comment