Showing posts with label 'हाम्रो आँगन'मा. Show all posts
Showing posts with label 'हाम्रो आँगन'मा. Show all posts

Thursday, October 13, 2016

म त सानैदेखि अक्षरको गोठालो

प्रस्तुति : दिवाकर प्याकुरेल
फोटो : फेसबुक
युवराज नयाँघरे (विसं. २०२६, इलाम) आजभोलिको नेपाली साहित्यमा एक चर्चित नाम हो । विशेष गरी निबन्ध र नियात्रा लेखनका लागि उहाँ प्रसिद्ध हुनुहुन्छ । प्राथमिक विद्यालयमा रहँदा नै लेखन र पठन संस्कृतिको जग बसाल्नुभएका नयाँघरेको साहित्य यात्राले विसं. २०४१ सालपछि भने विशेष गति लिएको उहाँ बताउनुहुन्छ । उहाँका हालसम्म १३ पुस्तकहरू प्रकाशित छन् । यसमध्ये ८ निबन्ध र ५ नियात्रा सङ्ग्रह हुन् । यस बाहेक उहाँले एक निबन्ध सङ्ग्रहमा सहलेखन गर्नुभएको छ । अनाम पहाडमा फनफनी (२०६२), एक हातको ताली (२०६५), घामको चुम्बन (२०६७) तथा हरियो राहदानी (२०६८) नयाँघरेका केही चर्चित पुस्तकहरू हुन् । एक हातको तालीका लागि उहाँले २०६५ सालमा नेपालकै सर्वाधिक ठुलो साहित्यिक पुरस्कार, मदन पुरस्कार, प्राप्त गर्नुभएको छ । यस बाहेक उहाँ विभिन्न संस्थाबाट विभिन्न पुरस्कारबाट सम्मानित हुनुहुन्छ । हालसालै उहाँको हाराबारा (नियात्रा सङ्ग्रह) प्रकाशित भएको छ । हाल उहाँ काठमाडौँको नैकाप, चन्द्रागिरी नगरपालिकामा बस्दै आउनुभएको छ । यस पटकको ‘बालककालका कुरा’मा यिनै नयाँघरेको बाल्य जीवनका सम्झन लायक, बिर्सन लायक अनुभव प्रस्तुत गरिएको छ :

Tuesday, March 24, 2015

गाई जात्राको नाचले कला बुझायो

प्रस्तुति : दिवाकर प्याकुरेल
फोटो : सरुभक्त फेसबुक
सरुभक्त (वि.सं. २०१२, पोखरा, कास्की) प्रसिद्ध लेखक हुनुहुन्छ । नाटक, उपन्यास, गीत, कविता, मुक्तक आदि गरेर उहाँका करिब चार दर्जन कृति प्रकाशित छन् । कक्षा ६तिर पढ्दा नै कविता लेखेर साहित्य यात्रा सुरु गरेको बताउने सरुभक्तले वि.सं. २०३० को दशकदेखि नै विभिन्न विधामा आफ्ना कृतिहरू निरन्तर प्रकाशन गर्दै आउनुभएको छ । उहाँको पागल बस्ती उपन्यासले वि.सं. २०४८मा मदन पुरस्कार प्राप्त ग~यो । यस बाहेक नेपाली साहित्यमा गरेको निरन्तर योगदानका लागि उहाँले अन्य दर्जनौँ पुरस्कार प्राप्त गर्नुभएको छ । तरुनी खेती, समय त्रासदी, छोरी ब्रह्माण्ड लगायतका उहाँका कृतिहरू वर्षौँ अगाडि प्रकाशित भएर आजसम्म पनि चर्चामा छन् । उहाँले बालबालिकाका लागि पनि बालबालिकाहरूको नाटक लगायत केही कृति प्रकाशन गर्नुभएको छ । गत भदौदेखि उहाँ नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति हुनुहुन्छ । स्थायी बसोबास पोखरामै भए पनि कुलपतिको कार्यभार सुरु भएदेखि उहाँ काठमाडौँको बुद्धनगरमा बस्दै आउनुभएको छ । यस पटकको ‘बालककालका कुरा’मा सरुभक्तको बाल्य जीवनका रमाइला तथा नरमाइला अनुभव प्रस्तुत गरिएको छ :

Tuesday, March 17, 2015

एस् एल् सीअघि नै छ हजार किताब सक्दा

प्रस्तुति : दिवाकर प्याकुरेल
प्रतीक ढकाल (वि.सं. २०१६, दागापेला, भुटान) प्रसिद्ध यात्रा साहित्यकार हुनुहुन्छ । अनुवाद, काव्य तथा प्रशासनबारे समेत गरी एक दर्जनभन्दा बढी पुस्तकका लेखक ढकाल विशेषतः नियात्रा लेखनका लागि प्रसिद्ध हुनुहुन्छ । वि.सं. २०६२देखि २०६७सम्म साझा प्रकाशनद्वारा प्रकाशित तथा वितरित पुस्तकहरूमध्ये उहाँको ‘हिमालपारि पुगेपछि’ले सर्वाधिक बिक्री हुने पुस्तकको रेकर्ड कायम गरेको छ । त्यस बाहेक ‘सेती पनि काली पनि’, ‘चीनको विचित्र चित्र’, ‘सगरमाथाको आधारशिविरबाट’ लगायत उहाँका नियात्रा कृतिहरू लोकप्रिय छन् । अझ उहाँका दुई कृतिहरू ‘सेती पनि काली पनि’ र ‘सगरमाथाको आधारशिविरबाट’ त विश्व कीर्तिमानी आरोही आपा शेर्पा लगायतले सगरमाथा शिखरबाट विमोचन गरेका हुन् । त्यसैले ढकालले सगरमाथा शिखरबाटै पुस्तक विमोचन गराउने विश्वकै पहिलो लेखकका रूपमा मान्यता पाउनुभएको छ । बालबालिकाकै लागि भनेर उहाँले केही गीतहरू लेख्नुभएको छ । ट्राफिक सन्देशबारेको लगायतका उहाँका केही बाल गीत जेम्स स्कुलले एल्बमका रूपमा प्रकाशित गरेको छ । पेसागत रूपमा उहाँ नेपाल सरकार, निजामती सेवामा कार्यरत हुनुहुन्छ । हाल मनोहर बस्ती, काठमाडौँमा बस्दै आउनुभएका ढकालका बाल्यकालका अनुभव यस पटकको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ ।  

पाँच कक्षा पढ्दै शिक्षकको जागिर

प्रस्तुति : दिवाकर प्याकुरेल
गोपाल पराजुली (वि.सं. २००२, भमरकोट, काभ्रे) प्रसिद्ध बाल साहित्यकार हुनुहुन्छ । आफूले बालबालिकाकै लागि मात्र कृति प्रकाशन गर्ने बताउने पराजुलीले बाल साहित्यका दुई दर्जनजति पुस्तक प्रकाशित गरिसक्नुभएको छ भने कति त प्रकाशनको पर्खाइमा छन् । ‘पच्चीस प्रतिभा’ नाममा उहाँले राष्ट्रिय स्तरका चर्चित व्यक्तित्वहरूको जीवनी सात भागसम्म प्रकाशन गरिसक्नुभएको छ । बालबालिकाका लागि जीवनी लेखनमा बढी दख्खल देखाउनुभएका पराजुलीका ‘राष्ट्रिय विभूति’ (तीन भाग) र ‘हाम्रा प्रसिद्ध साहित्यकार’ (छ भाग) पनि प्रकाशित छन् । यसबाहेक पराजुलीले ‘नानीको बानी’ (निबन्ध सङ्ग्रह), ‘रूपाको साहस’ (कथा सङ्ग्रह) र ‘समयका डोबहरू’ (कविता सङग्रह) पनि प्रकाशित छन् । करिब ३१ वर्ष सरकारी सेवामा बिताएर २०५५ सालमा अवकाश लिनुभएका पराजुली आज पनि बालबालिकाका लागि निरन्तर लेख्दै हुनुहुन्छ । हाल मध्य बानेश्वर, काठमाडौँमा बस्दै आउनुभएका पराजुलीका बाल्यकालका रमाइला, नरमाइला अनुभव यस पटकको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ ।  
मेरो जन्म वि.सं. २००२ साल जेठ ९ गते काभ्रेपलाञ्चोक जिल्लाको भमरकोट गाउँमा भएको हो । बाबु टीकाप्रसाद र आमा विष्णुमाया पराजुलीका चार छोरामध्ये म साइँलो हुँ । हाम्रा दिदीबहिनी थिएनन् ।

Sunday, September 29, 2013

वनका बाँसदेखि पत्रिकाका पानासम्म मेरा कविता

प्रस्तुति : दिवाकर प्याकुरेल
महेश पौड्याल (वि.सं. २०३८, सुलुबुङ्, इलाम) बाल साहित्यकार तथा समीक्षक हुनुहुन्छ । उहाँले बालबालिकाका लागि ‘आमा नहुँदा एक साँझ’ (नाटक), ‘सपनाको पुल’ (कथा सङ्ग्रह), ‘लिटिल मास्टर्स’ (अङ्ग्रेजी कथा सङ्ग्रह), ‘लिटिल लभर्स’ (अङ्ग्रेजी उपन्यास) लगायत कथा, उपन्यास र नाटक गरी १०भन्दा बढी कृति लेख्नुभएको छ । साथै उहाँले केही बाल नाटक निर्देशन पनि गर्नुभएको छ । हाल बाल साहित्यका बारेका साहित्यिक क्षेत्रमा बहस चलाउने थोरै समीक्षकमध्ये उहाँ पनि पर्नुहुन्छ । बाल साहित्य बाहेक पनि उहाँका विभिन्न कथा तथा कविताहरू प्रकाशित छन् । साहित्यिक समालोचनाका बारेका उहाँका लेख रचना अङ्ग्रेजी तथा नेपाली पत्रपत्रिकामा प्रकाशन भइरहन्छन् । पेसागत रूपमा उहाँ त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुर तथा पोखरा विश्वविद्यालयको आएसर नामक कलेजमा अध्यापनरत हुनुहुन्छ । हाल रातोपुल, काठमाडौँमा बस्दै आउनुभएका पौड्यालको बाल्यकालका रमाइला सम्झना यस पटकको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ ।    

Thursday, March 28, 2013

कमिला जुधाउने मेरो रहर


प्रस्तुति : दिवाकर प्याकुरेल

डा. कृष्णहरि बराल (वि.सं २०१०, हत्पते, सिन्धुली) नेपाली गीतसङ्गीत क्षेत्रमा सर्वाधिक लोकप्रिय गीतकारहरूमध्ये एक हुनुहुन्छ । “म भक्त हुँ यो देशको ...”देखि “यहाँ देशको छ चिन्ता ...” हुँदै छिट्टै सार्वजनिक हुन लागेको “भन्न त सबै भन्छन् जमाना खराब छ ...” लगायतका गरी उहाँले करिब छ सय गीत तथा गजल लेख्नुभएको छ । यसमध्ये करिब तीन सय रेकर्ड भएका छन् भने त्यसमध्ये आधाभन्दा धेरै लोकप्रिय छन् । उहाँका एकल गीतिएल्बमको सङ्ख्या झन्डै एक दर्जन पुग्न लागिसकेको छ । गीत र गजलका अतिरिक्त उहाँको साहित्यिक समालोचना क्षेत्रमा पनि छुट्टै पहिचान छ । यस क्षेत्रमा उहाँका ‘गीत : सिद्धान्त र इतिहास’, ‘गजल : सिद्धान्त र परम्परा’, ‘कवि भूपि : विश्लेषण र मूल्याङ्कन’, ‘संदृष्टि’ लगायतका कृतिहरू प्रकाशित छन् । पाठ्यपुस्तकहरूसमेत उहाँका प्रकाशित पुस्तकहरूको सङ्ख्या ४०भन्दा बढी छ । सङ्गीत र साहित्यमा पु-याउनुभएको योगदानबापत उहाँले ‘छिन्नलता सङ्गीत पुरस्कार’, ‘नई कलानीधि सङ्गीत पुरस्कार’, ‘भुपालमान सिंह युवा साहित्य पुरस्कार’, ‘गजलश्री सम्मान’ लगायत दर्जनौ पुरस्कार, अभिनन्दन र सम्मान पाउनुभएको छ । पेसागत रूपमा उहाँ त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत हुनुहुन्छ । हाल बल्खुमा बस्दै आउनुभएका बरालको बाल्यकालका रमाइला सम्झना यस पटकको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ । 

Friday, March 22, 2013

औलाभन्दा सियोको पिर

फोटो : एटमको फेसबुक एकाउन्टबाट

नेत्र एटम (२०२६, मानपुर, दाङ्) नेपाली भाषा तथा साहित्यका क्षेत्रमा एक परिचित व्यक्तित्व हुनुहुन्छ । उहाँ पेसागत रूपमा काठमाडौँमा रहेका त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग तथा जनमैत्री बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ । साहित्यका क्षेत्रमा उहाँका कविता, समालोचना तथा गजल विधामा विभिन्न पुस्तकहरू प्रकाशित छन् । समालोचनातर्फ ‘उपन्यासको विश्लेषण’, ’उपन्यास सिद्धान्त र नेपाली उपन्यास’, गजल विधामा ‘भित्र कतै दुख्छ भने’, तथा ‘सीमान्त आकाश : स्रष्टासितको अन्तर्यात्रा’ नामको निवार्ता (निबन्ध र अन्तर्वाताको संयुक्त स्वरूप) उहाँका केही चर्चित कृतिहरू हुन् । उहाँ यसबाहेक करिब तीन दर्जन शैक्षिक पाठ्यपुस्तका लेखक हुनुहुन्छ । ‘तन्नेरी’, ‘रजनी’, ‘खसानी’ र 'The Bud' जस्ता पत्रिकाहरूमा पनि उहाँको संलग्नता छ । यसरी राष्ट्रको शिक्षा, भाषा तथा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएबापत उहाँले नवकविता प्रतिभा पुरस्कार (२०५१), उत्कृष्ट निबन्ध पुरस्कार (२०५४), हृदयचन्द्रस्मुति समीक्षा पुरस्कार (२०६०), नन्द प्रज्ञा पुरस्कार (२०६६) लगायतका पुरस्कारहरू प्राप्त गर्नुभएको छ । हाल बल्खुमा बस्दै आउनुभएका एटमको बाल्यकालका विविध अनुभवहरू यस पटकको बालककालका कुरामा समेटिएको छ । 

Wednesday, March 20, 2013

विद्यालय भेट्नु भनेको उडेको चरो समाउनुजस्तै थियो

फोटो : कमल चापागाईँ
 कृष्णप्रसाद पराजुली (वि.सं. १९९२, काभ्रे) नेपाली साहित्यका सुप्रसिद्ध कवि, गीतकार, निबन्धकार र कथाकार हुनुहुन्छ । भाषा–व्याकरण, लोकसाहित्य र बालसाहित्यका पाका र सिद्धहस्त स्रस्टा पराजुलीका विविध विधा र विषयका चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् । एक दर्जनभन्दा बढी साहित्यिक पत्रपत्रिका र आधा दर्जनजति ग्रन्थहरूको सम्पादनमा पनि उहाँको संलग्नता छ । ‘राम्रो रचना : मीठो नेपाली’जस्ता व्याकरणका पुस्तकदेखि ‘रमाइला नानी’लगायतका बालसाहित्यका लेखक पराजुलीले भाषा–साहित्य र शिक्षा क्षेत्रमा धेरै अनुभव सँगाल्नुभएको छ । उहाँ आफ्नो योगदानबापत् राष्ट्रिय स्तरका अनगन्ती सङ्घसंस्थाहरूबाट सम्मानित र अभिनन्दित हुनुहुन्छ । बाल्यकालदेखि नै आफूलाई बालसाहित्यले आकर्षित गरेको बताउने पराजुली बुढेसकालमा पनि बालबाकिाका लागि अझै लेख्दै हुनुहुन्छ । आगामी वर्ष आफ्नो पचहत्तरौँ शुभ जन्मोत्सवमा आफ्नो आत्मकथा प्रकाशन गर्ने तयारीमा उहाँ अचेल व्यस्त हुनुहुन्छ । हाम्रा बालबालिका साथीहरूका लागि उहाँको बाल्यकाल प्रेरणादायी हुने विश्वासका साथ प्रकाशोन्मुख आत्मकथा ‘शिखरयात्रा’मा आधारित भई उहाँको बाल्यकालका सम्झनाहरू यहाँ प्रस्तुत गरिएको छ ।

Tuesday, March 19, 2013

रेडियो : मेरो साहित्यको जग


प्रमोद प्रधान (२०१५, विराटनगर, मोरङ्) एक वरिष्ठ साहित्यकार तथा पत्रकार हुनुहुन्छ । उहाँले विशेष गरी बालसाहित्यको क्षेत्रमा धेरै लामो समयसम्म काम गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)का अवकाशप्राप्त प्रधान सम्पादक प्रधानले पत्रकारिताको प्रशिक्षणका क्रममा नेपालका धेरै जिल्लाहरू घुम्नुभएको छ । ‘कान समात् कान’ (२०५३), ‘सधैँभरि लुकामारी’ र ‘कानाकाना कुर्र’ (२०६२) उहाँका बालकवितासङ्ग्रहहरू हुन् । साथै उहाँले बालबालिकाका लागि भनेरै ‘माहुरी र गड्यौला’ (२०६४)नामक कथासङ्ग्रह अनुवाद गर्नुभएको छ भने ‘रामोन म्यागासेसे पुरस्कार विजेता नेपालीहरू’ (२०६६)शीर्षकमा जीवनीसङ्ग्रह प्रकाशित गर्नुभएको छ । साथै उहाँले लेख्नुभएका ‘नेपाली बालसाहित्यको इतिहास’ (२०५७) र ‘नेपाली बालवाङ्मय परिचयकोश’ (२०६५) नामका पुस्तकहरू बालसाहित्यबारे बुझ्न महत्वपूर्ण छन् । यससमेत उहाँका एक दर्जन कृतिहरू प्रकाशित छन् भने आधा दर्जनभन्दा बढी पुस्तकहरूको सम्पादन गर्नुभएको छ । साथै, उहाँ थप सात पुस्तकहरू प्रकाशन गर्ने तयारीमा हुनुहुन्छ । नेपाल बालसाहित्य समाज लगायत विभिन्न संस्थाहरूमा आबद्ध प्रधानले साहित्य र पत्रकारिताका क्षेत्रमा एक दर्जनभन्दा बढी पुरस्कारहरू पाइसक्नुभएको छ । स्थायी निवास विराटनगर भए पनि उहाँ हाल काठमाडौँको मालीगाउँमा बस्नुहुन्छ । बालसाहित्यका लागि आजसम्म सक्रिय प्रमोद प्रधानका बाल्यकालको संस्मरण यस पालीको ‘बाल्यकालका कुरा’मा प्रकाशन गरिएको छ ।

Saturday, March 16, 2013

बोली नफुट्दै पढाइ सुरु भो




पूर्णप्रकाश नेपाल ‘यात्री’ (वि.सं. १९९१, भोजपुर) नेपाली साहित्यका एक विशिष्ट विद्वान् हुनुहुन्छ । सम्पूर्ण नेपाल भ्रमण गर्ने अभियानमा निस्किएका बेला उहाँलाई योगी नरहरिनाथले ‘यात्री’को विशेष परिचय दिनुभएको हो । उहाँ साहित्यका अतिरिक्त भाषा, संस्कृति, इतिहास, मानवशाास्त्र र समालोचनाको क्षेत्रमा पनि आफ्नो योगदानका लागि सुप्रसिद्ध हुनुहुन्छ । नेपाली भाषाका प्रकाशित महाकाव्यहरूमध्ये हालसम्मको सबभन्दा ठूलो मानिने ‘सिजापतीबाला’का रचनाकार पनि उहाँ नै हुनुहुन्छ । नेपालका विभिन्न १६ विषय समेटेर उहाँले ‘इन्साइक्लोपेडिया अफ नेपाल’ तयार पार्नुभए पनि प्रकाशन हुन भने सकेन । यसबाहेक उहाँका विविध अनगन्ती कृतिहरू प्रकाशित छन् भने दर्जनौँ कृतिहरूको सहलेखन पनि गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक यात्री दर्जनौ साहित्यिक तथा सामाजिक सङ्घसंस्थाहरूसँग आबद्ध हुनुहुन्छ । उहाँले साहित्यको क्षेत्रमा पाएका पुरस्कारहरूको सूचि पनि लामो नै छ । नेपाली साहित्यको सेवामा अनवरत सक्रिय यात्रीका बाल्यकालका तितामिठा सम्झनाहरू यसपालिको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ । 

Friday, April 16, 2010

कवि बाजेले धाप मार्नुभो

रामकृष्ण दुवाल (२००७, कीर्तिपुर, काठमाडौँ) एक सुपरिचित गीत–सङ्गीतकर्मी हुनुहुन्छ । राष्ट्र र जनताको सर्वोत्तम हितमा गाइएका ‘गाउँ–गाउँबाट उठ!’ जस्ता गीतमा पनि उहाँ संलग्न हुनुहुन्छ । यसबाहेक उहाँले .................. लगायतका बालबालिकालाई सन्देश दिने गीतहरूमा सङ्गीत दिनुभएको छ । उहाँका अनुसार उहाँले बालबालिकाका लागि गाइएका यस्ता ५०–६० जति गीतमा सङ्गीत दिनुभएको छ भने केही लेख्नु र गाउनुभएको पनि छ । सङ्गीत, सािहत्य र संस्कृतिबाहेक उहाँ आदिवासी–जनजातिका भाषा र  पहिचानसम्बन्धी आन्दोलनमा पनि निरन्तर सक्रिय हुनुहुन्छ । सामाजिक र राष्ट्रिय महत्व भएका यी क्षेत्रहरूमा उल्लेखनीय योगदान दिनुभएकामा उहाँ विभिन्न संस्थाहरूबाट स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरमा सम्मानित र पुरस्कृत हुनुहुन्छ । ‘हाम्रो आँगन’का लागि गरिएको कुराकानीमा उहाँले बालापनको अनुभवसँगै बालगीतका विभिन्न पक्षहरूबारे पनि चर्चा गर्नुभएको छ । आजसम्म पनि बालबालिकाका लागि गीत लेख्ने, सङ्गीत भर्ने र गाउने काममा सक्रिय दुवालका बालापनका अनुभव यस पालीको ‘बाल्यकालका कुरा’मा प्रस्तुत गरिएको छ । 

बाल्यकाललाई सम्झँदा
मेरो जन्म २००७ साल असार महिनामा भएको हो । म हाल बसिरहेको पाँगा, कीर्तिपुरस्थित घर नै मेरो जन्मघर हो । आमा पूर्णकुमारी र बुबा रामप्रसाद दुवालका छोराछोरीहरूमध्ये म पाचौँ हुँ । मेरा दुई दाजु सानैमा बित्नुभएको हो । यसबाहेक मेरा बाआमाबाट दुई दिदी र एक बहिनी जन्मनुभएको छ । मेरो परिवार पुख्र्यौली रूपमा सम्पन्न भए पनि म जन्मिएको समयमा भने हाम्रा्े परिवार ‘सर्वहारा’ (बाँच्नका लागि पूर्णतः श्रममा निर्भर र उत्पादनका साधनहरूमाथि नियन्त्रण नभएको) भइसकेको थियो । हातमुख जोड्नका लागि समस्या नै थियो । हाम्रो परिवार पहिलेदेखि नै कीर्तिपुरमै बस्दै आएको रहेछ । 
त्यति बेला खासै स्कुलहरू थिएनन् । स्कुल नभए पनि छ–सात वर्षको हुँदा मलाई काकाले घरमै पढाउन सुरु गर्नुभएको हो । उहाँसँग दुई वर्ष पढेपछि म तत्कालीन जलविनायक आधार हाई स्कुलमा भर्ना भएँ, (जसलाई आज जनसेवा उच्च मा.वि.का नामले चिनिन्छ) । मेरो पढाइ खासै राम्रो पनि थिएन, नराम्रो पनि थिएन । म विद्यालयमा मध्यम तहको विद्यार्थी थिएँ । त्यति बेलाको पढाइ पूर्णतः घोकन्ते थियो । जसले बढी घोक्न सक्थ्यो, उसले बढी पढ्न सक्थ्यो । पाठ्यक्रम पनि निश्चित थिएन, न त पाठ्यपुस्तक नै थिए । शिक्षकले जे सिकाउन उपयुक्त ठान्थे, हामीलाई त्यही सिकाउँथे । 
कक्षा एक र दूईमा साधारण नेपाली मात्र पढाइन्थ्यो । क, खका सादा अक्षरदेखि क्य, ख्यजस्ता जोडिएका गाह्रा अक्षरका पनि बाह्रखरी पढ्न लगाइन्थ्यो । त्यति जानेपछि हिसाबको सामान्य जोडघटाउ सिकाउन सुरु गरिन्थ्यो । अङ्ग्रेजीको पढाइ त कक्षा छदेखि मात्र सुरु हुन्थ्यो । मैले पढेको विद्यालय प्राविधिक स्कुल थियो । प्राविधिक भन्नाले आजको जस्तो नयाँनयाँ वैज्ञानिक प्रविधि थिएनन् । सिकर्मी, डकर्मीजस्ता कामहरू सिकाइन्थे । त्यति बेला घर बनाउन जान्नु नै प्राविधिक हुनु थियो । 
स्कुलमा पढाइका बाहेक अन्य कार्यक्रम केही पनि हुँदैनथे । खेलकुद त हाम्रो दैनिकीमा थिएन । न त हामीलाई घरमा खेल्ने वातावरण थियो, न त स्कुलमा । स्कुलमा खेलकुदका नाममा ब्याडमिन्टन र क्यारम थिए । यद्यपि हामी गोठालो जाँदा कहिलेकाँही साथीहरू मिलेर कपडा, बोरा आदिबाट बल÷भकुन्डो बनाउँथ्यौँ र खेल्थ्यौँ । कहिलेकाँही ठुलाहरूले दिए भने फुटबल पनि खेल्थ्यौँ । आजको जस्तो रबरको बल खेल्नु भनेको त हाम्रो जमानामा कहाँ हो कहाँ !
हाम्रो नेवारी बस्तीमा पनि दसैँ–तिहार त भव्यताका साथ मनाइन्थ्यो नै । अझ यसभन्दा पनि भव्य र विशेष रूपमा विभिन्न जात्राहरू मनाइन्थे । हामी गाईजात्रा, बखुमर, सिठीजस्ता चाडपर्वका जात्राहरूमा हामी  खुब मज्जा लिन्थ्यौँ । चाडपर्व आउन लागेको थाहा पाउनेबित्तिकै अब सो पर्व आउन कति दिन बाँकी छ भनेर औँला भाँची दिन गनेर बस्थ्यौँ । चाडपर्व सुरु हुनुअघिको अर्को पक्ष पनि रमाइलो छ । हामी त्यो समयमा साथीहरूसँग उधारोमा गुच्चाजस्ता खेलहरू खेल्थ्यौँ । अर्थात्, चाडपर्वको समय आएपछि तिर्ने सर्तमा पुष्टकारी, गुच्चा आदिको बाजी लगाउँथ्यौँ । ‘डाफा’ संस्कृति हाम्रो दैनिकीको अर्को महत्वपूर्ण पक्ष थियो । प्रत्येक बिहान टोलटोलका पाटीहरूमा एउटा विशेष प्रकारको नाचगान हुन्थ्यो, जसलाई हामी डाफा भन्थ्यौँ । अझ चाडबाड र जात्राका समयमा त डाफाको भव्यता झन् बढ्थ्यो । डाफा लोकशास्त्रमा आधारित एक सांस्कृतिक पद्धति हो । 
डाफाको नाचगानमा ठुला मानिसहरूले नाचेको देख्दा हामी पनि त्यसको नक्कल गरेर नाच्ने प्रयास गथ्यौँ । त्यसमा केही गल्ती भए उहाँहरूले हामीलाई सच्याइदिनुहुन्थ्यो । यति हुँदाहुँदै पनि ती वयष्क मानिसहरूमा बालबालिकाहरूलाई पनि यस्तो नाचगान सिकाउनुपर्छ भन्ने चिन्तन नै थिएन  । यसकारण, हामी भने यो नाच सिक्न औपचारिक रूपमा पाउँदैनथ्यौँ । अर्कातर्फ, ‘दुवाल’ थर नेवारहरूभित्र पनि उच्च जातिको मानिन्छ । त्यहाँ डाफा सिक्ने क्रममा ढोगभेट गर्नुपथ्र्याे, जसका लागि हामी दुवाल थर भएकालाई अनुमति थिएन । त्यसैले त झन् मैले त डाफामा भाग लिन पाउँदै पाइँन । घरभित्रको ‘आँगो’ भन्ने विशेष स्थानमा हुने नियमित पूजा मैले बाल्यकालमा भोगेको संस्कृतिको अर्को महत्वपूर्ण पक्ष हो । 
सैद्धान्तिक रूपमा बालअधिकार कसैलाई पनि थाहा थिएन त्यति बेला । न त बालबालिका, न त अभिभावकलाई नै बालबालिकाको विकासका लागि उनीहरूले अधिकार पाउनुपर्छ भन्ने कुराको ज्ञान थियो । पढाइका नाममा सामान्य जोडघटाउ जानेपछि काम गर्नुपर्ने बाध्यता हुन्थ्यो । कोही बालबालिकाले आर्थिक कारणले काम गर्नुपथ्र्यो त  कोहीले सामाजिक कारणले । तर, कुनैकुनै घरमा भने ‘पढाउनुपर्छ’ र ‘पढ्नुपर्छ’ भन्ने धारण पनि रहेको थियो । मेरा बाआमाको पनि छोरालाई पढाउनुपर्छ भन्ने विचार थियो । तर पनि छोरीहरूलाई पढाउने कुरा भने कसैले सोच्दैनथ्यो । 
स्कुलमा पढाइबाहेक कुनै पनि अतिरिक्त क्रियाकलाप हुँदैनथे । शिक्षकहरू सबै हाम्रो गाउँभन्दा बाहिरका भएकाले उनीहरूलाई बिहान समयमा स्कुल आइपुग्न र बेलुका घर फर्कन नै हतार हुन्थ्यो । विद्यार्थीहरूलाई खेलाउने र अन्य किसिमका प्रतिभा देखाउने अवसर दिलाउने समय उहाँहरूसँग कहाँ हुन्थ्यो र !
अर्कातर्फ हामी बालबालिका पनि नियमित विद्यालय जादैनथ्यौँ । त्यति बेलाको समयमा पढेर बचेको समयमा काम गर्ने होइन कि, काम गरेर बचेको समयमा पढ्ने धारणा र चलन विद्यमान थियो । 
मेरो दाजुभाइ म सानै छँदा बितिसक्नुभएको थियो । दिदीबहिनीहरूसँग मेरो राम्रो सम्बन्ध थियो । हाम्रो कहिल्यै पनि झगडा भएन । म दिदीहरूको चित्त दुखाउँदैनथेँ । अझ म दिदीहरूको चित्त दुखाउन चाहदैनथेँ । मभन्दा करिब पाँच–छ वर्ष कान्छी बहिनी छिन् । उसँग भने म पनि साथीजस्तै व्यवहार गर्थेँ । हामी सँगै खेल्थ्यौँ । हामी दुबै जना हामीभन्दा २०–२५ वर्ष जेठी दुई जना दिदीहरूलाई अभिभावकजस्तै मान्थ्यौँ । आजसम्म पनि हामी दिदीको कुरा काट्दैनौँ । 
म सानो छँदा मेरो बासँग त्यति कुरा हुन्नथ्यो । पहिलो कुरा त बाको स्वभाव नै कम बोल्ने थियो । दोस्रो कुरा उहाँ धेरै टाढा काम गर्न जानुहुन्थ्यो । मेरो बाले पहिले सिकर्मी र पछि जागिरेको काम गर्नुभयो । यसकाराण बासँग हामीसँग कुरा गर्ने समय नै थिएन । बाल्यकालको यस बानीले म ठुलो हुँदासम्म पनि बासँग कमै बोलेँ । आमासँग भने निर्धक्क कुरा हुन्थ्यो । आमाको माध्यमबाट नै बासँग कुरा पु¥याइन्थ्यो । 
तैपनि बालापन रमाइलोमै बित्यो । गोठालो जाँदा होस् वा घरमा, साथीहरू साथमै हुन्थे र सँगै भएपछि रमाइलो हुन्थ्यो । विशेष गरी मसँग मसमेत तीन जनाको समूह थियो । अहिले गैरआवासीय नेपाली सङ्घ (एन्आर्एन्)का सल्लाहकार डा. देवकाजी डङ्गोल र नेपाल तथा नेपाली भाषाका साहित्यकार नजरराम महर्जन मेरा सबभन्दा नजिकका साथी थिए । डङ्गोल पढ्नमा चलाक थिए, हामी ‘तिमी पछि डाक्टर बन्छौ’ भन्थ्यौँ । महर्जनलाई लेख्ने बानीमा रमाइलो लाग्थ्यो, हामी ‘तिमी पछि लेखक बन्छौ’ भन्थ्यौँ । मलाई भने पढाइ र लेखाइभन्दा पनि गाउन, बजाउन र नाँच्न बढी रुचि थियो । उनीहरू मलाई ‘तिमी कलाकार बन्छौ’ भन्थे । आखिर भविष्यमा त तीनै जनाका लागि गरिएको भविष्यवाणी मिल्यो । 
त्यति बेला म करिब आठ–नौ वर्षको थिएँ होला । दसैँको बेला थियो । टोलका सबैले नयाँ लुगा सिलाइसकेका थिए । मेरो लुगा सिउन बाँकी नै थियो, कारण बाले काम गरेको ठाउँबाट पैसा पाइसक्नुभएको थिएन । सबैको तयारी सकिदा पनि पैसा नआएपछि बा फूलपातीको दिन बिहान साहुको घर वसन्तपुर जाने हुनुभयो । म पनि बासँगै जाने भएँ । खाली खुट्टा वसन्तपुरमा पुग्दा मलाई सबभन्दा नरमाइलो अनुभव भयो । म लुगा लाउन पाउँछु कि पाउँदिन भन्ने द्विविधा र डरले पिरोलिरह्यो । लुगा लाउन नपाए दसैँभरि घरबाट बाहिर ननिस्कने विचार आयो । पछि साहुले केही पैसा दिए । हामी तयारी लुगा किन्न मङ्गलबजारतर्फ लाग्यौँ । मङ्गलबजार नपुग्दासम्म मन शान्त भएन । त्यहाँ तयारी कमिज–सुरुवाल र जुत्ता किनेपछि मात्र म ढुक्क भएँ । बिहान जाँदा मनभरि चिन्ता लिएर गएको म फर्कदा त नयाँ योजनाहरूको साथमा थिएँ । एक छिन नरमाइलो भए पनि अन्त्यमा त मज्जा नै आयो नि !
हरेक साल साउनमा मेरा मामा हरिगोविन्द श्रेष्ठको बाको जन्मदिन मनाइन्थ्यो । मामाले सबैलाई ‘समय्बजि’ बाँड्नुहुन्थ्यो । केटाकेटीका लागि भने उहाँ एउटा रमाइलो खेल खेलाउनुहुन्थ्यो । बीचमा एउटा पुष्टकारी राखेर दुई दिशाबाट दुई जनालाई दौडन लगाइन्थ्यो । एक पटक मैले पनि दौडेर पुष्टकारी जितेको थिएँ । मामाले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई चिन्नुभएको थियो । मैले पुष्टकारी जितेको दिन पनि देवकोटा त्यही हुनुहुन्थ्यो । तर, हामी उहाँलाई चिन्दैनथ्यौँ । मैले जितेपछि नचिनेका देवकोटाले मलाई धाप मारेर, “केटाले भविष्यमा केही गर्छ” भन्नुभएको थियो । पछि उहाँ को भनेर सोध्दा मामाले “यी त कवि बाजे हुन् । ठुला मान्छे हुन्” भन्नुभयो । देवकोटा मन्त्री पदबाट हटिसकेको र उहाँको मृत्युअगाडिको यो घटना २०१५–१६ को हुनुपर्छ । 
मैले बाल्यकालमा कोही विशेष व्यक्तिबाट विशेष रूपमा प्रेरण पाएँ भने त्यो मेरो बा नै हुनुहुन्थ्यो । हुन त मैले उहाँको कुनै गुणको पनि प्रत्यक्ष अनुशरण गरेको छैन । तर पनि, उहाँका भनाइहरूले मलाइ प्रेरणा दिए । बा भन्नुहुन्थ्यो, “मैले कमाएको सम्पत्ति तेरो होइन । तेरा लागि तँ आफैले केही गर्नुपर्छ ।” उहाँको यस भनाइले मलाई आफ्नै मिमित्त केही गर्ने भावना जाग्यो । गीतसङ्गीतका लागि भने मलाई माथि भनिएको डाफा संस्कृतिले नै विशेष प्रेरणा दियो । डाफा सङ्गीत सुनेर अरुको नक्कल गर्दा अरुले मेरो प्रशंसा गर्थे । अरुको सकारात्मक प्रतिक्रियाले मलाई थप सिक्न उत्सुक बनायो । पछि मैले सङ्गीतका ज्ञाता मास्टर सुकरामलाई गुरु मानेर उहाँसँग सङ्गीत सिकेँ ।
‘ठुलाले लेख्ने बालगीत होइन’
बालगीत भनेको बालबालिकाहरू स्वयंले आफ्ना मनका कुराहरू व्यक्त गरी लेखेको र लेख्ने गीत हो । ठुला मानिसहरूले बालबालिकाका लागि लेखेको गीत बालगीत होइन । यसलाई बालबालिकालाई सन्देश दिने गीत वा उनीहरूलाई मार्गनिर्देश दिने गीत मात्र मान्न सकिन्छ । बालकको मनस्थितिलाई सन्तुलित राख्नका लागि हो, बालगीतको आवश्यकता भएको । यसले उनीहरूको दिमाग सधै ताजा बनाउँछ । अर्कातर्फ यसले उनीहरूलाई आफ्नो करा निर्धक्क भन्ने वातावरण बनाउँछ । बालबालिकाको अभिव्यक्ति क्षमता बढाउन बालगीत महत्वपूर्ण हुन सक्छ । 
तर, बालबालिका आफै बालगीत रचनाका लागि सक्षम बन्न सजिलो छैन । यसका लागि ठुलाले अभिप्रेरित गर्नुपर्छ । यसमा पनि शिक्षकशिक्षिकाको भूमिका अझ बढी महत्वपूर्ण छ । जस्तो, एउटा शिक्षकले आफ्नो विद्यार्थीलाई ‘आफूले घरमा गर्ने कामको बारे लेखेर ल्याउनू’ भन्न सक्छ । विद्यार्थीले कथा, निबन्ध, कविता, वा गीत — जुनसुकै रूप पनि दिन सक्छ । यसरी लेख्दा थाहा नपाईकन नै बालबालिकाले आफ्ना विचार, समस्या र समग्रमा आफ्नो मनस्थिति अभिव्यक्त गर्छन् । शिक्षकले सम्भव भएसम्म विद्यार्थीहरूसँग व्यक्तिगत रूपमै अन्तक्र्रिया र कुराकानी गर्नुपर्छ । अनि उसलाई आफ्नो समस्या अभिव्यक्त गर्न प्रोत्साहन गर्नुपर्छ । बालगीत वा जुनसुकै सिर्जनाका विधाका लागि पनि अभिव्यक्ति मुख्य आधार हो । 
यसबाहेक बालबालिकालाई बालगीत नै सिकाउने हो भने केही थप कुरामा पनि ध्यान दिनुपर्छ । सिकाउने शिक्षक बालकजस्तै भइदिनुपर्छ । त्यही समयमा उसले बालबालिकालाई राम्रोसँग व्यवहार गर्न सक्नुपर्छ । साधारण सङ्गीतसम्बन्धी ज्ञान पनि भएको हुनुपर्छ । विचार गर्नुपर्ने अझ महत्वपूर्ण कुरा के हो भने सिकाइका क्रममा कहिल्यै पनि जबर्जस्ती गर्नु हुँदैन । बालको गलाले भ्याउने स्वर मात्र, उनीहरूको दिमागले भ्याउने ताल मात्र र शरीरले थेग्न सक्ने मुद्रा मात्र सिकाउनुपर्छ । 
नेपालमा बालगीतको अवस्था बिस्तारै राम्रो हुँदै छ । अचेल त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले पनि बालबालिकाको विकासमा ध्यान दिएका छन् । तर, उनीहरू सबैको नपाली भाषामा मात्र ध्यान केन्द्रित भएका छन् । नेपालमा त धेरै भाषहरू बोलिन्छन् । नेपालीबाहेकका अन्य भाषामा बालसाहित्यको अवसथा करिब शून्यबराबर नै छ । हामीले यसको विकासमा पनि ध्यान दिनुपर्छ । अरु भाषा बोल्ने बालबालिकाले पनि त आफ्नो कुरा अभिव्यक्त गर्ने उपयुक्त वातावरण त पाउनुप¥यो नि !
म बालबालिकाको लागि लेखिने गीतको क्षेत्रमा लाग्नुको प्रसङ्ग पनि छुट्टै छ । वि.सं २०२२मा रेडियो नेपालले ‘जीवनदबु’ नामको नेवारी कार्यक्रम बन्द ग¥यो । यसको विरोधमा कविकेशरी चित्तधर हृदय, गीतकार दुर्गालाल श्रेष्ठ लगायतका व्यक्तिहरूको नेतृत्वमा आन्दोलन चल्यो । यो अभियानमा म पनि सामेल भएँ । पछि हुँदै जाँदा मलाई ठुलाहरूले ठुलाहरूको मात्र कुरा हुने हुँदा बालबालिकाको लागि छुट्टै अभियान आवश्यक भएकोजस्तो लाग्यो । यसका लागि हामीले वि.सं. २०२६मा एउटा साहित्य सम्मेलन ग¥यौँ । यस सम्मेलनमा बालबालिकाका लागि लेखिने धेरै साहित्यिक रचनाहरू प्रस्तुत भए । यसपछि पनि मलाई बालबालिकाका लागि पढ्ने सामग्रीहरू कम भएजस्तो लागिरह्यो । यही कमीलाई परिपूर्ति गर्न म केही साथीहरूसँग बालबालिकाका लागि गीत लेख्ने काममा लागिरहेँ । मलाई आज पनि बालबालिकाका लागि पर्याप्त सामग्री छैनन् जस्तो लाग्छ । 

शुभकामना सन्देश
बालकको बालापन उसको परिवार कस्तो छ, त्यसमा भर पर्छ । उसलाई हुर्काउने परिवारले जे सिकायो, त्यो बालक त्यस्तै हुन्छ । यस कारण, म फेरि बालक बन्न पाए कस्तो बन्थेँ भन्ने कुरा म अहिले सोच्न सक्दिन । यो कुरा बालकको आफ्नो इच्छाभन्दा पनि परिवारको भूमिकामा बढी निर्भर हुन्छ । तापनि, मलाई आजका बालबालिका हाम्रा् जमानाका बालबालिकाजस्ता कमजोर छैनन् जस्तो लाग्छ । उनीहरू हरेक पक्षमा सक्षम छन् । खालि, उनीहरूलाई कस्तो शिक्षादीक्षा दिने भन्ने योजना बनाउनुपर्ने छ । देशलाई आवश्यक जनशक्ति तयार हुने गरी बालबालिकालाई शिक्षित गर्नुपर्छ । अनि मात्र, उनीहरूले देश बनाउन सक्छन् र हाम्रो देशको भविष्य राम्रो बन्न सक्छ । 
यस ‘हाम्रो आँगन’ पत्रिकाले पनि बालबालिकाको जीवनमा सार्थकता र सिर्जनात्मकता बढाउने सामग्री देओस् । ‘हाम्रा् आँगन’जस्ता सबै बालबालिकाले के बुझ्नुपर्छ भने बालपत्रिका बालक आफैँ किन्न सक्दैन र हाम्रो समाजमा बालबालिकालाई अभिभावकले प्रायः पत्रिका किनिदिदैनन् । बालपत्रिकाका सामग्रीले अब अभिभावक र बालबालिका दुबैलाई चेतना बोध गराउनुपर्ने छ । ‘हाम्रो आँगन’ बालबालिकाले पढ्नुपर्ने र अभिभावकले पढाउनुपर्ने सामग्रीको रूपमा अगाडि बढोस् । 

२०६६/१२/२९
diwapyak@gmail.com

Sunday, February 28, 2010

बालापनबारे राष्ट्रकवि

(करिब पाँच महिनाअगाडि मैले राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग एउटा अन्तर्वाता लिएको थिएँ । कविको बाल्यकाल र बालापनमा केन्दि«त उक्त अन्तर्वाता मलाई यस वर्षको अविस्मरणीय क्षण लागिरहेको छ, किनभने उहाँको व्यक्तित्व राष्ट्रिय स्तरकै अत्यन्त उच्चतम रहेको मेरो बुझाइ छ । सायद् त्यतिबेला नै ब्लग गर्ने भए म त्यसै समय यो पोस्ट गर्थे । तैपनि यो आज पनि सान्दर्भिक भएको ठानी प्रकाशित गरेको छु । तपाईको प्रतिक्रियाको अपेक्षा छ । )
अहिले पनि मभित्र बालकत्व छ ।” यो वाक्य सुनेर म झसङ्ग भएँ । आफ्नो एकानब्बेऔँ जन्मोत्सव मनाउन २३ दिन मात्र बाँकी रहँदा जीवित नेपाली साहित्यकारहरूमध्ये सम्भवतः सबभन्दा महान् र लोकप्रिय कविले बालापनबारे सोधेको प्रश्नको उत्तरमा यो कुरा बताउनुभएको थियो ।
यही भाद्र महिनाको १५ गते, दिनको करिब १२ बजेतिर । अघिल्लो दिन वरिष्ठ साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’को सहयोगमा मैले राष्ट्रकवि माधवप्रसाद घिमिरेलार्ई फोन गरेको थिएँ । हुन त मलाई अर्कै कामका लागि उहाँलाई भेट्नु थियो, तर पनि मौकामा ‘हाम्रो आँगन’का पाठक भाइबहिनीहरूका लागि महाकविलाई अप्रत्यक्ष रूपमै भए पनि राष्ट्रकविसँग किन नभेटाउने भनेर मैले राष्ट्रकविसँग बालापनबारे कुराकानी गरेको थिएँ । राष्ट्रिय स्तरमा चर्चामा रहेका समसामियक विविध विषयमा कुराकानी गरेपछि हामी बालबालिकाहरूको विषयमा केन्द्रित भएका थियौँ ।
मैले पढेअनुसार र जानेअनुसार आदरणीय कविजीको बाल्यकालको सन्दर्भ उल्लेख गर्दै मैले उहाँलाई त्यो बेलाको र अहिलेको बालापनबीच उहाँले देख्नुभएको फरक सोधेँ । “पढ्ने विषय थोरै थिए, उमेरअनुसारको भार थियो, तर पहिले हामी प्रकृति पढ्थ्यौँ, उन्मुक्त भएर सिक्न सक्थ्यौँ” उहाँले कुरा सुरु गर्नुभयो । “आजको समयका बालकहरू बेन्चमा पढ्छन् । उनीहरू प्रकृतिको नगिचमा रमाउँदै, खेल्दै, सिक्दै पढ्नबाट वञ्चित छन् ।” यो मैले नसोचेको उत्तर थियो । अझ उहाँका अनुसार त्यसबाट वञ्चित हुनुपर्दा बालबालिकाको मनमा पीडा हुन्छ रे । “मन र शरीरभरि पीडा बोकेको बेलामा ज्ञान कसरी आउँछ ?” उहाँको यो प्रश्नले भने मलाई पनि गम्भिर बनाएको थियो । शिक्षा औपचारिक मात्र भयो भने, अथवा कक्षाकोठाभित्रको शिक्षाले मात्र बालबालिकाको विकास गर्न सक्दैन भन्ने उहाँको सार थियो । “बालकका लागि पाठशाला मुख्य गरी तीन ओटा छन् ः घर, विद्यालय र समाज” उहाँले आफ्नो तर्क राख्नुभयो । “घरमा आमाबाबु गुरु हुन्छन् । नैतिकता र संस्कृतिको शिक्षाको मूल स्रोत नै घर हो । मानिसको जीवनशैली र सोचाइ पनि उसले घरमा पाएको शिक्षाअनुसार हुन्छ ।” विभिन्न उदाहरण र हाउभाउसहित उहाँले घरमा लिइने शिक्षाको महत्व बताउनुभयो । दोस्रो विद्यालयबारे व्याख्या गर्नु उहाँले सायद् आवश्यक ठान्नुभएन क्यारे, मात्र “विद्यालयको औपचारिक शिक्षा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ” भन्नुभयो । तेस्रो विद्यालय समाजको कुरा गर्दा उहाँले आफूले बच्चामा साथीहरूसँग पौडी र गुच्चा खेल्दै नैतिकता र इमान्दारिताको पाठ सिकेको सम्झनुभयो । “चरित्र निर्माण किताबमा लेखेर मात्र हुँदैन”, उहाँले बोलेको यो वाक्य मलाई अत्यन्त महत्वपूर्ण र गम्भिर तथा शिक्षाप्रद लाग्यो ।
मैले कविजीलाई आफ्नो बालापन सम्झन आग्रह गरेँ । “मलाई बालापनका दुई कुरा असाध्यै मन पर्छन् ः निर्दोषपना र उत्सुकता”, सायद् आजका बालबालिका अङ्ग्रेजी पदावलीमा बानी परेका छन् भन्ने सम्झेर होला, उहाँले आफ्ना कुराहरूको शाब्दिक अनुवाद पनि गर्नुभयो । “सच्चा मनुष्यका लक्षण यिनै हुन् । एउटा बालकको निर्दोष मनले नकारात्मक केही सोच्दैन । उत्सुकताबाट मौलिक विज्ञान जन्मन सक्छ । एउटा बालकले सोध्ने ‘पात किन हरियो हुन्छ ?’ अथवा ‘नदी किन बहिरहन्छ ?’ भन्ने प्रश्नमा कति ठुलो विज्ञान लुकेको हुन्छ ? आफूमा भएको उन्सुकतालाई मारेको भए न्युटन र ग्यालिलियो आज विश्वविज्ञानका जन्मदाता बन्ने थिएनन् ।” यसै प्रसङ्गमा उहाँले आफूलाई ‘ठुला’ भन्नेहरूले बालबालिकाको उत्सुकतालाई ‘वाहियात् !’ भनेर मार्ने गरेकोमा आक्रोश पोख्नुभयो । बालबालिकालाई निर्दोषपना र उत्सुकता फस्टाउने गरी शिक्षा दिनुपर्ने उहाँको विचार थियो ।
अब मैले उहाँलाई “बालापन सकिएपछि पनि बालबालिकाहरूसँग कत्तिको नजिक हुनुहुन्छ ?’ भनेर सोधेँ । उत्तरमा मैले पाएको वाक्य त्यही हो, “अहिले पनि मभित्र बालकत्व छ” । “अहिले पनि म बालक नै छु, बालसाहित्य लेख्दा मभित्रको बालक बोलेको हुन्छ” सिधै बुझ्दा सरासर झुट लाग्ने यो सत्यतालाई उहाँले प्रष्ट पार्नुभयो । “फरक यति हो, म बालक छु र पनि आज मभित्रको बालक आफैँ हेर्न र अनुभव गर्न सक्छु”, अब ममा कुनै पनि शङ्का बाँकी रहेन ।
अब मलाई ‘टालाटुली बटुली’देखि ‘लाग्दछ मलाई रमाइलो’जस्ता बालबालिकाहरूबीच अत्यन्त प्रिय गीत र कविताहरू रचेका यी महापुरुषलाई बालसाहित्यबारे सोध्ने इच्छा भयो । “बालसाहित्य केका लागि ?” बडो उत्साहित भएर मैले वाक्यको बनौट पनि विचार नगरी प्रश्न सोधेँ । उहाँको पनि छोटो र सिधा उत्तर थियो “बालबालिकाको विकास र मनोरञ्जनका लागि ।” उहाँका अनुसार बालबालिकाको विकासमा मात्र सहयोग पु¥याउने तर मनोरञ्जन दिन नसक्ने र रमाइलो मात्र गराउने तर विकासका लागि केही योगदान नदिने साहित्य बालसाहित्य हुन सक्दैन । “बालसाहित्यको लेखाइ वयष्कहरूका लागि लेखिने साहित्यको लेखाइभन्दा के फरक हुन्छ त ?”, मेरो जिज्ञासा अझै शान्त भइसकेको थिएन । यसमा पनि उहाँको उत्तर बुँदागत नै थियो ः “शब्दज्ञान र अवधारणा ः बालबालिकामा सम्बन्धित विषयको शब्दज्ञान र अवधारबारेको ज्ञान कति छ, त्यो विचार गरिएन भने त्यो बालबालिकाका लागि पाच्य हुँदैन ।”  उहाँकै शब्दमा उमेरअनुसारको शब्दज्ञान र अवधारणाको विकास विचार नगरी ‘बालसाहित्य’को नाममा कसैले केही लेख्छ भने, त्यो ‘खचडापचडा’ मात्र हुन्छ । “साथै बालसाहित्य लेख्नका लागि बालबालिकाको सामान्य मनोविज्ञान बुझेकै हुनुपर्छ । गहिराइमा मनोविज्ञान बुझेको भए झन् राम्रो हुन्छ”, उहाँले बालसाहित्यकारका लागि लक्ष्मणरेखा कोरिदिनुभयो ।
“तर, गैरबालसाहित्यमा चाहिँ बालापनको भूमिका केकस्तो हुन्छ नि ?”, म बालापन र साहित्यको सम्बन्धबारे राष्ट्रकविको अलि विस्तृत धारणा जान्न चाहेको थिएँ । तर उहाँले यो प्रश्न त्यति नरुचाएको जस्तो मलाई लाग्यो । सायद् उहाँ निर्दोष र उत्सुक बालबालिकालाई गुणदोष बराबर भएका र सबै उत्सुकतालाई मारिसकेका ‘ठुला’ मानिससँग तुलना गर्ने पक्षमा हुनुहुन्नथ्यो । “सबैको आआफ्नै भूमिका र स्थान हुन्छ । बच्चालाई बच्चाकै रूपमा लिनुपर्छ र उसलाई आफ्नै भूमिका निर्वाह गर्न दिनुपर्छ”, उहाँले भन्नुभयो । मैले अझ नयाँ प्रश्न नसोधेपछि उहाँले भन्नुभयो, “सम्बन्धित साहित्यको सम्बन्धित कृतिले मागेअनुसार नै बालबालिकाहरूले साहित्यमा स्थान पाएका हुन्छन् र पाउनुपर्छ । यो कुरा लेखकको चाहनामा पनि भर पर्छ ।” अब भने मैले पनि खोजेको उत्तर पाइसकेको थिएँ ।
अबको चरणमा हामी कविज्यूको आफ्नै साहित्यिक यात्रामा केन्द्रित भयौँ । आजका राष्ट्रकविको कविता–यात्रा ‘बालकवि’का रूपमा सुरु भएको रहेछ, १४–१५ वर्षको उमेरमा । त्यतिबेलाका चल्तीका कविहरूको सिको गरेर उहाँले गोरखापत्रमा ‘वैराग्य पुष्प’ नामको कविता छपाउनुभएको रहेछ । “साहित्यकार कुनै पनि सिद्धान्तमा बाँधिनुहुन्न, स्वतन्त्र भएर आफ्नो बोली लेख्न सक्नुपर्छ” भन्ने धारणा राख्ने कवि आफ्ना सबै कृतिहरूमा आफ्नै मौलिकता लेखिएको बताउनुहुन्छ । मैले उहाँलाई ‘तपाईँको साहित्यमा लाग्नुको उद्देश्य के थियो ? आजसम्म आइपुग्दा कत्तिको पूरा भयो ?” भनेर सोधेँ । “जीवन र संसारलाई कविले आफ्नै दृष्टिले हेर्न सकोस्” कविले एकै वाक्यमा चित्तबुझ्दो जवाफ दिनुभयो ।
‘छन्द कविताका वकिल’, ‘छन्दवादी’ तथा ‘गद्य कविताका विरोधी’ भनेर कसैकसैले भनेका कविलाई मलाई “साहित्यमा धेरै विधामध्ये कविता नै किन रोज्नुभयो ? अनि त्यसमा पनि छन्दमा मात्र लेख्नुहुन्छ ?”भनेर सोध्ने पुरानो इच्छा थियो । कविजी रिसाउनुहोला कि भन्ने कुनै पनि डर नमानी मैले फ्याट्टै सोधिहालेँ । “भाव र विचारलाई एक–अर्कासँग पु¥याउन शब्दको साथ सङ्गीत भयो भए बढी प्रभावकारी रूपमा काम गर्छ । त्यो सङ्गीत कविता र गीतमा हुन्छ, अझ छन्दमा त्योभन्दा पनि बढी हुन्छ”, उहाँको प्रष्ट उत्तर थियो । “लय त ‘लेफ्ट–राइट’मा पनि हुन्छ । तर त्यसमा माधुर्य छैन” उहाँले थप्नुभयो । साथै आफ्नो कविताप्रेम र छन्दमोहका लागि लेखनाथ, देवकोटाले सिकाएको संस्कार पनि जिम्मेवार रहेको बताउनुभयो ।
केही वर्षअघि ‘राष्ट्रकवि’ उपाधि पाएपछि उहाँको लोकप्रियता बढेको चर्चा चलेको छ । उहाँलाई चाहिँ व्यक्तिगत रूपमा कस्तो लागेको होला त ? — मेरो मनको जिज्ञासा पोखिइहाल्यो । ‘राजाको शासनको समयमा राजाले दिएका’ भनेर आलोचना गर्नेहरूप्रति उहाँको असन्तुष्टि देखिन्थ्यो, जसलाई मैले पनि समर्थन गरेँ । “उपाधि पाउनुअघि भएको एक साहित्यिक कार्यक्रममा देशभरका प्रतिनिधिहरूले मेरो लागि केही विशेष उपाधिका लागि माग गरेका रहेछन् । अर्को कुरा, औपचारिक उपाधिअगाडि नै मैले जनताहरूबाट ‘राष्ट्रकवि’को सम्बोधन पाइसकेको थिएँ । राजाले मात्र चाहेको भए, यो सम्भव थिएन । यो मागेर पाइने उपाधि पनि होइन । मागेको पनि होइन । म जनताको राष्ट्रकवि हुँ”, उहाँको उत्तरमा असहमत हुने कुनै ठाउँ थिएन ।

“पारिन्छ सत्ता जब खण्डखण्ड, रहन्छ के राष्ट्र त्यहाँ अखण्ड ?
थुत्तिन्छ पत्ता जब खातखात, रित्तिन्छ शोभा अनि फूलबाट ।
यस्तायस्ता गीत लेख्ने राष्ट्रवादी कवि अहिले देशबारे के सोच्दै हुनुहोला ? “आज देशको अस्तित्व र सार्वभौमसत्ता सङ्कटमा छ । जान्यो भने अस्तित्व र सार्वभौमिकताको अर्थ देखाउने समय पनि यही हो ।” उहाँले विस्तारमा बोल्न चाहनुभएन ।

अन्तर्वाताका लागि मैले मागेको समय सकिन लागिसकेको थियो । म निष्कर्षात्मक प्रश्न सोध्ने तरखर गर्न लागेँ । “बालबालिकामा बालापनदेखि नै लेख्ने बानीको विकास गर्न के गर्नुपर्ला ?“, मैले सोधेँ । “सबभन्दा पहिला उसको रुचि हेनुप¥यो । ऊ कविता–गीतमा रमाउन चाहान्छ कि रेखाहरू कोर्न र यन्त्रहरू चलाउन ? त्यसपछि परिवारले वातावरण बनाइदिनुपर्छ । उसलाई प्रोत्साहन दिनुपर्छ । उसको उत्सुकतालाई मार्नुहुन्न”, एक पटक पनि नरोकिई उहाँले कुरा टुङ्ग्याउनुभयो । “जबर्जस्त प्रतिभा छ भने सबै बाधाहरूलाई छलेर ऊ अगाडि बढ्न सक्छ”, गाउँमा पढ्ने वातावरण नभएपछि भागेर काठमाडौँ आएको आफ्नो बालापन सम्झिदै उहाँले भन्नुभयो ।
हुन त मलाई ‘मभित्र आज पनि बालकत्व छ” भन्ने व्यक्तित्वलाई यो प्रश्न सोध्ने कि नसोध्ने द्विविधा थियो, तैपनि सोधेँ, “फेरि बालक बन्न पाए.............?” कविजी एकाएक गम्भिर देखिनुभयो । “आमाको अनुहार सम्झन पाइएन । आमाको माया र आमाको काखमा रमाउन मन लाग्थ्यो होला”, उहाँको गाम्भीर्यले कताकता मलाई पनि छोयो ।
आफ्नो पूर्वयोजनाअनुसार नै मैले अन्तिम प्रश्न सोधेँ, ‘आजका बालबालिका कस्ता बनून् ?” सायद् उहाँलाई पनि यो सवाल मन प¥यो होला । र त, बडो उत्साहका साथ उत्तर दिनुभयो, “आइन्स्टाइनजस्ता बनून् । शङ्कराचार्यजस्ता बनून् । गान्धीजस्ता बनून् । लिङ्कनजस्ता बनून् । देवकोटाजस्ता बनून् ।” साह्रै मिठो उत्तर पाएर म दङ्ग थिएँ । “तर, जोजस्तो बने पनि आफू बनून् । अरूबाट त प्रेरणा मात्र लिने हो”, अन्तर्वार्ताभरि उहाँले आफ्नो मौलिक अस्तित्वमा जोड दिनुभएको थियो ।
लैनचौरस्थित राष्ट्रकविको रमणीय घरको बैठककोठामा बिताएको डेढ घण्टा मेरो लागि अविस्मरणीय रह्यो । “टालाटुली बटुली” र “गाउँछ गीत नेपाली”देखि आज “विशाल नेपाल म रच्छु–रच्छु, कहाँ छ मृत्युञ्जयलाई मृत्यु ?” पढ्दासम्म यसका रचनाकार कवि माधवप्रसाद घिमिरेलाई भेट्नु एउटा साँचेको सपना थियो । भौतिक रूपमा जीवनको दसौँ दशक टेक्न लाग्नुभएका तर, मनले बालापन र युवा जोस व्यक्त गर्न सक्षम राष्ट्रकविलाई एकानब्बेऔँ जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना दिएर म निस्किने तरखरमा थिएँ । कविज्यूले आफ्नै कविताको यो प्रेरणादायी श्लोकमा भनेजस्तै गरी जीवन बाँच्न आशीर्वाद दिँदै मलाई बिदाइ गर्नुभयो ः
“कल्ले टेक्यो यस शिखरमा पाइला यो चुमूँ कि
खोजी–खोजीकन हिमचुली सात फेरा घुमूँ कि ?”


२०६६÷५÷१६