Tuesday, March 24, 2015

गाई जात्राको नाचले कला बुझायो

प्रस्तुति : दिवाकर प्याकुरेल
फोटो : सरुभक्त फेसबुक
सरुभक्त (वि.सं. २०१२, पोखरा, कास्की) प्रसिद्ध लेखक हुनुहुन्छ । नाटक, उपन्यास, गीत, कविता, मुक्तक आदि गरेर उहाँका करिब चार दर्जन कृति प्रकाशित छन् । कक्षा ६तिर पढ्दा नै कविता लेखेर साहित्य यात्रा सुरु गरेको बताउने सरुभक्तले वि.सं. २०३० को दशकदेखि नै विभिन्न विधामा आफ्ना कृतिहरू निरन्तर प्रकाशन गर्दै आउनुभएको छ । उहाँको पागल बस्ती उपन्यासले वि.सं. २०४८मा मदन पुरस्कार प्राप्त ग~यो । यस बाहेक नेपाली साहित्यमा गरेको निरन्तर योगदानका लागि उहाँले अन्य दर्जनौँ पुरस्कार प्राप्त गर्नुभएको छ । तरुनी खेती, समय त्रासदी, छोरी ब्रह्माण्ड लगायतका उहाँका कृतिहरू वर्षौँ अगाडि प्रकाशित भएर आजसम्म पनि चर्चामा छन् । उहाँले बालबालिकाका लागि पनि बालबालिकाहरूको नाटक लगायत केही कृति प्रकाशन गर्नुभएको छ । गत भदौदेखि उहाँ नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति हुनुहुन्छ । स्थायी बसोबास पोखरामै भए पनि कुलपतिको कार्यभार सुरु भएदेखि उहाँ काठमाडौँको बुद्धनगरमा बस्दै आउनुभएको छ । यस पटकको ‘बालककालका कुरा’मा सरुभक्तको बाल्य जीवनका रमाइला तथा नरमाइला अनुभव प्रस्तुत गरिएको छ :

मेरो जन्म वि.सं. २०१२को भदौ महिनामा हरितालिका तिजको दिन कास्की जिल्ला, पोखराको बागबजारमा भएको हो । बुबा गणेश बहादुर र आमा लक्ष्मी क्षेष्ठका ५ छोरा र २ छोरीमध्ये म सबभन्द जेठो हुँ । मेरो औपचारिक नाम भक्तबहादुर श्रेष्ठ भए पनि धेरैले मलाई मैले साहित्यमा प्रयोग गरेको नाम सरुभक्तबाटै चिन्छन् ।
हाम्रो परिवारको पुख्र्यौली पेसा व्यापार व्यवसाय हो । म जन्मिएका बखत आमाबाको किराना पसल थियो । अहिले पनि हाम्रो घरमा कपडा पसल छ ।

भाइसँगको कुस्ती
हामी ७ जना दाजुभाइ र दिदीबहिनीमध्ये म र माइलो भाइ सप्तराजबीचमा जम्मा २ वर्ष उमेर अन्तर छ । त्यसैले बाल्यकालभरि नै हामी प्रायः सँगै हुन्थ्यौँ ।  सँगै सुत्ने, सँगै खाने र सँगै खेल्ने गथ्र्यौँ । हामी सँगै भएका बेला दौड, पौडी लगायतका खेल खेल्थ्यौँ ।
नेपाली आदर्श विद्यालयमा बस्दा र पढ्दा विभिन्न विदेशी पत्रिकामा बक्सिङ् खेलाडीका चित्र देखेका थियौँ । उनीहरूले पन्जा लगाएर एक अर्कालाई हिर्काएको देखेका हामीले पनि पन्जा लगाएर बक्सिङ् खेल्न सिक्यौँ । तर हामीसँग त पन्जा हुँदैनथ्यो । अनि पुराना कपडाका टुक्राटाक्री पोका पारेर हामी घरमै पन्जा बनाउन्थ्यौँ । ती पन्जा लगाएर एक अर्कासँग कुस्ती खेल्दा हामीले अन्तर्राष्ट्रिय पत्रिकामा देखेका तिनै कुस्तीबाजको भन्दा कम मजा आउँदैनथ्यो हामीलाई । भाइ त पछि गण्डकी अञ्चल स्तरीय धावक नै बने ।
अरु भाइबहिनी भने हामीभन्दा केही साना भएकाले उनीहरूसँग खेल्नेभन्दा पनि उनीहरूलाई खेलाउने र हेरविचार गर्ने गर्नुपथ्र्यो ।

सानैदेखि फरक बाटो 
परिवार व्यापार व्यवसायमा संलग्न भए पनि व्यापारतिर मेरो भने सानैदेखि रुचि भएन । अर्कातिर बुबाले पनि मेरा लागि व्यापारभन्दा पनि पढाइमै जोड गर्नुभयो । स्लेटमा खरीले क ख ग घ लेख्न उहाँले नै सिकाउनुभएको हो मलाई । बाले धेरै पढ्नुभएको थिएन, साक्षर मात्र हुनुहुन्थ्यो, तर खुब सुन्दर अक्षर लेख्नुहुन्थ्यो । साक्षर मात्र भए पनि उहाँले पढाइको महत्व राम्रोसँग बुभ्mनुभएको थियो । बालाई पहिलो गुरु मानेर मेरो पढाइ घरमै सुरु भयो ।
घरमै पढेर अक्षर चिनिसकेपछि बाले मलाई हाम्रै टोलतिर खुलेका पाठशालामा भर्ना गरिदिनुभयो । कक्षा ५सम्म मैले यस्ता स्थानीय विद्यालयमा पढेँ । तर पढाइमा मेरो खासै ध्यान गएन त्यस बखत । सायद् सङ्गत पनि राम्रो नभएर होला । पढाइभन्दा अन्य कुरामा ध्यान गएको देखेरै होला, बाले मलाई पोखरा सहरको पहिलो आवासीय विद्यालय (बोर्डिङ् स्कुल) नेपाली आदर्श विद्यालयमा भर्ना गरिदिनुभयो । उक्त विद्यालय आजसम्म पनि गण्डकी आवासीय उच्च माध्यमिक विद्यालयका नाममा सञ्चालनमा छ ।

जात्रा र स्वस्थानीको सम्मोहन
हाम्रो टोलमा बेलाबेला हुने जात्रा आदिका भिडभाडमा भने मेरो धेरै चाख थियो । हुन त बा आफैँ पोखराको एक सुपरिचित नर्तक हुनुहुन्थ्यो । टोलमा हुने विभिन्न जात्रामा उहाँले आफ्नो नाच देखाउनुहुन्थ्यो । पछि हाम्रै परिवारका दाजुभाइ र छोराछोरीका पुस्ताले पनि त्यस क्रमलाई निरन्तरता दिए । प्रत्यक्ष रूपमा जात्रामै ननाचे पनि मलाई यी जात्राले फरक रूपमा साहित्यतर्फ लाग्न प्रेरणा दिए ।
गाई जात्राका अवसरमा पोखराका टोलमा परम्परागत शास्त्रीय नृत्य प्रदर्शन हुन्छन् । केही दिनका लागि हरेक दिन बिहान बेलुका नृत्य देखाउँदै टोल घुमिन्छ । गाई जात्राको नाच हेर्नका लागि वरिपरिका गाउँगाउँबाट मानिसहरू आउँथेँ । केही दिन अगाडि नै उनीहरू आएर हामी स्थानीय जनताका घर आँगनमा बास बसेको पनि मलाई सम्झना छ । त्यसरी ठुलो समूहलाई आकर्षण गर्न सक्ने नृत्यको कलाले मलाई पनि छोएको थियो ।
छोरोको पढाइमा बढी ध्यान जाओस् भनेर बाले नेपाली आदर्श स्कुलको कक्षा ५मा भर्ना गरिदिनुभए पनि म भने पढाइप्रति त्यति धेरै आकर्षित हुन सकिँन । जात्रा लगायतका सांस्कृतिक क्रियाकलापबाट मेरो चाख घट्न र हट्न सकेन । गाई जात्रा र भैरव जात्रामा हुने नाचगानले मलाई साह्रै आकर्षण गर्थे ।
त्यस बाहेक हरेक वर्ष माघ महिनामा हुने स्वस्थानी कथा वाचनले पनि मेरो ध्यान तान्थ्यो । हाम्रो घर नजिकै ‘लाटा दाइ’ भनिने एक जना दाइ बसोबास गर्नुहुन्थ्यो । सुरुसुरुमा त कथा भनिसकेपछि उहाँले बाँड्ने मिठोमिठो प्रसादको लोभमा नै कथा सुन्न गइन्थ्यो । पछि भने कथाले नै पनि आकर्षण गर्न थाल्यो । स्वस्थानी नै मैले पढेको पहिलो साहित्य हो ।

स्कुलबाट भागेर महाभारतको कथा
म नेपाली आदर्श स्कुलमा कक्षा ६–७तिर पढ्दा अद्वैत वेदान्त विषयमा आचार्य तहसम्म अध्ययन गर्नुभएका देवानन्द नामका गुरुले हाम्रै घर नजिकैको अड्डाघर भन्ने ठाउँमा महाभारतको कथा सुनाउँदै व्याख्या गर्नुहुन्थ्यो । पछि उहाँ अड्डाघरबाट विन्द्यवासिनी मन्दिर सर्नुभयो । तर म उहाँको प्रवचन सुन्न जान छाडिन । कहिलेकाँहि त स्कुलबाट भागेर पनि देवानन्दको प्रवचन सुन्न जान्थेँ म ।
आजसम्म पनि मलाई देवानन्दको कथा वाचन शैलीको खुब याद आउँछ । कुनै पनि विषयमा त्यति प्रभावशाली प्रवचन मैले आजसम्म सुनेको र देखेको छैन । नर्तक बासँगै देवानन्दको प्रभावले ममा साहित्यप्रतिको आकर्षण बढ्यो ।

साहित्यको सुरुवात
नेपाली आदर्श स्कुलमा पढ्दा हामी विद्यालयकै छात्रावासमा बस्थ्यौँ । अधिकांश समय पढाइमै व्यस्त हुन्थ्यौँ । छात्रावासमा शान्ति सुब्बा सरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन वाचन गरेर सुनाउनुहुन्थ्यो । त्यस्तै भोजराज न्यौपाने सरले छन्दोबद्ध कविता सुनाउनुहुन्थ्यो । इसाई (क्रिस्चियन)हरूले खोलेको मिसन स्कुल भएको हुनाले राज सरले बाइबलका कथा सुनाउनुहुन्थ्यो । यसरी साहित्यसँग हामीलाई परिचित गराइएको थियो ।
मैले कक्षा ६मा पढ्दा पहिलो पटक कविता लेखेँ । त्यस बेला साहित्यका अरु विधामा खासै लेख्ने चलन नै थिएन । एक हिसाबमा साहित्य भनेकै कविता भनेर मानिन्थ्यो । कविता रमाइलोका लागि लेखिन्थे । खासै सोचेर लेखिदैनथ्यो, किनकि कवितालाई साहित्यको गम्भीर विधाभन्दा पनि रमाइलो गर्ने माध्यम मानिन्थ्यो । स्कुलमा म, पूर्णलाल कायस्थ, विक्रम गुरुङ् लगायतका साथीहरू कविता लेख्थ्यौँ र एक अर्कालाई सुनाउँथ्यौँ ।
सबभन्दा धेरै पढेको र सबैभन्दा धेरै सुनेको कृति भएकाले हामीमा मुनामदनको प्रभाव धेरै थियो । भ्mयाउरे छन्दमा लेखेको कविता चै राम्रो हुन्छजस्तो लाग्यो । त्यसैले झ्याउरे छन्दमा एउटा लामो कविता लेख्न सुरु गरेँ । यो कविता पूरा हुन भने पाएन । त्यसपछि गद्य कविता लेखेँ ।
उस्तैउस्तै साथीलाई कविता सुनाउनु रमाइलो भए पनि आफूले लेखेका कविता ठुला समूह तथा शिक्षकहरूलाई सुनाउनु सजिलो काम थिएन । कविता लेखेर कसैले नदेख्ने गरी लुकाइन्थ्यो । यदि कसैले भेटेर पढिहाल्यो भने लाजले भुतुक्कै भइन्थ्यो । गर्न नहुने नराम्रो काम त होइन, तर अरुले नगरेको काम आफूले गर्दा पनि लाज लाग्ने रहेछ । अलि पछि भएपछि शिक्षकहरूले म कविता लेख्छु भन्ने थाहा पाएपछि मलाई कविता सुनाउन लगाउन थाल्नुभयो । केही कविताको प्रशंसा पनि गर्नुभयो । त्यसपछि भने लाज हराउँदै गयो ।
विद्यार्थीलाई साहित्यमा लाग्न प्रेरित गर्ने भनेर हिजोआजका जस्ता प्रतियोगिता भने त्यति बेला हुँदैनथे ।

नाटक खेल्दाको रमाइलो
एक पटक मैले छात्रावासका शिक्षक भक्तबहादुर क्षेत्रीको टेबलमा गोपालप्रसाद रिमालले लेख्नुभएको मसान नाटकको पुस्तक देखेँ । देखेपछि मैले त्यो किताब उहाँसँग लिएर पूरा पढेँ । पछि थाहा पाएँ कि त्यो किताब उहाँहरूको पाठ्यक्रममा राखिएको रहेछ ।
मसान पढेपछि नाटकमा पनि अभिरुचि जाग्यो । कक्षा ७मा पढ्दा स्कुलको वार्षिकोत्सव कार्यक्रममा एउटा नाटक देखाउने योजना बन्यो । हाम्रै कुनै गुरु÷गुरुआमाले लेख्नुभएको नाटकलाई मञ्चन गर्ने योजना बनाइएको रहेछ । मलाई पनि नाटकमा एउटा भूमिकामा खेल्न प्रस्ताव गरियो । गोरोगोरो अनुहारको मलाई एक युवतीको भूमिकामा खेल्न आग्रह गरे र मैले स्विकारेँ । मलाई युवती बनेर नाटक खेल्दा खुब सुहाएको थियो ।

पुतली अध्येताका पछि लाग्दा
त्यति हुँदाहुँदै पनि मेरा रुचिको पहिलो प्राथमिकतामा साहित्य थिएन । म कक्षाको पहिलो विद्यार्थी थिएँ । अरुले पनि मलाई विज्ञानतिर बढी ध्यान दिन प्रेरणा दिन्थे भने मेरो पनि डाक्टर अथवा इन्जिनियर बन्छु भन्ने सपना थियो । हुन पनि सानामा साहित्यकार बन्नुपर्छ भनेर कसलाई प्रेरणा दिइन्छ वा खासै कसले पो त्यस्तो सोच्छ र ?
हाम्रो स्कुलमा कोलिन स्मिथ नामका एक पुतली विशेषज्ञ शिक्षक हुनुहुन्थ्यो । उहाँ वरिपरि डुलेर पुतली समातेर सङ्कलन गर्नुहुन्थ्यो । आप्mना अध्ययनका लागि काम लाग्ने पुतलीहरू सुरक्षित राख्नुहुन्थ्यो भने बाँकीलाई छाडिदिनुहुन्थ्यो । हामी पनि उहाँका पछि लागेर पुतली समातिदिन सहयोग गथ्र्यौँ ।
स्मिथले सङ्कलन गर्नुभएका पुतली आजसम्म पनि पोखराको पुतली सङ्ग्रहालयमा सुरक्षित छन् । हाल अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाले व्यवस्थापन गरिरहेको सङ्ग्रहालयमा सयौँ जातका पुतली छन् ।
यस बाहेक खेलकुदमा पनि मेरो धेरै नै रुचि थियो । स्कुलमा फुटबल, भलिबल आदि खेल नियमित खेल्थ्यौँ । पौडी खेल्न पनि म सिपालु थिएँ । उस्तै साथी पाउँदा सेती नदीमा पनि पौडी खेल्न हामी पछि पर्दैनथ्यौँ ।

सीप कि मूर्खता ?
हाम्रो स्कुल सेती किनारमा थियो । शनिबार र आइतबार बिदा हुन्थ्यो । बिदाका दिन हामी खेल्नलाई स्कुलमाथिका जङ्गलतिरसम्म पुग्थ्यौँ । मादी, सेती र याम्दी नदीमा पौडी खेल्थ्यौँ । पौडी खेलेरै सेती नदी धेरै पटक तथ्र्यौँ ।
नदी तर्नलाई भनेर हामी केही साथीहरू मिलेर काठका फलेक जोडेर एउटा डुङ्गा बनाएका थियौँ । काठले बनाएको डुङ्गा गह्रौँ नै हुन्थ्यो । नदीसम्म पु~याउन नै ३–४ जना मानिस मिलेर बोक्नुपथ्र्यो । पानीले भिजेको अवस्थामा त यसको तौल झन् बढ्थ्यो र बोक्नलाई झन् गाह्रो हुन्थ्यो । आज आएर ती काम सम्झिँदा एकातिर रमाइलो लाग्छन्, हामी कति सिपालु थियौँ भन्ने लाग्छ भने अर्कातिर आफ्नै जीवनलाई दाउमा राखेर खेल्ने हामी कति मूर्ख रहेछौँ भन्ने पनि लाग्छ ।
हाम्रो स्कुल नजिकै घाट जाने बाटो थियो । सुरुसुरुमा त लास बोकेर मलामी हिँडेका देख्दा डर लाग्थ्यो । अलि पछि भएपछि डराउन छाडियो । हामी बारम्बार घाटतिर जान्थ्यौँ र लास जलाएर बाँकी रहेका खोपडी बोकेर आउँथ्यौँ । खोपडीभित्र मैनबत्ती सल्काएर छात्रावासका सार्थीहरूलाई तर्साउँथ्यौँ । रमाइलो हुन्थ्यो ।
पोखरा सहर नै भए पनि आजको जस्तो विकसित थिएन । झन् हाम्रो स्कुल भएको ठाउँ त विशुद्ध गाउँ नै थियो । नजिकैका वनबाट बाघ आउँथे । चौरमा बाघका पाइला देखिन्थे । त्यसैले कसैले बाघ आयो मात्र भन्दा पनि हामी छात्रावासका विद्यार्थीको सातो जान्थ्यो । झ्याप्पझुप्प झ्यालढोका बन्द गरेर सुतिहाल्थ्यौँ ।

झन्डाबुर्जामा जहिल्यै हार्ने म
गाई जात्रा र नेवार समुदायका परम्परागत जात्रा बाहेक दसैँ र तिहारका रमाइला घटना पनि सम्झनामै छन् । किशोर अवस्थामा हुँदा दसैँका नौरथाका ९ दिन नै स्थानीय मन्दिर चहाथ्र्यौँ हामी । रातको १–२ बजेदेखि नै समूह बनाएर बिहानको ७ बजेतिरसम्म हामी धेरै मन्दिर डुल्थ्यौँ । दसैँमा पिङ् खेल्ने चलन त हुने भइहाल्यो । तर मलाई भने पिङ् खेल्न साह्रै नै डर लाग्थ्यो । त्यसैले मैले पिङ् भने त्यति धेरै खेलिन ।
बरु झन्डाबुर्जा (अथवा, लङ्गुरबुर्जा) खेलियो । दसैँदेखि तिहारसम्म नै चोकचोकमा झन्डाबुर्जा खेल्थे मान्छेहरू । झन्डाबुर्जा खेल्दा म भने प्रायः हार्थेँ । अलि पछि भएपछि झन्डाबुर्जा खेल्न मन लाग्न छाड्यो । जुवातास खेल्ने त कहिल्यै बानी नै लागेन ।

विद्रोही विद्यार्थी नेता
हाम्रा पालमा बाल अधिकारको बहस हुँदैनथ्यो । बालबालिकाले आफ्ना अधिकार पनि पाएका थिएनन् । सबैतिर विद्यालय थिएनन् । हाम्रै स्कुल पनि घरबाट ४ किलोमिटर टाढा सुनसान गाउँमा खोलिएको थियो । टाढाको स्कुलले शिक्षाको अधिकार त दिलायो, तर घर छाडेर बस्नुपर्दा आमाबासँग बस्ने अधिकारको भने हनन हुने भयो । छात्रावासमा पनि पारिवारिक वातावरण त थियो, तर घर छाडेर बस्न जाँदा नरमाइलो लाग्थ्यो । प्रत्येक पटक घरबाट फर्कदा हामी रुँदै जान्थ्यौँ । छात्रावासमा कडा अनुशासनको पालना गर्नुपथ्र्यो । हामी कहिल्यै घर नछोडेका साना केटाकेटीलाई गाह्रो हुन्थ्यो ।
प्रायः शनिबार खाने कुरा र अन्य कोसेली बोकेर अभिभावक हामीलाई छात्रावासमा भेट्न आउनुहुन्थ्यो । त्यस बेला भने चाडपर्व आएजस्तो लाग्थ्यो । हामी फुरुक्कै पथ्र्यौँ ।
अधिकारबारे खासै बहस नभए पनि बिस्तारै हामीले हाम्रा अधिकारहरू बुझ्दै जान थाल्यौँ । इसाई (क्रिस्चियन) मिसनले खोलेको स्कुल भएकाले खानपान लगायतका दैनिक क्रियाकलापमा इसाई नियम मान्नुपर्ने थियो । दिनका निश्चित समय इसाई प्रार्थना गर्नुपर्ने लगायतका नियम थिए । सुरुसुरुमा त हामीले मान्यौँ, तर पछि हाम्रो धर्म त त्यो होइन भन्ने थाहा पाएपछि हामीले ती नियम मान्न छाड्यौँ । विद्यार्थीलाई उपलब्ध गराइएका सेवा सुविधामा पनि केही तलमाथि भए विरोध गरिहाल्थ्यौँ ।
हामी कक्षा १०मा पढ्दा स्कुलले हामी धेरै विद्यार्थीलाई मन पर्ने शिक्षक शान्ति सुब्बा सरलाई बिना कारण हटायो । मेरो नेतृत्वमा केही साथीले त्यसको विरोध ग~यौँ । शान्ति सरलाई पुनर्बहाली नगरे स्कुल छाड्ने धम्की दियौँ । स्कुलले पुनर्बहाली गरेन र हामीले स्कुल छाड्यौँ । कक्षा १०का जम्मा ८ जना विद्यार्थीमध्ये हामी ६ जनाले स्कुल छाड्यौँ । अर्को सरकारी स्कुलमा भर्ना भयौँ ।
हामी नेपाली आदर्श विद्यालयबाट एस्एल्सी दिने पहिलो ब्याचका विद्यार्थी थियौँ । त्यसैले स्कुलले राम्रो नतिजाको अपेक्षा गरेको थियो । त्यसमाथि, म त कक्षाको पहिलो विद्यार्थी । मैले बोर्डमा नाम निकाल्नुपर्छ भन्ने स्कुलको अपेक्षा थियो । त्यसैले हामीलाई नेपाल आदर्श स्कुलमै फर्काउन स्कुलको सञ्चालक समितिले धेरै पहल ग¥यो । समितिका सदस्यले हामीलाई भेटेर सम्झाए । तर हामी कसैले पनि मानेनौँ ।
राम्रो स्कुल छाडेकाले तथा विद्रोहको नेतृत्व गरेकाले मेरो पढाइ खजमजियो । एस्एल्सी त राम्रैसँग पास भएँ, तर नेपाली आदर्श स्कुलले अपेक्षा गरेजस्तो बोर्डको नजिक पुग्न भने सकिनँ । हुन त त्यै तनावका बीचमा मैले साहित्यतर्फ थप रुचि बढाएँ ।

चरित्र निर्माणको खाँचो
राम्रै स्कुलमा पढेको तथा साहित्य, विज्ञान लगायतका क्षेत्रमा धेरै रुचि भएको भए पनि आजका बालबालिकासँग तुलना गर्ने हो भने हाम्रो पुस्ता त धेरै नै पछाडि छ । आजको पुस्ता त इन्टरनेट र विज्ञानको पुस्ता हो । सानै उमेरमा नै उनीहरूसँग अत्याधुनिक प्रविधिको पहुँच छ । सूचनामा पहुँच भएकै कारणले उनीहरूको मष्तिष्कको धेरै विकास भइसकेको छ । ज्ञानका दृष्टिकोणले उनीहरू धेरै नै अगाडि छन् । गुरुकुल पद्धतिमा ज्ञान आर्जन गरेका हामीदेखि आजसम्म आइपुग्दा आमूल पुस्तान्तरण भइसकेको छ ।
तर आजका बालबालिकालाई सिर्जनात्मक काममा कसरी उन्मुख गर्ने भन्ने चुनौती छ । ज्ञान मात्र भएर पुग्दैन, त्यसको सही प्रयोग गर्ने विवेक पनि आवश्यक छ । विवेकको अभावमा धेरै ज्ञानीले नै संसारमा विध्वंश मच्चाएका छन् । त्यसलाई नियन्त्रण गर्न आजका बालबालिकाको चरित्र निर्माणमा ध्यान दिनु आवश्यक छ । उनीहरूलाई सिर्जनात्मक हिसाबले सज्जन बनाउनु आवश्यक छ ।

बाल साहित्यको महत्व
हाम्रा पालामा बालबालिकालाई साहित्यबाट अलग राख्न खोजिन्थ्यो । बालबालिकाले साहित्य पढे भने हप्काइन्थ्यो । कविता, उपन्यास, नाटक आदिमा रुचि राख्नुलाई अत्यन्त अनावश्यक मानिन्थ्यो । परिवारले विरोध र अवरोध गर्थे । तर आज त्यस्तो छैन । बालबालिकालाई साहित्य पढ्न र साहित्यमा लाग्न प्रेरणा दिइन्छ । बाल साहित्य आज आम चासोको विषय भएको छ ।
मैले पनि सुरुसुरुमा त बालबालिकाका लागि केही पनि लेखिँन । तर पछि भने बालबालिकालाई चरित्रवान् बनाउन साहित्यले सहयोग गर्ने बुझेर बाल साहित्य पनि लेख्न थालेँ । बालबालिकाका लागि मेरा केही कृति प्रकाशित भइसके भने केही पुस्तक प्रकाशनका लागि तयार छन् । बालबालिकाले साहित्य पढे भने उनीहरूमा चेतना, सिर्जना र विवेकको विकास भई असल मानिस बन्न सक्छन् ।
हुन त हामी वयस्कहरू पनि बालबालिकाका लागि भनेर लेख्छौँ । तर वास्तविक बाल साहित्य त बालबालिकाले बालबालिकाका लागि लेखेको साहित्य हुन्छ । उनीहरूले नै लेखे भने आफ्ना विचार र भावना सही रूपमा प्रतिनिधित्व हुन्छन् । हामीले त बालबालिका के सोच्दै छन् भनेर कल्पना गरेर मात्र लेख्ने हो । त्यसैले बालबालिकालाई पनि साहित्यमा लाग्न प्रेरित गर्नुपर्छ, उनीहरूलाई लेख्न सिकाउनुपर्छ ।
१० चैत्र २०७१

No comments:

Post a Comment