Tuesday, March 17, 2015

पाँच कक्षा पढ्दै शिक्षकको जागिर

प्रस्तुति : दिवाकर प्याकुरेल
गोपाल पराजुली (वि.सं. २००२, भमरकोट, काभ्रे) प्रसिद्ध बाल साहित्यकार हुनुहुन्छ । आफूले बालबालिकाकै लागि मात्र कृति प्रकाशन गर्ने बताउने पराजुलीले बाल साहित्यका दुई दर्जनजति पुस्तक प्रकाशित गरिसक्नुभएको छ भने कति त प्रकाशनको पर्खाइमा छन् । ‘पच्चीस प्रतिभा’ नाममा उहाँले राष्ट्रिय स्तरका चर्चित व्यक्तित्वहरूको जीवनी सात भागसम्म प्रकाशन गरिसक्नुभएको छ । बालबालिकाका लागि जीवनी लेखनमा बढी दख्खल देखाउनुभएका पराजुलीका ‘राष्ट्रिय विभूति’ (तीन भाग) र ‘हाम्रा प्रसिद्ध साहित्यकार’ (छ भाग) पनि प्रकाशित छन् । यसबाहेक पराजुलीले ‘नानीको बानी’ (निबन्ध सङ्ग्रह), ‘रूपाको साहस’ (कथा सङ्ग्रह) र ‘समयका डोबहरू’ (कविता सङग्रह) पनि प्रकाशित छन् । करिब ३१ वर्ष सरकारी सेवामा बिताएर २०५५ सालमा अवकाश लिनुभएका पराजुली आज पनि बालबालिकाका लागि निरन्तर लेख्दै हुनुहुन्छ । हाल मध्य बानेश्वर, काठमाडौँमा बस्दै आउनुभएका पराजुलीका बाल्यकालका रमाइला, नरमाइला अनुभव यस पटकको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ ।  
मेरो जन्म वि.सं. २००२ साल जेठ ९ गते काभ्रेपलाञ्चोक जिल्लाको भमरकोट गाउँमा भएको हो । बाबु टीकाप्रसाद र आमा विष्णुमाया पराजुलीका चार छोरामध्ये म साइँलो हुँ । हाम्रा दिदीबहिनी थिएनन् ।
हाम्रो परिवार सामान्य आर्थिक अवस्थाको किसान परिवार हो । आमाबा जीवन निर्वाहका लागि पूर्णतः खेतीकिसानीमै निर्भर हुनुहुन्थ्यो । तर मभन्दा करिब २० वर्ष जेठो मेरो दाइ खड्गप्रसादले भने सामान्य कर्मकाण्ड (जजमानी) पढ्नुभएको थियो । बुबाले नगरेपनि उहाँले भने जजमानी पेसा अपनाएको मलाई सम्झना छ ।
शिक्षाको सुरुवात
तिनै दाइबाट नै मेरो शिक्षाको सुरुवात भयो । उहाँले म पाँच वर्ष हुँदादेखि नै रुद्री, चण्डी, अमरकोष लगायतका संस्कृत ग्रन्थ पढाउन थाल्नुभयो । गाउँमा स्कुल नभएको र अन्यत्र जान पनि टाढा हुने भएकाले म त्यही शिक्षामै रमाएर बसेँ । पछि म करिब १३ वर्षको हुँदा गाउँबाट अलि टाढा पाँचखाल बेसीमा एउटा स्कुल खुल्यो । त्यति बेलाका स्कुललाई भाषा पाठशाला भनिन्थे । गाउँका अन्य साथीहरूसँगै म पनि भाषा पाठशाला धाउन थालेँ । काठमाडौँबाट जानुभएका बुद्धिनाथ सापकोटाले हामीलाई कखगघ र एबिसिडीदेखि रुद्री, चण्डी र अमरकोषसम्म पढाउनुहुन्थ्यो । उहाँको अस्थायी बसोबास पनि हाम्रै गाउँमा भएकाले हामी बिहान बेलका समेत उहाँसँग पढ्न पुग्थ्यौँ । तर करिब एक वर्षपछि उहाँले गाउँ र पाठशाला छोड्नुभो । उहाँको सरुवा भो अथवा जागिरै छोड्नुभो, त्यो चाँहि थाहा भएन ।
त्यसपछि केही समयका लागि हाम्रो पढाइ बन्द भो ।
सानो उमेरमा ठुलो जिम्मेवारी 
सायद् वि.सं. २०१६सालमा होला, म गाउँका केही साथीसँग मिलेर धुलिखेलको सञ्जीवनी हाई स्कुलमा भर्ना भएँ । भर्ना गर्नु अगाडि स्कुलले प्रवेश परीक्षा लियो र त्यसै अनुसार मलाई चार कक्षामा भर्ना लियो । हामी नियमित स्कुल जान थाल्यौँ, तर आर्थिक स्थिति राम्रो नभएकाले अलिअलि समस्या नै थियो । त्यसबीचमै हाम्रै गाउँमा पनि तीन कक्षासम्म पढाइ हुने एउटा स्कुल खुल्यो । रमाइलो के भयो भने त्यस स्कुलमा मेरै गाउँका मभन्दा अलिक ठुला साथी शङ्कर काफ्ले र मलाई त्यहाँ बिहान बेलुका पढाउने गरी शिक्षक नियुक्त गरियो । त्यस बेला म पाँच र शङ्कर सात कक्षामा पढ्थे । हामी बिहान छदेखि नौ बजेसम्म त्यस स्कुलका भाइबहिनीलाई पढाउँथ्यौँ र त्यसपछि हतारहतार धुलिखेल स्कुलतिर जान्थ्यौँ ।
त्यो स्कुलमा हामीले करिब तीन चार वर्षसम्म काम गर्न पायौँ । हुन त एउटा कक्षामा दुई तीन जनामात्र हुने भएकाले खासै केही समस्या पनि भएन । बरु उल्टै हाम्रो काम बापत स्कुलले दिने केही पैसाले हाम्रो पढाइमा ठुलो सहयोग मिल्यो । अर्कातर्फ अरुलाई सिकाउँदा आफूले पनि धेरै कुरा सिकियो । समग्रमा सानै उमेरको शिक्षण अनुभव रमाइलो नै भयो ।
सानै उमेरमा ठुलो जिम्मेवारी पाए पनि मेरो पढाइको स्तर भने सामान्य नै थियो ।
धुलिखेलको सञ्जीवनी स्कुलमा एउटै कक्षामा धेरै विद्यार्थी हुन्थे । हाम्रो कक्षाका विद्यार्थीमध्ये म औसतभन्दा उमेरमा जेठो र देख्नमा पनि ठुलो थिएँ । २०२२ सालमा एस्एल्सी पास गर्दा नै मेरो उमेर २० वर्ष भइसकेको थियो ।
साहित्यको आकर्षण
हामीले पढाउने भमरकोटको त्यो स्कुलमा जागृति पुस्तकालय नाममा एक पुस्तकालय स्थापना भएको थियो । हाम्रै गाउँमा जन्मेर त्यतिबेला सम्ममा राष्ट्रिय स्तरको साहित्यकार बन्नुभएका कृष्णप्रसाद पराजुलीको अगुवाइमा त्यस पुस्तकालय सञ्चालन हुन्थ्यो । आफ्नै गाउँका साहित्यकारको व्यक्तित्वबाट म धेरै नै प्रभावित थिएँ । उहाँको भाषा र गायकी कला देख्दा त म छक्क नै पर्थेँ । एक हिसाबले भन्ने हो भने उहाँ मेरो रोल मोडल नै हुनुहुन्थ्यो ।
उहाँ प्रायजसो काठमाडौँ नै बस्ने भएपछि कहिलेकाँहि मात्र पुस्तकालय जानुहुन्थ्यो । त्यस अवस्थामा उहाँले पुस्तकालय सञ्चालनको जिम्मेवारी म लगायत केही साथीहरूलाई दिनुभयो । मैले अब सानै उमेरमा पढाउने मात्र होइन, पुस्तकालय चलाउने पनि अवसर पाएँ ।
अनि त के, मैले पुस्तकालयमै बसेर थुप्रै किताब पढेँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘मुनामदन’ र अन्य किताब, बालकृष्ण समका कृति धेरै नै पढिए । त्यसमध्ये महात्मा गान्धी लगायतका विश्व प्रसिद्ध व्यक्तित्वको जीवनी पनि पढेँ । गान्धीको जीवनी पढ्दा मलाई एकातिर उनीजस्तै महान् र प्रसिद्ध बन्न पाए कस्तो हुँदो हो लाग्यो भने अर्कातिर उनीजस्तै अरु मान्छेका जीवनी आफूले पनि लेख्न सके पनि केही गरेजस्तो हुन्थ्यो भन्ने लाग्यो । सायद् यही समयको प्रभाव होला, मैले आजसम्म बालबालिकाका लागि भनेर करिब पाँच सयभन्दा बढी व्यक्तित्वको जीवनी लेखिसकेको छु । पुस्तकालय सञ्चालन गर्दै पर्दा पाठ्यक्रमका पुस्तकमा मेरो आकर्षण ढट्दै गयो भने पाठ्यक्रम बाहिरका साहित्यिक पुस्तकमा रुचि बढ्यो ।
म बिस्तारै लेख्न पनि थालेँ । विक्रम संवत् २०२१मा धुलिखेलको सञ्जीवनी स्कुलबाट हामीले गरेको शैक्षिक भ्रमणको यात्रा विवरण लेखेर स्कुलमा बुझाएको थिएँ । पछि स्कुलबाटै प्रकाशित एक पत्रिकामा ‘भ्रमण’ शीर्षकमा त्यो नियात्रा प्रकाशित भयो । यो नै मेरो पहिलो प्रकाशित रचना बन्यो ।
मलाई चाडपर्व आउँदा रमाइलो लाग्थ्यो । दसैँमा नयाँ लुगा लाउन र पिङ् खेल्न पाउँदा सानामा खुसी नहुने को हुन्छ होला र । यस्तै दसैँ र तिहारका बेला हामी गाउँमा विभिन्न विषयमा नाटक देखाउँथ्यौँ । तिहारमा घरघरमा देउसी भैलो खेल्थ्यौँ । साहित्यकार कृष्णप्रसाद पराजुलीले यी सारा कामको नेतृत्व लिनुहुन्थ्यो । देउसी भैलोबाट आएको पैसा चाँहि त्यही जागृति पुस्तकालयका लागि खर्च गरिन्थ्यो ।
तैपनि म अलि बढी नै अन्तर्मुखी थिएँ र यस्ता उत्सव र पर्वभन्दा किताबभित्रै रमाउने खालको बनिसकेको थिएँ ।
कमजोरीले दिलाएको सुविधा
सानैदेखि म अरुभन्दा अलि बढी रोगी थिएँ रे । बारम्बार बिरामी भइरहन्थेँ रे । एक पटक करिब आठ वर्षको हुँदा झन्डै १० दिनसम्म म बेहोस भएको थिएँ रे । मैले अभिभावकबाट सुने अनुसार त्यस बेला म मरिसकेँ भन्ने धेरैको अनुमान थियो । तर छिमेकी गाउँ काभ्रेका एक जना पुरेतले आएर झारफुक आदित्यादि गरेर बोलाएपछि म बौरिएको रे । अरु पनि सानातिना रोगले मलाई सताइरहन्थे ।
तर यही शारीरिक कमजोरी मेरो शिक्षाको लागि सहयोगी हुन पुग्यो ।  दाजुभाइ अलि बलिया थिए, त्यसैले तिनले घरमा र खेतबारीमा काम सघाउनु पथ्र्यो । म कमजोर भएकाले मलाई आमाबाले काममा लगाउनु भएन । बरु उल्टै पढ्न पठाउनु भयो किनकि म घरै बसेर पनि त्यति काम गर्न सक्दैनथेँ । गाउँमा जन्मी हुर्किएर पनि मलाई घर व्यवहार र खेतीपातीको काम गरेको त्यति अनुभव छैन । घरमा काम गर्न सक्ने थिएँ त गाउँमै स्कुल नभएको अवस्थामा समेत घण्टौँ हिँडेर जानुपर्ने स्कुल कसले पठाउँथ्यो र हामीलाई ?
म सानैदेखि नै मिलनसार र भलाद्मी स्वभावको थिएँ । सानातिना बाहेक कुनै साथीसँग पनि झगडा गरेको खासै सम्झना छैन । बाल स्वभाव अनुसारका उट्पट्याङ् काम पनि केही गरिएन जस्तो लाग्छ । म बाल्यकालदेखि नै अलि बढी डराउँथेँ । यो डर केही व्यक्ति विशेषसँग भन्दा पनि आफैँसँग र सबैसँग थियो । केही नराम्रो काम गरिहालेमा कसैले केही भनिहाल्ने पो हो कि भन्ने डर लाग्थ्यो । सानै उमेरमै भए पनि मलाई आफ्नो इज्जतको खुब ख्याल थियो र त्यसबाट गिरुँला भन्ने डर सधैँ नै रहन्थ्यो, जुन आजसम्म पनि कायम नै छ ।
रमाइला र नरमाइला सम्झना
अहिले आएर सम्झिएका बाल्यकालका घटनामध्ये सबभन्दा रमाइलो घटना म कक्षा नौ अथवा दस पढ्दातिरको हो । हाम्रो गाउँ नजिकैबाट अरनिको राजमार्गमा बस चल्थे । तर हामीलाई पायक पर्ने ठाउँमा बस स्टप थिएन । खावा भन्ने स्थानमा एउटा बस स्टप होस् भन्ने सबैको चाहना थियो ।  त्यस बेला मैले गोरखापत्र दैनिकमा ‘यहाँ बस स्टप होस्’ भनेर एउटा पाठक पत्र पठाएँ । प्रकाशित गर्ला भन्ने आशा त थिएन । तर पछि हेर्दा त प्रकाशित भएछ । त्यस चिठी प्रकाशित भएको देख्दाजत्तिको खुसी म त्यसपछि मेरो कुनै कृति प्रकाशित हुँदा पनि भएको छैन ।  
सम्झिदाको सबभन्दा नरमाइलो घटना चाँहि वि.सं. २०१३ सालतिरको हो । त्यति बेला हामी पाँचखालको भाषा पाठशालामा पढ्थ्यौँ । पाँचखालमा राजा महेन्द्र आउने कुरा थियो । त्यसकै तयारीका लागि हामीलाई गुरुले कवाज (पिटी) खेलाउनुभएको थियो । एक पटकको अभ्यासमा गुरुले हामीलाई लाइनमा हिँड्न आदेश दिनुभयो तर फर्कन आदेश दिन बिर्सनुभएछ । कतिपय साथी केही समयपछि फर्केछन् । म लगायत केही भने गुरुको आदेश कुर्दा गएको गयै पो भयौँ त ! पछि आफैँले सम्झँदा बेक्कारमा गइएछ जस्तो लागेको हो ।
बाल अधिकारका कुरा, आजका बालबालिका र बाल साहित्य
त्यति बेला नेपालमा आजको जस्तो बाल अधिकारका कुरा गरिदैनथे । हामी बालबालिकालाई पनि आफ्नो अधिकार यस्तो भने कुरा थाहा थिएन । त्यति हुँदाहुँदै पनि मैले बाल अधिकार पूर्णतः पाएको थिएँ जस्तो लाग्छ । पढ्न पाएकै थिएँ, खेल्न पाएकै थिएँ । आफूले पाएका सुविधाप्रति कुनै गुनासा थिएनन् ।
तर आज समय बदलिएको छ । आजका बालबालिका हाम्रा पालाभन्दा फरक परिवेशमा हुँर्किदै छन् । उनीहरू त्यस उमेरका हामीभन्दा धेरै चलाख छन् र धेरै जान्दछन् । सकारात्मक शिक्षा दिने हो भने धेरै प्रगति गर्न सक्छन् । त्यसैले आजका बालबालिकाका लागि भविष्य धेरै नै उज्वल रहेको देख्छु म । हुन त राम्रो संस्कार सिकाउन सकिएन भने नराम्रो बाटोमा लागेर समय र जीवन बर्बाद गर्लान् भन्ने डर पनि सँगसँगै छ ।
बाल साहित्य र बाल साहित्यकारको कर्तव्य भनेको बालबालिकालाई त्यस खतराबाट जोगाएर सकारात्मक बाटो देखाउनु हो । बाल साहित्यले उनीहरूका अगाडि रहेका प्रतिभा चिनाइदिनुपर्छ । मैले बालबालिकाका लागि जीवनी लेख्नुको कारण पनि यही हो । बाल साहित्यकारले बालबालिकाका सामु नकारात्मक भाव जाग्ने कुनै पनि कुरा प्रकाशन गर्नुहुँदैन । आमाबाबुले पनि बालबालिकालाई कस्ता किताब पढ्न दिने भनेर छानिदिनुपर्छ । बालबालिका आफैँमा के पढ्ने र के नपढ्ने भनेर निर्णय गर्ने क्षमता विकास भइनसकेको पनि हुन सक्छ । त्यही भनेर साहित्यकारले बालबालिकाका लागि लेख्दा अभिभावकका लागि पनि लेख्नुपर्छ ता कि उनीहरूले आफ्ना नानीलाई सही किताब छानिदिन सकून् ।
अर्को कुरा, बाल साहित्य लेखनका लागि लेखक बालबालिकासँग भिजेको हुनुपर्छ । बालबालिकाबाट पर बसेर बाल साहित्य लेख्न सकिदैन । बाल लेखक बालकसँग खेलेरै मात्र लेख्न सक्छ । त्यसैले मलाई फेरि बालक बन्न पाए बालबालिकाका लागि लेखनमा अझ सक्रिय बन्थेँ जस्तो लाग्छ । अहिले आएर विगत मूल्याङ्कन गर्दा कति समय त त्यसै खेर फालिएछ जस्तो पनि लाग्छ । आजका कति बालबालिकाले सानै उमेरमा सिर्जना गरेको देख्दा लोभ लागिरहेको छ । अभिभावकले बनाइदिएको राम्रो वातावरणमा बालबालिकाले अझ धेरै लेख्न सकून भन्ने कामना छ ।
२ पौष २०७०
diwapyak@gmail.com

     
 

No comments:

Post a Comment