Sunday, May 29, 2011

भुलक्कड भएछु !

आजभन्दा केही महिनाअघिसम्म म मेरी एक जना निकटतम साथीलाई उसको भुलक्कडपनाको सन्दर्भमा व्यङ्ग्य गर्थेँ, “मोबाइलमा मात्र मेमोरी कार्ड भएर हुँदैन क्या । त्यो तिम्रो माइन्डमा पनि हुनुपर्छ ।” अचेल पनि ऊ मौका प¥यो कि जिस्काउँछे, “तिमी त ठुलो क्षमताको मेमोरी कार्ड भएको मान्छे !” तर, अचेल मेरो हालखबर भने बेग्लै छ ।

करिब एक हप्ताअगाडि लेख्न सुरु गरेको यो सामग्रीको दोस्रो अनुच्छेद लेख्ने साइत बल्ल आज जुरेको छ । कारण, म भुलक्कड भएछु । आज पुनः उही साथीसँग फोनमा कुरा गर्दा उसले त्यही डाइलग पेलेपछि मात्र मैले म मेरो भुलक्कडपनाबारे लेख्दै थिएँ भन्ने सम्झेँ ।

हो, म कुनै रङ्गीचङ्गी बनावटी गफ दिँदै छैन । बाले “थाहा पाइने गरी आँखा कमजोर हुँदै गए” भनेजस्तै म पनि ‘थाहा पाइने गरी’ भुलक्कड भएको महसुस गरेको छु मैले । यहाँसम्म कि, आज कुन बार हो भन्ने बिर्सिदा अस्तिको हप्ता म दुई दुई पटक तिनछक परेँ ।

कुनै जमाना थियो, म धेरैका लागि विभिन्न खाले तथ्याङ्कहरूको स्टोर हाउस वा डाटाबेस थिएँ । ‘तिम्रो र मेरो भेट पहिलो चोटि साँच्ची कहिले भएको हो दिवाकर ?”, धेरै साथीहरू सोध्थे । “गिरिजाप्रसाद मरेको मिति भन् त !”, बा भन्नुहुन्थ्यो । “सिडिओ पिट्ने राज्यमन्त्रीको पोर्टफोलियो के थियो रे ?”, अर्को साथी सोध्थ्यो । “मलाई घानाको राजधानी कुन हो, एस्एम्एस् गरिदेऊ त !”, अर्कीले भन्थी । “त्यो कार्यक्रममा कति जना आएका थिए रे ?’, अर्को प्रश्न आउँथ्यो । उनीहरू सबैका लागि म ती र त्यस्ता धेरै प्रश्नहरूको उत्तर भएको किताब वा हार्ड डिस्क हुन्थेँ । (हुन त यहाँ उल्लिखित सबै प्रश्नको उत्तर म आज पनि दिन सुक्छु है !) कुनै मित्रले कुनै समयमा मैले विभिन्न सन्दर्भका मितिहरू बताइदिँदा “यी मान्छे त क्यालेन्डर नै र’छन् नि” भनेको मलाई अद्यापि सम्झना छ । हुन त आज पनि मेरा केही सहपाठीहरू मलाई “मिस्टर् गुगल्”को सम्बोधन दिन्छन् । तर मलाई अचेल त्यो मात्र व्यङ्ग्य लाग्न लागेको छ, जसले मलाई कताकता चसक्क पार्छ ।

यो यो सामान किन्छु भनेर पसल गयो, फर्किदा एक दुई ओटा सामान छुट्ने । साथीले त्यो कापी ल्याइदे न है भनेर फोन गर्छ, भोलिपल्ट कलेज हिँड्ने बेला भुसुक्कै । अब हुँदाहुँदा दारी काटेको र नुहाएको कहिले हो र कति दिन भयो बिर्सिसकेपछि, अब फेरि यी काम कहिले गर्नुपर्ने हो, सम्झना कसरी हुनु र ! (नित्तान्त व्यक्तिगत कुरा — सायद् मैले यहाँ खुलाउनुहुँदैनथ्यो कि ?)

तर पनि म डराएको चै पटक्कै छैन है । मलाई यो भुलक्कडपना कुनै स्थायी रोग वा कमजोरी चै लागेको छैन । हुन सक्छ, मेरो दिमाग अचेल ओभरलोडेड भएको छ । हुन सक्छ, म कुनै तत्कालीन चिन्ताको सिकार भएको छु । हुन सक्छ, यो बढ्दो व्यस्तताको अस्थायी प्रभाव हो । यो पनि हुन सक्छ कि, कहिलेकाँहि यस्तो हुनु सामान्य, प्राकृतिक र नियमित मानव स्वभाव हो । अर्कातर्फ आफ्नो भुलक्कड बानीले धेरै दुःख पाएका धेरै मानिसहरू मैले भेटेको छु । म त्यतिसम्म डरलाग्दो भइसकेको छैन र त उनीहरूलाई हेरेर चित्त बुझाइरहेको छु । तर, संयोगवश मेरो भुलक्कडपना बढ्दै गयो भने .......... ! ओहो, त्यस्तो दुर्घटनाको कल्पना पनि नगरौँ यहाँ । ................ ह्या ........, म यसलाई कन्ट्रोल गर्न सकिहाल्छु नि जब आवश्यकता महसुस हुन्छ ।

मानव स्मरण प्रणालीलाई भर्चुअल मेमोरी कार्डसँग तुलना गर्दै मैले एक दिन फेसबुकमा ‘मेन्टल मेमोरी कार्ड’ रिफ्रेस गर्नुपर्ने आवश्यकता महसुस गरेको स्ट्याटस लेखेँ । त्यसमा कमेन्ट गर्ने धेरै साथीहरूले रिफ्रेस गरेर मात्र नपुग्ने, फम्र्याट् नै गर्नुपर्ने आवश्यकता सुझाए । तर, भनेजस्तो सजिलो कहाँ छ र मित्र, मेन्टल मेमोरी कार्ड फम्र्याट् गर्न ! मिल्ने भए त म फम्र्याट् मात्र के, पुराना सूचनाहरूलाई ड्याङ्ड्याङ् ब्याक्अप् डिस्क्मा थन्काइदिएर करेन्ट मेमोरी स्पेसियस (Spacious) बनाइहाल्थेँ नि ! मान्छे सर्वश्रेष्ठ प्राणी भन्छन् । सर्वश्रेष्ठ प्राणीलाई त प्रकृतिले सूचना भण्डारणको स्थायी क्षमता दिएको छैन भने अरु प्राणीको हालत के होला । बिचरा !

हो, मष्तिष्क व्यवस्थापन (Mind Management) साह्रै कठिन कार्य हो । तर पनि, म अचेल कसरी आफ्नै सोचाइलाई व्यवस्थित पार्न सकिन्छ भनेर सोच्दै छु, ता कि त्यहाँको अव्यवस्थाले मेरो स्मरण प्रणालीलाई भद्रगोल हुने गरी नखल्बल्याओस् ।

अचेल मलाई ‘मिस्टर् गुगल्’ र ‘तिमी त ठुलो क्षमताको मेमोरी कार्ड भएको मान्छे’जस्ता सम्बोधनले मेरा विगत र वर्तमानलाई तुलना गर्न बाध्य बनाउँछन् । तुलना गर्दा प्रायशः वर्तमानलाई कमजोर पाउने गरेको छु । तर पनि, केही समयपछि नै पुनः ती सम्बोधनले मलाई मेरो स्मरण शक्तिमा गौरवान्वित र मख्ख बनाउनेछन् भन्ने आशामा बाँचेको छु ।