Thursday, March 28, 2013

कमिला जुधाउने मेरो रहर


प्रस्तुति : दिवाकर प्याकुरेल

डा. कृष्णहरि बराल (वि.सं २०१०, हत्पते, सिन्धुली) नेपाली गीतसङ्गीत क्षेत्रमा सर्वाधिक लोकप्रिय गीतकारहरूमध्ये एक हुनुहुन्छ । “म भक्त हुँ यो देशको ...”देखि “यहाँ देशको छ चिन्ता ...” हुँदै छिट्टै सार्वजनिक हुन लागेको “भन्न त सबै भन्छन् जमाना खराब छ ...” लगायतका गरी उहाँले करिब छ सय गीत तथा गजल लेख्नुभएको छ । यसमध्ये करिब तीन सय रेकर्ड भएका छन् भने त्यसमध्ये आधाभन्दा धेरै लोकप्रिय छन् । उहाँका एकल गीतिएल्बमको सङ्ख्या झन्डै एक दर्जन पुग्न लागिसकेको छ । गीत र गजलका अतिरिक्त उहाँको साहित्यिक समालोचना क्षेत्रमा पनि छुट्टै पहिचान छ । यस क्षेत्रमा उहाँका ‘गीत : सिद्धान्त र इतिहास’, ‘गजल : सिद्धान्त र परम्परा’, ‘कवि भूपि : विश्लेषण र मूल्याङ्कन’, ‘संदृष्टि’ लगायतका कृतिहरू प्रकाशित छन् । पाठ्यपुस्तकहरूसमेत उहाँका प्रकाशित पुस्तकहरूको सङ्ख्या ४०भन्दा बढी छ । सङ्गीत र साहित्यमा पु-याउनुभएको योगदानबापत उहाँले ‘छिन्नलता सङ्गीत पुरस्कार’, ‘नई कलानीधि सङ्गीत पुरस्कार’, ‘भुपालमान सिंह युवा साहित्य पुरस्कार’, ‘गजलश्री सम्मान’ लगायत दर्जनौ पुरस्कार, अभिनन्दन र सम्मान पाउनुभएको छ । पेसागत रूपमा उहाँ त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत हुनुहुन्छ । हाल बल्खुमा बस्दै आउनुभएका बरालको बाल्यकालका रमाइला सम्झना यस पटकको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ । 

Friday, March 22, 2013

औलाभन्दा सियोको पिर

फोटो : एटमको फेसबुक एकाउन्टबाट

नेत्र एटम (२०२६, मानपुर, दाङ्) नेपाली भाषा तथा साहित्यका क्षेत्रमा एक परिचित व्यक्तित्व हुनुहुन्छ । उहाँ पेसागत रूपमा काठमाडौँमा रहेका त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग तथा जनमैत्री बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ । साहित्यका क्षेत्रमा उहाँका कविता, समालोचना तथा गजल विधामा विभिन्न पुस्तकहरू प्रकाशित छन् । समालोचनातर्फ ‘उपन्यासको विश्लेषण’, ’उपन्यास सिद्धान्त र नेपाली उपन्यास’, गजल विधामा ‘भित्र कतै दुख्छ भने’, तथा ‘सीमान्त आकाश : स्रष्टासितको अन्तर्यात्रा’ नामको निवार्ता (निबन्ध र अन्तर्वाताको संयुक्त स्वरूप) उहाँका केही चर्चित कृतिहरू हुन् । उहाँ यसबाहेक करिब तीन दर्जन शैक्षिक पाठ्यपुस्तका लेखक हुनुहुन्छ । ‘तन्नेरी’, ‘रजनी’, ‘खसानी’ र 'The Bud' जस्ता पत्रिकाहरूमा पनि उहाँको संलग्नता छ । यसरी राष्ट्रको शिक्षा, भाषा तथा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएबापत उहाँले नवकविता प्रतिभा पुरस्कार (२०५१), उत्कृष्ट निबन्ध पुरस्कार (२०५४), हृदयचन्द्रस्मुति समीक्षा पुरस्कार (२०६०), नन्द प्रज्ञा पुरस्कार (२०६६) लगायतका पुरस्कारहरू प्राप्त गर्नुभएको छ । हाल बल्खुमा बस्दै आउनुभएका एटमको बाल्यकालका विविध अनुभवहरू यस पटकको बालककालका कुरामा समेटिएको छ । 

Wednesday, March 20, 2013

विद्यालय भेट्नु भनेको उडेको चरो समाउनुजस्तै थियो

फोटो : कमल चापागाईँ
 कृष्णप्रसाद पराजुली (वि.सं. १९९२, काभ्रे) नेपाली साहित्यका सुप्रसिद्ध कवि, गीतकार, निबन्धकार र कथाकार हुनुहुन्छ । भाषा–व्याकरण, लोकसाहित्य र बालसाहित्यका पाका र सिद्धहस्त स्रस्टा पराजुलीका विविध विधा र विषयका चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् । एक दर्जनभन्दा बढी साहित्यिक पत्रपत्रिका र आधा दर्जनजति ग्रन्थहरूको सम्पादनमा पनि उहाँको संलग्नता छ । ‘राम्रो रचना : मीठो नेपाली’जस्ता व्याकरणका पुस्तकदेखि ‘रमाइला नानी’लगायतका बालसाहित्यका लेखक पराजुलीले भाषा–साहित्य र शिक्षा क्षेत्रमा धेरै अनुभव सँगाल्नुभएको छ । उहाँ आफ्नो योगदानबापत् राष्ट्रिय स्तरका अनगन्ती सङ्घसंस्थाहरूबाट सम्मानित र अभिनन्दित हुनुहुन्छ । बाल्यकालदेखि नै आफूलाई बालसाहित्यले आकर्षित गरेको बताउने पराजुली बुढेसकालमा पनि बालबाकिाका लागि अझै लेख्दै हुनुहुन्छ । आगामी वर्ष आफ्नो पचहत्तरौँ शुभ जन्मोत्सवमा आफ्नो आत्मकथा प्रकाशन गर्ने तयारीमा उहाँ अचेल व्यस्त हुनुहुन्छ । हाम्रा बालबालिका साथीहरूका लागि उहाँको बाल्यकाल प्रेरणादायी हुने विश्वासका साथ प्रकाशोन्मुख आत्मकथा ‘शिखरयात्रा’मा आधारित भई उहाँको बाल्यकालका सम्झनाहरू यहाँ प्रस्तुत गरिएको छ ।

Tuesday, March 19, 2013

रेडियो : मेरो साहित्यको जग


प्रमोद प्रधान (२०१५, विराटनगर, मोरङ्) एक वरिष्ठ साहित्यकार तथा पत्रकार हुनुहुन्छ । उहाँले विशेष गरी बालसाहित्यको क्षेत्रमा धेरै लामो समयसम्म काम गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)का अवकाशप्राप्त प्रधान सम्पादक प्रधानले पत्रकारिताको प्रशिक्षणका क्रममा नेपालका धेरै जिल्लाहरू घुम्नुभएको छ । ‘कान समात् कान’ (२०५३), ‘सधैँभरि लुकामारी’ र ‘कानाकाना कुर्र’ (२०६२) उहाँका बालकवितासङ्ग्रहहरू हुन् । साथै उहाँले बालबालिकाका लागि भनेरै ‘माहुरी र गड्यौला’ (२०६४)नामक कथासङ्ग्रह अनुवाद गर्नुभएको छ भने ‘रामोन म्यागासेसे पुरस्कार विजेता नेपालीहरू’ (२०६६)शीर्षकमा जीवनीसङ्ग्रह प्रकाशित गर्नुभएको छ । साथै उहाँले लेख्नुभएका ‘नेपाली बालसाहित्यको इतिहास’ (२०५७) र ‘नेपाली बालवाङ्मय परिचयकोश’ (२०६५) नामका पुस्तकहरू बालसाहित्यबारे बुझ्न महत्वपूर्ण छन् । यससमेत उहाँका एक दर्जन कृतिहरू प्रकाशित छन् भने आधा दर्जनभन्दा बढी पुस्तकहरूको सम्पादन गर्नुभएको छ । साथै, उहाँ थप सात पुस्तकहरू प्रकाशन गर्ने तयारीमा हुनुहुन्छ । नेपाल बालसाहित्य समाज लगायत विभिन्न संस्थाहरूमा आबद्ध प्रधानले साहित्य र पत्रकारिताका क्षेत्रमा एक दर्जनभन्दा बढी पुरस्कारहरू पाइसक्नुभएको छ । स्थायी निवास विराटनगर भए पनि उहाँ हाल काठमाडौँको मालीगाउँमा बस्नुहुन्छ । बालसाहित्यका लागि आजसम्म सक्रिय प्रमोद प्रधानका बाल्यकालको संस्मरण यस पालीको ‘बाल्यकालका कुरा’मा प्रकाशन गरिएको छ ।

Saturday, March 16, 2013

बोली नफुट्दै पढाइ सुरु भो




पूर्णप्रकाश नेपाल ‘यात्री’ (वि.सं. १९९१, भोजपुर) नेपाली साहित्यका एक विशिष्ट विद्वान् हुनुहुन्छ । सम्पूर्ण नेपाल भ्रमण गर्ने अभियानमा निस्किएका बेला उहाँलाई योगी नरहरिनाथले ‘यात्री’को विशेष परिचय दिनुभएको हो । उहाँ साहित्यका अतिरिक्त भाषा, संस्कृति, इतिहास, मानवशाास्त्र र समालोचनाको क्षेत्रमा पनि आफ्नो योगदानका लागि सुप्रसिद्ध हुनुहुन्छ । नेपाली भाषाका प्रकाशित महाकाव्यहरूमध्ये हालसम्मको सबभन्दा ठूलो मानिने ‘सिजापतीबाला’का रचनाकार पनि उहाँ नै हुनुहुन्छ । नेपालका विभिन्न १६ विषय समेटेर उहाँले ‘इन्साइक्लोपेडिया अफ नेपाल’ तयार पार्नुभए पनि प्रकाशन हुन भने सकेन । यसबाहेक उहाँका विविध अनगन्ती कृतिहरू प्रकाशित छन् भने दर्जनौँ कृतिहरूको सहलेखन पनि गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक यात्री दर्जनौ साहित्यिक तथा सामाजिक सङ्घसंस्थाहरूसँग आबद्ध हुनुहुन्छ । उहाँले साहित्यको क्षेत्रमा पाएका पुरस्कारहरूको सूचि पनि लामो नै छ । नेपाली साहित्यको सेवामा अनवरत सक्रिय यात्रीका बाल्यकालका तितामिठा सम्झनाहरू यसपालिको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ ।