Saturday, March 16, 2013

बोली नफुट्दै पढाइ सुरु भो




पूर्णप्रकाश नेपाल ‘यात्री’ (वि.सं. १९९१, भोजपुर) नेपाली साहित्यका एक विशिष्ट विद्वान् हुनुहुन्छ । सम्पूर्ण नेपाल भ्रमण गर्ने अभियानमा निस्किएका बेला उहाँलाई योगी नरहरिनाथले ‘यात्री’को विशेष परिचय दिनुभएको हो । उहाँ साहित्यका अतिरिक्त भाषा, संस्कृति, इतिहास, मानवशाास्त्र र समालोचनाको क्षेत्रमा पनि आफ्नो योगदानका लागि सुप्रसिद्ध हुनुहुन्छ । नेपाली भाषाका प्रकाशित महाकाव्यहरूमध्ये हालसम्मको सबभन्दा ठूलो मानिने ‘सिजापतीबाला’का रचनाकार पनि उहाँ नै हुनुहुन्छ । नेपालका विभिन्न १६ विषय समेटेर उहाँले ‘इन्साइक्लोपेडिया अफ नेपाल’ तयार पार्नुभए पनि प्रकाशन हुन भने सकेन । यसबाहेक उहाँका विविध अनगन्ती कृतिहरू प्रकाशित छन् भने दर्जनौँ कृतिहरूको सहलेखन पनि गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक यात्री दर्जनौ साहित्यिक तथा सामाजिक सङ्घसंस्थाहरूसँग आबद्ध हुनुहुन्छ । उहाँले साहित्यको क्षेत्रमा पाएका पुरस्कारहरूको सूचि पनि लामो नै छ । नेपाली साहित्यको सेवामा अनवरत सक्रिय यात्रीका बाल्यकालका तितामिठा सम्झनाहरू यसपालिको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ । 

मेरो जन्म १९९१ साल श्रावण ४ गते बुधबार भोजपुर जिल्लाको कटुन्जे गाउँमा भएको रहेछ । म पिताजी डिठ्ठा ज्योतिषी कृष्णप्रसाद उपाध्याय (नेपाल) तथा माता हरिप्रियादेवीको छोराका रूपमा जन्मिएको हुँ । पिताजीका पाँच पत्नीमध्ये मेरी आमा कान्छी हुनुहुन्थ्यो । म बुबाका तर्फबाट छैटौँ तथा आमाका तर्फबाट दोस्रो छोरो हुँ । समग्र सन्तानका पङ्क्तिमा भने म अठारौँमा पर्दछु । म जन्मनुभन्दा एक महिनाअघि नै मेरा पिताजीको एकासिऔँ जन्मदिवस मनाइसकिएको रहेछ । मेरी आमा भने पछिसम्म पनि ‘हामी आमाछोराको जेठाकान्छी (अन्तर) २१ वर्षको छ’ भन्नुहुन्थ्यो ।
मेरो बाल्यकाल अरूको जस्तो नभएर नितान्त भिन्न प्रकारको छ । बुढेसकालमा जन्मिएको छोरो भनेर वा किन हो, मातापिताले मलाई हिलोधुलोमा खेल्न र दौतरीसँग मिलेर लुकीलुकी ‘कु कु’ गर्ने अवसर दिनुभएन । मेरो बोली ‘लाता चाल, ताता दुई’बाट सुरु भएको भन्नुहुन्थ्यो मेरी आमा । त्यसैले होला मेरो बोलीमा पछिसम्म पनि तोतेबोली पाइन्थ्यो भनेर काका देवनारायणले भन्नुहुन्थ्यो । बोली नफुट्दै रुद्री, चण्डी, अमरकोष र छोटाछोटा वेदका मन्त्रहरू कण्ठ पारेको थिएँ । ब्राह्मण्मको औरस सन्तानले वेद पढ्नका लागि व्रतबन्ध गर्नुपर्ने आवश्यकता रहँदैन भन्नुहुन्थ्यो मेरा पिताजी ।
पिताजीले मलाई फलित ज्योतिषका ‘बृहज्जातक’, ‘लग्नचन्द्रिका’, ‘जातकालङ्कार’, बृहत् ज्योतिषसार’ अनि गणित ज्योतिषका ‘भास्वती’, ‘मूलमकरन्ध’, ‘बृहस्पतिसूत्र’, ‘सूर्यसिद्धान्त’ जस्ता ग्रन्थहरू रट्न लगााउनुहुन्थ्यो । काठको पेटीमा रातो माटो दलेर धुलेटोमा डिकाले लेखेका भरमा अङ्क र अक्षर चिन्नका लागि अभ्यास गराइएको थियो । पछिपछि ठूलै भएसम्म पनि गर्ने त त्यही नै रहेछ, धुलौटो र डिको नभई हुँदो रहेनछ । यसरी बाल्यकालमै तोते बोली नफुट्दै पढ्न सिकेको मलाई बुबाले कर्मकाण्डको समेत अभ्यास गराउनुभएको थियो । कुनै पनि विषय पढाउँदा एक पटक औँल्याइदिए अथवा सुनाइदिए मात्र पुग्दथ्यो, मलाई दोहो¥याइरहनु पर्दैनथ्यो ।
मेरी ठूलीआमा हाम्रा घरदेखि झन्डै एक दिन बाटो पर आम्बोटे भन्ने गाउँमा एक जना पाण्डे थरको व्यक्तिको घरमा भान्छे भएर बस्नुभएको रहेछ । म चार वर्षको थिएँ हुँला, एक दिन आमाले मलाई त्यो गाउँमा लिएर जानुभयो । उहाँले कतै बाटामा बोक्दै उचाल्दै त कतै हिँडाउँदै त्यहाँसम्म पु¥याउनुभएको थियो । साँझपख हामी त्यहाँ पुग्यौँ । त्यहाँ पुगेपछि भोलिपल्ट थाहा भयो, त्यस घरमा कमलमणि भट्टराई नामको एक जना अपरिचित गुरु (तत्कालीन समाजमा पुरोहित)ले पढाउनुहुँदो रहेछ । उहाँले केही बालकहरू जम्मा गरी बाहिरको फराकिलो ठूलो दलानमा अण्डाकार रूपमा बसाएर पढाउनुहुँदो रहेछ । त्यो दिन उहाँ ती केटाहरूलाई ‘दुई एकान दुई, दुई दुना चार’भन्दै दुईदेखि नौसम्मको गुणन तालिका (दुनोट) पढाउँदै हुनुहुन्थ्यो । सानो स्वरमा गुरुले भनेपछि केटाहरूले ठूलो स्वरमा दोहो¥याएको हेर्दा र सुन्दा मलाई रमाइलो लाग्यो । पढाइकै बीचमा बिहान नौँ बजेतिर उनीहरूलाई खाना खान बोलाइयो, सबै खाना खान गए । मलाई पनि एक जना बालिका आएर भित्र बोलाइन् । भित्र गएपछि ठूलीआमाले मलाई “खाना खान बस, बाबू !” भन्नुभयो । मैले आमा कहाँ जानुभयो भनेर सोधेँ । त्यसपछि मलाई जिस्काउन त्यस घरकी घरबेटीले “तिम्री आमा त हराउनुभयो” भनिन् । अनि मैले, “त्यसो भए म खाना खान्न । आमा हराएको बेला म कसरी खाना खान सक्छु, उहाँलाई खोज्न जानु परेन र !” भनेपछि उनैले मेरी आमा देखाइदिइन् । अनि मात्र मैले खुसी भएर खाना खाएँ ।
खाना खाइसकी बाहिर निस्कदा ती अघिका केटाहरू जम्मा भइसकेका रहेछन् । वर्तमान एमालेकी उपाध्यक्ष नेतृ विद्यादेवी भण्डारीका पिता, काका लगायत अन्य केटाहरू त्यो समूहमा थिए । उनीहरूलाई गुरुले कान समाएर उठबस गर्न लगाएको मैले देखेँ । मैले गुरुलाई तोते बोलीमा “गुरु, के गरेको ?” भनेर सोधेँ । उहाँले “सजाय दिएको” भन्नुभयो । त्यसपछि मैले “गुरु, मलाई पनि सजाय दिने हो ?” भनेर प्रश्न सोध्दा उहाँले “तिमीले पढेकै छैन, मैले पढाएको पढेर भन्न नसक्नेलाई मात्र सजाय दिने हो” भन्नुभयो । मैले मलाई पनि अघि गुरुले सिकाएको भन्न आउँछ भनेपछि गुरुले मलाई भन्न लगाउनुभयो । मैले फटाफट सुनाएँ । त्यसपछि मलाई गुरुले आफ्नो खल्तीबाट दुई वटा चाँदीको मोहोर निकालेर दिनुभयो र भन्नुभयो, “बाबू ! तिमी त श्रुतधर रहेछौँ । यो तिमीलाई बक्सिस् राख” भन्नुभयो, मैले राखेँ । मोहोर राखेपनि मलाई ‘श्रुतधर’को अर्थ थाहा भएन, सोध्न मन लाग्यो, तैपनि नचिनेको गुरुलाई सोध्ने आँट आएन ।
भोलिपल्ट हामी घर फर्कियौँ । मैले बुबालाई आम्बोटेमा भएको घटना सुनाउँदै श्रुतधरको अर्थ सोधेँ र मोहोर पनि देखाएँ । बुबाले “एउटा पैसा, मलाई अनि अर्को आमालाई देऊ” भन्नुभयो । मैले दिएँ । त्यसपछि उहाँले “सुत्र, मन्त्र वा अन्य केही कुरा सुन्नेबित्तिकै सम्झने, आफूले पुनः पढिरहनुनपर्ने गुण भएका व्यक्तिहरूलाई श्रुतधर भनिन्छ” भन्नुभयो । श्रुतधरको सरल अर्थ ‘सुन्नेबित्तिकै जान्ने’ रहेछ ।
मैले घरमा सबैभन्दा मनपर्ने साथीको रूपमा एउटा बाख्राको पाठोलाई पाएको थिएँ । यसलाई सबैले ‘कालामुन्टे बोको’ भन्थे । फुर्सद भएका बेला म यसलाई लिएर डुलाउँथेँ, यो मेरो एउटा प्रिय सोख थियो । कोही ठूला मान्छेले गलामा बाँधिदिएको लामो डोरी समाएर म बोकालाई पछिपछि डो¥याउँदै वारपार गरिरहन्थेँ । म तीन वर्षको हुँदाको एक दिनको घटना हो, घरपछाडि कान्लामाथि बसेर मैले डोरी समाएको थिएँ, बोको चर्दै थियो । उसलाई मिठो लाग्ने घाँस वा के देखेर हो, बोको लर्किएछ, डोरी तन्किएछ, म भने पछारिएछु । मेरो निधारमा चोट लागेछ । आमाले दगुर्दै आई मलाई उठाउनुभयो, अनि घाउलाई हत्केलाले छेक्दै लिएर जानुभयो । दलानको डिलमा मलाई बसाउनुभयो, पानीले घाउ धुनुभयो, अनि कताबाट हो ‘घोडताप्रे’को झार खोजेर ल्याउनुभयो । त्यो झार माडेर आएको रस निचोरेर मेरो घाउमा लगाइदिनुभयो । रगत बग्न तत्काल बन्द भयो, तीन–चार दिनपछि घाउ पनि निको भयो, तर खत भने अझै पनि देख्न सकिन्छ ।
घाउ भएको केही दिनपछिको अर्को घटना पनि मलाई याद छ । घरमा धेरै मानिसहरू जम्मा भएका थिए । केहीले त्यो बोकोलाई डो¥याएर घरपछाडि लगे । यता मलाई भने नुहाइदिएर कानमा लामा दुम्सीका काँडा सिउरिदिएका थिए । आठवटा सानासाना फन्के रोटी प्रत्येक कानको अगाडि दुईवटा र पछाडि दुईवटा गरेर झुन्ड्याइदिएका थिए । मलाई ती रोटीहरू खाउँखाउँ लागे पनि आमाले नखान भनिसक्नुभएको थियो । माथिपट्टि टाउकोमा आजसम्म नकाटेको लामो कपालको जटाजुट थियो । कपाललाई पनि चार भागमा बाँडेर पहेँलो पोका झुन्ड्याइथिएका थिए । आज मेरो क्षौरकर्म रहेछ, त्यही भएर हिजै ती पहेँला पोका (पोटलिका) बाँधिएका रहेछन् । अचेल क्षौरकर्म र व्रतबन्ध सँगै गरिन्त। तर त्यो बेला भने छुट्टाछुट्टै गरिन्थ्यो । त्यस बेला एक जना बूढाले मेरो कपाल खौरिदिए । मुखले भन्न नसकेपनि कपाल नखौरिदिएको भए हुन्थ्यो भन्ने कता–कता लागिरहेको थियो । त्यसपछि ती पोटलिकाहरू जम्मा गरेर एकतिर राखियो भने टाउकोको बीचमा टुप्पी राखियो । यसक्रममा भित्र पुरोहित केके पढ्दै थिए ।
घरपछाडि जाँदा बोको मारेर टाउको एकातिर अनि बाँकी शरीर एकातिर पारेर फ्याँकिएको रहेछ, त्यो पनि मेरै क्षौरकर्मका लागि । पछि मलाई पनि त्यसको मासु खान दिइयो, तर मैले खाइँन । यो देखेर मैले ‘बैदाङ्गी काका’ भन्ने एक जनाले “यी बाबु त साधु जस्ता पो रहेछन्” भने ।
यसपछाडिको कोही–कोही बेला मलाई विभिन्न रचनात्मक कामहरू गर्न मन लाग्थ्यो । कतै पानी बगिरहेको देखेँ भने केराको सुप्लो वा हात्तीबार (केत्तुके)को पातले धारो बनाएर नुहाउन मन लाग्थ्यो । तर पनि पानी उठाएर हिलो छर्कने स्वभाव भने पटक्कै थिएन । फुर्सदमा पिताजी यजमानको घरमा कर्मकाण्डको कामले वा चिना हेर्न जाँदा म पनि जान्थेँ । पिताजीले पनि कहिले अगाडि लगाएर त कहिले पिठ्युँमा बोकेर लग्नुहुन्थ्यो । कर्मकाण्ड गरेको देखेको भरमा मलाई पनि गराउन आउँथ्यो ।
म पाँच वर्षको हुँदा एक दिन पिताजी उहाँको मावली धोल्लेखानी जान तयार हुनुभयो । उहाँले आमालाई “भोलि सबेरै आएस्” भन्नुभयो । त्यो सुनेपछि मलाई पनि जान मन लाग्यो, तर पनि भनिनँ । पछि त उहाँ आफैले “बाबू ! राम्रा लुगा लगाऊ” भन्नुभयो, म मख्खै परेँ । बुबा र म चार घण्टा हिँडेर त्यहाँ पुग्यौँ । बुबालाई मैले हामी किन आएको भनेर सोधेँ, उहाँले “तिम्रो भोलि ‘बर्तुन’ गर्ने” भन्नुभयो” भन्नुभयो । सायद ‘व्रतबन्ध’ भन्नुभएको भए म पनि बुझ्थेँ होला, तर ‘बर्तुन’ भनेको के होला जस्तो लाग्यो । भोलिपल्ट मान्छे जम्मा भए, बाँस र पैयुँका लिङ्गा गाडिए । माझमा खाल्डो बनाइयो, वरिपरि सेता, पहेँला र राता धर्काका रेखी बनाइए । आमासँगै काँइली दिदी पनि आउनुभयो । उहाँ सानो हुँदा नै विधवा भइसक्नुभएको थियो । उहाँ नारी भए पनि पुरुष समान साहस भएको व्यक्तित्व हुनुहुन्थ्यो । मलाई बिहानै तामाको खड्कुलोमा राखेर बुकुवा दलेर आमा र दिदी मिलेर नुहाइदिनुभयो । यज्ञमा पुरोहितले पहेँलो लँगौटी, कन्दनी, मेखला, पगरी र पोटलिका लगाएर ‘जोक्कर’ जस्तो बनाए । पछाडि मृगका छाला लगाइदिए । व्रतबन्ध हुन लागेका वटुक हामी चार जना थियौँ । एक–अर्कालाई देख्दा हाँस्थ्यौँ ।
व्रतबन्धको क्रममा एउटा हातमा अनौठो पात्र अनि अर्को हातमा पैयुँका लिङ्गा लिएर वरिपरिका मानिसहरूसँग भिक्षा मागेको सम्झदा रमाइलो लाग्छ । यज्ञमण्डपभित्र ब्राह्मणहरू कर्मकाण्ड पढ्दै थिए भने त्यसभन्दा बाहिर नारीपुरुष वरिपरि बसेका थिए । मसँगै एक जना ठूला मान्छे थुन्से बोकेर हिँडेका थिए । अरूले मुठीले भिक्षा दिनुपर्ने रहेछ भने आमाले चाँहि सुरुमा पाथी, अनि माना, अनि मुठीले दिनुपर्ने रहेछ । गुरुले सिकाएको संस्कृत वाक्य भन्दै भिक्षा माग्दा मैले तीन पाथी चामल जम्मा गरेछु ।
व्रतबन्ध भएपछि धोती फेरेर चुलोमा बसेर मात्र भात खान पाइन्थ्यो । मेरी एक जना दिदीको विवाह भएको थिएन । त्यसैले मलाई उनले छोएको खान बन्देज थियो । एक पटक दिदीले भने अनुसार सातुमा मोही हालेर खान लाग्दा आमाले ‘जात जान्छ’ भनेर खान दिनुभएन । तर अहिले मलाई त्यो सम्झँदा त्यसबेलाको चालचलनप्र्रति हाँसो लाग्छ ।
बुबाका अघिपछि लाग्दै, आमाका वरिपरि घुम्दै म सात वर्ष पुगेँ । पढाइ नियमित गतिमा अघि बढ्दै गयो । बुबाले भ्याएको बेला बुबाले नै पढाउनुहुन्थ्यो भने नभ्याउँदा गैह्रीघरे दाइले मलाई घरमै पढाउनुहुन्थ्यो । मन्त्रलाई ऋचा, पढाउने शिक्षकलाई व्यास अनि पढ्ने विद्यार्थीलाई सन्थालिने भनिन्थ्यो । मलाई बुबा र गैह्रीघरे दाइ मिलेर शुक्लयजुर्वेद पूरै पढाउनुभयो ।
एक दिन तिजको पूजा गराउनका लागि पिताजी कवैपानी भन्ने ठाउँमा जान लाग्नुभयो । म पनि उहाँसँगै जाने भएँ, मलाई अघि लगाएर लानुभयो । पूजा गरेको भोलिपल्ट हामी त्यहाँबाट फर्कियौँ । अँधेरी भन्ने ठाउँमा एउटा बार्दलीवाल घरमा आएर हामी रोकियौँ । पिताजीले ‘बुहारी’को सम्बोधन गरेर एक जना नारीलाई बोलाउनुभयो । उहाँले आफ्ना लागि ओछ्यान लगाउन उनलाई आग्रह गर्नुभयो र त्यही सुत्नुभयो । ती नारीले मलाई “बाबुलाई पकाउन आउँछ” भनेर सोधिन् । सामग्रीहरू ठिक पारिदिएपछि मैले खाना पकाएँ । हामी करिब छ रात त्यहाँ बस्यौँ, तर पनि बुबा उठ्न सक्नुभएन । बुबाले तिनै नारीलाई घरमा आमालाई खबर पठाइदिन भन्नुभयो । पछि डोली लिएर आमाहरू बुबालाई लिन आउनुभयो र हामी घर गयौँ ।
घर गएपछि पनि उहाँ १५ दिनसम्म दलानकै बिस्तरामा बस्नुभयो । एक दिन गाउँका मानिसहरू हाम्रो घरमा जम्मा भए । उनीहरू आत्तिएको स्वरमा कुरा गर्न लागे । बुबा जीवनको अन्तिम घडीमा हुनुहुँदो रहेछ । काकाले बुबालाई, “दाजै, जलाशय जानुपर्ला ?” भनेर सोध्दा “घरमै मर्छु” भन्नुभयो । बुबाले आमालाई “नआत्तिनू, छोराको मुख हेरेर बस्नू” भन्नुभयो । सबै मानिसहरू बुबाको प्राण गयो भन्न लागे । तर म अबोध बालकलाई भने अचम्म लाग्यो, म केही गएको देख्दिनँ, तर सबै गइसक्यो भन्छन् । एक सयभन्दा बढी मानिसहरू जम्मा भए । उहाँलाई सेतो कपडाले बेरेर शङ्खधुन गर्दै घाटतिर लगियो । मलाई पनि एक जनाले बोकेर लानुभयो ।
गङ्गादोभानमा पुगेपछि बुबाको शरीरमा मलाई आगो लगाउन लगाए । मुखमा दागबत्ती दिन लगाए । मलाई नुहाउन लगाए । राती घरमा पुगेपछि मलाई कसैले “कहाँ गएर आएको ?” भनेर सोध्दा “बुबाको जन्त” भनेँ । मलाई अहिलेसम्म पनि बुबाको मृत्यु भएको र उहाँ अब फर्कन नसक्ने भन्ने कुरा थाहा थिएन । केही दिनपछि मैले सपनामा बुबालाई देखेँ, यो कुरा सुनाउँदा घरमा रुवाबासी भयो । एक वर्षसम्म आमाले मलाई बडो खबरदारीका साथ हेरचाह गर्नुभयो ।
बुबाको मृत्युको एक वर्ष पूरा भएको दुई महिनापछि मङ्सिरमा हाम्रो घरमा एक जना अधबैसे साधु आउनुभयो । आमाले उहाँलाई भिक्षा दिन लाग्दा भिक्षा स्विकार्नुभएन र “अनुमति मिले यही धुनी जगाएर बस्थेँ” भन्नुभयो । आमाले धुनी जगाउन दाउरा दिनुभयो । पछि आमाले बनाउनुभएको खाना नै उहाँले खानुभयो र बाहिरै रात बिताउनुभयो । हामी भने भित्र सुत्यौँ । भोलिपल्ट बिहान उहाँ जान लागेको थाहा पाएर आमाले भिक्षा दिन लाग्दा उहाँले “एउटै चुलोको खाना खाएकाले भिक्षा लिन मिल्ने” बताउनुभयो । एक छिनपछि उहाँले मागेको भिक्षा पाएदेखि आफूलाई स्वीकार्य हुने बताउनुभयो ।
म यसबेला आमाको फरिया समाएर उहाँसँगै उभिएको थिएँ । ती भिक्षुले मलाई देखाएर “माई, म यी बालकलाई चाहान्छु । यसलाई हुर्काई–बढाई ठूलो बनाउँछु । पछि बाँचिराखे मै ल्याइदिन्छु । नभए बालक स्वयं तपाईकहाँ आउनेछ” भन्नुभयो । आमाले पनि “साधुसँग गए देशधाम, चोरसँग गए नामकान” भन्दै मलाई लैजान अनुमति दिनुभयो । यसपछि त आँगनमा गाउँले भेला भए र आमालाई गाली गर्न लागे । मेरो बुबा ज्योतिषी भएकाले आमालाई सबैले ‘जैसिनी आमै’ भन्थे । आमा नै गाउँमा सबभन्दा उमेरदार भए पनि त्यो बेला सबैले उहाँलाई “जैसिनी बूढी, छोरोलाई जोगीसँग पठाउने” भनेर होहल्ला गरे । त्यस बेला मेरी आमाले “तिमीहरूले मलाई साधारण नारी सम्झिएका हौला । मभित्र पनि तिमीहरूको जस्तो पुरुषत्व र वीरता छ” भन्नुभएको थियो ।
बाबा मलाई लिएर बाटो लाग्नुभयो । म उहाँका साथ १४ वर्ष बसेँ । उहाँको नाम डाक्टर श्यामचैतन्य ब्रह्मचारी रहेछ । उहाँले नै मलाई देश भ्रमण गर्ने, समाज, इतिहास र संस्कृतिको अध्ययन गर्ने र जनताको सेवा गर्ने कार्यका लागि प्रेरणा दिनुभएको हो । उहाँले लिएर गएपछि मेरो धुलोमैलोमा खेल्ने र डुल्ने बाल्यजीवन त समाप्त भयो । तर पनि उहाँको सामीप्यबाट मैले नयाँ जीवन सुरुवात गर्ने महान् अवसर पाएँ ।
बालबालिकाहरूले पनि आफ्नो अमूल्य समय निरर्थक कार्यमा खेर फाल्नु हुँदैन । हामीले पढाइ–लेखाइ र अन्य सिर्जनात्मक काममा समय बिताउनुपर्छ । खेले पनि केही सिक्न सकिने गरी सिर्जनात्मक रूपमा खेल्नुपर्छ । सिर्जनात्मक काममा आफूलाई लगाउने हो भने संसारलाई नयाँ रूपमा त देखिन्छ नै, यो सिङ्गो संसार नै आफ्नै घरतुल्य हुन्छ ।

प्रस्तुति ः दिवाकर प्याकुरेल

No comments:

Post a Comment