Sunday, May 10, 2015

सबभन्दा डरलाग्दो दिन : वैशाख १२को डायरी

त्यो दिन बिहानैदेखि मौसम अलि अनौठो थियो । सामान्यतया मध्य वैशाखमा बिहानैदेखि घाम लाग्छ । तर, २०७२ वैशाख १२ गतेको बिहान भने चिसो हावा चलेको थियो । अरु त सबै सामान्य नै थियो ।
बाको बिहान खाना नखाई हिँड्नुपर्ने थियो । ७ बजेतिरै उहाँ निस्कनुभयो । आमा र म २ जना मात्र भएपछि खाना बनाउने, खाने काम पनि छिटोछिटो नै भयो । मेरो १२–१२ः३०तिर अफिस पुग्नुपर्ने । करिब १० बजे नै खाना खाइसकेको तथा घरमा पनि केही काम नभएको हुनाले म त्यति बेला नै निस्किएँ । अफिस जानु अगाडि बिजुलीको पैसा तिरेर बिजुली अड्डा नजिकै रहेकी साथी गङ्गासँग भेटघाट गरीवरी अफिस जाने योजनाका साथ म निस्किएको थिएँ । तर बाटामा पुगेपछि खबर गर्दा ऊ घरमा नभएको थाहा भयो । अनि मैले योजना बदलेँ ।

सरप्राइजको तृष्णा
बिजुलीको पैसा तिरेपछि रातोपुल बस्ने साथीहरू गौरवजयलाई भेट्ने योजना बनाएँ । उनीहरू घरमै भए ठिकै छ, भेटौँला, गफ गरौँला । रैनछन् भने अल्मलिने अरु ठाउँ खोजौँला । बरु फोन चै गर्दिन, ‘सरप्राइज’ पनि हुन्छ भनेर चाबहिलबाट सिफल हुँदै रातोपुल झरेँ ।
संयोगवश करिब ११ बजेतिर म पुग्दा दुबै जना घरमै रहेछन् । गौरव चै एक छिनका लागि बाहिर निस्कन लागेको रेछ । म जय र उसको भाइ असलसँग गफ गर्दै बसेँ । करिब साढे ११ बजेतिर गौरव पनि आइपुग्यो । एउटा कोठामा हामी गफ गर्दै थियौँ भने अर्कातिर गौरवकी आमा सुतिरहनुभएको थियो । उनीहरूको सधैँ भेट हुने भए पनि हामी सबैले सबैलाई एकै पटक भेटेको धेरै समय भइसकेको थियो । हामी विविध विषयमा गफ गर्दागर्दै पोखरा विश्वविद्यालयले जेठ ३ गते गर्ने भनेको दीक्षान्त समारोहमा जाने कि नजाने, जाने हो भने कति खर्च लाग्छ आदि विषयमा केन्द्रित थियौँ ।
कुरो टुङ्ग्याएर मलाई अफिस जानुथ्यो । म करिब २–२ मिनेटको अन्तरमा घडी हेर्दै गफ गरिरहेको थिएँ । ठ्याक्कै १२ बज्दा त ठ्याक्कै निस्कन्छु, अनि बिस्तारै हिँडेर १२ः३०तिर अफिस पुग्छु भन्नेथ्यो । त्यसै अनुसार, हाम्रो कुरो टुङ्गिन पनि लागिसक्या थ्यो ।
सातोपुत्लो जान कति बेर लाग्छ र ?
जय भित्तामा अडेस लागेर पलेटी कसेर खाटमा बस्या थ्यो । उस्को दायाँतिर म, बायाँतिर असल । गौरव खाटबाहिर टुलमा । ओछ्यान हल्लिएजस्तो लाग्यो मलाई । सोचेँ, सधै ख्यालठट्टा गर्नुपर्ने जयले ओछ्यान हल्लायो, यसले अब एक छिनमा भुईँचालो भनेर हामीलाई तर्साउँछ । नभन्दै उसले त्यसै ग-यो । भुईँचालो भन्दै कराएर ढोकातिर गयो । तर जयले जिस्किएको होइन रेछ, साँच्चै भुईँचालो गएछ भन्ने थाहा पाउन एक सेकेन्ड पनि लागेन, किनकि ऊ ढोकातिर गएपछि पनि खाट हल्लिन छोडेन । अब त सबैको सातोपुत्लो गइगो ।
हामी चारै जना त्यै ढोकाको खापामुनि बस्यौँ । सबै डरले काँपेका थियौँ, सायद् कराउँदै पनि थियौँ । पल्लो कोठामा पानीको जार लडेर असरल्ल पोखियो । गौरवकी आमा अर्को कोठामा मस्त निदाउनुभको थ्यो । गौरव, असल “मम्, मम्” भन्दै चिच्याउन थाले, तर मम् बिउँझिने हैन । एक छिनपछि बल्लबल्ल बिउँझिनुभो । त्यसपछि त “राम राम राम राम” भन्दै बाहिर आउनुभो । हामी नि बल्लतल्ल बाहिर निस्क्यौँ । गौरव, जय र असलले चप्पल लगाउन भ्याए । ममा जुत्ताका तुना कस्ने धैर्य रहेन, न त जुत्ता उचालेर भाग्ने सुद्धी नै आयो । खाली खुट्टा बाहिर गल्लीमा बस्यौँ केही बेर । एक छिनपछि जय, असल र म सडकमै आयौँ । गौरव र उसकी आमा त्यही बस्नुभो । घरबेटी लगायतका अरु केही पनि त्यही थिए ।
(ढोकाको खापामुनि बस्दा मलाई खापा हामीले समाएकै भागतिरबाट भाँच्चिएजस्तो लागेको थियो । तर त्यसो भएको होइन रहेछ । गौरवले भने अनुसार भित्ता चर्किने बाहेक केही भौतिक क्षति भएको छैन ।)
आफ्नो अर्कै योजना
बाटोमा धेरै मान्छे जम्मा भइसकेका थिए । भिडभाड देख्ने बित्तिकै मेरो पत्रकार दिमाग नि सल्बलायो । जयलाई धमाधम फोटो खिच्न भनेँ । भरे अफिस गएपछि ती सबै फोटो राखेर फोटो फिचर बनाउने सोच थियो । (तर मैले फोटो फिचर बनाइँन । किन ? तल पढ्दै जानुहोस्, थाहा हुनेछ । यो ब्लगमा भने उसैले खिचेका फोटो प्रयोग गरेको छु ।)

जमिन अलिअलि त हल्लिदै थियो । तर हल्का साम्य भएजस्तो लागेपछि हामी फेरि कोठातिर फर्कियौँ । करिब १२ः३० जति बजेपछि अब त नजाला भनेर गौरव र म भित्र पस्न लाग्यौँ । तर फेरि ढोकासम्म नपुग्दै गुडुङ्डुङ् आइ त हाल्यो । ठुलै झट्का आयो फेरि । ह्या, जुत्तासुत्ता जेसुकै होस् भनेर खाली खुट्टा फर्किएँ म । एक छिनपछि भाइ सञ्जय केके झोला लिन भनेर आउँदा उसलाई मेरो पनि जुत्ता ल्याइदिन भनेँ ।
गौरवले पनि जुत्ता कस्यो, ज्याकेट लगायो । जयले त झन् हेल्मेट नै भिरिहाल्यो । हामी सबै सडकमा आयौँ । गौरवकी आमा आउनुभएन । यस्तो बेला चोरी हुन सक्ने घरबेटीको चासोलाई ध्यान दिएर उहाँहरू घर अगाडि बस्नुभो ।
सुरुवाती भुईँचालो गएदेखि नै म आमालाई, बालाई, घरमा, दिदीहरूलाई फोन गर्न खोजिरहेको छु । कसैको फोन लागिरहेको छैन । बाटामा देखिने कत्ति फोनमा कुरा गरिरहेको सुन्छु । तर आफ्नो भने मरे फोन लाग्दैन । कति रेक्टर भन्ने जिज्ञासाले अफिसमा फोन गरे पनि लाग्दैन ।
ठुलो कि सानो ?
फोन नलाग्दैमा म त्यति आत्तिएको भने छैन । मैले जीवनमा पहिलोपल्ट अनुभव गरेको २०६८ असोज १ गतेको साँझको भूकम्पपछि पनि कसैको फोन लागेको थिएन । ६.८ रेक्टर स्केल नापिएको उक्त भूकम्पले पनि मलाई राम्रैसँग अत्याएको थियो, जस्तो आज (१२ वैशाख २०७२मा) भइरहेछ । मेरो अनुमान यो भुईँचालो पनि २०६८को भन्दा केही ठुलो त होला, तर आत्तिहाल्नुपर्ने अवस्था होइन भन्ने भो । फोन नलागे पनि सबै सुरक्षित हुनुहुन्छ भनेर चित्त बुझाएँ ।
सडककै कसैले आफ्नो मोबाइलमा एउटा समाचार साइट खोले । त्यसमा ७.८ रेक्टर लेखिएको थियो । रेक्टर स्केलको हिसाबमा १ रेक्टर बढी हुनुको अर्थ १० गुणा शक्तिशाली हुनु हो भनेर मैले कतै पढेको थिएँ । अर्थात्, २०६८को भन्दा आजको भुईँचालो झन्डै १० गुणा शक्तिशाली रे ! यसले अलिअलि डर बढायो । त्यही समाचारमा अपुष्ट तरिकामा धरहरा पनि लडेको भन्ने सुनिएको कुरा आयो । आम्मै, ठुलै नै रेछ भन्ने लाग्यो । एक छिनमा कसैले गौशालामा ठुलो घर भत्कियो, ५ जना ठहरै मरे भन्यो । पत्याउने, नपत्याउने द्विविधा भो ।
सानातिना कम्पन त आइरहेको जस्तो लाग्न लाग्यो । कहिले भुईँ नै हल्लिएको भन्ठान्थेँ, त कहिले हैन, मेरो मन डराएको हो जस्तो पनि लाग्थ्यो । जे होस् १२ः३०को जस्तो (जुन बेला गौरव र म भित्र जान खोजेका थियौँ) ठुलो आएन होला ।
अगाडि बढ्दै जाँदा
त्यति बेलासम्म करिब सवा १ बजेको होला । अब बिस्तारै अफिस जान्छु भन्ठानेँ । साथीहरूसँग बिदा मागेँ । अघि खिचेका फोटा मलाई पठाउन सम्झाएँ । रातोपुल तरेर ज्ञानेश्वर, डिल्लीबजार, कालिकास्थान हुँदै अनामनगर जाने बाटो तय गरेँ । ज्ञानेश्वर पेट्रोल पम्पबाट डिल्लीबजार चोक निस्कने बाटोका वरिपरिका पर्खाल सिङ्गासिङ्गै भत्किएका देखेँ । ए, ठुलै भुइँचालो रेछ भन्ने भो । डिल्लीबजार, विजय स्मारक स्कुलनिर केही मान्छे कालिकास्थानको त्यो अग्लो भवनलाई देखाएर “अब मिडियालाई खबर गर्नुपर्छ । यसरी त भएन नि” भन्दै थे । के भो भनेर सोधेको त, त्यो भवन नि जोडसँग हल्लिएर सबै टोलबासीलाई आफूलाई थिच्छ कि भन्ने पिर भो रे । (पछि मैले हेर्दा पनि त्यस भवनमा तलैपिच्छे चिराचिरा देखिन्थे ।) कालिकास्थान चोकको नेपाली सेनाको ब्यारेकको पुरानो भवन भत्किएको देखेँ । यो भुइँचालोमा भत्किएको देखेको पहिलो भवन त्यही भो ।
बाटामा अस्मितालाई भेटेँ । ऊ फिल्म हेर्न भनेर हिँडेकी रे । बाटैबाट फर्किछ । रमिता हेर्दै थी । अनामनगर मूल सडकमा निस्किनै लाग्दा अर्को पनि पुरानो घर भत्केको देखेँ । भनेपछि माटाले बनेका पुराना घर त राखेनछ जस्तो लाग्यो । रातोपुलबाट अनामनगरसम्म पुग्दा पक्की घर लडेको देखिनँ, सामान्य चर्किएका मात्र देखेँ । काठमाडौँका पक्की घरलाई छोएनछ भन्ने लाग्यो ।
अफिस पुगेपछि 
सोचेको थिएँ, भूकम्पका आफ्टरसक (पराकम्पन) अब सकिइसके । अब अफिस जान्छु र ढुक्कसँग काम गर्छु । फोटो फिचर बनाउँछु । साथीहरूलाई भुईँचालो जाँदाको आफ्नो अनुभव सुनाउँछु । उनीहरूका अनुभव सुन्छु । अझ भूकम्पको समाचार हामीले कसरी कभर गरेछौँ हेर्छु, कुन अनलाइनभन्दा कुन छिटो भयो, कसले न्युज ब्रेक ग¥यो कुरा गर्ने योजना बुन्दै अफिस गएको थिएँ । तर अफिस अगाडि पुग्दा त सबै ढोका बन्द पो देख्छु त ।
अफिसका केही मान्छेहरू बाहिरै बसेका थिए । सधैँ बढाइचढाई गफ गरेर हैरान लगाउने एक जना गार्ड दाइ गफ हान्दै थे, “धरहरा त जरैदेखि गयो रे... सयौँ मान्छे त त्यैँ किच्च्या छन् रे... अहिले फेरि आउँदै छ रे... यति बजे रे... फलानो ठाउँलाई केन्द्र बनाको छ रे... ।” तर त्यति बेलासम्म मृतकको सङ्ख्या यति भन्ने आधिकारिक जानकारी आएकै थिएन । पाचौँ तलामा रहेको मेरो अफिसबाट साथीहरू निस्केर भागेर सिंहदरबार पसेको थाहा भयो । हाम्रा चित्र दाइको मोबाइलमा २ बजेको समाचार सुनेँ ।
सुनिनसक्दै फेरि भुईँचालो आएपछि अब आफ्टरसक हुँदैन भनेर ढुक्क भको म फेरि तर्सिहालेँ । त्यहाँ जम्मा भएका मान्छेले आफ्टरसक आइरहने कुरा बताए । गार्ड दाइहरूले अफिसको विद्युत् प्रणाली तहसनहस भएको बताए । अर्थात्, आज अफिसभित्र पस्न सक्ने जस्तो छाँटकाँट देखिएन ।
अब कहाँ जाने भन्ने भो । घरका कसैलाई पनि फोन लागेकै छैन अझै पनि । अब घरै जानुपर्ने हो । तर एक्लै, तेत्रो बाटो हिँडेर फेरि फर्कनुपर्ने । बिहानदेखि हिँडेको थकाइ नै पनि लागिसक्यो । फेरि मनको तनाव ।
तर घर त जानैपर्छ नि
एक छिनपछि हाम्रो अफिसको लाइब्रेरियन सुदीप दाइ पनि हिँड्दैहिँड्दै आइपुग्नुभो । उहाँ पनि मजस्तै स्थिति साम्य हुने आशामा विनाशका दृश्य हेर्दै आउनुभएछ बाँसबारीदेखि । तर अहिलेको अवस्था देखेपछि अब आज काम नहुने भएकाले सँगै घर जाऔँ भनेर मैले प्रस्ताव गरेँ । हामी घट्टेकुलो, मैतीदेवी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै आयौँ । हामी दुबैको परिवारका कसैसँग पनि सम्पर्क भएको थिएन । मनमा त्यसले तनाव त दिएकै थियो । तर स्थितिलाई स्वीकार गरेर रमाइला गफ गर्दै हामी फर्कियौँ । बाटा मान्छे जम्मा भएका तथा आर्मी पुलिसका मात्र गाडी चलेका देख्दा जन आन्दोलनलाई सम्झियौँ हामी दुबैले ।
रातोपुलमा गौरव, जयहरूसँग फेरि भेट भो । उनीहरू त्यही बसुम् भन्दै थे । तर घरको के अवस्था छ, थाहा नपाई त्यहाँ ढुक्कले बस्ने अवस्था थिएन । हामी अगाडि बढ्यौँ । जय बागेश्वरी मन्दिरको गजुर बाङ्गिएको तथा चोकैको घर र बिजुलीको खम्बा लडेर यात्रु प्रतीक्षालयलाई पनि भाँचेको देख्यौँ । मित्रपार्क चोकमा पुनः अर्को घर लडेको देख्यौँ । ए... पुराना घर त सब लडेछन् भन्ने भो ।
कहिल्यै नदेखेका दृश्य 
चाबहिल चोकमा आइपुग्दा कहिल्यै नदेखेको दृश्य देखियो । सडकमै ओछ्यान लगाएर घाइते तथा बिरामीहरूलाई उपचार गरिरहेका थिए हेल्पिङ् ह्यान्ड्स् अस्पतालका स्वास्थ्यकर्मी । कतिलाई पर्दाले बारिएको थियो, कति खुलै थिए । कोहीलाई बेड थियो, कोही भुईँमै सुताइएका थिए । “ए, भुईँचालो भनेको त यस्तो पो हुँदोरेछ,” अब मैले मुखै फोरेर भनेँ । सँगैको मेडिकेयर अस्पताल अगाडिको सडकमा पनि घाइते र बिरामीको उपचार भइरहेको थियो ।
गोपीकृष्ण हल पुग्नै लाग्दा हामी छुट्टियौँ । सुदीप दाइ सिधा चक्रपथतिर लाग्नुभो, म भित्र पसेँ । यसबीचमा केही मिनेटको अन्तरमा परिवारका विभिन्न मान्छेलाई फोन गरिरहेपछि कसैसँग सम्पर्क स्थापित हुन सकेको छैन । बाटाका दायाँबायाँका कति पर्खाल भत्किएका छन्, कति घरका भित्ता चर्किएका छन् । मान्छेहरू बाटामा बसेका छन् । सबै दृश्य हेर्दै सात्तले आइपुगेँ । फेरि कल्पना नगरेको दृश्य अगाडि आयो ।
ठुलो भूकम्पको ठुलो प्रमाण
सात्तले त ढलेछ ! पिल्लर र ढलान सग्लैसँग जोडिएकै छन्, खालि गारा मात्र छैनन् । तर ठाडो हुनुपर्ने घर त तेर्सो छ । पश्चिमतिर लडेर हामी हिँड्ने बाटो नै छेकेको छ । मान्छेको ठुलो भिड छ । एक जनालाई “मान्छे पनि थिए होलान् है घरभित्र ?” भनेर साधेको त “घरभित्र मान्छे भइहाल्छन् नि । तर अब कति मरे, कति” भन्यो । डोजर पनि चलिरहेको छ । बाटोलाई डोरी टाँगेर छेकिएको छ । पुलिसले अर्को बाटो जान भने र म त्यहाँबाट मोडिएँ ।
मित्रपार्क, जय बागेश्वरीमा भत्केका घर माटाका थिए, पुराना थिए । कमजोरै होलान् र त भत्किए भन्ने लागेको थियो । सात्तले पनि पुरानो त पुरानै होला, हामीले देखेदेखि त्यस्तै छ । तर सिमेन्टको घर हो नि त यार, प्रत्येक तलामा तेत्रा पिल्लर हाल्या छ । कति वर्षसम्म सात सात तला र त्यहाँ बस्ने सयौँ मान्छेलाई धानेको घरलाई जरादेखि नै सग्लै उखेल्ने भुईँचालो कत्रो होला त ! अघिका १–२टा कुराले ठुलो हो कि, हो कि जस्तो बनाएको मेरो मनलाई यो भुईँचालो ठुलो मात्र होइन, धेरै ठुलो हो भनेर बुझाउने पहिलो प्रमाण सात्तले भो ।
करिब ४ बज्नै आँटिसकेको छ । कुमारीथान पुग्न लाग्दा विगत ४ घण्टामा पहिलोचोटि फोन आयो । जयराम भिनाजुको नम्बरबाट । “भाइ, कहाँ छौ ?” भनेको सुनेँ, त्यसपछि केही बुझिएन । म सरासर घर जाँदै छु । मिलन चोकको पोहोर मात्र बनेको एउटा घर ढल्ला कि जसरी चिरा परेर बसेको छ । सात्तले त ढलेछ, यो के बच्ला र जस्तो लाग्यो । हाम्रो स्कुल पछाडिको ठुलो चौरभरि हजारभन्दा बढी मान्छे जम्मा भएका छन् । हाम्री आमाहरू पनि त्यही हुनुहुन्छ कि भन्ने मेरो अनुमान छ । सबैका अनुहार हेर्दै हेर्दै म पारि जाँदै छु । आमाहरूलाई देख्दिन ।
नसोचेको खबर
यस बीचमा मोनिकाको फोन आयो, तर कुरा बुझिएन । एस्एम्एस् आयो, अफिसको हालखबर सोध्नुभो । तर मेरो रिप्लाई भने गएन । फेरि ट्राइ पनि गरिनँ । सात्तले भत्केको देखेपछि मेरो मन जिन्दगीकै सबभन्दा धेरै डराएको छ । गौँडामा रामकृष्ण दाइलाई भेटेर “दाइ, सात्तले त जगैदेखि छैन नि” भनेँ । उनले प्रत्युत्तरमा मलाई अर्को खबर सुनाए, “त्यो महाँकालबाट आउने बाटोको चोकको ठुलो घर पनि छैन ।” उनले कुन घर भने, मैले चिनिनँ । उनले प्रस्ट्याए, “त्यै क्या त तरकारी बजारछेउको ठुलो फर्निचर पसल भएको ठुलो घर ।”
आबुइ, त्यो त हाम्रा सबी (सविता) दिदीहरू बस्ने घर ! भनेसि हाम्रा दिदी, भिनाजुका सबै सामान सखाप भए । शनिबार भएकाले दिदी र भान्जी हाम्रै घरमा होलान्, सुरक्षितै होलान्, भिनाजु पनि निस्किसक्नुभको थ्यो होला भन्नेमा म ढुक्क नै थिएँ । तर त्यसको करिब आधा मिनेटमै घर आइपुग्दा नै ढुक्कपन त हराइगो । गेट बाहिर देब्रेतिर बसेर आमा सुँक्कसुँक्क गर्दै हुनुहुन्छ, बा निन्याउरो मुख लगाएर टाउकामा हात राखेर घोर्रिइरनुभको छ । म पुग्नेबित्तिकै जयराम भिनाजु “ल भाइ र म हस्पिटल गयौँ” भनेर हतार लगाउनुहुन्छ । “सवितालाई हस्पिटल लग्या छ रे, कुन हस्पिटल नि थाहा छैन । चाबेलतिरै होला । ओम्, मेडिकेयरतिर जाऊँ न,” भिनाजुले भनेपछि बल्ल कुरो अलिअलि प्रष्ट भो । “अनि नानी नि ?” भनेर सोध्दा आमा फेरि रुन लागेर “खै, १० महिनाको बच्चालाई जिउँदै निकाले भन्छन् कोही, कोही चै लास निकाले भन्छन्” भन्नुन्छ । अर्थात्, अहिलेको जानकारीमा सबी दिदी र भान्जी भुईँचालो जाँदा घरभित्रै रेछन्, सबी दिदी घाइते भइछ, तर भान्जीबारे कसैलाई केही पनि थाहा छैन । “भिनाजु नि” भनेर सोध्दा पनि कसैलाई थाहा छैन । बाहिरैबाट बाहरूको कोठाको झ्यालमाथि चर्केको देखिए पनि दिदी र भान्जीको चिन्ताले वास्तै नगरी जयराम भिनाजु र म हिँड्यौँ ।
बिहान कपनबाट चाबहिल, त्यहाँबाट रातोपुल, त्यहाँबाट अनामनगर, फेरि कपनसम्म हिँड्दा थाकेका खुट्टा । त्यहाँमाथि, भुईँचालो गएपछि त निस्कने हतारमा मोजा खल्तीमा राखेर थोत्रा जुत्ता लगाउँदा थप दुखाइ महसुस भइरहेको छ । अब फेरि चाबहिलसम्म हिँड्नैपर्ने भो । जयराम भिनाजु र म दुबै जना बाटाभरि अर्जुन भिनाजु (सबी दिदीका श्रीमान्)लाई फोन गर्न खोजिरहेका छौँ । उहाँ पनि अस्पतालमै हो कि अन्तै हो कि, के हो अवस्था, कुन अस्पताल हो आदि बुझ्न । ओम् अस्पताल पुग्दासम्म पनि फोनै लाग्दैन । उताबाट कान्छी दिदी आत्तिएर दिदी भेट्टिया नभेट्टिया सोध्न ५–५ मिनेटमा फोन गरिरहेकी छ । उसलाई दिने कुनै उत्तर नै छैन ।
सबी दिदीका सम्पत्ति त सबै स्वाहा भैहाले, मान्छेलाई के भो भन्ने चिन्ता हो । भान्जी र दिदी दुबै बाँचेमरेको पत्तो छैन । दुईमध्ये एकलाई मात्र कहीँकतै केही भएको भए अर्काको के हालत होला कल्पना गर्नै सकिदैन । कल्पना गर्नै नमिल्ने र कल्पना गर्नै नसकिने कुराहरू पनि मनमा खेलिरहेका छन् । मन आकुलव्याकुल भइसकेको छ ।
सबभन्दा कमजोर अवस्थामा
ओम् हस्पिटलको भित्र पस्यौँ । हस्पिटलका आँगनभरि घाइते मात्र छन् । हजारभन्दा बढी नै छन्जस्तै छ । अब हाम्रो काम त्यही भिडमा हाम्रा दिदी र भान्जीलाई खोज्ने हो । तर, अहँ, अब म अगाडि हिँड्नै सक्दिनँ । भिनाजुलाई अगाडि लगाएर पछिपछि मात्र हिँड्छु अब । सकेसम्म आँखालाई कतै डुलाउँदिन । तर मेरा आँखाका अगाडि विकल्पै छैनन् । जति नहेर्न खोजे पनि रोइरहेका घाइते बाहेक कोही देखिँदैनन् । देवी दिदीलाई देख्यौँ । उहाँ पनि त्यही घरमा बस्नुहुन्थ्यो । आफैँ पनि घाइते भएर घाइते छोरालाई दुध खुवाउँदै हुनुहुन्थ्यो । सबी दिदीबारे सोधेको थाहै छैन भन्नुहुन्छ । पछि खै कसले हो, हस्पिटल पछाडिको खुला ठाउँमा धेरै बिरामी राखेको बतायो र हामी त्यता गयौँ ।
अहँ, कतै जान पनि मन छैन, र कतै हेर्न पनि मन छैन । एकातिर लासको लस्कर छ, अर्कातिर घाइते र बिरामीको । सद्दे मान्छे पनि करिब सबै रोइरहेका छन् । जाने बाटैपट्टि चै लासैलास छन् । अस्पतालको कर्मचारी आउने मान्छेलाई लासतिर देखाएर “आफ्नो मान्छे आफैँ चिन्नुस् है” भन्दै छ । हामीसँग अरु विकल्पै छैन । हरिया कपडाले छोपिएका ती प्रत्येक शरीर हेर्दै कतै हामी चिन्छौँ कि भनी जाँच्नु छ । अब मैले भिनाजुलाई “त्यो सबै तपाईँ नै हेर्नुस् । म पछिपछि आउँछु” भनेँ । एक राउन्ड मृत शरीरको लहर नियालेपछि अब घाइतेतिर हेर्न लाग्यौँ । अहँ, दिदी र भान्जी कतै भेटिदैनन् । भिनाजु दिदीले के लुगा लगाएकी थिई सोध्दै पुनः सबैतिर नियाल्न लाग्नुहुन्छ ।
दुःखद् खबर
यसैबीच मलाई दिनेशले बोलायो । साथमा उसकी दिदी दुर्गा हुनुहुन्थ्यो । सायद् उसकी श्रीमती पनि हुनुहुन्थ्यो, मैले चिनिनँ । परिचय गर्ने परिस्थिति पनि रहेन । उसले मलाई किन आएको सोध्यो । मैले बताएँ । त्यसपछि उसले पनि आफ्नो खबर बतायो, रुन्चे स्वरमा, “हाम्रो नि आप्पा त बितेछ ।” ए, लौ ! पछि फेरि थप्यो, “दाइ भाउजूलाई खोज्दै छौँ, भेटेकै छैन ।” अब मलाई दिनेशका बा र उहाँ बसेको घर याद आयो । साह्रै रमाइला मान्छे । केटाकेटीमा हामी उहाँको घर जाँदा हामीसँग जिस्किरहनुहुन्थ्यो । पहिले प्रहरीका जागिरे भएकाले कडा मिजास छ भन्थ्यो दिनेश । तर हामीसँग जिस्किरहने हुनाले मलाई उहाँसँग गफ गर्न रमाइलै लाग्थ्यो । केही वर्षदेखि फैका चोकैनिर एउटा साँघुरो घरको चौथो कि पाँचौ तलामा बस्नुहुन्थ्यो । एक पटक हामी गएर छतबाट भुईँतिर हेर्दै “आबुइ, कस्तो डरलाग्दो है !” भन्दै गफ गरेका थियौँ । त्यो घर पनि हाम्रो दिदीहरूको जस्तै जगैदेखि भत्किएछ ।
(भोलिपल्ट बिहान, सुवासले भनेपछि थाहा भयो गर्भवती रहनुभएकी दिनेशकी भाउजू पनि बित्नुभएछ ।)
कति खोज्ने ?
उसप्रति सहानुभूति प्रकट गर्नभन्दा पनि हिँड्नै हतार भो हामीलाई, किनकि आफ्नै दिदी र भान्जीको के अवस्था हो, अझै थाहा भइसकेको छैन । फर्केर आउँदा हस्पिटलको अगाडिपट्टि फेरि देवी दिदीलाई भेट्यौँ । उहाँले “त्यति सिरियस हो जस्तो लाग्दैन” भनेर ढाडस दिन खोज्नुभो । हामीले हस्पिटलकै पेटी र भित्रपट्टि काउन्टर अगाडि राखिएका प्रत्येक बिरामीको पनि अनुहार जाँच्यौँ । अहँ, अझै फेला पार्न सकिएन ।
अब उकालो लाग्यौँ मेडिकेयरतिर । त्यस अस्पतालभित्र ओम्को जस्तो खासै भिडभाड छैन । अस्पताल प्राङ्गणमै एक बिरामी (वा शव ?) राखिएको छ । एउटा सानु भाइ त्यहाँ रोइरहेको छ । बाँकी बिरामी मूल सडकबाट अस्पताल झर्ने ओरालामा छन् । त्यहाँका स्वास्थ्यकर्मीले नै हामीलाई कसलाई खोजेको साधे । हामीले दिदीको विवरण दियौँ । उनीहरूले कपन क्षेत्रबाट त्यहाँ बाहुन क्षेत्री समुदायका कसैलाई पनि ल्याइएको छैन भन्ने जानकारी दिएपछि हामी हेल्पिङ् ह्यान्ड्स्तिर लाग्यौँ ।
चाबहिल चोकमा सडकमा राखिएका सबै बिरामी एक एक गरी नियाल्नुभो भिनाजुले । म त उहाँको पछि मात्रै लाग्दै छु । अस्पतालका काउन्टर अगाडि राखिएका बिरामी पनि हे-यौँ । अहँ, छैन । अब कहाँ जाने ? यस क्षेत्रका सम्भावित ३ अस्पताल हेरिसक्यौँ । मलाई लाग्छ, हामी फेरि ओम् अस्पताल नै जानुपर्छ र फेरि अवलोकन, सोधपुछ गर्नुपर्छ । भिनाजुलाई त्यसै गरौँ भनेँ । हामी फेरि ओरालो लाग्यौँ ।
आशाको आवाज
घरबाट फोन आयो । सायद् केही सुसमाचार नै आयो भन्ने आशा पलायो । बाले “सबी दिदीलाई अस्पतालबाट मन्डिखाटार ल्याइसक्या रेछ । अब फर्किए हुन्छ रे” भन्नुभो । मन्डिखाटारमा हाम्रो भिनाजुको मामाघर छ । ”अनि, नानी नि ?” भनेर सोध्या, “नानी खै, थाहा नै भएको छैन” भनेर राखिदिनुभो । कान्छी दिदीले “दिदी भेटेपछि फोन गर्नू, म हस्पिटल आउँछु” भनेकी थी, उसलाई फोन गरेर जानकारी गराएँ । उसले नि नानी सोधी, अझै थाहा भको छैन भनेर मैले बताएँ ।
तर तनाव त घटेन
गणितीय आधारमा अब आधा तनाव कम हुनुपर्ने हो । तर त्यसो भएन । सानीलाई के भो, कहाँ छे कसैलाई थाहा छैन । त्यसैले फेरि ओम् हस्पिटल जाने कि नजाने भनेर म द्विविधामा छु । फेरि अर्कातिर सोचेँ कि, सबी दिदीलाई ठिक छ भने पक्कै पनि नानी उसकै आमा (दिदी)सँगै होली, खालि बालाई थाहा नभएको मात्र हो । अथवा केही भएको भए पनि दिदीलाई नै थाहा छ । त्यसैले हामी बरु घर फर्कने र मन्डिखाटार जाने भयौँ ।
फर्केर सात्तलेतिरै आइपुग्दा बल्ल अर्जुन भिनाजुलाई फोन लाग्यो । उहाँले नि दिदीलाई मामाघर लगिसक्या बताउनुभो । नानीबारे सोध्दा नि खै केके भन्नुभो, नेटवर्क समस्याले राम्रो सुनिएन । जे होस्, उहाँको बोली त्यति आत्तिएजस्तो लागेन र हामी अलि ढुक्क भयौँ ।
पारिवारिक काममा बालाजुतिर गकी कविता दिदी (मेरी साइँली दिदी, जयराम भिनाजुकी श्रीमती)लाई पनि सात्तले आसपास भेट भो । हामी सँगै फर्कियौँ ।
अर्जुन भिनाजु भत्केकै घरतिर हुनुदोरेछ । त्यसैले हामीले पनि त्यतैबाट जाने विचार ग¥यौँ । त्यहाँसम्म पुग्यौँ । सात्तलेजस्तै सयौँ मान्छेको भिड थियो । डोजरले केके गर्दै थियो । डोरी टाँगेर बाटो छेकिएको थियो । भिड छिचोलेर जानै सकिएन । अर्कोतिरबाट ट्राइ गरौँ भनेको, फेरि थकाइले गर्दा जानै मन लागेन । हामी मिलन चोकतिरै फर्कियौँ र घर आयौँ ।
साभार : इकान्तिपुर
बल्ल ढुक्क
यसबीच साँझको ६ बज्न लागेको हुनुपर्छ । घर आइपुग्नासाथ मेरो मोबाइलमा फोन आयो । “दिवाकरजी”को सम्बोधनका साथ सुरु भएको आवाजले मेरो कुशल मङ्गल नसोधी एकै सासमा भने, “दिदी र भान्जी दुबै मन्डिखाटारमा हुनुहुन्छ । केही चिन्ता लिनुपर्दैन ।” अब त के चाहियो । विगत ६ घण्टादेखिको मनको भारी बिसाइयो । भिनाजुका मामाका छोराले फोन गर्नुभको रेछ ।
कविता दिदी, जयराम भिनाजु र म मन्डिखाटारतिर लाग्यौँ सबी दिदी भेट्न । घर चिनेकै थेन, र पनि गइयो । छिमेकमा पुगेपछि कविता दिदीले एउटा समूहमा घर सोध्न लाग्दा त्यहीको एक मान्छेले चिनेर घरमा पु¥याइदिनुभो । सबी दिदीको हात ‘फ्राक्चर’ भको रेछ । हुन त ऊ आफू बेहोस भएकी र करिब एक घण्टापछि मात्र छिमेकी भाइहरूले भग्नावशेषबाट निकालेका भन्थी । तैपनि डाक्टरले सामान्य उपचार गरेर छिट्टै घर फर्काइदिएछन् । भिनाजुका मामाका छोरा लिन जानुभको रेछ ओम् अस्पताल ।
उता भान्जीलाई चै कसैले सकुशल निकाल्न भ्याएछ । करिब ६ बजेसम्म तिनै उद्धारकर्ताले फकाइफुल्याई गरेर राख्नुभएछ । तिनै मामाका छोराले भत्केको घर नजिकै एउटा पसलमा भेटेर घर लैजानुभको रे ।
उसका अनुहारमा केही सामान्य चोट मात्र थिए । धेरै आत्तिएकी थिई । दिदी बाहेक कसैसँग नि मानेकी छैन रे । उता दिदीको हातको समस्याले बोक्नै गाह्रो हुने । मैले बोलाको, करिब २ मिनेटसम्म त मसँग मानी । बोल्न खोजी । सधैँजस्तै मेरो चस्मा निकाल्दी । केही बेर कुरा गरेर हामी फर्कियौँ ।
सबैमा उस्तै डर
फर्कदा आमाबा गुन्द्री ओछ्यार बाहिरै बस्नुभको थ्यो । हामी नि बाहिरै बस्यौँ । भित्र जाने कि नजाने, कसरी पकाउने, कसरी खाने छलफल भो । भित्र जान खासै कसैको आँट आएन । केही छलफलपछि कविता दिदी रोटी पकाउन भित्र पसिन् । पकाउँदै बाहिर ल्याउँदै खायौँ । अनि सिरक, डस्ना नै त हैन, ताता ओढ्ने ल्याएर बाहिरै बसियो । पराकम्पन आएका आयै गरे । भोलिपल्ट करिब बिहान २ः३० बजेसम्म बसेपछि झ्याउँ लाग्यो । अनि त हामी भित्रै बस्यौँ । ५ बज्नै लाग्दा आएको पराकम्पनले बिउँझायो । अनि फेरि बाहिरै ।
छिमेकी त धेरै रात बाहिर बसे । हामी भने भोलिपल्टदेखि भित्रै बस्यौँ । कहिले पानी पर्छ, कहिले के हुन्छ, के ओढ्नु, के ओछ्याउनु । कसले त्यत्रो तनाव बेहोरोस् । त्योभन्दा पनि सञ्चार माध्यमले पराकम्पन खासै ठुला हुँदैनन् भनेकाले ढुक्क भइयो ।
अबको चिन्ता
हुन त पराकम्पन आजसम्म नि आउँदै छन् । तर तत्कालीन डर भने हटिसक्यो । दीर्घकालीन डरले भने डेरा जमाएको छ ।
घरको पश्चिमी भित्तो नराम्ररी चर्केको छ । निरीक्षण गर्ने युवा इन्जिनियरले त्यता बसे पनि सचेत भएर बस्न सचेत गराएका छन् । हुन त भूकम्प अगाडि नै घरका केही कमजोरी थाहा पाएर भत्काएर बनाउने वा मर्मत गर्ने कुरा हुँदै आएकाले हामीलाई भूकम्पकै मानसिक चोट भने धेरै छैन ।
तर अब पैसा कहिले कमाउने र बलियो घर कहिले बनाउने ?
२७ वैशाख २०७२
(भुईँचालोको १५ दिनपछि)
जयलाई पुनः एक पटक फोटाका लागि धन्यवाद !     
                         

No comments:

Post a Comment