Tuesday, March 19, 2013

रेडियो : मेरो साहित्यको जग


प्रमोद प्रधान (२०१५, विराटनगर, मोरङ्) एक वरिष्ठ साहित्यकार तथा पत्रकार हुनुहुन्छ । उहाँले विशेष गरी बालसाहित्यको क्षेत्रमा धेरै लामो समयसम्म काम गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)का अवकाशप्राप्त प्रधान सम्पादक प्रधानले पत्रकारिताको प्रशिक्षणका क्रममा नेपालका धेरै जिल्लाहरू घुम्नुभएको छ । ‘कान समात् कान’ (२०५३), ‘सधैँभरि लुकामारी’ र ‘कानाकाना कुर्र’ (२०६२) उहाँका बालकवितासङ्ग्रहहरू हुन् । साथै उहाँले बालबालिकाका लागि भनेरै ‘माहुरी र गड्यौला’ (२०६४)नामक कथासङ्ग्रह अनुवाद गर्नुभएको छ भने ‘रामोन म्यागासेसे पुरस्कार विजेता नेपालीहरू’ (२०६६)शीर्षकमा जीवनीसङ्ग्रह प्रकाशित गर्नुभएको छ । साथै उहाँले लेख्नुभएका ‘नेपाली बालसाहित्यको इतिहास’ (२०५७) र ‘नेपाली बालवाङ्मय परिचयकोश’ (२०६५) नामका पुस्तकहरू बालसाहित्यबारे बुझ्न महत्वपूर्ण छन् । यससमेत उहाँका एक दर्जन कृतिहरू प्रकाशित छन् भने आधा दर्जनभन्दा बढी पुस्तकहरूको सम्पादन गर्नुभएको छ । साथै, उहाँ थप सात पुस्तकहरू प्रकाशन गर्ने तयारीमा हुनुहुन्छ । नेपाल बालसाहित्य समाज लगायत विभिन्न संस्थाहरूमा आबद्ध प्रधानले साहित्य र पत्रकारिताका क्षेत्रमा एक दर्जनभन्दा बढी पुरस्कारहरू पाइसक्नुभएको छ । स्थायी निवास विराटनगर भए पनि उहाँ हाल काठमाडौँको मालीगाउँमा बस्नुहुन्छ । बालसाहित्यका लागि आजसम्म सक्रिय प्रमोद प्रधानका बाल्यकालको संस्मरण यस पालीको ‘बाल्यकालका कुरा’मा प्रकाशन गरिएको छ ।

विक्रम संवत् २०१५, असोज १५ गते विराटनगरमा मेरो जन्म भएको हो । बुबा डिगमप्रसाद प्रधान र आमा गङ्गादेवी प्रधानका छ जना सन्तानमध्ये म माइलो छोरा हुँ । 

हाम्रो पुख्र्यौली घर सानो ठिमी, भक्तपुर भए पनि राणा शासनको समयमा हजुरबा व्यापार तथा रोजगारीका लागि सिक्किममा बसाइँ सर्नुभएको रहेछ । मेरो बुबा सिक्किममै जन्मनुभएको रहेछ । पछि बुबा बर्मा (म्यान्मार)को सेनामा काम गर्न बर्मातर्फ जानुभयो । तर, वि.सं. २००६ सालतिर नेपाली काङ्ग्रेसले विदेशमा रहेका सबै नेपालीलाई प्रजातन्त्रका लागि मुक्तिसेनामा सहभागी हुन नेपाल फर्कन आग्रह ग¥यो । यसै आग्रहबमोजिम मेरो बुबा पनि नेपाल फर्केर विराटनगर बस्न थाल्नुभएछ । २००७ सालमा रेडियो नेपाल स्थापना हुनुअघि मुक्तिसेनाले विराटनगरमा रेडियो सञ्चालन गथ्र्यो । त्यस रेडियोका प्रथम प्राविधिक अपरेटर मेरो बुबा नै हुनुहुन्थ्यो । प्रजातन्त्रको स्थापनापछि रेडियो काठमाडौँ सारियो, तर बुबाले काठमाडौँ आउन मान्नुभएन । त्यसपछि उहाँलाई तत्कालीन आकाशवाणी कार्यालय, विराटनगरमै सरुवा गरियो । 

विराटनगरमै मेरो प्राथमिक शिक्षा सुरु भयो । तर, पछि बुबाको सरुवा जहाँ भयो, हामी पनि त्यतै–त्यतै सुर्नपर्ने भयो । यसै कारणले २०२२ सालमा हामी जलेश्वर स¥यौँ । बाँकी प्राथमिक शिक्षा जलेश्वरमै पूरा गरी लक्ष्मीनारायण चण्डी मुरारका (ल.च.मु.) उच्चाङ्गल विद्यालय, जलेश्वरमा कक्षा छमा भर्ना भएँ । प्राथमिक तहमा मेरो पढाइ सामान्य नै थियो । जाँचमा के लेख्ने भन्ने पनि थाहा हुन्नथ्यो । कहिलेकाँहि त प्रश्न सारेर मात्र घर फर्किने गर्थेँ । तैपनि किन हो कुन्नि, परीक्षामा भने पास भइन्थ्यो । एक पटक प्राथमिक शिक्षा पढ्दैको बेलामा साथीहरूको झगडा हेर्न लाग्दा मेरो गालामा पनि ढुङ्गाले लागेको थियो । यसको चोट पछिसम्म रहिरह्यो । यस घटनाबाट मैले झगडा गर्दा मात्र होइन, दर्शक बन्दा पनि आफूलाई घाटा हुन्छ भन्ने कुरा थाहा पाएँ । 

जलेश्वरमा पढेको स्कुलमा गीत र दौड प्रतियोगिता हुन्थ्यो । अझ, यी क्रियाकलापको नम्बर पनि प्रमाणपत्रमा जोडिन्थ्यो । मैले पनि गीत सुनाउने निधो गरेँ । त्यस बेला हाम्रो घरमा सोनी ब्रान्डको रेडियो भित्रिसकेको थियो । रेडियो हुनु नै पनि त्यस बेलाको लागि ठुलै कुरा थियो, तापनि बुबाको कार्यालयको एक जना साथीको घरमा रेडियो भएकाले हामीले पनि बुबालाई रेडियो ल्याउन आग्रह गरेका थियौँ । म रेडियोमा बज्ने गीत र विज्ञापनको फरक पनि छुट्याउन सक्दिनथेँ । मैले गीत भनेर स्कुलमा “बाँसबारी छाला जुत्ता कारखाना नाउँ” भन्ने बाँसबारी जुत्ता र “जानकी–जानकी–जानकी” भन्ने जनकपुर चुरोट कारखानाद्वारा उत्पादित चुरोटको विज्ञापन गाएको थिएँ । जे नै गाए पनि रेडियोमा सुनिने यस्ता लयात्मक गीतहरूले मेरो ध्यान तानेका थिए । 

कक्षा छमा पढ्दा भने मेरो लेखन क्रम पनि सुरु भयो । सायद् बाल दिवसको अवसरमा होला, नेपाली शिक्षक रामप्रसाद सिरजले सबैलाई कविता लेखेर ल्याउन भन्नुभयो । मैले बुबा र दाइलाई सोधी–सोधी अन्त्यानुप्राश (च्जथmभ) मिलाएर एउटा कविता लेखेँ । त्यो कविता नै मेरो नाममा लेखिएको पहिलो रचना थियो । यस घटनापछि सािहत्यमा मेरो बिस्तारै रुचि बढ्दै गयो । ल.च.मु.मा छ कक्षामा पढ्दा नै त्यहाँबाट ‘सिर्जना’ नामको पत्रिका निस्कन्थ्यो । त्यो पत्रिकामा दाइका लेख र कविताहरू छापिइरहन्थे । दाइका रचना देखेर मलाई पनि लेख्न मन लाग्थ्यो । त्यसपछि मैले पनि एउटा डायरी बनाएर कविता लेख्न सुरु गरेँ । मञ्चमा सुनाउन भने मलाई आँट पनि आएन, खासै वातावरण पनि थिएन ।   
अर्कातर्फ, घरमा भएको रेडियोले पनि मलाई गीतसङ्गीततिर उकासिरहेको थियो । रेडियो नेपालसँगै भारतको ‘अल इन्डिया’ र श्रीलङ्काको ‘सिलोन’ रेडियोको प्रसारण पनि हामी सुन्ने गथ्र्यौँ । म रेडियोबाट बजेका मन पर्ने गीतहरू, यसको लेखक, सङ्गीतकार र गायकको नामसहित टिपेर राख्थेँ । यसले मलाई शब्दहरू केलाउने बानीको विकास गरायो । अल इन्डिया रेडियोले नेपालीमा पनि समाचार र गीतहरू बजाउँथ्यो । सिलोनबाट भने हामी भावपरक हिन्दी गीतका कार्यक्रमहरू सुन्थ्यौँ । यस समयसम्म रेडियो मेरो जीवनको अभिन्न अङ्ग बनिसकेको थियो । 

विराटनगरमा भने साहित्यको विकासका लागि राम्रो वातावरण थियो । २०२९ सालको फागुन सात गते प्रजातन्त्र दिवसको अवसरमा आयोजित कविता प्रतियोगितामा मैले कविता वाचन गरेर तेस्रो पुरस्कार जितेको थिएँ । यो नै मैले साहित्यितर्फ पाएको जीवनको पहिलो पुरस्कार थियो । त्यस कार्यक्रममा महानन्द सापकोटा, देवकुमारी थापाजस्ता नेपाली भाषा–साहित्यका विद्वान्हरूको उपस्थितिले मलाई हौस्याएको थियो । कार्यक्रम संयोजक कवि तोया गुरुङ् हुनुहुन्थ्यो । 

त्यसै वर्ष म प्रथम श्रेणीमा एस्.एल्.सी. परीक्षामा प्रथम श्रेणीमा पास भएँ । यस वर्ष देशभरबाट जम्मा ६५ जना र मोरङ्बाट चार जनामात्र प्रथम श्रेणीमा पास भएका थिए । हाम्रो स्कुलबाट त प्रथम श्रेणी पाउनेमा म एक्लै थिएँ । डा. सुबोध पोखरेल, विनयचन्द्र अधिकारी आदि मेरा त्यति बेलाका सहपाठी साथीहरू थिए । त्यसपछि त विराटनगरका प्रायः साहित्यिक कार्यक्रमहरूमा म सहभागी हुन्थेँ । अझ क्याम्पस पढ्न सुरु गरेपछि त हामी साहित्यमा रुचि हुने साथीहरू मिलेर ‘युवा साहित्यिक समूह’ बनायौँ । आजका प्रसिद्ध साहित्यकारहरू अशेष मल्ल, इन्दिरा प्रसाई, कृष्णभुषण बल, शैलेश आचार्य, महेश प्रसाई, नारायण तिवारी आदि यस समूहमा थियौँ ।   
मैले बालापनको सबभन्दा बढी अनुभव गर्न पाएको जलेश्वरमै हो । त्यहाँ म दाइको उमेरका दाइकै साथीहरूसँग फुटबल खेल्थेँ । सायद् मेरो उमेर सानो भएकाले हुन सक्छ, एक पटक फुटबल खेल्दा म लडेको थिएँ । त्यस बेला मेरो ओठ काटिएको थियो, जसको असरस्वरूप मेरो एउटा ओठको एक छेउ अझै पनि पातलो छ । चङ्गा पनि खुबै उडाइन्थ्यो । दाइ ठुलो भएकाले होला, उहाँलाई बुबाले काठको राम्रो, बलियो र ठुलो लट्टाई किनिदिनुभएको थियो । मेरो लट्टाई भने बाँसले बनेको सानो र भद्दा खालको थियो । खोलामा गएर माछा मार्न हामी गड्यौला जम्मा गथ्र्यौँ । गड्यौला देखेपछि माछाहरू बल्छीमा सजिलै आउँथे । 
विराटनगरमा साहित्यजस्तै गरी खेलकुदमा पनि मैले प्रोत्साहन पाएँ । त्यहाँ अन्तर्विद्यालय फुटबल प्रतियोगिता हुन्थ्यो । स्कुलको फुटबल टोलीमा म पनि सहभागी थिएँ, मैदानको बाँयातर्फबाट खेल्थेँ । खेल जितेका बेला हाम्रो उत्साह नै बेग्लै हुन्थ्यो । जितेको टोलीका सबै भ्यानमा बसेर सहर परिक्रमा गथ्र्यौँ । हामी त्यहाँ “यो जीत कस्को ? ...............”, “गोलकिपर कस्ता ? ........................” भनेर नारा पनि लगाउँथ्यौँ । टेबलटेनिस पनि मेरो रुचिको खेलकुद थियो । यी खेलबाहेक भने मेरो अरू खेलमा खासै ध्यान गएन । बौद्धिक खेल भनिने चेससमेत मलाई खेल्न आउँदैन । 
आफ्नो जातिको बाहुल्य रहेको बस्तीबाट बसाइँ सरी बसेकाले हाम्रो परिवारमा त्यस बेलामा चाडपर्वको भने खासै प्रभाव थिएन । परिवारभित्र खासै धार्मिक कार्यक्रमहरू गर्ने चलन पनि थिएन । तर पनि, बुबा भने प्रत्येक बिहान धुप सल्काएर शिवजीको भजन गाउनुहुन्थ्यो । दसैँ, तिहारजस्ता चाडबाडहरू बाहुन–छेत्रीले जस्तै गरी मनाइन्थ्यो ।  अर्कातर्फ, विराटनगरबाट जलेश्वर, जलेश्वरबाट जनकपुर अनि फेरि विराटनगर बसाइँ सरेकाले कुनै पनि स्थानीय संस्कृतिसँग घुलमिल हुन सकिएन । जनकपुरबाट विराटनगर फर्किएपछि भने त्यहाँ नेवारहरूको सङ्ख्या केही बढिसकेको थियो । अलि पछि नेवारहरूले आफ्ना सङ्गठनहरू पनि स्थापना गर्न थाले । यसपछि मात्र हामीले नेवारहरूमा चलेको परम्पराअनुसार चाडपर्व मनाउन थाल्यौँ, तिहारमा म्हपूजा गर्ने चलन पनि त्यसै बेलादेखि सुरु भयो । मलाई नेवारी भाषा बोल्न आउँदैन, बुझ्दा पनि बुझ्दिन । तर आज भने भाषा सिक्न पाएको भए नेवारी साहित्य र संस्कृति बढी बुझ्न पाइन्थ्यो जस्तो लाग्छ । 
हाम्रो समयमा बालअधिकारका सैद्धान्तिक कुरा कोही बालबालिकालाई पनि थाहा थिएन । आफूले चाहेका सबै कुराहरू पूरा नभए पनि पढ्ने, खेल्ने वातावरण भने मैले पाएकै थिएँ । प्राथमिक विद्यालय पढ्दा मैले पाठ्यपुस्तकभन्दा बाहिर केही पनि पढ्न पाइँन । जनकपुरको सरस्वती माध्यमिक विद्यालयमा भने पुस्तकालयको सुविधा थियो । कक्षा सातदेखि नौसम्म त्यहाँ पढ्दा मैले पाठ्यपुस्तकबाहिरका धेरै पुस्तकहरू पढेँ । अझ रमाइलो कुरा के छ भने त्यो पुस्तकालयको सञ्चालन गर्ने जिम्मा एक शिक्षकको नेतृत्वमा कक्षा नौका चार जना विद्यार्थीहरूको समूहलाई दिने प्रचलन थियो । कक्षा आठबाट नौमा जाँदा म प्रथम भएकाले म पनि त्यस समूहमा टोली नेताका रूपमा छानिएको थिएँ । यस दृष्टिकोणबाट हेर्दा त्यस बेला पनि बालअधिकारको अवस्था सन्तोषजनक थियो जस्तो मलाई लाग्छ । 
मेरो दाजु मभन्दा चार वर्ष जेठो भएकाले अलिअलि डर लाग्थ्यो । मेरी दिदी भने मभन्दा एक वर्ष मात्र जेठी हुनुहन्थ्यो । उमेर मिल्ने भएकाले म उहाँसँग अलि बढी नजिक थिएँ । हामीले धेरै वर्षसम्म एउटै कक्षामा पढेका थियौँ । पछि भने दिदी पढाइमा मभन्दा पछि पर्नुभो । बहिनी मभन्दा सात वर्ष कान्छी थिइन् भने दुई भाइहरू १२ र १५ वर्षका । त्यसैले उनीहरूसँग भने साथीको जस्तोभन्दा अभिभावकको जस्तो सम्बन्ध भयो । 
जलेश्वरमा छँदाका साथी ताहिर अन्सारीसँग मेरो विशेष सम्बन्ध थियो । हाम्रो कक्षामा के हिमाली, के मधेसी सबै जातजातिका विद्यार्थीहरू थिए । साथीहरूसँग खासै झैझगडा हुँदैनथ्यो । जनकपुरका साथीहरू कमलदीप ढकाल, सुशील उपाध्याय आदिलाई म अहिले पनि सम्झिरहन्छु । 
बालापनभरि नै मेरो रुचि लेखाइ–पढाइमा नै बढी केन्द्रित थियो । अहिलेको जस्तो बिजुलीको सुविधा थिएन । सुकुल ओछ्याएर लाल्टिन बालेर पढ्नुपथ्र्यो । म कक्षाको उत्कृष्ट विद्यार्थी थिएँ । आज मलाई यस्तो लाग्छ कि, साहित्यमा एक पटक मन लागेपछि अन्त खासै ध्यान जाने रहेनछ । मलाई लेखन–यात्रा सुरु गरिसकेपछि जीवनभर लेखनमा नै बिताउने दृढता आयो । त्यसै भएर नै मैले पत्रकारिता र साहित्यलाई नै आफ्नो कार्यक्षेत्र बनाएँ । यी दुबै क्षेत्रमा म आफ्नो रुचिअनुसार शब्दहरूसँग खेल्न पाउँछु । यसका पछाडि रेडियोमा बज्ने बाल कार्यक्रम र अन्य कार्यक्रमहरूले विशेष प्रभाव पारेका थिए । ओमकार गड्तौला आदिले गाएका बालगीतहरू आज पनि म सम्झिरहन्छु । प्रत्यक्ष रूपमा भने मेरो जीवनलाई नै प्रेरणा दिई मार्गनिर्देश गर्न सक्ने ‘रोल मोडेल’ बाल्यकालमा मैले पाइनँ । 
अहिलेका बालबालिकाहरूसँग अवसर र पहुँचको थुप्रो छ । मलाई लाग्छ, उनीहरू हामीले त्यो उमेरमा जानेको कुराभन्दा सय गुणा बढी कुरा जान्न सक्दछन् । उनीहरू सूचना, ज्ञान र विज्ञानको कुनै पनि कमी छैन, यदि खोज्न सक्ने हो भने । उनीहरूले आज अधिकार पनि हाम्रो समयको भन्दा बढी नै पाएका छन् । हाम्रो समयमा त एउटा पुस्तकालय पनि साह्रै गाह्रोसँग भेट्टाइन्थ्यो । 

आजका बालबालिका असल बनून्, देशभक्त बनून् । यहाँ ‘असल’ भन्नाले व्यापक अर्थमा अहंरहित, अन्याय र शोषणबाट मुक्त तथा यसको विरोध गर्न सक्ने, समावेशी सोचाइ भएका भन्ने बुझ्नुपर्दछ । साहित्यकार तथा राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाले “ठुलो नहुनू, असल हुनू” भन्नुभएको छ, मैले पनि त्यसै भन्न खोजेको हुँ । हामीले पद, पैसाभन्दा पनि आफ्नो देशलाई बढी महत्व दिनुपर्छ र यसलाई माया गर्नुपर्छ । देश रह्यो भने मात्र हामी रहन्छौँ । असल र देशभक्त बनेमा देश पनि रहन्छ, हामी पनि रहन्छौँ । 
प्रत्येक बालबालिकासँग फरकफरक क्षमता छ । प्रकृतिले कसैलाई भेदभाव गरेको छैन, सबैलाई क्षमतावान् र प्रतिभाशाली बनाइदिएको छ । आफूभित्र लुकेर रहेको क्षमता बाहिर ल्याउनुपर्छ । कमसेकम यसका लागि आफ्नो तर्फबाट निरन्तर प्रयास गर्नुपर्छ । प्रतिभालाई कसैले छेकेर छेक्न सकिन्न । प्रतिभाको सही सदुपयोग गरेर सिर्जनशील बन्नुपर्छ । यसो भयो भने मात्र सही अर्थमा बालअधिकारको सदुपयोग हुन सक्छ । 
प्रस्तुति : दिवाकर प्याकुरेल

No comments:

Post a Comment