Wednesday, March 20, 2013

विद्यालय भेट्नु भनेको उडेको चरो समाउनुजस्तै थियो

फोटो : कमल चापागाईँ
 कृष्णप्रसाद पराजुली (वि.सं. १९९२, काभ्रे) नेपाली साहित्यका सुप्रसिद्ध कवि, गीतकार, निबन्धकार र कथाकार हुनुहुन्छ । भाषा–व्याकरण, लोकसाहित्य र बालसाहित्यका पाका र सिद्धहस्त स्रस्टा पराजुलीका विविध विधा र विषयका चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् । एक दर्जनभन्दा बढी साहित्यिक पत्रपत्रिका र आधा दर्जनजति ग्रन्थहरूको सम्पादनमा पनि उहाँको संलग्नता छ । ‘राम्रो रचना : मीठो नेपाली’जस्ता व्याकरणका पुस्तकदेखि ‘रमाइला नानी’लगायतका बालसाहित्यका लेखक पराजुलीले भाषा–साहित्य र शिक्षा क्षेत्रमा धेरै अनुभव सँगाल्नुभएको छ । उहाँ आफ्नो योगदानबापत् राष्ट्रिय स्तरका अनगन्ती सङ्घसंस्थाहरूबाट सम्मानित र अभिनन्दित हुनुहुन्छ । बाल्यकालदेखि नै आफूलाई बालसाहित्यले आकर्षित गरेको बताउने पराजुली बुढेसकालमा पनि बालबाकिाका लागि अझै लेख्दै हुनुहुन्छ । आगामी वर्ष आफ्नो पचहत्तरौँ शुभ जन्मोत्सवमा आफ्नो आत्मकथा प्रकाशन गर्ने तयारीमा उहाँ अचेल व्यस्त हुनुहुन्छ । हाम्रा बालबालिका साथीहरूका लागि उहाँको बाल्यकाल प्रेरणादायी हुने विश्वासका साथ प्रकाशोन्मुख आत्मकथा ‘शिखरयात्रा’मा आधारित भई उहाँको बाल्यकालका सम्झनाहरू यहाँ प्रस्तुत गरिएको छ ।


वि.सं. १९९२ साल असार २४ गते सोमबार काभ्रे जिल्लाको भमरकोटमा मेरो जन्म भएको हो । मानु खाएर मुरी उब्जाउने बेला, बेसी फाँटमा रोपाइ चलिरहेको थियो होला, बारीका पाटाभरि मकै हरिलाभरिला भइसकेका थिए होलान् । बुबा पशुपतिप्रसाद र आमा महादेवीको माहिलो छोराको रूपमा म सात महिनामै जन्मेको रहेछु ।
लाग्छ, मेरो बाल्यकाल सुखदुःखको घामछाँया हो । बारम्बार बिरामी भइरहने म सात–आठ वर्षसम्म तोतेबोली बोल्थेँ, ‘रातो’लाई ‘ल्हातो’, ‘साग’लाई ‘छाग’ र ‘शान्त’लाई ‘नान्त’ । म सानो फिस्टोजीतो आँखा चिम्म भएको थिएँ रे । आमा बिरामी हुनुभएकोले मलाई गाउँकै ‘घले घर्तिनी’ नामकी आमाले दुध खुवाएर स्याहार्नुभयो । उहाँ मलाई छोरै ठानेर माया गर्नुहुन्थ्यो भने म पनि उहाँलाई आमा नै मान्थेँ ।
गाउँघरमा बोक्सी र भूतका कुरा भइरहन्थे । यिनीहरूको नाममा केटाकेटीलाई जति झस्काए पनि मैले तिनको विश्वास सानैदेखि गर्नुपरेन । कतिपय गाउँलेहरूले ‘बोक्सी’ भनेर भन्ने एक जना आमैले दिएको ‘केही नखानू’ भन्थे । तर उनी भने मलाई बढी नै माया गर्थिन्, कहिले कुरौनी त कहिले चिउरी, पिठौलीजस्ता फल दिन्थिन् । कसैलाई नभनीकन जे दिए पनि म सुटुक्क खाइदिन्थेँ । कमिनी आमाले दिएको फलफूल पनि मैले खाएँ ।
देउताप्रति मेरो विश्वास ठीकै रह्यो । गाउँमा चलनचल्तीको उखान ‘देउता बोल्दैनन्, राजा सुन्दैनन्’ भन्ने कुरा ममा लागू भएको थियो । दैनिक घरमा पाञ्चायनपूजा र आरती भए पनि मैले ‘देउताबा’ सूर्य र ‘देउतीमाता’ चन्द्रमाबाहेक अरू कुनै देउता देखेको थिइँन । एकपल्ट एक जना ब्रह्मचारी योगी घुम्दै हाम्रो घरमा आएर बास बसे । उनको कुरा र कामबाट मेरो देउताबारेको बुझाइ विकास भयो । जीवनमा असल र राम्रो हुनपर्ने रहेछ, अनि देउता त तिनै हुन सक्छन् भन्ने लाग्यो मलाई । त्यसपछि गहिराइमा बसेका ईश्वरलाई भेट्न सतहमा बहने होइन, राम्रो र असल बन्नुपर्छ भन्ने सिद्धान्तमा अडिग रहेँ म ।
म बाल्यकालमा भउको एउटा घटना बिर्सन्नँ । एकपल्ट एक जना ज्योतिष मेरो घरमा आएको बेला भनेका थिए, “यी बाबुलाई जुत्ता लगाउन लेखेको छैन । लेखपढ पनि गर्दैनन् ।” म बाह्र वर्ष हुँदा काठमाडौँमा पढ्न बस्दा बिदा भएर घर गएको थिएँ । उनी घरमा आएका रहेछन्, मैले पढेको कण्ठै सुनाए, लेखेर पनि देखाएँ । अनि उनले भने, “यी बाबु जुत्ता नलगाई हिँड्दैनन् । यिनी धेरै लेखपढ गर्छन्, पछि ठूलो मानिस बन्छन् ।” म केटाकेटी मान्छेले उनलाई केही जवाफ नदिएपनि दुई थरी कुरा सुनेर उनी अडकलका भरमा बोल्दा रहेछन् भन्ने चाहिँ लाग्यो ।
मेरो सात–आठ वर्षसम्म पनि बोली प्रस्ट नहुनुको कारण ‘जिब्रो छोटो भएकाले हो’ भनिन्थ्यो । त्यसैले जिब्रो लामो पारी बोली रामे पार्न मैले एकान्तमा गएर ऐना हेरी आफैँले चक्कुले आफ्नो जिब्रोभन्दा तलको नसा काटेको थिएँ । तीन–चार दिनसम्म दुख्यो र खाँदा चह¥यायो पनि । भाग्यवश दुर्घटना केही भएन, मेरो तोतेबोली हट्यो । म मख्ख परेँ ।
सानैदेखि मलाई गाउँमा बिहेबटुलोमा सिलोक घन्केको, बाटाघाटा, खेतखोला र चौतारीमा गीत गुन्जेको बडो रमाइलो लाग्थ्यो । कथा सुनिन्थ्यो, गीत रन्कन्थ्यो । म तिनैबाट प्रभावित थिएँ । अक्षर चिन्नुअघि नै म लोकगीत गुनगुनाउँथेँ । मेरो अक्षरारम्भ पनि पाँच वर्षकै उमेरमा भइसकेको थियो । मैले घरकै फलैचामा बसेर आफ्नै बाबुसँग धुलौटामा क, ख सिकेर पढ्न थालेको हुँ । मैले देखेको पहिलो किताब ‘नेपाली वर्णमाला’ थियो । गाउँमा विद्यालय त थिएन नै, पढ्नका लागि अन्य वैकल्पिक ठाउँ पनि थिएन । त्यतिखेर हामीले कापी, सिसाकलम, फाउन्टेन पेन कहाँ पाउनु ? घरैमा मुसुरे कटुस वा आँपका पात पकाएर बनाइएको मसीमा बाँसको कलमले चोपेर लेख्नुपथ्र्यो । बुबाको जनसम्पर्कको कारण हाम्रो घरमा घोडा चढ्नेदेखि डोका बोक्नेसम्म पाहुना आउँथेँ र सबैले मलाई पढ्नेलेख्ने हौसला दिन्थे ।
गाउँमा पढ्न थालेपछि ज्ञानको चस्का त लाग्यो, तर पुस्तक थिएनन् । चण्डी, रुद्री पढ्न सिके पनि रटाइ मात्र हुन्थ्यो, बुझिन्नथ्यो । घरमा पारसमणि प्रधानको ‘नेपाली साहित्य’ पाठमाला फेला पारेपछि दसौँ–बीसौँपल्ट पढियो । ‘बेलापञ्चाङ्ग’मा भाग्यफल पढियो । मेरा मामाहरूले पढेको देखेर मलाई पढ्न हौसला मिल्यो । लेख्नचाहिँ मामाको जस्तै मलाई पनि खासै अभ्यास भएन । प्रत्येक वर्ष माघमा स्वस्थानी भन्नुपथ्र्यो । यो कथा भएकाले बुझिने र रसिलो थियो । कथा भनिसकेपछि बदाम, तरुल, बयर जेछ प्रसादी बाँडिन्थ्यो । प्रसादी खाँदा हामी मख्ख पथ्र्यौँ । पुराणका कथाहरू सुन्न पनि मजा हुन्थ्यो । यिनीहरूले हाम्रो जिज्ञासा त बढाउँथे, तर जिज्ञासा शान्त पार्ने ठाउँ हुदैनथ्यो । पुराणमा चुड्के भजनहरू र बालनका टुक्राहरू गाउँदा पनि रमाइलो हुन्थ्यो ।
गाउँघरमा चाडबाड र बिहेबटुलोमा रमाइलो हुन्थ्यो । अक्षयतृतीयामा सातुसर्बत् खाने, साउने सङ्क्रान्तिमा लुतो फाल्ने, जनैपूर्णिमामा क्वाँटी खाने, दसैँमा टीका लगाउने र मौलो पूजा गर्ने, तिहारमा देउसीभैलो खेल्ने, माघे सङ्क्रान्तिमा घिउ–तरुल खाने गरिन्थ्यो । साउने सङ्क्रान्तिमा वारिपारिका गाउँको नाम लिई ‘ए ..........! लुतो लैजा’ भनेर अगुल्टा फालिन्थ्यो । अहिले विचार गर्दा अरूलाई लुतो लैजा भन्नुचाहिँ स्वार्थी प्रवृत्ति हो किजस्तो लाग्छ । ‘कसैलाई पनि रोग नलागोस्’ भन्नुपर्नेमा आफूलाई हटाएर ‘अरूतिर सरोस्’ भन्नु पक्कै राम्रो होइन । दसैँतिहारजस्ता खास–खास पर्वमा कटुवाल कुर्लेर गाउँलेहरूलाई भेला हुन उर्दी वा जनाउ दिने चलन थियो ।
ठिमी, भक्तपुरदेखिका तरकारी बेच्नेहरू बेलाबखत गाउँगाउँ पुग्थे । उनीहरू पैसा लिएर नभई धान लिएर तरकारी बेच्थे । हामी मन परेको खान पिँडालु, तरुल खोज्न जान्थ्यौँ । फलफूलमा सजिलै भेट्टाइने डुम्री, खज्यौरी, पिठौली, खनायो, पानीअमला, अमला खाइन्थ्यो । हाम्रो समयमा सानैमा केटाको पनि कान छेड्ने, सुनका मुन्द्रा लगाइदिने र गोडामा कल्ली लगाइदिने गर्थे । मैले पनि कान छेडेर मुन्द्रा लगाएको थिएँ ।
अग्लो कान्लाबाट हाम फाल्नु र बारीमा दौडनु बाल्यकालका सोख थिए । हामीले खेल्ने खेलहरूमा लुकामारी, डन्डीबियो, गट्टा, पाङ्ग्रागुडाइ, खल्र्याङ्खुट्टी, दौड, हल्ले आदि थिए । दसैँतिर डोरे पिङ् र रोटे पिङ् खेलिन्थ्यो । केटाकेटीलाई रमाइलो गराउन मुठी खुम्च्याउँदै–खोल्दै ‘चाम मुठी नानी’, ताली बजाउँदै ‘तारा बाजी लैलै’, ‘दहीचुप’जस्ता खेलहरू पनि खेलिन्थ्यो ।
साथीहरूको होडबाजीमा लागेर धेरैपटक बदमासीहरू पनि गरिए । एकपटक झन्डै तीस फुट अग्लो कान्लाबाट हाम फालेर तल्लो पाटामा आएँ । हाम फालिहालेँ, पछि पो डर लाग्यो, तै केही भएन । एकपटक सुरेली खेल्दै बकैनाको रूखमा चढेँ । बकैनाको रूख कमलो हुने रहेछ, मलाई थाहा थिएन । माथि पुगेर एउटा हाँगो समातेको के थिएँ, हाँगो पटक्कै भाँचियो र म भुइँमा पछारिए । हिउँदमा खेतमा दाइँ हुँदा रमाइलोका लागि ठूला मान्छेहरू पनि कुस्ती खेल्थे । उनीहरूकै देखासिकीमा हामी पनि कहिलेकाँहि कुस्ती खेल्थ्यौँ । साथीहरू खोलाको दहमा पौडी पनि खेल्थे । दुनियाँभरको सुखदुःखमा पौडी खेल्नु रहेछ, पानीमा मैले पौडी खेल्न कहिल्यै जानिनँ । अलिकति त सङ्गतको प्रभावसमेत थियो होला, बालस्वभाववश एक–दुईओटा गर्न नहुने काम गरियो — चरा थुन्ने, फूल टिप्ने, ब्याड कुल्चने, बाँधेको खसीबोका फुकाइदिने, काँक्रा चोर्ने आदि । एउटाले घरमा गएर पानी खान माग्ने, अर्काले बारीका काँक्रा चोरी सुइँकुच्चा ठोक्ने दाउ नै हुन्थ्यो ।
म २००१ र २००३ सालमा काठमाडौँ प्रवेश गरे पनि फर्किएको थिएँ । २००३ साल, हिउँददेखि ज्ञानको खोजीमा काठमाडौँ बस्न थालेदेखि मेरो जीवनको नयाँ अध्याय सुरु भयो । गाउँघरमा विद्यालय भेट्टाउनु भनेको उडेको चरो समाउनुजस्तै थियो । विद्याप्राप्तिको आधार काठमाडौँ मात्र भएको त्यस स्थितिमा मेरो जन्मस्थल काभ्रेलगायत अन्य भागचाहिँ मानौँ नेपाल नै थिएन । साधारण बोलीचालीमा पनि काठमाडौँलाई मात्र नेपाल भनिन्थ्यो । २००७ सालपछि जागरणको घामले काभ्रेलाई पनि छुँदै गयो, अनि बल्ल राजधानीलाई मात्र नेपाल भनिने बानी छुटेर काठमाडौँ भनिन लाग्यो ।
म काठमाडौँ आउनुभन्दा एक वर्ष अघिदेखि नै मावली–दाई दयाराज ढुङ्गाना र दाजु रत्नप्रसाद पराजुली काठमाडौँमा बसेर पढ्थे । उनीहरूले पढ्न पाउँदा मलाई ईष्र्या लागिसकेको थियो । त्यसमाथि गाउँमा कसैकसैले भन्थे, “दाजुचाहिँ पढ्ने, भाइचाहिँ सधै डोको बोकेर गाउँबेसी गर्ने ?” अझ गाउँभरि हाम्रो मात्र एउटा यस्तो घर थियो, जहाँ बाबुआमामा छोराछोरी पढाउनुपर्छ भन्ने भावना थियो । २००३ सालको माघको आधाआधीतिर केही नौला, केही मीठा र केही नियास्रिँदा सपना बोकेर उज्याले नहुँदै गाउँबाट पढ्नका लागि सहर लागेँ । दिनभरि हिँडेर साँझ काठमाडौँ, नरदेवीको डेरामा आइपुगियो । दुई–तीन दिनसम्म बाटो कता, बजार कता थाहा भएन । त्यसपछि भने क्रमशः ठीक भयो ।
पहिले रुद्री–वेदबाटै पढाइको आरम्भ हुनु उपयुक्त हुन्छ भन्ने अभिभावकको निष्कर्षअनुसार भोटाहिटीमा रुद्रीको पुस्तक किनी रुमाल (बासा)मा पोको पारी लिएर म रानीपोखरी संस्कृत पाठशालामा भर्ना भएँ । फूल, अबिरले पुस्तक र गुरुलाई पूजा गरी ढोगेपछि मात्र पढाइ सुरु हुन्थ्यो । हामी सुकुलमा बसेर पढ्थ्यौँ । गुरुका लागि सुकुलमाथि सेतो खोल हालिएका चकटी थिए । हामीले गुरुलाई पछ्याउँदै वेदका मन्त्र पढ्दा चोटाका कोठामा अङ्ग्रेजी पढ्ने र अरू विद्यार्थीहरू हेर्न आउँथे । कक्षामा जाँदा जुत्ता तलै फुकालेर जानुपथ्र्यो । यसैकारण कति त जुत्ते नलगाई पढ्न आउँथे । पाठ कण्ठ गर िबुझाउन सक्ने विद्यार्थीहरूले गुरुबाट माया पाउँथे भने पाठ बुझाउन नसक्नेलाई हात थाप्न लगाई एक–दुई छडी पनि हानिन्थ्यो । अनुशासन चर्कै थियो । कपाल काट्दा टुप्पी छोडेर बाँकी पूरै भाग सफाचट् बनाएर खौरनुपथ्र्यो । म भर्ना भएको दुई–तीन महिनापछि एक विद्यार्थीले बुल्बुले (जुल्फी) बनाएर कक्षामा आउँदा शिक्षकले खूब नराम्रोसँग पिट्नुभयो । पछि उहाँ आफैँले एक मोहोर दिएर कपाल खौरेर मात्र आउन पठाउनुभयो ।
पाठशाला पढ्दाका सुरुका दिन मलाई साह्रै नौला लागे । गाउँघरा स्वतन्त्र खेलेर हुर्किएको पोखरीको माछोजस्तै थिएँ म । काठमाडौँको बसाइ र पढाइमा केही उदेकलाग्दो र केही असजिलो अनुभव भए पनि पछि क्रमशः बानी प¥यो । पाठशालामा गुरुको छडी त परै जाओस्, सामान्य हप्काइ पनि मैले खानुपरेन । काठमाडौँमा बसेको तीन–चार महिनाभित्र नै मेरो पढ्ने बानीको राम्रो विकास भयो ।
पहाडबाट धोक्रामा चामल बोकेर ल्याई डेरामा बसेर खानुपथ्र्यो । यसले आफू र गाउँका बाबुआमालाई पनि बोझ भइरहन्थ्यो । माथिल्लो तहका कतिपय विद्यार्थी तीनधारा पाकशालामा बस्थे । त्यहाँ भर्ना भएपछि खानेबस्ने सबै सुविधा उपलब्ध हुन्थ्यो । २००४ साल असारमा ‘जयतु संस्कृतम्’को प्रजातान्त्रिक आन्दोलन चर्किएपछि सरकारले पाकशालाका विद्यार्थीहरूलाई निकाल्यो । यही बेला खाली पाकशालामा भर्ना गर्न नयाँ विखर्थीको नाम टिपेर लैजाने प्रक्रिया सुरु भयो । हेडगुरुले कक्षा–कक्षा घुमी जेहेन्दार विद्यार्थीको नाम टिप्दा मेरो नाम पनि लगियो । पछि सरकार र आन्दोलनकारी विद्यार्थीहरूबीच कुरा मिल्यो र धेरै विद्यार्थीहरू तीनधारा पाकशालामै फर्के । यसपछि हाम्रो भर्ना हुने कुरा त्यसै सेलायो ।
त्यही वर्षको वार्षिक परीक्षमा प्रथम भएको मलाई जेहेन्दार देखेर होला, पाकहालामा बस्ने उक जना अग्रजले स्नेहपूर्वक मलाई एउटा जुक्ति सिकाए । त्यति बेलाका ‘कमान्डर इन चिफ’ (चिफसाहेब) बबरशमशेर दैनिक बिहान घोडा चढेर टुँडिखेल घुम्न आउँथे । अग्रजले सिकाएको जुक्तिअनुसार चिफसाहेबलाई कुरेर बसेँ । चिफसाहेब मेरो अगाडि आएपछि मैले हात जोडेर चिच्याएँ, “सरकार ! घर पहाडमा छ, रानीपोखरी पाठशालामा पढ्छु । तीनधारा पाकशालामा भर्ना हुन पाउँ ।” तर चिफसाहेबले केही वास्ता गरेनन्, “ए, यो केटा के भन्छ ?” भनेर हिँडे । बरु एक बटुवाले ‘सुरो’ भनी मेरो प्रशंसा गरे । त्यसपछि मैले पाकशालामा भर्ना हुने होइन, सानै भए पनि सुहाँउदो काम गर्ने निधो गरेँ । त्य घटनापछि मेले अरूका चिठी लेखिदिने, लेखोट सार्ने, भेट्टाएका बालबालिका पढाउने आदि काम गर्दै आफूलाई पगाल्न, सँगाल्न र आफ्ना गोडामा उभिन सक्ने अवस्थामा आफैँलाई अँगाल्न सिकेँ । यसरी केही कर र केही रहरले किशोरावस्थामै मैले जीवनमा बाँच्न सिकेँ ।
काठमाडौँमा बस्दा बारम्बार भइरहने जात्राहरू खुब हेरियो । गाईजात्रा, इन्द्रजात्रा, घोडेजात्रा र सिन्दुरजात्राजस्ता उत्सवमा मानिसको भिड देख्दा साह्रै रमाइलो लाग्थ्यो । अचम्म के थियो भने यस्ता जात्रामा झ्यालमा मानिस बसिहाले भने पनि सिँगारिएका आइमाई मात्रै हुन्थे । २००६ साल बैसाख ११ गते गौचर एयरपोर्ट (अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल)मा पहिलोपटक हवाईजहाज हेर्न काठमाडौँ उल्ट्यो । विद्यालयले नै यो दिन बिदा दिएकाले म पनि अरू विद्यार्थीहरूसँगै जहाज हेर्न गौचर गएँ । रातिसम्म केके न देखियो भन्ने आनन्द लागिरह्यो । हाम्रा निम्ति रेडियो सुन्ने, चलचित्र हेर्ने कुरा पनि सपनाजस्तै थियो । कतै–कतै पसलमा झुन्ड्याइएका भित्तेघडी हेरेर हामी समय थाहा पाउँथ्यौँ । २००६ सालमा काठमाडौँमा पहिलो सिनेमा हल ‘जनसेवा’ खुल्यो । पाँच सुका, एक रुपिँया, तीन सुका र मोहोर दरका टिकट काटेर बल्लतल्ल सिनेमा हे¥यौँ । दुई–चारबाहेक काठमाडौँमा होटल भन्नु नै अरू के थिए र ! त्यसमाथि निम्नमध्यम परिवारमा होटलमा गई खाने चलन नै थिएन । कसैले बाहिर गएर खाइहाले पनि “घरमा खान पाउँदो रहेनछ, अनि बाहिर खान्छ” भन्ने दोष आइलाग्थ्यो । मिठाई पसलहरू भने ठाउँठाउँमा देखिन्थे । सडकका मोड, चोक वा बहालमा मात्र धारा हुन्थ्यो भने टोलटोलका साझा शौचालय पनि भिन्नाभिन्नै थिए । धारा, शौलालयको व्यवस्था त्यस्तै–त्यस्तै केही घरमा मात्र हुन्थ्यो । सार्वजनिक पुस्तकालय कतै देखिएनन् । हामी बाटाका छेउ रूखमुनि बेच्न राखिएका पुस्तक हेथ्र्यौँ ।
जे देखे पनि, जे भोगे पनि आफ्ना निम्ति ‘आकासको फल, आँखा तरी मर्’ थियो । आफूलाई त साइकल चढ्नु पनि ठूलै कुरा लाग्थ्यो । आफू ‘पिर्कायुग’मा जन्मेर पिर्कामै क, ख सिकेको मान्छे, अहिले ‘कम्प्युटरयुग’सम्म आइपुग्दा दङ्ग लाग्छ । आज मसँग सडक बोलिरहेझैँ लाग्छ, “कवि ! तिमीले केही गुमाएका छौ भने त्यसभन्दा बढी पाएका छौ ।”हो, समयले आजका बालबालिकाहरूलाई पढ्नलेख्न र खेल्न तथा आफ्नो व्यक्तित्व विकास गर्न धेरै सुविधा दिएको छ । पहिलेजस्तो दुःख र अभाव अहिले छैन । आफूवरिपरिको वातावरणलाई उपयोग गर्न पछि पर्नुहुन्न । समय र साधनको सही सदुपयोग गरे सफलता हात लाग्छ ।



 प्रस्तुति सहयोग : दिवाकर प्याकुरेल

No comments:

Post a Comment