Sunday, February 28, 2010

बालापनबारे राष्ट्रकवि

(करिब पाँच महिनाअगाडि मैले राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग एउटा अन्तर्वाता लिएको थिएँ । कविको बाल्यकाल र बालापनमा केन्दि«त उक्त अन्तर्वाता मलाई यस वर्षको अविस्मरणीय क्षण लागिरहेको छ, किनभने उहाँको व्यक्तित्व राष्ट्रिय स्तरकै अत्यन्त उच्चतम रहेको मेरो बुझाइ छ । सायद् त्यतिबेला नै ब्लग गर्ने भए म त्यसै समय यो पोस्ट गर्थे । तैपनि यो आज पनि सान्दर्भिक भएको ठानी प्रकाशित गरेको छु । तपाईको प्रतिक्रियाको अपेक्षा छ । )
अहिले पनि मभित्र बालकत्व छ ।” यो वाक्य सुनेर म झसङ्ग भएँ । आफ्नो एकानब्बेऔँ जन्मोत्सव मनाउन २३ दिन मात्र बाँकी रहँदा जीवित नेपाली साहित्यकारहरूमध्ये सम्भवतः सबभन्दा महान् र लोकप्रिय कविले बालापनबारे सोधेको प्रश्नको उत्तरमा यो कुरा बताउनुभएको थियो ।
यही भाद्र महिनाको १५ गते, दिनको करिब १२ बजेतिर । अघिल्लो दिन वरिष्ठ साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’को सहयोगमा मैले राष्ट्रकवि माधवप्रसाद घिमिरेलार्ई फोन गरेको थिएँ । हुन त मलाई अर्कै कामका लागि उहाँलाई भेट्नु थियो, तर पनि मौकामा ‘हाम्रो आँगन’का पाठक भाइबहिनीहरूका लागि महाकविलाई अप्रत्यक्ष रूपमै भए पनि राष्ट्रकविसँग किन नभेटाउने भनेर मैले राष्ट्रकविसँग बालापनबारे कुराकानी गरेको थिएँ । राष्ट्रिय स्तरमा चर्चामा रहेका समसामियक विविध विषयमा कुराकानी गरेपछि हामी बालबालिकाहरूको विषयमा केन्द्रित भएका थियौँ ।
मैले पढेअनुसार र जानेअनुसार आदरणीय कविजीको बाल्यकालको सन्दर्भ उल्लेख गर्दै मैले उहाँलाई त्यो बेलाको र अहिलेको बालापनबीच उहाँले देख्नुभएको फरक सोधेँ । “पढ्ने विषय थोरै थिए, उमेरअनुसारको भार थियो, तर पहिले हामी प्रकृति पढ्थ्यौँ, उन्मुक्त भएर सिक्न सक्थ्यौँ” उहाँले कुरा सुरु गर्नुभयो । “आजको समयका बालकहरू बेन्चमा पढ्छन् । उनीहरू प्रकृतिको नगिचमा रमाउँदै, खेल्दै, सिक्दै पढ्नबाट वञ्चित छन् ।” यो मैले नसोचेको उत्तर थियो । अझ उहाँका अनुसार त्यसबाट वञ्चित हुनुपर्दा बालबालिकाको मनमा पीडा हुन्छ रे । “मन र शरीरभरि पीडा बोकेको बेलामा ज्ञान कसरी आउँछ ?” उहाँको यो प्रश्नले भने मलाई पनि गम्भिर बनाएको थियो । शिक्षा औपचारिक मात्र भयो भने, अथवा कक्षाकोठाभित्रको शिक्षाले मात्र बालबालिकाको विकास गर्न सक्दैन भन्ने उहाँको सार थियो । “बालकका लागि पाठशाला मुख्य गरी तीन ओटा छन् ः घर, विद्यालय र समाज” उहाँले आफ्नो तर्क राख्नुभयो । “घरमा आमाबाबु गुरु हुन्छन् । नैतिकता र संस्कृतिको शिक्षाको मूल स्रोत नै घर हो । मानिसको जीवनशैली र सोचाइ पनि उसले घरमा पाएको शिक्षाअनुसार हुन्छ ।” विभिन्न उदाहरण र हाउभाउसहित उहाँले घरमा लिइने शिक्षाको महत्व बताउनुभयो । दोस्रो विद्यालयबारे व्याख्या गर्नु उहाँले सायद् आवश्यक ठान्नुभएन क्यारे, मात्र “विद्यालयको औपचारिक शिक्षा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ” भन्नुभयो । तेस्रो विद्यालय समाजको कुरा गर्दा उहाँले आफूले बच्चामा साथीहरूसँग पौडी र गुच्चा खेल्दै नैतिकता र इमान्दारिताको पाठ सिकेको सम्झनुभयो । “चरित्र निर्माण किताबमा लेखेर मात्र हुँदैन”, उहाँले बोलेको यो वाक्य मलाई अत्यन्त महत्वपूर्ण र गम्भिर तथा शिक्षाप्रद लाग्यो ।
मैले कविजीलाई आफ्नो बालापन सम्झन आग्रह गरेँ । “मलाई बालापनका दुई कुरा असाध्यै मन पर्छन् ः निर्दोषपना र उत्सुकता”, सायद् आजका बालबालिका अङ्ग्रेजी पदावलीमा बानी परेका छन् भन्ने सम्झेर होला, उहाँले आफ्ना कुराहरूको शाब्दिक अनुवाद पनि गर्नुभयो । “सच्चा मनुष्यका लक्षण यिनै हुन् । एउटा बालकको निर्दोष मनले नकारात्मक केही सोच्दैन । उत्सुकताबाट मौलिक विज्ञान जन्मन सक्छ । एउटा बालकले सोध्ने ‘पात किन हरियो हुन्छ ?’ अथवा ‘नदी किन बहिरहन्छ ?’ भन्ने प्रश्नमा कति ठुलो विज्ञान लुकेको हुन्छ ? आफूमा भएको उन्सुकतालाई मारेको भए न्युटन र ग्यालिलियो आज विश्वविज्ञानका जन्मदाता बन्ने थिएनन् ।” यसै प्रसङ्गमा उहाँले आफूलाई ‘ठुला’ भन्नेहरूले बालबालिकाको उत्सुकतालाई ‘वाहियात् !’ भनेर मार्ने गरेकोमा आक्रोश पोख्नुभयो । बालबालिकालाई निर्दोषपना र उत्सुकता फस्टाउने गरी शिक्षा दिनुपर्ने उहाँको विचार थियो ।
अब मैले उहाँलाई “बालापन सकिएपछि पनि बालबालिकाहरूसँग कत्तिको नजिक हुनुहुन्छ ?’ भनेर सोधेँ । उत्तरमा मैले पाएको वाक्य त्यही हो, “अहिले पनि मभित्र बालकत्व छ” । “अहिले पनि म बालक नै छु, बालसाहित्य लेख्दा मभित्रको बालक बोलेको हुन्छ” सिधै बुझ्दा सरासर झुट लाग्ने यो सत्यतालाई उहाँले प्रष्ट पार्नुभयो । “फरक यति हो, म बालक छु र पनि आज मभित्रको बालक आफैँ हेर्न र अनुभव गर्न सक्छु”, अब ममा कुनै पनि शङ्का बाँकी रहेन ।
अब मलाई ‘टालाटुली बटुली’देखि ‘लाग्दछ मलाई रमाइलो’जस्ता बालबालिकाहरूबीच अत्यन्त प्रिय गीत र कविताहरू रचेका यी महापुरुषलाई बालसाहित्यबारे सोध्ने इच्छा भयो । “बालसाहित्य केका लागि ?” बडो उत्साहित भएर मैले वाक्यको बनौट पनि विचार नगरी प्रश्न सोधेँ । उहाँको पनि छोटो र सिधा उत्तर थियो “बालबालिकाको विकास र मनोरञ्जनका लागि ।” उहाँका अनुसार बालबालिकाको विकासमा मात्र सहयोग पु¥याउने तर मनोरञ्जन दिन नसक्ने र रमाइलो मात्र गराउने तर विकासका लागि केही योगदान नदिने साहित्य बालसाहित्य हुन सक्दैन । “बालसाहित्यको लेखाइ वयष्कहरूका लागि लेखिने साहित्यको लेखाइभन्दा के फरक हुन्छ त ?”, मेरो जिज्ञासा अझै शान्त भइसकेको थिएन । यसमा पनि उहाँको उत्तर बुँदागत नै थियो ः “शब्दज्ञान र अवधारणा ः बालबालिकामा सम्बन्धित विषयको शब्दज्ञान र अवधारबारेको ज्ञान कति छ, त्यो विचार गरिएन भने त्यो बालबालिकाका लागि पाच्य हुँदैन ।”  उहाँकै शब्दमा उमेरअनुसारको शब्दज्ञान र अवधारणाको विकास विचार नगरी ‘बालसाहित्य’को नाममा कसैले केही लेख्छ भने, त्यो ‘खचडापचडा’ मात्र हुन्छ । “साथै बालसाहित्य लेख्नका लागि बालबालिकाको सामान्य मनोविज्ञान बुझेकै हुनुपर्छ । गहिराइमा मनोविज्ञान बुझेको भए झन् राम्रो हुन्छ”, उहाँले बालसाहित्यकारका लागि लक्ष्मणरेखा कोरिदिनुभयो ।
“तर, गैरबालसाहित्यमा चाहिँ बालापनको भूमिका केकस्तो हुन्छ नि ?”, म बालापन र साहित्यको सम्बन्धबारे राष्ट्रकविको अलि विस्तृत धारणा जान्न चाहेको थिएँ । तर उहाँले यो प्रश्न त्यति नरुचाएको जस्तो मलाई लाग्यो । सायद् उहाँ निर्दोष र उत्सुक बालबालिकालाई गुणदोष बराबर भएका र सबै उत्सुकतालाई मारिसकेका ‘ठुला’ मानिससँग तुलना गर्ने पक्षमा हुनुहुन्नथ्यो । “सबैको आआफ्नै भूमिका र स्थान हुन्छ । बच्चालाई बच्चाकै रूपमा लिनुपर्छ र उसलाई आफ्नै भूमिका निर्वाह गर्न दिनुपर्छ”, उहाँले भन्नुभयो । मैले अझ नयाँ प्रश्न नसोधेपछि उहाँले भन्नुभयो, “सम्बन्धित साहित्यको सम्बन्धित कृतिले मागेअनुसार नै बालबालिकाहरूले साहित्यमा स्थान पाएका हुन्छन् र पाउनुपर्छ । यो कुरा लेखकको चाहनामा पनि भर पर्छ ।” अब भने मैले पनि खोजेको उत्तर पाइसकेको थिएँ ।
अबको चरणमा हामी कविज्यूको आफ्नै साहित्यिक यात्रामा केन्द्रित भयौँ । आजका राष्ट्रकविको कविता–यात्रा ‘बालकवि’का रूपमा सुरु भएको रहेछ, १४–१५ वर्षको उमेरमा । त्यतिबेलाका चल्तीका कविहरूको सिको गरेर उहाँले गोरखापत्रमा ‘वैराग्य पुष्प’ नामको कविता छपाउनुभएको रहेछ । “साहित्यकार कुनै पनि सिद्धान्तमा बाँधिनुहुन्न, स्वतन्त्र भएर आफ्नो बोली लेख्न सक्नुपर्छ” भन्ने धारणा राख्ने कवि आफ्ना सबै कृतिहरूमा आफ्नै मौलिकता लेखिएको बताउनुहुन्छ । मैले उहाँलाई ‘तपाईँको साहित्यमा लाग्नुको उद्देश्य के थियो ? आजसम्म आइपुग्दा कत्तिको पूरा भयो ?” भनेर सोधेँ । “जीवन र संसारलाई कविले आफ्नै दृष्टिले हेर्न सकोस्” कविले एकै वाक्यमा चित्तबुझ्दो जवाफ दिनुभयो ।
‘छन्द कविताका वकिल’, ‘छन्दवादी’ तथा ‘गद्य कविताका विरोधी’ भनेर कसैकसैले भनेका कविलाई मलाई “साहित्यमा धेरै विधामध्ये कविता नै किन रोज्नुभयो ? अनि त्यसमा पनि छन्दमा मात्र लेख्नुहुन्छ ?”भनेर सोध्ने पुरानो इच्छा थियो । कविजी रिसाउनुहोला कि भन्ने कुनै पनि डर नमानी मैले फ्याट्टै सोधिहालेँ । “भाव र विचारलाई एक–अर्कासँग पु¥याउन शब्दको साथ सङ्गीत भयो भए बढी प्रभावकारी रूपमा काम गर्छ । त्यो सङ्गीत कविता र गीतमा हुन्छ, अझ छन्दमा त्योभन्दा पनि बढी हुन्छ”, उहाँको प्रष्ट उत्तर थियो । “लय त ‘लेफ्ट–राइट’मा पनि हुन्छ । तर त्यसमा माधुर्य छैन” उहाँले थप्नुभयो । साथै आफ्नो कविताप्रेम र छन्दमोहका लागि लेखनाथ, देवकोटाले सिकाएको संस्कार पनि जिम्मेवार रहेको बताउनुभयो ।
केही वर्षअघि ‘राष्ट्रकवि’ उपाधि पाएपछि उहाँको लोकप्रियता बढेको चर्चा चलेको छ । उहाँलाई चाहिँ व्यक्तिगत रूपमा कस्तो लागेको होला त ? — मेरो मनको जिज्ञासा पोखिइहाल्यो । ‘राजाको शासनको समयमा राजाले दिएका’ भनेर आलोचना गर्नेहरूप्रति उहाँको असन्तुष्टि देखिन्थ्यो, जसलाई मैले पनि समर्थन गरेँ । “उपाधि पाउनुअघि भएको एक साहित्यिक कार्यक्रममा देशभरका प्रतिनिधिहरूले मेरो लागि केही विशेष उपाधिका लागि माग गरेका रहेछन् । अर्को कुरा, औपचारिक उपाधिअगाडि नै मैले जनताहरूबाट ‘राष्ट्रकवि’को सम्बोधन पाइसकेको थिएँ । राजाले मात्र चाहेको भए, यो सम्भव थिएन । यो मागेर पाइने उपाधि पनि होइन । मागेको पनि होइन । म जनताको राष्ट्रकवि हुँ”, उहाँको उत्तरमा असहमत हुने कुनै ठाउँ थिएन ।

“पारिन्छ सत्ता जब खण्डखण्ड, रहन्छ के राष्ट्र त्यहाँ अखण्ड ?
थुत्तिन्छ पत्ता जब खातखात, रित्तिन्छ शोभा अनि फूलबाट ।
यस्तायस्ता गीत लेख्ने राष्ट्रवादी कवि अहिले देशबारे के सोच्दै हुनुहोला ? “आज देशको अस्तित्व र सार्वभौमसत्ता सङ्कटमा छ । जान्यो भने अस्तित्व र सार्वभौमिकताको अर्थ देखाउने समय पनि यही हो ।” उहाँले विस्तारमा बोल्न चाहनुभएन ।

अन्तर्वाताका लागि मैले मागेको समय सकिन लागिसकेको थियो । म निष्कर्षात्मक प्रश्न सोध्ने तरखर गर्न लागेँ । “बालबालिकामा बालापनदेखि नै लेख्ने बानीको विकास गर्न के गर्नुपर्ला ?“, मैले सोधेँ । “सबभन्दा पहिला उसको रुचि हेनुप¥यो । ऊ कविता–गीतमा रमाउन चाहान्छ कि रेखाहरू कोर्न र यन्त्रहरू चलाउन ? त्यसपछि परिवारले वातावरण बनाइदिनुपर्छ । उसलाई प्रोत्साहन दिनुपर्छ । उसको उत्सुकतालाई मार्नुहुन्न”, एक पटक पनि नरोकिई उहाँले कुरा टुङ्ग्याउनुभयो । “जबर्जस्त प्रतिभा छ भने सबै बाधाहरूलाई छलेर ऊ अगाडि बढ्न सक्छ”, गाउँमा पढ्ने वातावरण नभएपछि भागेर काठमाडौँ आएको आफ्नो बालापन सम्झिदै उहाँले भन्नुभयो ।
हुन त मलाई ‘मभित्र आज पनि बालकत्व छ” भन्ने व्यक्तित्वलाई यो प्रश्न सोध्ने कि नसोध्ने द्विविधा थियो, तैपनि सोधेँ, “फेरि बालक बन्न पाए.............?” कविजी एकाएक गम्भिर देखिनुभयो । “आमाको अनुहार सम्झन पाइएन । आमाको माया र आमाको काखमा रमाउन मन लाग्थ्यो होला”, उहाँको गाम्भीर्यले कताकता मलाई पनि छोयो ।
आफ्नो पूर्वयोजनाअनुसार नै मैले अन्तिम प्रश्न सोधेँ, ‘आजका बालबालिका कस्ता बनून् ?” सायद् उहाँलाई पनि यो सवाल मन प¥यो होला । र त, बडो उत्साहका साथ उत्तर दिनुभयो, “आइन्स्टाइनजस्ता बनून् । शङ्कराचार्यजस्ता बनून् । गान्धीजस्ता बनून् । लिङ्कनजस्ता बनून् । देवकोटाजस्ता बनून् ।” साह्रै मिठो उत्तर पाएर म दङ्ग थिएँ । “तर, जोजस्तो बने पनि आफू बनून् । अरूबाट त प्रेरणा मात्र लिने हो”, अन्तर्वार्ताभरि उहाँले आफ्नो मौलिक अस्तित्वमा जोड दिनुभएको थियो ।
लैनचौरस्थित राष्ट्रकविको रमणीय घरको बैठककोठामा बिताएको डेढ घण्टा मेरो लागि अविस्मरणीय रह्यो । “टालाटुली बटुली” र “गाउँछ गीत नेपाली”देखि आज “विशाल नेपाल म रच्छु–रच्छु, कहाँ छ मृत्युञ्जयलाई मृत्यु ?” पढ्दासम्म यसका रचनाकार कवि माधवप्रसाद घिमिरेलाई भेट्नु एउटा साँचेको सपना थियो । भौतिक रूपमा जीवनको दसौँ दशक टेक्न लाग्नुभएका तर, मनले बालापन र युवा जोस व्यक्त गर्न सक्षम राष्ट्रकविलाई एकानब्बेऔँ जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना दिएर म निस्किने तरखरमा थिएँ । कविज्यूले आफ्नै कविताको यो प्रेरणादायी श्लोकमा भनेजस्तै गरी जीवन बाँच्न आशीर्वाद दिँदै मलाई बिदाइ गर्नुभयो ः
“कल्ले टेक्यो यस शिखरमा पाइला यो चुमूँ कि
खोजी–खोजीकन हिमचुली सात फेरा घुमूँ कि ?”


२०६६÷५÷१६

No comments:

Post a Comment