Sunday, February 28, 2010

चाँदीको घेरा हेर्ने मेरो चाहना

“कालो बादलमा पनि चाँदीको घेरा हुन्छ ।” सम्भवतः आजभन्दा करिब तीन वर्षअगाडि एक जना अग्रजबाट मैले यो वाक्य सुनेको थिएँ । त्यसयता म आफैँले नै दर्जनौँपटक यसको प्रयोग गरिसकेको छु । यसको माध्यमबाट मैले कतिको निराशालाई आशामा बदलेँ, त्यो पछि मूल्याङ्कन गरौँला । तर, म आफैँमा भने चाँदीको घेरा खोज्ने र देख्ने बानी पूर्णतः विकसित भइनसकेको मेरो आफ्नै मूल्याङ्कन छ ।

जे भए पनि म आफ्नो मित्रमण्डलीका बीच आशावादी नै मानिन्छु । हुन पनि, व्यक्तिगत रूपमा भन्ने हो भने म आफ्नो उज्यालो भविष्यप्रति पूर्णतः विश्वस्त छु । मैले जानेबुझेका मेरा उमेरका अधिकांश युवाहरूको व्यक्तिगत जीवनप्रति पनि उनीहरू आशावादी नै छन् । तर जब समूहगत र संस्थागत भविष्यको कुरा आउँछ, म र मजस्ता ‘व्यक्तिगत रूपमा आशावादी’ साथीहरूको आशावाद किन हो किन कम भएर जान्छ । एउटा समूहमा युवा नै युवा छन्, अनि उनीहरू सबै आफ्नो व्यक्तिगत भविष्यप्रति आशावादी छन् भने पनि उनीहरूबीच सङ्गठित समूहको भविष्य भने सधै शङ्काको घेरामा हलचल गरिरहेको मैले धेरै पटक, धेरै ठाउँमा अनुभव गरिसकेको छु । किन होला त ? गणितीय नियमअनुसार पनि धेरै ओटा ‘प्लस’हरू जोडिदा प्रतिफल प्लस नै हुनुपर्ने हो । तर यहाँ किन ‘माइनस’ नै आइरहेछ ?े

युवासमूहका विभिन्न क्रियाकलापमा सक्रिय भएर लाग्ने केही युवाहरूसँग यसबारे उत्तर खोज्ने प्रयत्न गर्ने हो भने फरकफरक कारण बताइन्छन् । समयको क्रमिक विकाससँगसँगै अधिकांश मानिसहरूको (त्यसैले त युवाहरूको पनि) सोचाइ ‘व्यक्तिवादी’ बन्दै गइरहेको उनीहरूमध्ये धेरैजसोको ठम्याइ छ । “युवाहरू आफ्नो व्यक्तिगत विकासका लागि अधिकांशतः प्रतिबद्ध नै हुन्छन्, किनकी उनीहरूको आजको प्रयासले भोलिको आफ्नै जीवन उज्यालो बनाउने बाटो खोल्छ । जो पनि आफ्नो भविष्य उज्यालो नै भएको देख्न चाहन्छ ।” आफ्नो भविष्यप्रति आशावादी तर आफ्नो समूहप्रति निराश, तर पनि त्यसलाई आशामा बदल्न सक्रियतापूर्वक प्रयासरत युवा प्रतिनिधिले दिएको उत्तर हो यो । त्यस्तै हो भने समूहमा चाँहि निराशा कहाँबाट आउँछ त ? उनीहरूकै भनाइलाई मान्ने हो भने उनीहरूले समूहका लागि गरेको कामले थोरै व्यक्तिगत फाइदा मात्र नभई धेरै समूहगत फाइदा दिन्छ । अर्थात्, उनीहरूले गरेको कामको प्रतिफल अरूसँग पनि बाँड्नुपर्छ । (‘सेयर’ गर्नुपर्छ ।) अनि, आजको समाज व्यक्तिगत रूपमा बाँच्न चाहन्छ । के यो साँच्चै हो त ? हामी दिनानुदिन स्वार्थी बन्दै छौँ ?
गहिरिएर हेर्दा, युवाक्लबहरूको यो अवस्था देशको समग्र विकासक्रमसँग तुलनायोग्य छ । जीवनका चार–पाँच दशक पार गरिसकेका सर्वसाधारण जनतालाई उनीहरूले हिजो र आजका बीचमा देखेको फरक सोध्ने हो भने अधिकांशको निष्कर्ष यही हुन्छ कि व्यक्तिगत जीवनस्तर सबैको विकास भएको छ, समाज अनि देशको हालत भने जहाँको त्यही । विकास भएको छैन भनौँ भने अधिकांशको व्यक्तिगत जीवन दिन–प्रतिदिन प्रगतिको बाटोतर्फ उन्मुख छ, विकास भएको छ भनौँ भने देश हिजो जहाँ थियो, आज पनि त्यहीँ छ ! त्यसैले होला, हामी नेपाली ‘गरिब देशका धनी जनता’ कहलिएका ? राजनैतिक क्षेत्रमा हेर्ने हो भने पनि अधिकांश राजनेता र पार्टीहरूमा राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी भएको सर्वसाधारण जनताको आरोप छ । अर्थात्, देश चलाउनेहरूले पनि प्रतिफल आफूसँग मात्र राख्न चाहे, जनता र समग्र देशसँग फाइदा सेयर गर्न चाहेनन् र सकेनन् । फलतः आज देशको अवस्था हेर्दा अपवादलाई छोडेर कोही पनि आशावादी हुन सक्दैन ।

हो, देखिएको दृश्य यही हो । त्यसो भए समाधान के त ? (समस्याको मुस्लो मात्र देखाइदिएर पाठकहरूलाई झन् निराश बनाउने यस लेखको उद्देश्य पक्कै पनि होइन । बरु, विद्यमान निराशा कसरी कम गर्ने भन्नेतर्फ सबैको ध्यान तान्न खोजिएको हो ।) यस समस्याको सूत्रबद्ध समाधान सायद् छैन, किनभने यो समस्या कुनै भौतिक बेमेल होइन । यो त आधारभूत रूपमा सोचाइ, धारणा र भावना, अनि त्यसले निर्देशित गर्ने बोली र व्यवहारसँग जोडिएको छ । “समस्या सृष्टिमा होइन, दृष्टिमा छ ।” त्यसैले, यसको एक मात्र समाधान आन्तरिक चेतनाबोध नै हो ।
आज सबैले (विशेष गरी युवाहरूले, किनकी उनीहरू आफूलाई ‘परिवर्तनका संवाहक’ भन्न रचाउँछन्) बुझ्नुपरेको छ कि सँगै मिलेर आर्जिएको प्रतिफल सबैलाई बाँडेर उपभोग गर्नु नै प्राकृतिक र तर्कसङ्गत हुन्छ । अर्कातर्फ, आफूलाई मात्र फाइदा पुग्ने काम मात्र गर्ने हो भने त ढुङ्गे युगको मानव जीवन र कम्प्युटर युगको मानव जीवनबीच के फरक रहन्छ र ? अठारौँ शताब्दीका विश्वप्रसिद्ध राजनैतिक विचारक तथा ‘फ्रेन्च÷फ्रान्सेली राज्यक्रान्तिको बाइबल’ मानिने ‘द सोसियल कन्ट्राक्ट्’का लेखक रुसोले “मानिस प्राकृतिक अवस्थाबाट सामाजिक वा नागरिक अवस्थामा प्रवेश गर्दा सामाजिक वा सार्वजनिक चाहनाले व्यक्तिगत चाहनालाई विस्थापन गरेका छन्” भनेका छन् । के हामी सार्वजनिक काममा पनि व्यक्तिगत चाहनाको परिपूर्ति गर्न खोजेर पुनः प्राकृतिक अवस्था (हाम्रो भाषामा जङ्गली वा ढुङ्गे युग)मा फर्कन त खोजिरहेका छैनौँ ?
यसको अर्थ के पनि नलागोस् भने व्यक्तिगत इच्छा र चाहनाहरू महत्वहीन हुन्छन् । हो, आफ्ना लागि सबभन्दा महत्वपूर्ण त आफ्नो जीवन नै हुन्छ । आफू नबाँचीकन अरूलाई बँचाउन त कदापि पनि सकिदैन । तर पनि आफू सुखसँग बाँचेर आफ्नो बँचाइको खुसी अरूसँग साट्न त अवश्य सकिन्छ र साट्नुपर्छ पनि ।

गहिरिएरै हेर्ने हो आफूभित्रको समस्याको समाधान पनि आफूभित्रै पत्ता लगाउन सकिन्छ । आफैँभित्र उब्जिएको कालो बादलबीच आफ्नै आँखाले टल्किदो चाँदीको घेरा देख्न सक्छ । त्यसैले कुनै पनि समूह वा सङ्गठनमा आबद्ध पदाधिकारी वा सदस्यहरूले समूहको काम गर्दा आफ्नो समयको खर्चको नराम्रो पाटो मात्र नहेरी आफूसमेत संलग्न आम जनता वा लक्षित समूहको सार्वजनिक चाहना पूरा हुने प्रेरणादायी पक्षलाई पनि हेर्नु आवश्यक छ । जब कोही यस तथ्यलाई भित्रदेखि स्विकार्छ, ऊभित्र सम्बन्धित क्षेत्रमा सार्वजनिक इच्छा र हितको लागि काम गर्ने प्रेरणा र प्रतिबद्धता आफै जाग्छ । प्रतिबद्ध भइसकेपछि सङ्कल्पित कामलाई कसैले पनि रोक्न सक्दैन । अन्यथा, सार्वजनिक क्षेत्रमा कसैको दबाब वा करले सक्रिय बन्न कदापि सकिदैन, व्यक्तिगत रूपमा प्रतिबद्ध नभएसम्म ।
आशा गरोँ, अबदेखि मलगायत कसैले पनि चाँदीको घेरा देख्न नसकेकोमा पश्चाताप गर्दै पुनः यस्तो लेख लेख्नु नपरोस् । समयले कसैलाई पनि यस्तो मौका नदेओस् । आशावादका लागि सबैलाई शुभकामना !

No comments:

Post a Comment