Tuesday, November 22, 2011

‘एभरेस्ट विक्ली’का लागि गरिएको इन्टर्नसिप अनुभव

बिए तेस्रो वर्षको कार्यमूलक पत्र ‘नेपाली पत्रकारिता’ विषय अन्तर्गत गर्नुपर्ने प्रयोगात्मक अभ्यासका लागि साथीहरूबिच कार्य विभाजन गर्दा मैले हङ्कङ्बाट प्रकाशन हुने ‘एभरेस्ट विक्ली’ रोजेँ । यसका पछाडि मुख्यतः दुई कारणहरू थिए । प्रथमतः त्यो अन्तर्राष्ट्रिय स्तरको पत्रिका थियो । दोस्रो, म मेरा अन्य साथीका भन्दा फरक काम गर्न चाहान्थेँ, र यो प्रत्यक्ष समाचार लेखन नभई अनुवाद भएकाले अन्यको भन्दा फरक थियो । यसै कारण म घरमै काम गर्न सक्थेँ र यसलाई धेरैद्वारा सजिलो सोचिएको थियो ।
कक्षामा छलफल भएकै दिन बेलुका मैले एएफ्पीद्वारा तयार पारिएका १७ ओटा समाचार भएको फाइल पाएँ । अनि मेरो काम त्यसै दिन सुरु भयो । मैले त्यसै फाइलमा रहेको हङ्कङ्का आमाहरूका सन्तानप्रतिका अपेक्षाबारेको फिचरबाट काम सुरु गरेँ । अनुदित समाचार पठाएको केही दिनपछि २२ जुनको अङ्कको अन्तिम पेजमा उक्त समाचार प्रकाशित भए पनि मेरो नाम त्यसमा थिएन, तर पृष्ठ १०मा भने मेरो नाम सहितको अर्को समाचार प्रकाशन भयो । त्यसपछिका १० अङ्कसम्म मैले अनुवाद गरेका समाचारहरू प्रकाशित भइरहे । अझ कुनै अङ्कमा त दुई ओटा पनि प्रकाशन भएका छन् । समग्रमा १२ ओटा समाचारमा मैले ‘बाइलाइन’ पाएको छु भने त्योभन्दा बढी सङ्ख्यामा नाम बिना नै समाचार प्रकाशित भएका छन् । मैले उक्त १२ हप्ताको अवधिमा ५०भन्दा बढी समाचारहरू अनुवाद गरेँ ।
मैले अनुवाद गरेका समाचारहरू सबै अन्तर्राष्ट्रिय जगत्का थिए । तिनमा पनि विशेषतः आन्तरिक राजनीति, अन्तर्देशीय कुटनीति, चलचित्र र कलाकार, युद्ध र अपराधका बारेमा बढी समाचार आएका हुन्थे । यसले मेरो अन्तर्राष्ट्रिय समाचारप्रतिको रुचिलाई बढाएको थियो । सामान्यतया अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिप्रति म सतही रूपमा मात्रै भए पनि जानकार रहे पनि कलाकारितामा न मेरो कुनै ज्ञान थियो न त रुचि नै । त्यसैले ती क्षेत्रका समाचार अनुवाद गर्नु मेरा लागि चुनौतीपूर्ण हुन्थे, साथसाथै बढी चाखपूर्ण पनि । उदाहरणका लागि मष्तिष्कमा स्पष्ट तस्बिर नहुँदा दुई बलिउड नायिका क्याट्रिना र करिनाको नाममा म धेरै पटक झुक्किएँ ।  साथै पाश्चात्य मनोरञ्जन संसारका धेरै कलाकारको नामको सही उच्चारणमा मलाई धेरै पटक शङ्का लाग्यो ।
सुरुवाती हप्ताहरूमा मैले फिचरहरू बढी अनुवाद गरेँ भने पछिल्ला हप्ताहरूमा राजनीति, कुटनीति, युद्ध र आतङ्कका ‘हार्ड न्युज’हरू । कुनै चोटपटकका बेला अस्ट्रेलियाका ‘एब्ओरिजिनल’हरूले अपनाउने उपचार प्रविधि, चिनमा काठका कलाप्रतिको बढ्दो रुचि, दिमागका गतिविधि थाहा पाउन सक्ने प्रविधिको आविष्कार, जापानमा मनोरञ्जन व्यवसायमा संलग्न महिला ‘गेसा’हरूको पहिचानको सङ्घर्ष आदि केही चाखलाग्दा फिचरहरू आज पनि सम्झनामा जीवित छन् । यस्ता गतिविधिहरू नेपाली सञ्चार माध्यममा त्यति धेरै नआउने भएकाले नै पनि सदा चाखलाग्दा थिए र तिनीहरूबाट धेरै कुरा सिक्ने मौका पाइएको थियो । हार्ड न्युजहरू भने प्रायः सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा आइसकेका हुन्थे । तर पनि, आफैले गहिरिएर अध्ययन गर्दा भने थप जानकारी पनि प्राप्त हुने रहेछ ।
घरमै बसेर काम गर्न पाइए पनि सोचेजस्तो सजिलो भने अवश्य थिएन अनुवादको काम । दिइएको समय सीमा (डेडलाइन)लाई भ्याउनकै लागि दुई—तिन पटक मैले मध्य रातसम्म बस्नुपरेको छ । तर प्रायशः भने मेरो डेडलाइन शनिबार साँझ हुने हुँदा मलाई हल्का नै हुन्थ्यो, म शनिबारको बिदाको दिउँसोको समय यसमा प्रयोग गर्न पाउँथेँ । केही हप्ताका शनिबार त मलाई जागिर नै खाएजस्तो भएको थियो, कारण दिउँसोका केही घण्टा अनुवादका लागि भनेर पहिले नै छुट्टाइएका हुन्थे ।
समग्रमा भन्नुपर्दा, ती १२ हप्ता केही फरक र चुनौतीपूर्ण त थिए नै, त्यसभन्दा बढी सिकाइका लागि फलदायी र चाखलाग्दा थिए । त्यसमा संलग्न समयले मलाई पत्रकारिता क्षेत्रका सामथ्र्य र कमजोरीहरूलाई नजिकबाट नियाल्न मौका दिएको छ । ती दिनहरूले मलाई अवश्य नै पत्रकारितामा आफ्ना पाइला बढाउन थप प्रेरणा दिएको र सहयोग पु-याएको मैले महसुश गरेको छु ।

No comments:

Post a Comment