Monday, March 8, 2010

दिवसको सार्थकताका लागि

आज हामी सयौँ नारी दिवस मनाइरहेका छौँ । हामीले यस्ता विविध नामका दिवसहरू वर्षका धेरै दिनहरू मनाइरहेका हुन्छौँ । सायद् वर्षमा त्यस्तो दिन विरलै होला, जुन दिन कसैका लागि कुनै पनि क्षेत्रमा कुनै दिवस नपरेको होस् । 
मैले दिवस मनाउनै हुँदैन भन्न खोजको पनि होइन । हुन त दिवस मनाउदैमा केही हुने पनि होइन । खालि यी विशेष दिनहरूले केही सकारात्मक परिवर्तनका लागि विश्वले गरेको सकारात्मक प्रयासलाई सम्झाउने र त्यसैअनुसार अगाडि बढ्नका लागि हामीलाई प्रेरणा मात्र दिने हो । दिवसलाई यसै रूपमा बुझ्ने हो भने दिवस मनाउने केही हानि हुनेवाला छैन, सकारात्मक परिवर्तनका लागि नै बल पुग्नेछ । 
तर, आज आएर वास्तविकता अलि फरक भएको छ । दिवस दिवसका लागि मात्र मनाइने गरेको छ । कुनै एक दिन सम्बन्धित दिवस मनाइसकेपछि त्यसको सन्देशलाई ३६५ दिनपछि आउने अर्को वर्षको सोही दिवसमा मात्र सम्झिने गरेको पनि पाइन्छ । यसले नराम्रो त केही नगर्ला, तर राम्रो पनि केही गर्दैन । केही प्रभाव नपार्ने दिवस मनाउनुको के अर्थ हुन्छ र !
अब भने दिवस दिवसका लागि मात्र होइन, प्रतिबद्धता र प्रयासका लागि मनाउनुपर्ने बेला भएको छ । नारी दिवस पुरुषले ‘पुरुष दिवस खोइ त ?’ भनेर प्रश्न गर्ने दिन होइन, न त यो महिलाले ‘३६४ दिन पुरुषकै हो’ भनेर जवाफ दिने दिन हो । ३६५ दिन नै पुरष र महिलाका लागि बराबर महत्वपूर्ण छन् । ऐतिहासिक आधार लिएर मात्र मार्च ८ लाई नारी दिवस मानिएको हो । अतः यसको प्रयोग पुरुषविरोधी तर्कका लागि भन्दा पनि समतामूलक समाज बनाउने प्रयासका खातिर हुनुपर्दछ । 
सार्थक र उद्देश्यमूलक नारी दिवसका लागि सबै समानताप्रेमीहरूलाई शुभकामना ! 


No comments:

Post a Comment