Saturday, March 13, 2010

वसन्तलाई कुरिरहेछु

(मैले करिब एक वर्षअगाडि देशको सङक्रमणकालबारे लेखेको कविता ः)

वसन्तलाई कुरिरहेछु

म जनता,
हिजो र भोलिको सङ्घारमा उभिएर,
एउटा डरलाग्दो ठन्डीपछि आएको यो हावाहुरीका बीच,
वसन्तको प्रतीक्षामा निरन्तर हेरिरहेछु ।

हिजोको ठन्डीमा,
देशलाई अशान्ति र निरङ्कुशताको कुहिरोले ढाकेको बेला,
मैले बदलिन चाहेँ र देशलाई बदल्न चाहेँ ।
शानित, अधिकार र लोकतन्त्रसहितको न्यानो घाम चाहेँ ।
मैले कुहिरो र ठिहिरोबाट मुक्ति चाहेँ,
अनि मुक्तिका लागि सङ्घर्ष चाहेँ ।

त्यसपछि मैले सङ्घर्ष गरेँ,
देश बदल्ने अभियानमा अरूलाई साथ दिएँ ।
सबै मिलेर देश बदल्ने सङ्कल्प ग¥यौँ,
वसन्तलाई स्वागत गर्न तयार भयौँ ।

तर मैले धोका पाएँ,
वसन्तको सट्टा पट्यारलाग्दो हावाहुरी पाएँ,
पुनः म धुलोधुवाँमा फस्न पुगेँ,
मरुभूमिमा पस्न पुगेँ ।

ठन्डीलगत्तै वसन्त आउँदैन भन्ने मैले पनि बुझेँ,
बीचको सङ्क्रमणलाई मैले पनि भोगेँ ।
तर,
सङ्घारले नयाँ युगको सुरुवात गर्नुपर्ने,
आफैलाई अगाडि बढाउँदै गयो ।
नयाँ संसारलाई धकेल्दै गयो ।

सबैले सङ्क्रमण टुङ्ग्याउने भने,
नयाँ युग सुरुवात गर्ने भने,
वसन्तलाई बोलाउने भने,
मलाई खुसी बनाउने भने,
तर,
सङ्घारे आँधी दह्रो हुँदै गयो,
वसन्त अझ लखेटिदै गयो ।

त्यसैले म जहाँको त्यही रहेँ,
ठन्डीपछि मैले हुरी पाएँ,
पीडाको सट्टा पीडा,
दमनको सट्टा दमन र
युद्धको सट्टा अर्को युद्ध पाएँ ।
एउटा आशा पूरा नभई,
आशाको नयाँ संस्करण पाएँ ।

यद्यपि मेरो आशा मरेको छैन,
मैले सङ्घर्ष  छोडेको छैन,
मैले बाँच्न छोडेको छैन,
यही सङ्क्रमणमा उभिएरै पनि,
उज्यालो वसन्तलाई कुरिरहेछु ।
उज्यालो वसन्तलाई कुरिरहेछु ।
(२०६५÷९÷२३)





 

No comments:

Post a Comment