Saturday, March 6, 2010

सुखदुःख यस्तै हो साथी



आज म दिनभरि गतिशील युवामञ्च (डिफ्)को वार्षिक कार्यशाला तथा पुनर्गठन कार्यक्रममा व्यस्त भएँ ।
डिफ् — आजभन्दा करिब तीन वर्ष एक महिनाअगाडि म र मलगायत केही साथीहरू मिलेर बनाएको एउटा युवाक्लब । आज यो युवाक्लब होइन, युवासमूहको नेटवर्क भएको छ । सङ्ख्या उल्लेख्य नभएपनि यसमा करिब दस युवासमूहसदस्य छन् ।
क्लबहरूको सङ्ख्याकै कुरा गर्नुपर्दा स्थापनाको पहिलो वर्षमा, जतिबेला म सहसंयोजक थिए, चारओटा युवासमूह डिफ्ले खोल्यो । ती सबै समूहहरू स्कुलमा थिए । दोस्रो वर्षको कार्यकालमा म अध्यक्ष चुनिएँ र मेरै नेतृत्वमा क्लबको सङ्ख्या १४ पु¥याइयो । पोहोर माघमा पुनर्गठन हुँदा मलाई अध्यक्षताको निरन्तरताका लागि धेरै आन्तरिक र बाह्य दबाब भएपनि मैले मानिँन, मैले डिफ्को लागि आफ्नो समय दिलाउन सकिन । आज मैले मञ्चको कार्यकारी नेतृृत्व छोडेको १३ महिना भयो । तर आज म दुःखी भएँ कि कार्यक्रममा नौ ओटा क्लबको मात्र प्रतिनिधित्व भएको छ !
साथीहरूबाट धेरै गुनासा आए । वास्तवमा डिफ् अवधारणागत रूपमा स्वतन्त्र युवासंस्था भए पनि यसमा ‘दाताको प्रभाव’ प्रष्ट थियो र छ । सिविस नामको बालअधिकारवादी संस्थाले सेभ द चिल्ड्रेनको कोषद्वारा यसलाई आर्थिक सहयोग गरिरहेको छ । काम गर्दै जाँदा कहिलेकहिले सिविसले डिफ्लाई होइन कि डिफ्ले सिविसलाई सहयोग गरिरहेजस्तो देखिन लागेको छ । मैले अध्यक्ष र सल्लाहकारका रूपमा यो कुरा उठाउँदै आएको छु ।  आज भने सिविसका प्रतिनिधिले नै यो कुरालाई छलफलमा ल्याउनुभयो । चाहे सकारात्मक उद्देश्यले चेतावनीका रूपमा नै किन नहोस्, उक्त संस्थाले डिफ्लाई सिविसको युवाअङ्गका रूपमा विकास गर्ने प्रस्ताव ग¥यो । यसको कारणका पछाडि सदस्यता वृद्धिमा देखिएको असफलतालाई कारण देखायो । यसमा सबै प्रतिनिधि साथीहरूले विरोध जनाए र डिफ् स्वतन्त्र सञ्जालकै रूपमा अघि बढ्ने बताए । साथीहरूको एकता र प्रतिबद्धता मेरा लागि अत्यन्तै खुसीको कुरा थियो ।
यसबीचमा एक जना साथीले सदस्यता कम गर्नुमा डिफ्को मात्र नभएर सिविसको पनि दोष रहेको बताए । यसमा भने मलाई पनि बोल्न मन लाग्यो । डिफ् स्थापना हुँदाको र अघिल्ला दुई वर्षमा नेतृत्व गरेको हैसियतमा मैले बोलेँ । मैले डिफ् स्थापना गर्न र यसलाई अगाडि बढाउन सिविसले गरेको प्रयासलाई धन्यवाद दिएँ । साथसाथै, बालबालिकाहरू पढ्ने स्कुल र अनौपचारिक कक्षामा युवाक्लब खोल्ने सिविसको सुझावलाई अगाडि बढाएकोमा मैले गल्ती त पहिले नै महसुस गरिसकेको थिएँ । आज मैले सबै साथीहरूको अगाडि क्षमा मागेँ । मैरो भनाइपछि सबै साथीहरूले बजाएको तालीले मलाई माफ गरेजस्तो लाग्यो ।
साथै मैले सिविसको भगिनीसंस्थाभन्दा पनि स्वायत्त युवासंस्थाको रूपमा अगाडि बढाउन एक भएर सक्रियताका साथ लाग्न सबैलाई आग्रह गरेँ । यसो नभएमा डिफ्को स्वतन्त्र अस्तित्व नरहन सक्ने कुरालाई पनि सम्झाएँ ।
आखिर नयाँ कार्यसमिततिका लागि पुनर्गठन प्रक्रिया सुरु भयो, म निर्वाचन समितिमा थिएँ । एक पदबाहेक सबै पदमा निर्वििरोध भयो । नयाँ साथीहरूले सक्रियताका साथ सदस्यता वृद्धि र कार्यक्रमको सशक्तीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छन् । मैले सिविसले पुनः हस्तक्षेप गर्न नसक्ने तर सहयोग जारी राख्ने गरी कार्यक्रम गर्न सुझाव दिएको छु । हेरौँ के हुन्छ ?

No comments:

Post a Comment