Tuesday, March 23, 2010

चैते दसैँको शुभकामना !

आज चैते दसैँ हो । थाहा पाउनुभयो ?

दुई शब्दमध्ये दास्रो शब्द सुन्नेबित्तिकै प्रायः सबै नेपालीका कान ठाडा हुन्छन् । उनीहरू सबैको मष्तिष्कमा झिलीमिली, भव्यता र पारिवारिक मेलमिलापको याद आउँछ । तर ,यसमा ‘चैते’ विशेषण जोडिएर आउँदा भने त्यो सब झिलीमिली कतै छुटिसकेको हुनछ । असोज र चैतबीच किन यति धेरै भेदभाव ? झन्, चैत त ऋतुहरूको राजा मानिने वसन्तको समय होइन र ?

विगतका केही वर्षहरूदेखि त सरकारले पनि चैते दसैँमा सार्वजनिक बिदा दिन छाडिसकेको छ । आज कतिपय स्थानमा बिदा भए पनि धेरै कार्यालयहरू खुला नै छन् । तर, भोलिको दिनका लागि भने सरकारले उहिल्यै सार्वजनिक बिदाको घोषणा गरेको छ — रामनवमीको अवसरमा ।

यस्ता कारणहरूले गर्दा धेरै नेपालीहरूले चैते दसैँलाई बिर्सिसकेका हुन सक्छन् । ‘दसैँ’ शब्दले धेरैलाई यो पनि दशमीकै दिन पर्न जान्छ भन्ने भ्रम रहेको हुन सक्छ । त्यसैले त धेरैले रामनवमीको भोलिपल्ट चैते दसैँ सम्झन्छन् । असोजे दसैँलाई भने त्यति धेरै महत्व दिएर मनाउने हामी नेपालीले कि त चैते दसैँ पनि भव्यताका साथ मनाउनुपर्छ भन्ने मेरो विचार हो । होइन भने, यसको नाममा रहेको ‘दसैँ’ शब्द हटाइनुपर्छ । कि कसो त ?

तर, दुःखको कुरा चैते दसैँको पक्षमा वकालत गरिरहँदा म आफैँलाई पनि असोजे दसैँको जत्तिको ज्ञान छैन यसबारे । के गर्नु ? मेरो परिवार र समाजले पनि चैतलाई बडो भेदभावपूर्ण दृष्टिकोणले हेरेको छ  । मेरा लागि भने सबै महिना बराबर छन् है ! त्यसैले असोजे दसैँ मान्ने सबैलाई उनीहरूले सम्झिए पनि नसम्झिए पनि चैते दसैँको शुभकामना ।

No comments:

Post a Comment