Saturday, September 11, 2010

जागिर ः अनुभवीलाई मात्र !

निश्चित योग्यता हासिल गरिसकेपछि आफ्नो र आफ्नो योग्यताको मूल्य खोज्ने मनोवृत्ति आम मानिसमा हुँदो रहेछ । यसैअनुसार, आफूलाई आवश्यक होस् वा नहोस् वा नहोस््, म पत्रिकाका पेजहरूमा आवश्यकताका विज्ञापनहरू (Vacancy Announcements) हेर्ने गर्दछु, नियमित रूपमा । हो, मलाई अहिले कुनै त्यस्तो रोजगारीको आवश्यकता पनि छैन, न त जागिरे हुने रहर नै । विज्ञापनहरूमा आँखा डुलाउनुको मेरो उद्देश्य हुन्छ ः आफू कस्तो–कस्तो कामका लागि सक्षम भएछु भन्ने पहिचान गर्ने र यसको सहयोगमा आत्ममूल्याङ्कन गर्ने ।
शैक्षिक योग्यता, इच्छाशक्ति, चासोको विषय आदि विविध पूर्वसर्तहरू पूरा भएपनि एउटा सर्तले सधै मलाई अयोग्य बनाउने प्रयास गरिरहेको हुन्छ — कम्तीमा पनि ‘निश्चित’ वर्षको सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव । म र मजस्ता सयौँ युवायुवतीले अभिव्यक्त गरे वा नगरेपनि अनुभव गरेको र आफ्नो मनमा उठाउने गरेको प्रश्न के हो भने काम गर्ने अवसर नै नपाई अनुभव कहाँबाट आउने ? नयाँ व्यक्तिलाई पनि कामका लागि पुरानो अनुभव चाहिने रहेछ, यहाँ ! कामले अनुभव दिने हो कि अनुभवले काम ???
उत्तर दिन सायद् रोजगारदाताका प्रतिनिधिहरूलाई पनि गाह्रो पर्ला । यो कुरामा विवाद गर्न मिल्दैन कि अनुभवले कर्मचारीको सम्बन्धित क्षेत्रमा ज्ञान र दक्षता बढाउँछ । “पढेरभन्दा परेर जानिन्छ” भन्ने उखान त्यत्तिकै जनजिब्रोमा स्थापित भएको होइन । यो पनि प्रायशः सत्य नै हुने गरेको छ कि नवप्रवेशीभन्दा अनुभवीहरूले नै कुनै पनि संस्थालाई राम्रोसँग सञ्चालन गरी राम्रो नतिजा दिलाउन सक्छन् । तर पनि, मेरो प्रश्न कहाँनिर हो भने नयाँ व्यक्तिले काम गर्ने अवसर नै पाएनन् भने अनुभवी व्यक्ति कसरी विकास हुन सक्छ ? आजको अनुभवी पनि त हिजो त नयाँ नै थियो होला नि, होइन र ? उसले पनि जागिरका लागि अनुभवको योग्यता कुर्नुपरेको भए आज ऊ अनुभवी हुन्थ्यो होला र ? कि उसले ‘नवप्रवेशी’ हुनुभन्दा अगाडि नै ‘अनुभवी’को दर्जा अथवा प्रमाणपत्र पाइसकेको थियो ?
हाम्रो नेपालमा शिक्षसँगै व्यवसायिक अभ्यास (जस्तो अरू देशमा Internshipको प्रचलन छ) को खासै प्रचलन नै छैन । यदि सबै विद्यार्थीले कोर्स पूरा गर्न कार्यमूलक अभ्यास गर्नैपर्ने अनिवार्य व्यवस्था गर्ने हो भने उनीहरूले पढ्दापढ्दै छोटो अनुभव प्राप्त गरिसकेका हुन्थे । यहाँ त एउटा पत्रकारिताको विद्यार्थी क्लासरुमबाट सिधै न्युजरुममा जान्छ (यदि मौका पायो भने) र आफूले कक्षामा पढेको सिद्धान्त सम्झिदै कार्यक्षेत्रको वातावरणबाट डराएर भाग्न पुग्छ । अन्य सबै क्षेत्रमा सिधै अध्ययन बाट कार्यक्षेत्रमा हाम फाल्नेहरू आफूले कहिल्यै नसोचेको समस्याका अगाडि रन्थनिन पुग्छन् ।
अनुभवले काममा दक्षता दिने हो, तर काम दिन नै अनुभव खोज्नु प्रकृतिविपरीत हो । कार्य–कारणको प्राकृतिक नियममा अनुभव कार्य हो भने त्यसको कारण काम हो । प्रकृतिको स्वभाव कामले अनुभव दिने हो, न कि अनुभवले काम । जबसम्म अनुभवलाई जागिरको पूर्वसर्त मानिन्छ, तबसम्म अनुभवी व्यक्तिको सङ्ख्या दिनानुदिन घट्दै जान्छ, किनकी अनुभवी बन्नका लागि एक नयाँ व्यक्तिले पनि कार्यक्षेत्रभित्र पस्न पाउनुपर्छ । यही प्रचलन रहेसम्म, बरोजगार सधै बेरोजगार रहन्छन्, अनि रोजगारलाई रोजगारीको मारामार हुन्छ । कार्यक्षेत्रमा कर्मचारीको अभाव हुन्छ, अनि कार्यक्षेत्रभन्दा  बाहिर रहेकालाई कामको ।
आजका रोजगारदाताले चाहिँ कामको परिणाम अनुभव हो भन्ने प्राकृतिक सिद्धान्त नै नबुझेका हुन् कि ? अथवा उनीहरूले यसका विरुद्ध ‘अनुभवको परिणाम काम’को नयाँ सिद्धान्त प्रतिपादन गरेका हुन् ??

No comments:

Post a Comment