Sunday, September 5, 2010

अचेलको नाटक अभियान नयाँ ढङ्गमा

दिवाकर प्याकुरेल
कपन, २० भाद्र

विगत तीन वर्षअघि पशुपति क्षेत्रमा स्थापित अचेल नाट्यसमूहले नयाँ तरिकाबाट आफ्नो अभियानलाई अगाडि बढाएको छ । एकै दिन एउटै नाटक धेरै स्थानमा प्रदर्शन गरेर उसले यस्तो अभियान सुरु गरेको हो ।
गत भाद्र १९ गते उक्त समूहले गत भाद्र १९ गते शनिबार उक्त समूहले ‘कहिले बन्ला’ नामको नाटक काडमाडौँका छ स्थानमा प्रस्तुत ग¥यो । नाटक काठमाडौँको वसन्तपुर, रत्नपार्क, चाबहिल, गौशाला, पशुपति र जयवागेश्वरीमा उक्त नाटक देखाइएको हो ।
आयोजक समूहकी सञ्जिता पराजुलीका अनुसार नाटकले देशमा विद्यमान राजनीतिक गतिरोधलाई एउटा सर्वसाधारण घर, र त्यस घरका बालबालिकामा पर्न सक्ने असरलाई जोडेको छ । “बजारमा मट्टितेल छैन, चिनी छैन, पेट्रोल छैन । भए पनि भाउ आकासिएको छ । धारा छ पानी छैन । मोबाइल छ टावर टिप्दैन । संविधानसभाको निर्वाचन भएको २ वर्ष भयो संविधान बन्दैन । एउटा प्रधानमन्त्रीको चयन गर्न ३ महिना लाग्न लाइसक्यो । गाडीले पेटीमा हिँडिरहेको मान्छेलाई मार्छ । बालबालिका स्कुलबाटै अपहरण हुन्छन् । नेपाल बन्द, चक्काजामले बालबालिकाको स्कुल लाग्न पाउदैनन् । हाम्रो नाटकको विषयवस्तु यही हो ”, नाटकका निर्देशक अजित अर्यालले भने ।
अजित अर्यालको परिकल्पना तथा निर्देशनमा तयार भएको उक्त नाटकमा अजित अर्याल, सम्झना अधिकारी, अनिष राई र सञ्जिता पराजुलीको अभिनय थियो ।
अभिनयद्वारा चेतनाका लहरहरू (अचेल) युवाहरूकै सक्रियतामा करिब तीन वर्षअघि स्थापित नाट्यसमूह हो । यसले पुशुपति क्षेत्रमा नियमित रूपमा र विशेष अवसरमा छोटा नाटकहरू देखाउँदै आएको छ ।

No comments:

Post a Comment