यस पालिको दसैँले मज्जासँग मलाई विश्राम दियो, अन्य कुराहरूभन्दा महत्वपूर्ण हुने गरी । दसैँको सुरुवात हुनुभन्दा अगाडि म साह्रै व्यस्त थिएँ, आफू, आफ्नो परिवार तथा मेरा अन्य जिम्मेवारीसँग सम्बन्धित कामहरूले मेरो दैनिक तालिका पूर्वनिर्धारित हुन्थ्यो । अर्कातर्फ, सबै साथीहरू आआफ्ना काममा व्यस्त हुने भएकाले पनि म साथीहरूसँग घुलमिल गर्न पाउन्नथेँ ।
यो फुर्सदको समयमा मैले के गरेँ त ?
पहिलो — तेस्रो दिन
धार्मिक रूपमा बडा दसैँको पहिलो दिन घटस्थापना हो । मेरो दसैँ पनि यही दिन सुरु भयो, केही साथीहरूसँग काठमाडौँ उपत्यकाको केही बाहिर रहेको सुप्रसिद्ध ध्यान केन्द्र ओशो तपोवनको यात्रा गरेर । हुन त हामी त्यहाँ ध्यान गर्न गएका थिएनौँ, त्यहाँ रमाइलोका लागि गएका थियौँ । तर, अर्कातर्फ, त्यो ठाउँ रमाइलोका लागि छँदै थिएन । जे भए पनि त्यहाँका झरना, ओशो समाधि लगायतका स्थान हेरेर, अनि ध्यानका कोर्सहरूबारे जानकारी लिएर हामीले रमाइलो ग¥यौँ, साथमा त्यहीको शाकाहारी रेन्टुरेन्टको खाजा थियो । त्यसपछि एक घण्टाभन्दा बढी समय लगाएर बालाजुसम्म हिँडेर फर्कियौँ ।
अर्को दिन, मैले एक जना मेरो प्यारो साथीलाई सपिङ्को लागि साथ दिएँ । आंशिक रूपमा यो दसैँ सपिङ् भए पनि त्यसभन्दा महत्वपूर्ण केही अरू नै थियो । हामीले धेरै सपिङ् सेन्टरहरू चहा¥यौँ, धेरैमा “विन्डो सपिङ्” ग¥यौँ भने केहीबाट वास्तविक सपिङ् । खुब “मिठोसँग नाम राखिएको” एउटा रेस्टुरेन्टमा खाजा खाएपछि त्यो दिन सकियो । हुन त मेरो साथीले भनेअनुसार खाजा पनि त्यहाँको खुबै मिठो नै हो ।
तेस्रो दिन, मैले अरू दुई जना निकटतम मित्रहरूलाई सपिङ्को लागि साथ दिएँ । तर, हिजोको जस्तो रमाइलो भने भएन । केही न केही हामीबाट छुटेको थियो, अवश्य नै पर्याप्त समय !
चौथो — नवौँ दिन
दसैँ अझै पनि सकिएको छैन । सबै साथीहरू आआफ्नो परिवारमै रमाउन लागिसके, म अब के गर्ने होला ? फेरि म ताससास पनि त खेल्दिनँ । अब मलाई भने पूर्ण रूपमा फुर्सद भयो । मैले यसलाई पनि सकारात्मक रूपमा लिएँ — सङ्कल्प गरेँ म अब कसैका लागि केही गर्दिनँ । बरु म घरमै बस्नेछु । फलस्वरूप, मैले आमा र दिदीहरूलाई भान्छा तथा अन्य घरेलु काममा सिघाउने मौका पाएँ । त्यसैले त अचेल कान्छी दिदी मसँग मख्ख छे नि ! म पनि त धेरै खुसी भएको छु नि, मैले मेरा जीवनका लागि उत्तिकै महत्वपूर्ण धेरै सीपहरू सिक्न पाएको छु ।
मेरो यो क्रम (कृपया क्रम भन्नाले क्रमबद्ध र योजनाबद्ध कार्यक्रम नसम्झनुहोला । अरू कुनै उपयुक्त शब्द नपाएर मैले यो शब्द प्रयोग गरेको हुँ ।) दसैँको टिकाको अघिल्लो दिन महानवमीसम्म जारी रह्यो ।
दसौँ — बाह्रौँ दिन
यी तीन दिनहरू पूर्णतः परिवारका मान्यजनबाट टिकाजमरा लगाउन र आशीर्वाद थाप्नमा खर्च भए । सायद् यसलाई व्याख्या गर्नु पर्दैन होला । तपाईँलाई थाहा नै होला नि, हामी कसरी टिकाजमरा लगाउँछौँ ।
तेह्रौँ दिन
मैले मेरो जीवनमा अहिलेसम्मकै सबभन्दा गाह्रो शारीरिक श्रम गरेँ । के काम गरेँ, त्यो चाँहि ठ्याक्कै नभनौँ होला । केही कुरा त गोप्य नै राख्नुप¥यो नि ! त्यस गाह्रो श्रमको कारणले गर्दा मेरो हात यस्तोसँग दुख्यो कि म मध्यरातसम्म “ऐया ......... ऐया ...........” गरेर रुँदै थिएँ ।
चौधौँ दिन
मभन्दा ठ्याक्कै एक दिन जेठो साथीको जन्मदिन थियो त्यस दिन । उसले मलाई उसको बर्थ डे पाटीमा भाग लिन बोलाएको थियो । दुई जना साथीहरूसँग मिलेर म पनि त्यस पाटीमा सहभागी भएँ । एक्लो शाकाहारी भए पनि मलाई त्यहाँ रमाइलो नै भयो ।
पन्ध्रौँ दिन
सूर्यमासको क्यालेन्डरअनुसार आज मेरो जन्मदिन । मेरो परिवारमा, सूर्यमासीय जन्मदिनको त्यति महत्व हुँदैन, जति चन्द्रमासीय जन्मदिनको हुन्छ । (अर्थात्, मितिभन्दा तिथि महत्वपूर्ण हुन्छ ।) त्यसैले, परिवारका तर्फबाट मेरा लागि कुनै विशेष कार्यक्रम छैन । मैले फेसबुकमा, एस्एम्एस् र फोनमार्फत् “ह्याप्पी बर्थ डे” का शुभकामनाहरू पाएँ । मेरो आफ्नै तर्फबाट पनि कुनै उत्सवको कार्यक्रम छैन, किनभने मेरो कुनै योजना छैन । (भन्दिउँ न त) मैले योजना बनाउन भ्याइनँ । (हुन त कुनै योजना नै नभएको भने होइन, केही गर्न त खोजेकै हो । तर, यो योजना असफल भयो । कृपया त्यो के थियो नसोध्नुहोला । यदि सफल भएको भए म नसोधिकन नै बताइदिने थिएँ ।) त्यसैले म यहाँ घरमा एक्लै आनन्द गरिरहेको छु ।
दसैँलाई बिदा ! अर्को वर्ष भेटौँला ।