Friday, June 4, 2010

आत्महत्या !

गत मङ्गलबार बिहानै एउटा दुःखद समाचार सुन्नुप¥यो । हाम्रै कलेजमा एम्.ए. दोस्रो वर्षमा पढ्ने एक जना दिदीले आत्महत्या गरिन् रे ! आफूले व्यक्तिगत रूपमा नचिनेपनि मृत्युको खबरले मलाई सामान्यतः दुःखी नै बनाउँछ । त्यसमाथि, त्यस दिन त शोक कार्यक्रममा नै सहभागी हुने भएकाले दुःखी अनुभव गरि नै हालेँ । 
ती दिदीलाई मेरो पनि हार्दिक श्रद्धाञ्जली !
तर पनि, अब म चित्त नबुझेको कुरा सुनाउँदै छु । व्यक्तिगत रूपमा नै भन्ने हो भने मलाई आत्महत्याप्रति सकारात्मक सोचाइ कहिल्यै पनि आएन । मलाई पहिलेदेखि नै लाग्थ्यो, र अहिले पनि त्यत्तिकै रूपमा लाग्छ, कि आत्महत्या जीवनको लडाइँमा हार्नु हो । आत्महत्या गर्नेहरू कातर (Coward) हुन्, मेरो विचारमा । 
मलाई लाग्छ, मानिसले कुनै पनि अवस्थामा जीवनसँग सङ्घर्ष गर्न छोड्नुहुँदैन । बुझ्नुपर्ने कुरा के हो भने, आत्महत्याले आत्महत्यावालालाई समस्याबाट छुटाएपनि बाँचेकाहरूमा झन् शङ्का पैदा गर्न सक्छ । नेपाली समाजमा चलेको उखान, “मर्नुभन्दा बौलाहाउनु निको” वास्तवमै सही छ । 
होला, आत्महत्या गर्नेहरूका पनि गम्भीर कारणहरू होलान् । भन्नेहरू भन्लान्, बाँचन नसकेपछि के गर्ने त ? आत्महत्याका केही घटनाहरूलाई केलाउने हो भने के थाहा हुन्छ भने अधिकांश आत्महत्याहरू अन्तव्र्यक्ति, पारिवारिक तथा सामाजिक सम्बन्धको कारणबाट हुन्छन् । अनि, ती समस्याहरूको समाधान आत्महत्या हुँदै होइन । हामी, सजिलै (आत्महत्याको कठिनाइको तुलनामा) ती समस्याहरूबाट मुक्त हुन सक्छौँ । हामी, सजिलै ती समस्याग्रस्त वातावरणहरूबाट आफूलाई मुक्त गरिदिन सक्छौँ, जसले हामीलाई बाँच्न गाह्रो बनाउँछन् । आखिर हामी बाँचेको त एक्लै नै हो भने पछि जोडिएका सम्बन्धहरू तोड्न हामीलाई केको कठिनाइ ?
हो, मान्छे प्राकृतिक रूपमा सामाजिक प्राणी हो, र नितान्त एक्लो जीवन उसका लागि असम्भव छ । तर पनि मानिसलाई एउटा समाज पूर्णतः त्याग्न असम्भव पनि हुँदेन । तर पनि ऊ नयाँ सामाजिक सम्बन्धहरू स्थापना गर्न क्षमता राख्ने हुनाले आफूलाई मर्न बाध्य बनाउने परिवार, समाज वा वातावरण छोड्न उसले आँट गर्न सक्नुपर्छ । आखिर, हाम्रा पारिवारिक, सामाजिक सम्बन्धहरू हामी आफैँले स्थापना र विकास गरेको होइन र ? यदि  हो भने हामी फेरि पनि त्यो गर्न सकिहाल्छौँ नि !
त्यसकारण, आत्महत्या गर्नुअगाडि सबैले सोच्नुपर्छ — के मैले यो परिवार, समाजमा मात्र बाँच्न नसकेको हो कि, यो संसार नै मेरा लागि अयोग्य भएको हो । अधिकांशतः उक्त पहिलो विकल्प हुन्छ, जसको समाधान हामी निकाल्न सक्छौँ । 
आशा गरौँ, कसैले पनि आत्महत्या गरेको समाचार सुन्नु नपरोस् । 

No comments:

Post a Comment