Thursday, April 8, 2010

झन्डै अन्तर्राष्ट्रिय बेइज्जत



यो हप्ता म परीक्षामा व्यस्त भएँ । यस पटकको परीक्षाको अनुभव अन्य परीक्षाहरूभन्दा फरक भयो । विशेष गरी, 'History, Law, Ethics, and Management of Media' भन्ने विषयको परीक्षामा । 
त्यो विषयको परीक्षाभन्दा अगाडि म धेरै नै डराइरहेको थिएँ । मैले साथीहरूलाई के भनेको थिएँ भने, “कुनै चमत्कार भएन भने मेरो अन्तर्राष्ट्रिय बेइज्जत हुनेछ ।” मेरो बेइज्ज्त हुनबाट रोक्न, कि त प्रश्न सोधाइमा, कि त उत्तर लेखाइमा, कि त कापी जँचाइमा चमत्कार हुनुपथ्र्यो । परीक्षा हलमा पनि मैले एकदमै फुर्सदसँग लेखेँ । प्रश्न सजिलो भएर होइन, समय बढी भएर पनि होइन । लेख्नुपर्ने कुरा नै नभएपछि मैले फुर्सद पाएँ । 
हुन त, सरले सुरुमै भन्नुभएको थियो, “यो सब्जेक्ट गारो छ नि केटा हो । राम्रोसँग पढ नि ।” तर, मलाई भने सबभन्दा रमाइलो सरले पढाउने विषय सबभन्दा नरमाइलो लाग्न लाग्यो । हामीले मिडियाको विश्व इतिहासबाट कक्षा सुरु ग¥यौँ । मलाई इतिहास र भूगोल भनेपछि स्कुल पढ्दादेखि नै टाउको दुख्थ्यो । मलाई लाग्छ, अहिले हामीले पढेको तरिकाले इतिहास पढ्दा सूचना मात्र पाइन्छ, ज्ञान पाइन्न । हाम्रो कक्षामा पनि विभिन्न देशका मुख्य पत्रिका वा प्रसारण माध्यमको नाम, प्रकाशक/प्रसारक र मितिबाहेक केही थप जानकारी पाइएको थिएन । तिनीहरूमा बुझ्नुपर्ने भन्दा पनि थाहा पाउनुपर्ने कुरा थिए । अनि थाहा पाउनका लागि दिमागलाई जलाउने भन्दा पचास पटक घोकेर सम्झनुपर्ने थियो । त्यसै कारण, परीक्षाको अघिल्लो दिनअगाडि मैले गम्भीरतापूर्वक यो विषय पढ्दै पढेको थिइँन ।  
तर पनि म बेइज्जत हुनबाट बचेँ । हुन त माथि भनिएका तीन चमत्कारमध्ये दुई चरण पार भइसके, कुनै पनि चमत्कार नभइकन । अब तेसा्रे चरणमा पनि चमत्कार हुने सम्भावना देखिन्न । तर म किन बचेँ भने, कम तयारीका बाबजुत मैले परीक्षा त्यस्तो नराम्रो गरेको छैन । थाहा भएको सीमित सूचनाका आधारमा लम्ब्याई–लम्ब्याई उत्तर लेखेको छु । आशा छ, मैले यो विषयमा पनि झन्डै पहिलो श्रेणी भेट्ने छु । 

No comments:

Post a Comment