Friday, April 23, 2010

‘खरीको घेरो’ हेरेपछि

आज मैले गुरुकुल नाटकघरमा नेपाली भाषमा अनुदित ‘खरीको घेरो’ हेरेँ ।
वास्तमा यो नाटक गम्भीर अर्थपूर्ण र सँगसँगै अत्यधिक रमाइलो रहेछ । यसले दर्शकहरूलाई बुझाइ तथा रमाइलो दुबै दिएको छ । 
मैले बुझेसम्म नाटकका मुख्य सन्देशहरू मातृत्व, साहस, प्रेम तथा न्याय हुन् । राजा जयबहादुर मल्लको दरबारमा काम गर्ने गीता नै यस नाटककी वास्तविक नायिका (अथवा नायक) हो । उसले सेनाहरूद्वारा कुनै षड्यन्त्रका लागि खोजी भइरहेको राजकुमार मनोहरलाई बचाउँछे र हुर्काउँछे । गीताले ती सेनाहरूबाट आफूलाई र मनोहरलाई बचाउन गरेको सङ्घर्ष नै यस कथाको मुख्य र आधारभूत कथानक (Plot) हो ।  गीता, साँच्चै नै एक साहसी र मायालु महिला हो । नाटकको उत्तरार्धमा मात्र देखा पर्ने अक्कलबहादुर गीतापछिको दोस्रो प्रमुख पात्र हो । धेरै कमजोरीहरू भए पनि उसले नाटकको अन्त्यमा आफूलाई एक कुशल न्यायाधीशको रूपमा प्रस्तुत गरेको छ  । आर्थिक मामलामा ऊ अत्यन्त भ्रष्ट छ, मानिसहरू (विशेषतः महिलाहरू)सँग ऊ अत्यन्त रुखो बोलीव्यवहार गर्छ । उसलाई न त कानुनबारे केही ज्ञान छ, न त ऊ जान्न नै चाहन्छ । तैपनि, उसलाई लाग्छ, ऊ नै सम्पूर्णतः अदालत हो र आफूलाई जे मन लाग्यो, त्यसैअनुसार फैसला गर्छ । यति हुादाहुादै पनि, बालक मनोहर रानी वा गीता कसलाई दिने भनने सवालमा उसले उपयुुक्त र न्यायपूर्ण निर्णय गरेको छ । 
अत्यन्त महत्वपूर्ण सन्देश बोकेको मिठो गीतका साथ नाटकको अन्त्य हुन्छ, “गाडी — हाँक्नेको, बच्चा — पाल्नेको, जमिन — रोप्नेको, खेत — जोत्नेको ...” । नाटकमा देखाइएअनुसार, यो सिधा, सरल तर उपयुक्त र वस्तुगत सुत्र हो, न्याय सम्पादन तथा निर्णयका लागि । 

नाटकका धेरै दृश्यहरूमा दर्शकहरू आफ्नो हाँसो रोक्न सक्दैनन् । विशेष गरी राजाको भाइ, गीताका श्रीमान् तथा सासू, अक्कलबहादुर र केही सिपाहीहरूका अभिनय तथा संवादहरू धेरै हाँसोउठ्दा छन् । 
नाटकले कताकता केही त्यस्ता दृश्य तथा संवादहरू समेटेको छ, जो नेपाली समाजमा पारिवारिक जमघटका अगाडि “अर्ध–अश्लील” लाग्न सक्छन् । सिपाहीहरूको गीताप्रतिको व्यवहार, गीताका श्रीमान्ले नुहाएको दृश्य तथा बारम्बार देखिइरहने सिपाहीहरूका यौन–लक्षित मौखिक तथा व्यवहारगत सङ्केतहरू केही नेपालीहरूलाई नपच्न पनि सक्छन् । अर्कातर्फ, नाटकमा रानीलाई एक “निर्दयी आमा”को रूपमा प्रस्तुत गरिएको छ, जो आफ्नो सानो छोरोभन्दा पनि लुगाकपडा र श्रृङ्गारमा बढी ध्यान दिन्छे । 
बीचको दस मिनेटको मध्यान्तरसमेत नाटक दुई घण्टा दस मिनेटभन्दा बढी लामो छ । नाटक बेलुका साढे पाँच बजेपछि मात्र सुरु हुने भएकाले सकिँदा झन्डै आठ बज्छ । समयको यस्तो बाध्यताले गर्दा नाटक हेर्न एकदमै उत्सुक मानिसहरू पनि आउन नसकेको कुरालाई आयोजकले बुझेको हुनपर्छ । यदि नाटक केही छिटै सुरु हुने भइदिएको भए, वा केही छोटो भइदिएको भए, अझ धेरै मानिसहरूले यसको आनन्द लिने थिए । 



No comments:

Post a Comment