Tuesday, June 22, 2010

अक्षरको डर

सबै विद्यार्थीहरूमा परीक्षा दिइसकेपछि नतिजा नआउन्जेलसम्म डर हुने गर्छ । हुन त मलाई अरू साधारण विद्यार्थीहरूको जस्तो धेरै डर त हुँदैन । तर पनि, नतिजा आउन लाग्यो भन्नेबित्तिकै एउटा किसिमको डर भने आइहाल्छ । अक्षरको डर । न परीक्षकले मेरो अक्षर नै बुझेन कि ?

मैले बाल्यकालदेखि नै धेरै कुरा सुनेको छु, राम्रा अक्षर कस्ता हुनुपर्छ भनेर । मैले व्यक्तिगत रूपमा अक्षर नराम्रो भएकै कारणले आजसम्म कुनै निर्णायक परीक्षामै असफल हुनुपरेको त छैन, तर आन्तरिक परीक्षाहरूमा परीक्षकको मप्रतिको पहिलो कमेन्ट हुन्छ, “कस्तो नराम्रो अक्षर !”, “यदि तिम्रा अक्षर राम्रा भइदिएका भए ...”, “मैले तिम्रो ५ अङ्क घटाइदिएँ किनकी ...”, "You have so terrible handwriting" आदिआदि । 
एक जना सरले केही समयअघि भन्नुभयो, “हेर भाइ, तिमीले आफ्नो अक्षर सुधार है । नत्र पछि तिमीले दुःख पाउछौ ।” मेरा लागि यस्ता सुझाव कुनै नयाँ थिएनन्, त्यसैले त सजिलै भनिदिएँ, “ह्या.... । आजसम्म चलिरहेको छ । चल्दै जान्छ । जे होला होला ।” यो कुरा सुनेपछि सरले भन्नुभएको अर्को कुरा भने अलि गम्भीर नै थियो । “तिमीलाई थाहा छ कि छैन, मानिसले लेख्ने अक्षरले उसको मनोवैज्ञानिक अवस्था (Psychological state) बताइरहेको हुन्छ । तिमी आफ्नो अक्षर जस्ता हुन् वास्ता गर्दैनौ भन्नुको अर्थ हो, तिमी आफ्नो जीवन पनि जता जान्छ, जाओस् भन्ठान्छौ । खासै वास्ता राख्दैनौ आफैप्रति ।” मैले यो कुरामा सहमति जनाउन त सकिनँ नै, न त विरोध नै गर्ने हिम्मत गरेँ । 
एक जना म्याडम हुनुहुन्छ । प्रत्येक परीक्षाको नतिजा आएपछि मलाई भन्नुहुन्छ, “तिमी आफूले पढाइमा खर्च गर्ने कुल समयको २५ प्रतिशत अक्षर सुधार्न खर्च गर । क, ख, ग, घ, A, B, C, D देखि नै सुरु गर ।” कक्षाका साथीहरूबीच म हाँसोको पात्र हुन्छु । तर पनि अहँ म त्यहाँ केही गर्न सक्ने अवस्थामा हुन्न । 
बेलाबेलामा शिक्षकहरूबीच विद्यार्थीको प्रस्तुतिबारे छलफल हुन्छ रे । अरू साथीहरूका विविध पक्षमा कुरा हुन्छन् रे । तर मेरा बारे सरम्याडमले के भन्नुहुन्छ त ? अवश्य पनि मलाई यसमा चासो हुने नै भयो । अप्रत्यक्ष रूपमा यो कुरा थाहा पाउन म विविध प्रश्न सोध्छु । फेरि पनि मेरो अरू कुनै पक्षभन्दा पनि त्यही विषयको चर्चा हुन्छ, “यसको अक्षर राम्रो छैन । बुझ्न गाह्रो छ ।” 
केही दिनअघि मैले एक पुस्तकमा पढेँ “अक्षराणी बाटुलानी, घनानी र पृथक्पृथक् ।” अर्थात्, अक्षरहरू बाटुला, बाक्ला र फरकफरक छुट्याएर लेख्नुपर्छ रे । मैले त्यही भनाइलाई उद्धरण गरेर फेसबुकमा स्याटस लेखेँ र थपेँ “अब मैले के गर्ने होला ?” एक जना दाइले मेरो अक्षरलाई नै पनि राम्रो नै भनिदिनुभयो (सायद् उहाँको मेरोभन्दा पनि नराम्रो भएर हो कि ?) । अर्को एक साथीले “नानीदेखि लागेको बानी छुटाउन गाह्रो पर्ला । बरु पढ्नेले नै अक्षर बुझ्ने बानी विकास गर्नुपर्ला” भन्ने विचार राख्नुभयो । अर्को एक साथीले, “मानिस सबै पक्षमा पूर्ण हुने नभएकाले” चित्त बुझाउन सुझाव दिनुभयो । अरू केही फुटकर कमेन्ट पनि आए । 
हुन त मैले सधै चित्त बुझाउँदै आइरहेको छु । तर, मैले आजसम्म पनि अक्षर सुधार्न आएका अनगन्ती सुझावहरूलाई गम्भीर रूपमा लिएकै छैन । न त कहिल्यै अक्षर सुधार्ने प्रयास नै गरेको छु, न त अक्षर नराम्रो हुँदा मेरो जीवन नै बर्बाद हुन्छ भन्ने लागेको छ । 
तर पनि, अहिले पनि म डरमा छु । परीक्षा दिएर नतिजा कुरेर बसिरहेको बेला म सोचिरहेको छु, “कतै परीक्षार्थीले मेरो अक्षर बुझेन भने र त्यसकै कारणले म फेल भएँ भने कसैले आश्चर्य नमाने हुन्छ ।”




Friday, June 4, 2010

आत्महत्या !

गत मङ्गलबार बिहानै एउटा दुःखद समाचार सुन्नुप¥यो । हाम्रै कलेजमा एम्.ए. दोस्रो वर्षमा पढ्ने एक जना दिदीले आत्महत्या गरिन् रे ! आफूले व्यक्तिगत रूपमा नचिनेपनि मृत्युको खबरले मलाई सामान्यतः दुःखी नै बनाउँछ । त्यसमाथि, त्यस दिन त शोक कार्यक्रममा नै सहभागी हुने भएकाले दुःखी अनुभव गरि नै हालेँ । 
ती दिदीलाई मेरो पनि हार्दिक श्रद्धाञ्जली !
तर पनि, अब म चित्त नबुझेको कुरा सुनाउँदै छु । व्यक्तिगत रूपमा नै भन्ने हो भने मलाई आत्महत्याप्रति सकारात्मक सोचाइ कहिल्यै पनि आएन । मलाई पहिलेदेखि नै लाग्थ्यो, र अहिले पनि त्यत्तिकै रूपमा लाग्छ, कि आत्महत्या जीवनको लडाइँमा हार्नु हो । आत्महत्या गर्नेहरू कातर (Coward) हुन्, मेरो विचारमा । 
मलाई लाग्छ, मानिसले कुनै पनि अवस्थामा जीवनसँग सङ्घर्ष गर्न छोड्नुहुँदैन । बुझ्नुपर्ने कुरा के हो भने, आत्महत्याले आत्महत्यावालालाई समस्याबाट छुटाएपनि बाँचेकाहरूमा झन् शङ्का पैदा गर्न सक्छ । नेपाली समाजमा चलेको उखान, “मर्नुभन्दा बौलाहाउनु निको” वास्तवमै सही छ । 
होला, आत्महत्या गर्नेहरूका पनि गम्भीर कारणहरू होलान् । भन्नेहरू भन्लान्, बाँचन नसकेपछि के गर्ने त ? आत्महत्याका केही घटनाहरूलाई केलाउने हो भने के थाहा हुन्छ भने अधिकांश आत्महत्याहरू अन्तव्र्यक्ति, पारिवारिक तथा सामाजिक सम्बन्धको कारणबाट हुन्छन् । अनि, ती समस्याहरूको समाधान आत्महत्या हुँदै होइन । हामी, सजिलै (आत्महत्याको कठिनाइको तुलनामा) ती समस्याहरूबाट मुक्त हुन सक्छौँ । हामी, सजिलै ती समस्याग्रस्त वातावरणहरूबाट आफूलाई मुक्त गरिदिन सक्छौँ, जसले हामीलाई बाँच्न गाह्रो बनाउँछन् । आखिर हामी बाँचेको त एक्लै नै हो भने पछि जोडिएका सम्बन्धहरू तोड्न हामीलाई केको कठिनाइ ?
हो, मान्छे प्राकृतिक रूपमा सामाजिक प्राणी हो, र नितान्त एक्लो जीवन उसका लागि असम्भव छ । तर पनि मानिसलाई एउटा समाज पूर्णतः त्याग्न असम्भव पनि हुँदेन । तर पनि ऊ नयाँ सामाजिक सम्बन्धहरू स्थापना गर्न क्षमता राख्ने हुनाले आफूलाई मर्न बाध्य बनाउने परिवार, समाज वा वातावरण छोड्न उसले आँट गर्न सक्नुपर्छ । आखिर, हाम्रा पारिवारिक, सामाजिक सम्बन्धहरू हामी आफैँले स्थापना र विकास गरेको होइन र ? यदि  हो भने हामी फेरि पनि त्यो गर्न सकिहाल्छौँ नि !
त्यसकारण, आत्महत्या गर्नुअगाडि सबैले सोच्नुपर्छ — के मैले यो परिवार, समाजमा मात्र बाँच्न नसकेको हो कि, यो संसार नै मेरा लागि अयोग्य भएको हो । अधिकांशतः उक्त पहिलो विकल्प हुन्छ, जसको समाधान हामी निकाल्न सक्छौँ । 
आशा गरौँ, कसैले पनि आत्महत्या गरेको समाचार सुन्नु नपरोस् ।