रामकृष्ण दुवाल (२००७, कीर्तिपुर, काठमाडौँ) एक सुपरिचित गीत–सङ्गीतकर्मी हुनुहुन्छ । राष्ट्र र जनताको सर्वोत्तम हितमा गाइएका ‘गाउँ–गाउँबाट उठ!’ जस्ता गीतमा पनि उहाँ संलग्न हुनुहुन्छ । यसबाहेक उहाँले .................. लगायतका बालबालिकालाई सन्देश दिने गीतहरूमा सङ्गीत दिनुभएको छ । उहाँका अनुसार उहाँले बालबालिकाका लागि गाइएका यस्ता ५०–६० जति गीतमा सङ्गीत दिनुभएको छ भने केही लेख्नु र गाउनुभएको पनि छ । सङ्गीत, सािहत्य र संस्कृतिबाहेक उहाँ आदिवासी–जनजातिका भाषा र पहिचानसम्बन्धी आन्दोलनमा पनि निरन्तर सक्रिय हुनुहुन्छ । सामाजिक र राष्ट्रिय महत्व भएका यी क्षेत्रहरूमा उल्लेखनीय योगदान दिनुभएकामा उहाँ विभिन्न संस्थाहरूबाट स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरमा सम्मानित र पुरस्कृत हुनुहुन्छ । ‘हाम्रो आँगन’का लागि गरिएको कुराकानीमा उहाँले बालापनको अनुभवसँगै बालगीतका विभिन्न पक्षहरूबारे पनि चर्चा गर्नुभएको छ । आजसम्म पनि बालबालिकाका लागि गीत लेख्ने, सङ्गीत भर्ने र गाउने काममा सक्रिय दुवालका बालापनका अनुभव यस पालीको ‘बाल्यकालका कुरा’मा प्रस्तुत गरिएको छ ।
बाल्यकाललाई सम्झँदा
मेरो जन्म २००७ साल असार महिनामा भएको हो । म हाल बसिरहेको पाँगा, कीर्तिपुरस्थित घर नै मेरो जन्मघर हो । आमा पूर्णकुमारी र बुबा रामप्रसाद दुवालका छोराछोरीहरूमध्ये म पाचौँ हुँ । मेरा दुई दाजु सानैमा बित्नुभएको हो । यसबाहेक मेरा बाआमाबाट दुई दिदी र एक बहिनी जन्मनुभएको छ । मेरो परिवार पुख्र्यौली रूपमा सम्पन्न भए पनि म जन्मिएको समयमा भने हाम्रा्े परिवार ‘सर्वहारा’ (बाँच्नका लागि पूर्णतः श्रममा निर्भर र उत्पादनका साधनहरूमाथि नियन्त्रण नभएको) भइसकेको थियो । हातमुख जोड्नका लागि समस्या नै थियो । हाम्रो परिवार पहिलेदेखि नै कीर्तिपुरमै बस्दै आएको रहेछ ।
त्यति बेला खासै स्कुलहरू थिएनन् । स्कुल नभए पनि छ–सात वर्षको हुँदा मलाई काकाले घरमै पढाउन सुरु गर्नुभएको हो । उहाँसँग दुई वर्ष पढेपछि म तत्कालीन जलविनायक आधार हाई स्कुलमा भर्ना भएँ, (जसलाई आज जनसेवा उच्च मा.वि.का नामले चिनिन्छ) । मेरो पढाइ खासै राम्रो पनि थिएन, नराम्रो पनि थिएन । म विद्यालयमा मध्यम तहको विद्यार्थी थिएँ । त्यति बेलाको पढाइ पूर्णतः घोकन्ते थियो । जसले बढी घोक्न सक्थ्यो, उसले बढी पढ्न सक्थ्यो । पाठ्यक्रम पनि निश्चित थिएन, न त पाठ्यपुस्तक नै थिए । शिक्षकले जे सिकाउन उपयुक्त ठान्थे, हामीलाई त्यही सिकाउँथे ।
कक्षा एक र दूईमा साधारण नेपाली मात्र पढाइन्थ्यो । क, खका सादा अक्षरदेखि क्य, ख्यजस्ता जोडिएका गाह्रा अक्षरका पनि बाह्रखरी पढ्न लगाइन्थ्यो । त्यति जानेपछि हिसाबको सामान्य जोडघटाउ सिकाउन सुरु गरिन्थ्यो । अङ्ग्रेजीको पढाइ त कक्षा छदेखि मात्र सुरु हुन्थ्यो । मैले पढेको विद्यालय प्राविधिक स्कुल थियो । प्राविधिक भन्नाले आजको जस्तो नयाँनयाँ वैज्ञानिक प्रविधि थिएनन् । सिकर्मी, डकर्मीजस्ता कामहरू सिकाइन्थे । त्यति बेला घर बनाउन जान्नु नै प्राविधिक हुनु थियो ।
स्कुलमा पढाइका बाहेक अन्य कार्यक्रम केही पनि हुँदैनथे । खेलकुद त हाम्रो दैनिकीमा थिएन । न त हामीलाई घरमा खेल्ने वातावरण थियो, न त स्कुलमा । स्कुलमा खेलकुदका नाममा ब्याडमिन्टन र क्यारम थिए । यद्यपि हामी गोठालो जाँदा कहिलेकाँही साथीहरू मिलेर कपडा, बोरा आदिबाट बल÷भकुन्डो बनाउँथ्यौँ र खेल्थ्यौँ । कहिलेकाँही ठुलाहरूले दिए भने फुटबल पनि खेल्थ्यौँ । आजको जस्तो रबरको बल खेल्नु भनेको त हाम्रो जमानामा कहाँ हो कहाँ !
हाम्रो नेवारी बस्तीमा पनि दसैँ–तिहार त भव्यताका साथ मनाइन्थ्यो नै । अझ यसभन्दा पनि भव्य र विशेष रूपमा विभिन्न जात्राहरू मनाइन्थे । हामी गाईजात्रा, बखुमर, सिठीजस्ता चाडपर्वका जात्राहरूमा हामी खुब मज्जा लिन्थ्यौँ । चाडपर्व आउन लागेको थाहा पाउनेबित्तिकै अब सो पर्व आउन कति दिन बाँकी छ भनेर औँला भाँची दिन गनेर बस्थ्यौँ । चाडपर्व सुरु हुनुअघिको अर्को पक्ष पनि रमाइलो छ । हामी त्यो समयमा साथीहरूसँग उधारोमा गुच्चाजस्ता खेलहरू खेल्थ्यौँ । अर्थात्, चाडपर्वको समय आएपछि तिर्ने सर्तमा पुष्टकारी, गुच्चा आदिको बाजी लगाउँथ्यौँ । ‘डाफा’ संस्कृति हाम्रो दैनिकीको अर्को महत्वपूर्ण पक्ष थियो । प्रत्येक बिहान टोलटोलका पाटीहरूमा एउटा विशेष प्रकारको नाचगान हुन्थ्यो, जसलाई हामी डाफा भन्थ्यौँ । अझ चाडबाड र जात्राका समयमा त डाफाको भव्यता झन् बढ्थ्यो । डाफा लोकशास्त्रमा आधारित एक सांस्कृतिक पद्धति हो ।
डाफाको नाचगानमा ठुला मानिसहरूले नाचेको देख्दा हामी पनि त्यसको नक्कल गरेर नाच्ने प्रयास गथ्यौँ । त्यसमा केही गल्ती भए उहाँहरूले हामीलाई सच्याइदिनुहुन्थ्यो । यति हुँदाहुँदै पनि ती वयष्क मानिसहरूमा बालबालिकाहरूलाई पनि यस्तो नाचगान सिकाउनुपर्छ भन्ने चिन्तन नै थिएन । यसकारण, हामी भने यो नाच सिक्न औपचारिक रूपमा पाउँदैनथ्यौँ । अर्कातर्फ, ‘दुवाल’ थर नेवारहरूभित्र पनि उच्च जातिको मानिन्छ । त्यहाँ डाफा सिक्ने क्रममा ढोगभेट गर्नुपथ्र्याे, जसका लागि हामी दुवाल थर भएकालाई अनुमति थिएन । त्यसैले त झन् मैले त डाफामा भाग लिन पाउँदै पाइँन । घरभित्रको ‘आँगो’ भन्ने विशेष स्थानमा हुने नियमित पूजा मैले बाल्यकालमा भोगेको संस्कृतिको अर्को महत्वपूर्ण पक्ष हो ।
सैद्धान्तिक रूपमा बालअधिकार कसैलाई पनि थाहा थिएन त्यति बेला । न त बालबालिका, न त अभिभावकलाई नै बालबालिकाको विकासका लागि उनीहरूले अधिकार पाउनुपर्छ भन्ने कुराको ज्ञान थियो । पढाइका नाममा सामान्य जोडघटाउ जानेपछि काम गर्नुपर्ने बाध्यता हुन्थ्यो । कोही बालबालिकाले आर्थिक कारणले काम गर्नुपथ्र्यो त कोहीले सामाजिक कारणले । तर, कुनैकुनै घरमा भने ‘पढाउनुपर्छ’ र ‘पढ्नुपर्छ’ भन्ने धारण पनि रहेको थियो । मेरा बाआमाको पनि छोरालाई पढाउनुपर्छ भन्ने विचार थियो । तर पनि छोरीहरूलाई पढाउने कुरा भने कसैले सोच्दैनथ्यो ।
स्कुलमा पढाइबाहेक कुनै पनि अतिरिक्त क्रियाकलाप हुँदैनथे । शिक्षकहरू सबै हाम्रो गाउँभन्दा बाहिरका भएकाले उनीहरूलाई बिहान समयमा स्कुल आइपुग्न र बेलुका घर फर्कन नै हतार हुन्थ्यो । विद्यार्थीहरूलाई खेलाउने र अन्य किसिमका प्रतिभा देखाउने अवसर दिलाउने समय उहाँहरूसँग कहाँ हुन्थ्यो र !
अर्कातर्फ हामी बालबालिका पनि नियमित विद्यालय जादैनथ्यौँ । त्यति बेलाको समयमा पढेर बचेको समयमा काम गर्ने होइन कि, काम गरेर बचेको समयमा पढ्ने धारणा र चलन विद्यमान थियो ।
मेरो दाजुभाइ म सानै छँदा बितिसक्नुभएको थियो । दिदीबहिनीहरूसँग मेरो राम्रो सम्बन्ध थियो । हाम्रो कहिल्यै पनि झगडा भएन । म दिदीहरूको चित्त दुखाउँदैनथेँ । अझ म दिदीहरूको चित्त दुखाउन चाहदैनथेँ । मभन्दा करिब पाँच–छ वर्ष कान्छी बहिनी छिन् । उसँग भने म पनि साथीजस्तै व्यवहार गर्थेँ । हामी सँगै खेल्थ्यौँ । हामी दुबै जना हामीभन्दा २०–२५ वर्ष जेठी दुई जना दिदीहरूलाई अभिभावकजस्तै मान्थ्यौँ । आजसम्म पनि हामी दिदीको कुरा काट्दैनौँ ।
म सानो छँदा मेरो बासँग त्यति कुरा हुन्नथ्यो । पहिलो कुरा त बाको स्वभाव नै कम बोल्ने थियो । दोस्रो कुरा उहाँ धेरै टाढा काम गर्न जानुहुन्थ्यो । मेरो बाले पहिले सिकर्मी र पछि जागिरेको काम गर्नुभयो । यसकाराण बासँग हामीसँग कुरा गर्ने समय नै थिएन । बाल्यकालको यस बानीले म ठुलो हुँदासम्म पनि बासँग कमै बोलेँ । आमासँग भने निर्धक्क कुरा हुन्थ्यो । आमाको माध्यमबाट नै बासँग कुरा पु¥याइन्थ्यो ।
तैपनि बालापन रमाइलोमै बित्यो । गोठालो जाँदा होस् वा घरमा, साथीहरू साथमै हुन्थे र सँगै भएपछि रमाइलो हुन्थ्यो । विशेष गरी मसँग मसमेत तीन जनाको समूह थियो । अहिले गैरआवासीय नेपाली सङ्घ (एन्आर्एन्)का सल्लाहकार डा. देवकाजी डङ्गोल र नेपाल तथा नेपाली भाषाका साहित्यकार नजरराम महर्जन मेरा सबभन्दा नजिकका साथी थिए । डङ्गोल पढ्नमा चलाक थिए, हामी ‘तिमी पछि डाक्टर बन्छौ’ भन्थ्यौँ । महर्जनलाई लेख्ने बानीमा रमाइलो लाग्थ्यो, हामी ‘तिमी पछि लेखक बन्छौ’ भन्थ्यौँ । मलाई भने पढाइ र लेखाइभन्दा पनि गाउन, बजाउन र नाँच्न बढी रुचि थियो । उनीहरू मलाई ‘तिमी कलाकार बन्छौ’ भन्थे । आखिर भविष्यमा त तीनै जनाका लागि गरिएको भविष्यवाणी मिल्यो ।
त्यति बेला म करिब आठ–नौ वर्षको थिएँ होला । दसैँको बेला थियो । टोलका सबैले नयाँ लुगा सिलाइसकेका थिए । मेरो लुगा सिउन बाँकी नै थियो, कारण बाले काम गरेको ठाउँबाट पैसा पाइसक्नुभएको थिएन । सबैको तयारी सकिदा पनि पैसा नआएपछि बा फूलपातीको दिन बिहान साहुको घर वसन्तपुर जाने हुनुभयो । म पनि बासँगै जाने भएँ । खाली खुट्टा वसन्तपुरमा पुग्दा मलाई सबभन्दा नरमाइलो अनुभव भयो । म लुगा लाउन पाउँछु कि पाउँदिन भन्ने द्विविधा र डरले पिरोलिरह्यो । लुगा लाउन नपाए दसैँभरि घरबाट बाहिर ननिस्कने विचार आयो । पछि साहुले केही पैसा दिए । हामी तयारी लुगा किन्न मङ्गलबजारतर्फ लाग्यौँ । मङ्गलबजार नपुग्दासम्म मन शान्त भएन । त्यहाँ तयारी कमिज–सुरुवाल र जुत्ता किनेपछि मात्र म ढुक्क भएँ । बिहान जाँदा मनभरि चिन्ता लिएर गएको म फर्कदा त नयाँ योजनाहरूको साथमा थिएँ । एक छिन नरमाइलो भए पनि अन्त्यमा त मज्जा नै आयो नि !
हरेक साल साउनमा मेरा मामा हरिगोविन्द श्रेष्ठको बाको जन्मदिन मनाइन्थ्यो । मामाले सबैलाई ‘समय्बजि’ बाँड्नुहुन्थ्यो । केटाकेटीका लागि भने उहाँ एउटा रमाइलो खेल खेलाउनुहुन्थ्यो । बीचमा एउटा पुष्टकारी राखेर दुई दिशाबाट दुई जनालाई दौडन लगाइन्थ्यो । एक पटक मैले पनि दौडेर पुष्टकारी जितेको थिएँ । मामाले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई चिन्नुभएको थियो । मैले पुष्टकारी जितेको दिन पनि देवकोटा त्यही हुनुहुन्थ्यो । तर, हामी उहाँलाई चिन्दैनथ्यौँ । मैले जितेपछि नचिनेका देवकोटाले मलाई धाप मारेर, “केटाले भविष्यमा केही गर्छ” भन्नुभएको थियो । पछि उहाँ को भनेर सोध्दा मामाले “यी त कवि बाजे हुन् । ठुला मान्छे हुन्” भन्नुभयो । देवकोटा मन्त्री पदबाट हटिसकेको र उहाँको मृत्युअगाडिको यो घटना २०१५–१६ को हुनुपर्छ ।
मैले बाल्यकालमा कोही विशेष व्यक्तिबाट विशेष रूपमा प्रेरण पाएँ भने त्यो मेरो बा नै हुनुहुन्थ्यो । हुन त मैले उहाँको कुनै गुणको पनि प्रत्यक्ष अनुशरण गरेको छैन । तर पनि, उहाँका भनाइहरूले मलाइ प्रेरणा दिए । बा भन्नुहुन्थ्यो, “मैले कमाएको सम्पत्ति तेरो होइन । तेरा लागि तँ आफैले केही गर्नुपर्छ ।” उहाँको यस भनाइले मलाई आफ्नै मिमित्त केही गर्ने भावना जाग्यो । गीतसङ्गीतका लागि भने मलाई माथि भनिएको डाफा संस्कृतिले नै विशेष प्रेरणा दियो । डाफा सङ्गीत सुनेर अरुको नक्कल गर्दा अरुले मेरो प्रशंसा गर्थे । अरुको सकारात्मक प्रतिक्रियाले मलाई थप सिक्न उत्सुक बनायो । पछि मैले सङ्गीतका ज्ञाता मास्टर सुकरामलाई गुरु मानेर उहाँसँग सङ्गीत सिकेँ ।
‘ठुलाले लेख्ने बालगीत होइन’
बालगीत भनेको बालबालिकाहरू स्वयंले आफ्ना मनका कुराहरू व्यक्त गरी लेखेको र लेख्ने गीत हो । ठुला मानिसहरूले बालबालिकाका लागि लेखेको गीत बालगीत होइन । यसलाई बालबालिकालाई सन्देश दिने गीत वा उनीहरूलाई मार्गनिर्देश दिने गीत मात्र मान्न सकिन्छ । बालकको मनस्थितिलाई सन्तुलित राख्नका लागि हो, बालगीतको आवश्यकता भएको । यसले उनीहरूको दिमाग सधै ताजा बनाउँछ । अर्कातर्फ यसले उनीहरूलाई आफ्नो करा निर्धक्क भन्ने वातावरण बनाउँछ । बालबालिकाको अभिव्यक्ति क्षमता बढाउन बालगीत महत्वपूर्ण हुन सक्छ ।
तर, बालबालिका आफै बालगीत रचनाका लागि सक्षम बन्न सजिलो छैन । यसका लागि ठुलाले अभिप्रेरित गर्नुपर्छ । यसमा पनि शिक्षकशिक्षिकाको भूमिका अझ बढी महत्वपूर्ण छ । जस्तो, एउटा शिक्षकले आफ्नो विद्यार्थीलाई ‘आफूले घरमा गर्ने कामको बारे लेखेर ल्याउनू’ भन्न सक्छ । विद्यार्थीले कथा, निबन्ध, कविता, वा गीत — जुनसुकै रूप पनि दिन सक्छ । यसरी लेख्दा थाहा नपाईकन नै बालबालिकाले आफ्ना विचार, समस्या र समग्रमा आफ्नो मनस्थिति अभिव्यक्त गर्छन् । शिक्षकले सम्भव भएसम्म विद्यार्थीहरूसँग व्यक्तिगत रूपमै अन्तक्र्रिया र कुराकानी गर्नुपर्छ । अनि उसलाई आफ्नो समस्या अभिव्यक्त गर्न प्रोत्साहन गर्नुपर्छ । बालगीत वा जुनसुकै सिर्जनाका विधाका लागि पनि अभिव्यक्ति मुख्य आधार हो ।
यसबाहेक बालबालिकालाई बालगीत नै सिकाउने हो भने केही थप कुरामा पनि ध्यान दिनुपर्छ । सिकाउने शिक्षक बालकजस्तै भइदिनुपर्छ । त्यही समयमा उसले बालबालिकालाई राम्रोसँग व्यवहार गर्न सक्नुपर्छ । साधारण सङ्गीतसम्बन्धी ज्ञान पनि भएको हुनुपर्छ । विचार गर्नुपर्ने अझ महत्वपूर्ण कुरा के हो भने सिकाइका क्रममा कहिल्यै पनि जबर्जस्ती गर्नु हुँदैन । बालको गलाले भ्याउने स्वर मात्र, उनीहरूको दिमागले भ्याउने ताल मात्र र शरीरले थेग्न सक्ने मुद्रा मात्र सिकाउनुपर्छ ।
नेपालमा बालगीतको अवस्था बिस्तारै राम्रो हुँदै छ । अचेल त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले पनि बालबालिकाको विकासमा ध्यान दिएका छन् । तर, उनीहरू सबैको नपाली भाषामा मात्र ध्यान केन्द्रित भएका छन् । नेपालमा त धेरै भाषहरू बोलिन्छन् । नेपालीबाहेकका अन्य भाषामा बालसाहित्यको अवसथा करिब शून्यबराबर नै छ । हामीले यसको विकासमा पनि ध्यान दिनुपर्छ । अरु भाषा बोल्ने बालबालिकाले पनि त आफ्नो कुरा अभिव्यक्त गर्ने उपयुक्त वातावरण त पाउनुप¥यो नि !
म बालबालिकाको लागि लेखिने गीतको क्षेत्रमा लाग्नुको प्रसङ्ग पनि छुट्टै छ । वि.सं २०२२मा रेडियो नेपालले ‘जीवनदबु’ नामको नेवारी कार्यक्रम बन्द ग¥यो । यसको विरोधमा कविकेशरी चित्तधर हृदय, गीतकार दुर्गालाल श्रेष्ठ लगायतका व्यक्तिहरूको नेतृत्वमा आन्दोलन चल्यो । यो अभियानमा म पनि सामेल भएँ । पछि हुँदै जाँदा मलाई ठुलाहरूले ठुलाहरूको मात्र कुरा हुने हुँदा बालबालिकाको लागि छुट्टै अभियान आवश्यक भएकोजस्तो लाग्यो । यसका लागि हामीले वि.सं. २०२६मा एउटा साहित्य सम्मेलन ग¥यौँ । यस सम्मेलनमा बालबालिकाका लागि लेखिने धेरै साहित्यिक रचनाहरू प्रस्तुत भए । यसपछि पनि मलाई बालबालिकाका लागि पढ्ने सामग्रीहरू कम भएजस्तो लागिरह्यो । यही कमीलाई परिपूर्ति गर्न म केही साथीहरूसँग बालबालिकाका लागि गीत लेख्ने काममा लागिरहेँ । मलाई आज पनि बालबालिकाका लागि पर्याप्त सामग्री छैनन् जस्तो लाग्छ ।
शुभकामना सन्देश
बालकको बालापन उसको परिवार कस्तो छ, त्यसमा भर पर्छ । उसलाई हुर्काउने परिवारले जे सिकायो, त्यो बालक त्यस्तै हुन्छ । यस कारण, म फेरि बालक बन्न पाए कस्तो बन्थेँ भन्ने कुरा म अहिले सोच्न सक्दिन । यो कुरा बालकको आफ्नो इच्छाभन्दा पनि परिवारको भूमिकामा बढी निर्भर हुन्छ । तापनि, मलाई आजका बालबालिका हाम्रा् जमानाका बालबालिकाजस्ता कमजोर छैनन् जस्तो लाग्छ । उनीहरू हरेक पक्षमा सक्षम छन् । खालि, उनीहरूलाई कस्तो शिक्षादीक्षा दिने भन्ने योजना बनाउनुपर्ने छ । देशलाई आवश्यक जनशक्ति तयार हुने गरी बालबालिकालाई शिक्षित गर्नुपर्छ । अनि मात्र, उनीहरूले देश बनाउन सक्छन् र हाम्रो देशको भविष्य राम्रो बन्न सक्छ ।
यस ‘हाम्रो आँगन’ पत्रिकाले पनि बालबालिकाको जीवनमा सार्थकता र सिर्जनात्मकता बढाउने सामग्री देओस् । ‘हाम्रा् आँगन’जस्ता सबै बालबालिकाले के बुझ्नुपर्छ भने बालपत्रिका बालक आफैँ किन्न सक्दैन र हाम्रो समाजमा बालबालिकालाई अभिभावकले प्रायः पत्रिका किनिदिदैनन् । बालपत्रिकाका सामग्रीले अब अभिभावक र बालबालिका दुबैलाई चेतना बोध गराउनुपर्ने छ । ‘हाम्रो आँगन’ बालबालिकाले पढ्नुपर्ने र अभिभावकले पढाउनुपर्ने सामग्रीको रूपमा अगाडि बढोस् ।
२०६६/१२/२९
diwapyak@gmail.com