Friday, December 23, 2011

‘पागल बस्ती’ पढेर सरुभक्तलाई भेट्दा


प्रतीक्षाको फल
गत वर्ष साउनमा लमजुङ् यात्राका क्रममा रुबिना (श्रेष्ठ) दिदीलाई नजिकबाट चिनेपछि उहाँसँग अनलाइन कुराकानीको क्रम बढ्दै गएको थियो । कुराकानीका क्रममा साहित्यका प्रसङ्ग आउने बित्तिकै उहाँ मलाई सरुभक्तको ‘पागल बस्ती’ पढ्न सिफारिस गर्नुहुन्थ्यो । “बरु किताब किन्न मन नलागे मैरै दिउँला, पढेर फिर्ता गर्नू”, एक दिन उहाँले भन्नुभयो । त्यसबिच मैले केही पटक उहाँसँग त्यो पुस्तक मागेँ । उहाँले सायद् त्योभन्दा धेरै पटक मेरा नाममा त्यो पुस्तक पठाउनुभो होला । तर मेरा हातमा उहाँको त्यो पुस्तक गत कार्तिक ७ गते मात्र आइपुग्यो, चेतना (तुलाचन)जी मार्फत् । (फिर्ता चै गरेको छैन है अझैसम्म पनि !)
‘पागल बस्ती’लाई मैले ‘पढ्न सिफारिस गरिएका पुस्तकहरू’को सूचीमा गत वर्ष नै राखेको थिएँ, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’सँगै । हुन त म पढ्न चाहेर पनि आजसम्म पढ्ने बानी विकास गर्न नसकेको मान्छे भन्छु आफूलाई । ‘जीवन काँडा कि फूल’लाई आफ्नै गतिमा पढिसकेर पर्ल एस् बक्को ‘द गुड अर्थ’ भ्याउँदासम्म भने मलाई मैले पढ्ने अर्को पुस्तक छान्न हतार भइसकेको थियो । यसबिचमै अनपेक्षित रूपमा ‘पागल बस्ती’ हात प-यो ।

Tuesday, November 22, 2011

‘एभरेस्ट विक्ली’का लागि गरिएको इन्टर्नसिप अनुभव

बिए तेस्रो वर्षको कार्यमूलक पत्र ‘नेपाली पत्रकारिता’ विषय अन्तर्गत गर्नुपर्ने प्रयोगात्मक अभ्यासका लागि साथीहरूबिच कार्य विभाजन गर्दा मैले हङ्कङ्बाट प्रकाशन हुने ‘एभरेस्ट विक्ली’ रोजेँ । यसका पछाडि मुख्यतः दुई कारणहरू थिए । प्रथमतः त्यो अन्तर्राष्ट्रिय स्तरको पत्रिका थियो । दोस्रो, म मेरा अन्य साथीका भन्दा फरक काम गर्न चाहान्थेँ, र यो प्रत्यक्ष समाचार लेखन नभई अनुवाद भएकाले अन्यको भन्दा फरक थियो । यसै कारण म घरमै काम गर्न सक्थेँ र यसलाई धेरैद्वारा सजिलो सोचिएको थियो ।

Wednesday, November 2, 2011

पुरा हुन नसकेको रहर

यस पालिको तिहार भर्खर सकियो । तर अबको एक वर्षसम्म म भने तिहार कहिले आउला भनेर कुरी बस्न बाध्य भएको छु । कारण, यो तिहारले ममा देउसीभैलोप्रतिको आकर्षणलाई पुनर्जीवन दिएको छ ।
देउसीभैलोमा मेरो सहभागिताका यादहरू सम्झनामा अझै स्पष्ट छन् । विसं २०५८भन्दा अगाडि हाम्रो परिवार काभ्रे, पात्लेखेतमा बस्थ्यो । हाम्रो गाउँतिर औँसी ÷ लक्ष्मीपुजाको साँझ र राति केटीहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भैली ÷ भैलो भनिन्थ्यो । त्यसको भोलिपल्टको साँझ र राति केटाहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भने देउसी भनिन्थ्यो । सहरबजारको जस्तो बाह्य गीतमा नाचगान प्रस्तुत हुँदैनथे । भैलोमा “भैलिनी आइन् आँगन” शैलीका केही गीतका साथमा एकले भट्याउँदा सबैले “भैलिनी” भन्ने प्रचलन थियो । देउसी भने जहिले र जहाँ पनि “ए, भन मेरा भाइ हो — देउसिरे”बाट सुरु भएर भट्याउनेले केही सदावहार र केही परिस्थितिजन्य पदावली भन्दा अरुले “देउसिरे” भनेर सकिन्थ्यो ।
त्यस प्रकारको देउसीमा म एक रात मज्जासँग सहभागी भएको छु । भाइटिकाको अघिल्लो साँझदेखि भाइटिकाको दिन बिहान करिब आठ बजेसम्म हामी चारपाँच जनाले मट्टितेलको भाँडोमा कपडाको झुम्रो बालेर वरिपरिका टोल चहारेका थियौँ । जे होस्, रमाइलो भएको थियो । त्यसभन्दा अगाडि, उमेर अझ सानै भएको अवस्थामा नजिकका दुईतिन साथीसँग आफ्नै टोलमा ख्यालख्यालमा देउसी खेलेको पनि अलिअलि याद छ ।

आधुनिकताबिच देउसीको परम्परा

तिहार भन्नेबित्तिकै सम्झिइने कुराहरूमध्ये देउसीभैलो पनि एक प्रमुख पक्ष हो । सेलरोटी, फुलमाला र झिलिमिली बत्तीका बिच ‘देउसिरे’को सङ्गीत — दाजुभाइ र दिदीबहिनीबिच प्रेम र आत्मीयता बाहेक तिहारको सबभन्दा महत्वपूर्ण तत्व सायद् यही नै हो ।
हुन त देउसीभैलोको प्रचलन कुन समयमा, कोबाट, कसरी र केका लागि सुरु भयो भन्ने सम्बन्धमा मलाई पर्याप्त जानकारी छैन । भैली गीतका बिचमा धेरैले “हामी त्यसै आएनौँ, बलि राजाले पठाए”  भन्ने गाएको सुनिन्छ । बलि राजाले केका लागि पठाएका थिए कुन्नि ! सायद् आजको युगसम्म आइपुग्दा देउसीभैलोको महत्व र आवश्यकतामा पनि परिवर्तन आइसकेको छ ।
अचेलका देउसीभैलो मुख्यतः दुई कारणबाट सञ्चालन हुने गरेको पाइएको छ । प्रथमतः चाडपर्वको रमाइलोलाई यसले थप उत्सवमय बनाउँछ, साथीभाइको जमघटसँगै टोलछिमेक घुमेर सबैसँग चाडपर्वको शुभकामना साट्ने अवसर दिलाउँछ । अर्को पक्ष भने देउसीभैलो मार्फत् अर्थ सङ्कलनको अभियान हो, जुन समाजका विभिन्न पक्षबाट यदाकदा आलोचित पनि छ । अनौपचारिक रूपमा जम्मा भएको समूहभन्दा पनि औपचारिक रूपमा सङ्गठित सामाजिक (विशेषतः गैर नाफामूलक) समूह र संस्थाहरूले देउसीमार्फत् आफ्नो आर्थिक कोष उकास्ने गरेको पाइन्छ । यसलाई कतिपयले संस्कृतिका नाममा विकृति भिœयाएको, जबर्जस्ती चन्दा सङ्कलन गरेकोजस्ता आरोप लगाउने गरेको पाइन्छ । यद्यपि व्यक्तिगत रूपमा म भने त्यस्तो विरोधको औचित्य देख्दिनँ । यदि कसैले परम्परागत संस्कृतिको एक अभ्यासलाई आफ्नो उद्देश्य प्राप्तिका लागि सिर्जनात्मक प्रयोग गर्न सक्छ भने के आपत्ति ? तर चासो यतिमात्र हो कि त्यसले कुनै पनि मानिसलाई इच्छा विपरीत कुनै क्रियाकलापमा सहभाग िनगराओस् । अझ प्रष्ट शब्दमा भन्दा दाताको इच्छा नभईकन पैसा उठाउने प्रवृत्ति भने स्थापित हुनु हुँदैन भन्ने कुरामा हामी सचेत हुनुपर्छ ।

Sunday, May 29, 2011

भुलक्कड भएछु !

आजभन्दा केही महिनाअघिसम्म म मेरी एक जना निकटतम साथीलाई उसको भुलक्कडपनाको सन्दर्भमा व्यङ्ग्य गर्थेँ, “मोबाइलमा मात्र मेमोरी कार्ड भएर हुँदैन क्या । त्यो तिम्रो माइन्डमा पनि हुनुपर्छ ।” अचेल पनि ऊ मौका प¥यो कि जिस्काउँछे, “तिमी त ठुलो क्षमताको मेमोरी कार्ड भएको मान्छे !” तर, अचेल मेरो हालखबर भने बेग्लै छ ।

करिब एक हप्ताअगाडि लेख्न सुरु गरेको यो सामग्रीको दोस्रो अनुच्छेद लेख्ने साइत बल्ल आज जुरेको छ । कारण, म भुलक्कड भएछु । आज पुनः उही साथीसँग फोनमा कुरा गर्दा उसले त्यही डाइलग पेलेपछि मात्र मैले म मेरो भुलक्कडपनाबारे लेख्दै थिएँ भन्ने सम्झेँ ।

हो, म कुनै रङ्गीचङ्गी बनावटी गफ दिँदै छैन । बाले “थाहा पाइने गरी आँखा कमजोर हुँदै गए” भनेजस्तै म पनि ‘थाहा पाइने गरी’ भुलक्कड भएको महसुस गरेको छु मैले । यहाँसम्म कि, आज कुन बार हो भन्ने बिर्सिदा अस्तिको हप्ता म दुई दुई पटक तिनछक परेँ ।

कुनै जमाना थियो, म धेरैका लागि विभिन्न खाले तथ्याङ्कहरूको स्टोर हाउस वा डाटाबेस थिएँ । ‘तिम्रो र मेरो भेट पहिलो चोटि साँच्ची कहिले भएको हो दिवाकर ?”, धेरै साथीहरू सोध्थे । “गिरिजाप्रसाद मरेको मिति भन् त !”, बा भन्नुहुन्थ्यो । “सिडिओ पिट्ने राज्यमन्त्रीको पोर्टफोलियो के थियो रे ?”, अर्को साथी सोध्थ्यो । “मलाई घानाको राजधानी कुन हो, एस्एम्एस् गरिदेऊ त !”, अर्कीले भन्थी । “त्यो कार्यक्रममा कति जना आएका थिए रे ?’, अर्को प्रश्न आउँथ्यो । उनीहरू सबैका लागि म ती र त्यस्ता धेरै प्रश्नहरूको उत्तर भएको किताब वा हार्ड डिस्क हुन्थेँ । (हुन त यहाँ उल्लिखित सबै प्रश्नको उत्तर म आज पनि दिन सुक्छु है !) कुनै मित्रले कुनै समयमा मैले विभिन्न सन्दर्भका मितिहरू बताइदिँदा “यी मान्छे त क्यालेन्डर नै र’छन् नि” भनेको मलाई अद्यापि सम्झना छ । हुन त आज पनि मेरा केही सहपाठीहरू मलाई “मिस्टर् गुगल्”को सम्बोधन दिन्छन् । तर मलाई अचेल त्यो मात्र व्यङ्ग्य लाग्न लागेको छ, जसले मलाई कताकता चसक्क पार्छ ।

यो यो सामान किन्छु भनेर पसल गयो, फर्किदा एक दुई ओटा सामान छुट्ने । साथीले त्यो कापी ल्याइदे न है भनेर फोन गर्छ, भोलिपल्ट कलेज हिँड्ने बेला भुसुक्कै । अब हुँदाहुँदा दारी काटेको र नुहाएको कहिले हो र कति दिन भयो बिर्सिसकेपछि, अब फेरि यी काम कहिले गर्नुपर्ने हो, सम्झना कसरी हुनु र ! (नित्तान्त व्यक्तिगत कुरा — सायद् मैले यहाँ खुलाउनुहुँदैनथ्यो कि ?)

तर पनि म डराएको चै पटक्कै छैन है । मलाई यो भुलक्कडपना कुनै स्थायी रोग वा कमजोरी चै लागेको छैन । हुन सक्छ, मेरो दिमाग अचेल ओभरलोडेड भएको छ । हुन सक्छ, म कुनै तत्कालीन चिन्ताको सिकार भएको छु । हुन सक्छ, यो बढ्दो व्यस्तताको अस्थायी प्रभाव हो । यो पनि हुन सक्छ कि, कहिलेकाँहि यस्तो हुनु सामान्य, प्राकृतिक र नियमित मानव स्वभाव हो । अर्कातर्फ आफ्नो भुलक्कड बानीले धेरै दुःख पाएका धेरै मानिसहरू मैले भेटेको छु । म त्यतिसम्म डरलाग्दो भइसकेको छैन र त उनीहरूलाई हेरेर चित्त बुझाइरहेको छु । तर, संयोगवश मेरो भुलक्कडपना बढ्दै गयो भने .......... ! ओहो, त्यस्तो दुर्घटनाको कल्पना पनि नगरौँ यहाँ । ................ ह्या ........, म यसलाई कन्ट्रोल गर्न सकिहाल्छु नि जब आवश्यकता महसुस हुन्छ ।

मानव स्मरण प्रणालीलाई भर्चुअल मेमोरी कार्डसँग तुलना गर्दै मैले एक दिन फेसबुकमा ‘मेन्टल मेमोरी कार्ड’ रिफ्रेस गर्नुपर्ने आवश्यकता महसुस गरेको स्ट्याटस लेखेँ । त्यसमा कमेन्ट गर्ने धेरै साथीहरूले रिफ्रेस गरेर मात्र नपुग्ने, फम्र्याट् नै गर्नुपर्ने आवश्यकता सुझाए । तर, भनेजस्तो सजिलो कहाँ छ र मित्र, मेन्टल मेमोरी कार्ड फम्र्याट् गर्न ! मिल्ने भए त म फम्र्याट् मात्र के, पुराना सूचनाहरूलाई ड्याङ्ड्याङ् ब्याक्अप् डिस्क्मा थन्काइदिएर करेन्ट मेमोरी स्पेसियस (Spacious) बनाइहाल्थेँ नि ! मान्छे सर्वश्रेष्ठ प्राणी भन्छन् । सर्वश्रेष्ठ प्राणीलाई त प्रकृतिले सूचना भण्डारणको स्थायी क्षमता दिएको छैन भने अरु प्राणीको हालत के होला । बिचरा !

हो, मष्तिष्क व्यवस्थापन (Mind Management) साह्रै कठिन कार्य हो । तर पनि, म अचेल कसरी आफ्नै सोचाइलाई व्यवस्थित पार्न सकिन्छ भनेर सोच्दै छु, ता कि त्यहाँको अव्यवस्थाले मेरो स्मरण प्रणालीलाई भद्रगोल हुने गरी नखल्बल्याओस् ।

अचेल मलाई ‘मिस्टर् गुगल्’ र ‘तिमी त ठुलो क्षमताको मेमोरी कार्ड भएको मान्छे’जस्ता सम्बोधनले मेरा विगत र वर्तमानलाई तुलना गर्न बाध्य बनाउँछन् । तुलना गर्दा प्रायशः वर्तमानलाई कमजोर पाउने गरेको छु । तर पनि, केही समयपछि नै पुनः ती सम्बोधनले मलाई मेरो स्मरण शक्तिमा गौरवान्वित र मख्ख बनाउनेछन् भन्ने आशामा बाँचेको छु ।

Monday, January 31, 2011

विद्यार्थी सङ्गठन र परीक्षा अनुभव

त्रिवि परीक्षा प्रणालीको अव्यवस्थाले मलाई पनि छोयो यस पालि ।
गत साउनमै हाम्रो बिए दोस्रो वर्षको कक्षा सकियो । त्यसपछि कलेजले हाम्रो एक पटक आन्तरिक परीक्षा लियो, अनि छाडिदियो । हामी घरमा परीक्षाको तालिका कहिले आउँछ भनेर कुरिबस्न बाध्य भयौँ ।
हुन त दोस्रो वर्षको कक्षा सुरु हुने बेला पोहोर माघ महिनामा हामीले धेरैको मुखबाट अब चाँही परीक्षाहरू पूर्वनिर्धारित समयमा नै हुन्छन् रे भन्ने सुनेका थियौँ । यसअनुसार हाम्रो दोस्रो वर्षको परीक्षा ढिलोमा पनि दसैँअगाडि सकिनुपर्ने थियो । हाम्रो र अन्य निजी कलेजहरूको पढाइको रफ्तार हेर्दा भदौमा परीक्षा गर्न विद्यार्थी र कलेजहरूको तर्फबाट कुनै समस्या पनि थिएन । तर, हाम्रो आशा त्यति बेला निराश भयो, जब साउनको अन्त्यमा तेस्रो वर्षको परीक्षा भईसक्दा पनि दोस्रो वर्षको लागि तालिका प्रकाशन भएन । भदौँको मध्यसम्म पनि तालिका प्रकाशित नभएपछि हामी कार्तिकअगाडि परीक्षा नहुने कुरामा ढुक्क भयौँ, किनभने तालिका प्रकाशन र परीक्षा सञ्चालनको समयबीच कम्तीमा पनि एक महिना ग्याप हुनुपर्छ रे । एक महिनाअगाडि नै दसैँ सुरु हुने थियो, अनि दसैँ र तिहारको बीचमा परीक्षा सञ्चालन हुने कुरो नै थिएन । अनि, तिहार सकिँदा कार्तिक पनि सकिएको हुन्थ्यो । तालिका सार्वजनिक हुनुअगाडि एक पटक सरसर्ती सकिइसकेको कोर्स पढ्न न त विद्यार्थीलाई जाँगर चल्यो, न त कलेजले नै रिभिजन क्लासको व्यवस्था गर्न सके ।
असोज १८ गते तालिका प्रकाशन भयो । यो दिनसम्म आइपुग्दा दसैँ सुरु हुन मात्र चार दिन बाँकी थियो । उक्त तालिका अनुसार मङ्सिर १६ गतेदेखि परीक्षा सुरु हुने थियो । मेरा आफ्ना विषयहरूको कुरा गर्नुपर्दा बीचबीचमा असन्तुलित ग्यापका साथ पुस ११ गते परीक्षा सकिने थियो । सायद्, परीक्षा तालिका आएपछि सबै विद्यार्थीहरूलाई जबर्जस्ती भए पनि पढ्न मन लाग्छ । तर, बीचमा आएका दसैँ र तिहारले विद्यार्थीलाई पारिवारिक वातावरणमा बढी व्यस्त र सँगसँगै मस्त गराए । अब तिहारपछि मात्र परीक्षाको तयारी सुरु हुने भयो । अर्कातर्फ, पहिलो वर्षको नतिजा अझै प्रकाशित भइसकेको थिएन भने शुल्क वृद्धिको निहुँमा सरकारी कलेजका विद्यार्थी नेताले परीक्षा फारम सङ्कलनमा अवरोध पु¥याएका थिए । यी कारणहरूले परीक्षा तालिका सर्ने हो कि भन्ने भय हामीमा सदैव थियो ।
कार्तिक मसान्तमा पहिलो वर्षको नतिजा प्रकाशित भयो । मङ्सिरको दुईसम्म आइपुग्दा विद्यार्थी सङ्गठनहरू पनि परीक्षा फारम बुझाएर समयमै परीक्षा गराउन सहमत भए रे । अब परीक्षा हुने भन्नेमा हामी ढुक्क भयौँ । मङ्सिर १० गते परीक्षा केन्द्रको समेत सूचना सार्वजनिक भइसकेपछि त समयमै परीक्षा हुने कुरामा सायदै कसैलाई शङ्का थियो । हाम्रो परीक्षा केन्द्र पाटन संयुक्त क्याम्पस पारिएको थियो । अलिक टाढा भए पनि निर्धारित समयभन्दा करिब चार महिनापछि परीक्षा दिन पाउँदा हामी खुसी नै थियौँ ।
विश्वस्त तयारीका साथ हामी १६ गते बिहान ११ बजे नै पाटन क्याम्पस पुग्यौँ । त्यहाँ भेट भएका अर्कै कलेज तर मेरै विषय पढ्ने एक जना साथीसँग पहिलो वर्षको नतिजाबारे कुराकानी भयो । उनी त्यसप्रति पटक्कै सन्तुष्ट थिएनन् । हुन त मलाई पनि मैले पाएको अङ्कमा चित्त बुझेको थिएन । उनले आफ्ना असन्तुष्टि र आक्रोश मसँग पोखे । कुरैकुरामा उनले भने, “यसो यहाँ कुरा सुन्दा त आजको हाम्रो परीक्षा पनि नहुने सम्भावना छ ।” यो कुरा निश्चय नै उत्तेजक भए पनि मैले सजिलै पत्याइँन । कारण, मैले त्यस्तो कुनै सङ्केत देखेको थिइँन । मेरो जानकारीमा परीक्षा बिथोल्ने एक मात्र तत्व विद्यार्थी सङ्कठनहरू पनि त्यसमा सहमत भइसकेका थिए । अर्कातर्फ अन्य विषय पढ्नेहरूको अघिल्ला दिनका परीक्षा सोही केन्द्रमा शान्तिपूर्वक भएको सूचना मसँग थियो । फेरि, म सबैले भनेका सबै कुरा कहाँ सजिलै पत्याउँछु र !
करिब पौने बाह्र बजे परीक्षा हलमा बसेर पाइएको उत्तर पुस्तिकामा आफ्नो रोल नं र अन्य विवरण लेख्न लाग्यौँ । ठ्याक्क प्रश्नपत्र बाँड्न सुरु गर्दा केही युवा भित्र पसे । उनीहरूले “एक्जाम क्यान्सिल, कापी देऊ, नत्र प्रवेश पत्र च्यातिदिन्छु” भने । हामी सबै नतमस्तक भयौँ । विरोध गर्ने कसको हिम्मत ? त्यो साथीले भनेको ुकरा मिलेपछि म छक्क परेँ ।
अब परीक्षा कहिले हुन्छ त भन्दा सोही क्याम्पसका शिक्षकले पनि केही बताउन सकेनन् । खालि सञ्चार माध्यमा ध्यान दिन आग्रह गरे । परीक्षा किन बिथोलिएको थाहा पाउने त सायदै कोही थिए । बाहिर आएर घाममा गफगाफ गरियो । प्रायः सबै विद्यार्थी यसप्रति दुःखी र आक्रामक भए पनि हामीले त्यहाँ दुःख र आक्रोश व्यक्त गर्नुको कुनै अर्थ थिएन । हामी सरासर घर फर्कियौँ ।
अब मेरो अर्को परीक्षा मङ्सिर २१ गते थियो । १६ गतेकै परीक्षा बिथोलिएपछि २१ गते परीक्षा हुन्छ कि हुन्न भन्नेमा मलाई शङ्का नै थियो । तै पनि यदि भइहाल्यो भने त ......., तयारी त गर्नु नै प¥यो । भोलिपल्ट बिहान पत्रिकामा परीक्षा बिथोलिएको समाचार आयो । त्यसमा उल्लेख भए अनुसार परीक्षा बिथोलिनुको कारण गत भदौमा बिथोलिएको स्नातकोत्तर पहिलो वर्षको परीक्षा रे । उनीहरूको क्याम्पसका विद्यार्थीको परीक्षा बिथोलिएको थियो रे, अनि त्यो परीक्षा पुनः सञ्चालन नभएसम्म उनीहरूको कलेजमा परीक्षा नै हुन नदिने रे । कस्तो तर्कहीन कुतर्क ! हामी त साँढेको जुधाइमा मिचिएका बाच्छा पो भएछौँ । सरकारी क्याम्पसमा हुने अनावश्यक राजनीतिको सिकार । फेरि विद्यार्थी नेता नै विद्यार्थीको भलाइका लागि भन्दै उनीहरूलाई खत्तम पार्न लागेछन् ।
यसैबीचमा १८ गते परीक्षा केन्द्र सरेको सूचना आयो । अब हामी जाँच दिन एक्टिभ एकेडेमी, वसुन्धरा जानुपर्ने भयो । यसले अब चाँही परीक्षा शान्तसँग दिन पाइन्छ कि भनेर ढुक्क बनायो ।
तर त्यसको भोलिपल्टै २३ देखि २९ सम्मका परीक्षा पुस १६ देखि २३ सम्मलाई सारिएको सूचना आयो । यसै अनुसार मेरो मङ्सिर २८ गतेको परीक्षा पुस २२का लागि स¥यो । सूचनामा ‘विशेष’ कारणवश भनिएपनि मिडियाहरूबाट खास कारण थाहा भइहाल्यो । स्वभावतः त्यो पनि विद्यार्थी राजनीतिकै परिणाम थियो, र विद्यार्थीका लागि क्रान्ति गर्ने नेताहरूले विद्यार्थीको भविष्यमाथि गरेको खेलबाडको अर्को पराकाष्ठा । अब पुस ११मा सकिनुपर्ने मेरो परीक्षा पुस २२ सम्म जारी हुने भयो ।
त्यसबाहेकका परीक्षा शान्तसँग नै सञ्चालन भए, हाम्रै केन्द्रमा मात्र भए पनि । तर, पुस १५ गते अगाडिसम्म पनि पहिलो दिन मङ्सिर १६मा रोकिएको परीक्षा कहिले हुने वा हुने नहुने केही ठेगान थिएन । बजारमा अब त्यो परीक्षा हुँदैन रे भन्ने हल्ला व्यापक थियो । कोही, सबैलाई अनुपस्थित गराएर फेल भएको रिजल्ट पठाउँछ भन्थे, कोही मात्र उत्तीर्णाङ्क भए पनि दिन्छ भन्थे । यस्तो शङ्काका बीच भएका अन्य परीक्षाहरूमा विद्यार्थीको प्रस्तुतिलाई पनि यो वातावरणले प्रभाव पारेको हुनुपर्छ ।
पुस १५ गते बल्ल उक्त परीक्षा पुस २६ गते हुने सूचना पायौँ । हुन त यसले हाम्रो परीक्षा सकिने तिथिलाई फेरि चार दिन सारेको थियो । तर, कहिले हुने हो ठेगान नभएको परीक्षाको मिति तोकिँदा हामी मख्ख परेका थियौँ ।  
यस प्रकार बल्लबल्ल पुस २६ मा हाम्रो परीक्षा सकियो । थाहा भएकै कुरा हो, अब नतिजा आउन कम्तीमा पनि आठ महिना लाग्छ, अनि नतिजा नआई तेस्रो वर्षको परीक्षा हुनेछैन । फेरि पनि, तालिकाअनुसार तेस्रो वर्षको परीक्षा दसैँअगाडि कुनै पनि हालतमा हुनैपर्छ । यसमा हामी आजसम्म ढुक्क छौँ । तर विगतलाई हेर्दा के हुने हो थाहा छैन, किनभने हाम्रो देशमा विद्यार्थी सङ्कठन नामका विद्यार्थी विरोधी झुन्डहरू छन् । अब तेस्रो वर्षको परीक्षा ढिलो बनाउने सम्भावित कारण प्रस्तावित स्ववियु निर्वाचन हुनसक्छ ।  आगामी चैतमा हुनुपर्ने उक्त निर्वाचन कुन प्रक्रियाबाट गर्ने भन्नेमा उनीहरूबीच एक मत छैन, जसले उक्त कार्यक्रमलाई केही हप्तादेखि महिनासम्म पछि धकेल्न सक्छ । अनि, हाम्रो त्रिविमा एउटा कार्यक्रम पछि धकेलिएपछि त्यसपछिका सबै कार्यक्रमहरू पछि सर्ने प्रचलन छ ।
आशा गरौँ, मैले देखेको सम्भावना निरर्थक होस् । समयमै जाँच होस्, समयमै नतिजा आओस् । तीन वर्षमा सक्नुपर्ने कार्यक्रम चार वर्ष लागिसकेको छ, अब पाँचौ वर्ष पनि त्यसमै नबितोस् ।