Thursday, October 13, 2016

म त सानैदेखि अक्षरको गोठालो

प्रस्तुति : दिवाकर प्याकुरेल
फोटो : फेसबुक
युवराज नयाँघरे (विसं. २०२६, इलाम) आजभोलिको नेपाली साहित्यमा एक चर्चित नाम हो । विशेष गरी निबन्ध र नियात्रा लेखनका लागि उहाँ प्रसिद्ध हुनुहुन्छ । प्राथमिक विद्यालयमा रहँदा नै लेखन र पठन संस्कृतिको जग बसाल्नुभएका नयाँघरेको साहित्य यात्राले विसं. २०४१ सालपछि भने विशेष गति लिएको उहाँ बताउनुहुन्छ । उहाँका हालसम्म १३ पुस्तकहरू प्रकाशित छन् । यसमध्ये ८ निबन्ध र ५ नियात्रा सङ्ग्रह हुन् । यस बाहेक उहाँले एक निबन्ध सङ्ग्रहमा सहलेखन गर्नुभएको छ । अनाम पहाडमा फनफनी (२०६२), एक हातको ताली (२०६५), घामको चुम्बन (२०६७) तथा हरियो राहदानी (२०६८) नयाँघरेका केही चर्चित पुस्तकहरू हुन् । एक हातको तालीका लागि उहाँले २०६५ सालमा नेपालकै सर्वाधिक ठुलो साहित्यिक पुरस्कार, मदन पुरस्कार, प्राप्त गर्नुभएको छ । यस बाहेक उहाँ विभिन्न संस्थाबाट विभिन्न पुरस्कारबाट सम्मानित हुनुहुन्छ । हालसालै उहाँको हाराबारा (नियात्रा सङ्ग्रह) प्रकाशित भएको छ । हाल उहाँ काठमाडौँको नैकाप, चन्द्रागिरी नगरपालिकामा बस्दै आउनुभएको छ । यस पटकको ‘बालककालका कुरा’मा यिनै नयाँघरेको बाल्य जीवनका सम्झन लायक, बिर्सन लायक अनुभव प्रस्तुत गरिएको छ :

मेरो जन्म विसं. २०२६ साल असोज १९ गते बुधबार इलाम जिल्लाको नाम्सालिङ् गाउँमा भएको हो । बुवा हरिहर सुवेदी तथा आमा तुलसा सुवेदीका चार छोराहरूमध्ये म साइँलो हुँ । हाम्रा तिन दिदीबहिनीहरू पनि हुनुहुन्छ । जेठी दिदी र दुई दाजुपछि म जन्मिएको हुँ ।

हाम्रो परिवार कृषक परिवार हो । सायद् म मात्र अपवाद भएर निस्किएँ । आज पनि हाम्रो पारिवारिक नातागोतामा अधिकांश कृषक नै हुनुहुन्छ । आर्थिक रूपमा मध्यम वर्गीय परिवारमा मेरो जन्म भएको हो ।

सानैदेखि फिरन्ते
जन्म इलाममा भए पनि मेरो बाल्यकाल पूर्वाञ्चलका विभिन्न जिल्लाहरूमा डुलेर बित्यो । मैले स्कुले जीवनको अधिकांश समय झापा, मोरङ् र सुनसरी जिल्लामा बिताएँ ।

आमाबाबुले बताए अनुसार म सानामा असाध्यै धेरै बिरामी हुन्थेँ रे । त्यस बेला हावापानी फे¥यो भने त्यस्ता केटाकेटीको स्वास्थ्य राम्रो हुन्छ भन्ने विश्वास थियो । त्यसैले मलाई निको होस् भनेर कहिले जिल्ला सदरमुकाम इलाम बजार त कहिले झापा, मोरङ् र सुनसरीतिरका मेरा आफन्तका घरमा राखिदिनुहुन्थ्यो सानैदेखि । कहिले मामाघर बसेँ, कहिले ठुलोबुवाको घर । यस क्रममा कक्षा १० (एस्एल्सी) उत्तीर्ण हुने बेलासम्म मैले करिबकरिब १० ओटै स्कुलमा पाइला टेकेँ हुँला ।

अर्कातिर म सानैदेखि गम्भीर स्वभावको मानिस थिएँ । भिडमा बस्न रुचाउँन्नथेँ । अहिले पनि रुचाउँन्न । फलतः निकटतम मित्रहरू अत्यन्त थोरै हुन्थे । शान्त थिएँ, शान्तिप्रिय थिएँ । कहिलेकाँहि दाजुभाइबीच खेल्दाखेल्दै झगडा त भइजान्थ्यो । त्यस क्रममा आमालाई दिक्क लाग्थ्यो र हामीलाई ढोकामा चुकुल लगाएर थुनिदिनुहुन्थ्यो । दाजुहरू कसोकसो ढोका खोलेर उम्कन्थे । म भने आमाले ढोका नखोलिदिएसम्म थुनिएरै बस्थेँ । एकसुरे केटा थिएँ म ।

आमाको योगदान
मेरो बुवा साक्षर भए पनि पूर्णकालीन किसान नै हुनुहुन्थ्यो । आमा भने निरक्षर नै हुनुहुन्थ्यो । तर उहाँमा पनि पढ्नुपर्छ भन्ने भावना थियो । मलाई गुणरत्नमाला र रामायणका श्लोक सुनाउनुहुन्थ्यो । आमाकै प्रभावले ममा पढ्नुपर्छ भन्ने भावना जाग्यो । यसै त म एकान्तप्रेमी थिएँ, त्यसपछि दाजुदिदीका नयाँ नयाँ किताब पाएँ भने पढेरै बस्थेँ ।

फेरि नयाँ किताबकापीको बास्ना मलाई खुब मन पथ्र्यो । नयाँ कापी किनेको दिन त बास्ना सुँघेरै निदाउँथेँ म ।
खुब किताब पढ्ने बानी लागिसकेको थियो । गाईभैसी चराउन जाँदा पनि पढेरै बस्थेँ । आमाले मलाई ”तँ त गाईबस्तुभन्दा पनि अक्षरको गोठालो भइस्” भन्नुहुन्थ्यो ।

लामो समय परिवारमा नबसेकाले दाजुभाइ दिदीबहिनीसँगका रमाइला पलबारे भने खासै सम्झना छैन । यद्यपि ठुली दिदी देवकासँग विशेष निकटता थियो र छ ।

वर्षमा एक पटक दसैँमा नयाँ लुगा लगाउन पाइन्थ्यो । आमाबाले सबै दाजुभाइ दिदीबहिनीलाई एकै पटक दमाई दाइकोमा लैजानुहुन्थ्यो । दाइले लुगा नापेपछि बजारबाट एक थान सिङ्गै कपडा किनेर ल्याउनुहुन्थ्यो । अनि दमाई दाइलाई आँगनमा ल्याएर पालैपालो सिउन लगाइन्थ्यो । अर्थात्, दाजुभाइ दिदीबहिनी सबैका लुगा एउटै हुन्थे । त्यही लुगाका भरमा वर्ष कटाउनुपथ्र्यो । लुगामा एकरूपता हुने भएकाले दाजुभाइ दिदीबहिनी खेतमा हिँड्दा फलानाका छोराछोरी भनेर टाढैबाट चिनिन्थ्यिो ।

पुरस्कार जितेको उत्साहमा रुखबाट खसियो
त्यति बेला म झापाको अनारमनीस्थित महेन्द्र माविमा कक्षा ४–५ तिर पढ्दै थिएँ होला । साप्ताहिक रूपमा अन्तरसदन प्रतियोगिताहरू हुन्थे । म हरेक हप्ताका लागि विभिन्न रचना लेख्थेँ । तर यति लजालु थिएँ कि भिडको अगाडि जान खुब डर लाग्थ्यो । आफ्ना रचना साथीहरूलाई दिएर वाचन गर्न लगाउँथेँ । साथीहरूले वाचन गर्दा मेरो नाम त भनिदिन्थे, तर करिब एक हजार आठ सय विद्यार्थीको भिडमा मलाई कसले चिन्नु ? यसरी कति पटक मेरा कति रचना पुरस्कृत भए र मलाई साथीहरूले पुरस्कार ल्याइदिए ।

यसरी मेरा रचना वाचन हुँदा म भने प्रायः रुखका टुप्पातिर बसेर सुन्थेँ ।

यसै क्रममा एक पटक रमाइलो घटना भयो । त्यो दिनको प्रतियोगितामा मेरो रचना प्रथम भएछ । नतिजा घोषणा हुँदा म एउटा रुखको हाँगामै भएको थिएँ । मेरो नाम सुनेपछि म त यति उत्साहित भएँ कि म त त्यही हाँगाबाट खसेछु । हाम्रा हेड सर दाताराम शर्मा संयोगवश रुखमुनि नै हुनुहुँदो रहेछ, उहाँले मलाई च्याप्पै समाउनुभो । “तँ को होस् ? किन रुखमा चढिस् ? अनि किन झरिस् ?” भनेर सोध्नुभो । मैले मेरो नाम बताएँ र मेरो रचना प्रथम भएको अति त्यही हर्षमा रुखबाट खसेको पनि बताएँ ।

उहाँले मेरो बारेमा अध्ययन गरिरहनुभएको रहेछ । प्रतिस्पर्धामा बारम्बार रचना पठाउने, तर अगाडि कहिल्यै देखा नपर्ने हुनाले उहाँले मेरो नाम ख्याल गर्नुभएको रहेछ । मैले नाम भनेपछि उहाँले, “हेर्, लेख्नुभन्दा पनि वाचन गर्नु ठुलो कुरा हो । अबदेखि कहिल्यै नभागेस्” भन्नुभो । मैले डरले थर्थर काँप्दै “हस्” भनेँ ।

त्यसपछि बिस्तारै मेरो रचना वाचन गर्ने अभ्यास बढ्दै गयो । त्यसपछि कुनै मञ्चबाट म भागिनँ । मेरो लेखन र वाचन यात्राले बिस्तारै पखेँटा हाले । छोटाछोटा रचना हुँदै लामालामा रचना लेख्न थालेँ । लेखनको शक्ति मैले बुझेँ । ठुलाठुला परिवर्तनका पछाडि लेखनको हात रहेको मैले थाहा पाएँ । विसं. २०४१ सालमा एस्एल्सी दिएपछि मेरो लेखन उडानले जमिन छोड्यो ।

सायद् दाताराम सरले त्यसो नभन्नुभएको भएँ मेरो जिन्दगी भाग्दै बित्थ्यो होला ।

सोझो हुनुको दुःख
हरेक तिहारमा देउसी खेल्न जान्थ्यौँ । समूहमा मलाई अलि अनुशासित भनेर चिनिन्थ्यो । त्यसैले साथीहरूले मलाई पैसा राख्न दिन्थे । एउटा देउसीको समयमा एक साथीले मलाई हाफ प्यान्टको भित्रपट्टि पैसा लुकाएर राख्न लगाए । ती साथी मेरा पछिपछि हिँडेका थिए । मलाई जताबाट पैसा राख्न लगाउँथे, अर्कोतिरबाट उनले पैसा निकालिरहेका रहेछन् । पछि देउसी सकिएपछि पैसा कति भएछ भनेर गन्ने क्रममा मात्र मलाई त्यो कुरा थाहा भयो । अचेल पनि हरेक तिहारमा म यो कुरा सम्झिरहन्छु ।

प्रकृतिसँगको सामीप्य
हरेकजसो हिउँदमा हामी वनभोज खान जान्थ्यौँ । घरघरमा गएर चामल, दाल, तरकारी जम्मा गथ्र्यौँ । अनि सबै सामग्री बोकेर वनपाखा जान्थ्यौँ । पराल, स्याउला आदि सङ्कलन गरेर पाखामै सानो घर बनाउँथ्यौँ । त्यही पकाउँथ्यौँ, खान्थ्यौँ । त्यस रात हामी त्यही बस्थ्यौँ । भोलिपल्ट बिहान उठेपछि नुहाउँथ्यौँ । हिउँदको चिसोमा नुहाएपछि खुब जाडो हुन्थ्यो । हामी त्यो घर भत्काउँथ्यौँ र त्यसैलाई जलाएर आगो तापेर आउँथ्यौँ ।

घरमा आएपछि फेरि आमाले नुहाउन लगाउनुहुन्थ्यो । रातभरि बाहिर बसेको, कोकोसँग बसेको, नुहाएर सुन पानी नछर्केसम्म घर छिर्नका लागि चोखो भइँदैन भन्नुहुन्थ्यो आमा । यस हिसाबले हामी प्रकृतिसँग नजिक थियौँ । सायद् आजको पुस्तालाई त्यो अवसर छैन ।

एउटा रमाइलो सम्झना
घुम्न, पढ्न र लेख्न सानैदेखि बानी बस्यो । डायरी लेख्न थालेँ । त्यस क्रमको एउटा दुःखद् वा रमाइलो सम्झना आज पनि ताजै छ ।

सायद् कक्षा ५–६तिर पढ्थेँ हुँला । भैसी चराउन गएका बखत भैसीमाथि चढेर म एउटा पुस्तक पढ्दै थिएँ । नबुझे पनि बिपि कोइराला, इन्द्रबहादुर राई तथा विजय मल्ल आदिका जटिल कथा, उपन्यास पनि पढ्थेँ ।

पानी पर्न थाल्यो । म घुम ओढेर पढ्दै थिएँ । भैसीमाथि बसेको मलाई न्यानो महसुस भयो । कुन बेला कुन बेला म त त्यही निदाएछु । अलि पछि भैसी चर्दै चर्दै कुलो नाघेर धानको बिउ राखेको खेतमा पुगेछ । उसले धानको बिउ खाइदिएछ । नजिकै काम गर्दै रहेका एक मान्छेले देखेछन् र भैसी धपाउन आएछन् । भैसी डरले हुत्तिएर भाग्दा म अर्कोतिर हिलोमा बजारिन पुगेछु । त्यसपछि मात्र म बिउँझिएँ ।

म गोठालो लागेको भैसीले ब्याड खाएको भएर मलाई कारबाही हुने भयो । भोलिपल्ट बिहान गाउँका भलाद्मी भेला भएर मलाई बोलाए । मलाई कान समाएर उठबस गर्न लगाए ।        

तर पढ्ने बानी भने हटेन ।

एक रात बराबर एक किताब
मैले विद्यालय स्तरका अन्तिम दुई कक्षा – कक्षा ९ र १० – मोरङ्को उर्लाबारीमा पढेको हुँ । स्कुल नजिकै विद्याकुटीर नामको एक पुस्तक पसल थियो । यो पसलले किताब पढ्न चाहनेका लागि एउटा विशेष सुविधा दिन्थ्यो । २५ पैसा तिरेमा एउटा किताब घरमा लगेर पढ्न पाइन्थ्यो । २५ पैसा तिरेपछि किताब एक हप्तासम्म राख्न पाइन्थ्यो । म भने अलिक हतारिएर पढ्थेँ । करिबकरिब एक रातमा एक किताब पढेर सक्थेँ । कारण, एक हप्तासम्म जति किताब पढे पनि २५ पैसाभन्दा बढी तिर्नुपर्दैनथ्यो । त्यो दुई वर्षको समयमा मैले जति किताब पढेँ, सायद् त्यति मैले कहिल्यै पढिनँ होला ।

तराईतिर बस्दा पनि बारम्बार घर गइरहन्थेँ । घरबाट अलिक ठुला भएका हामी केटाकेटीलाई पकेट खर्च भनेर केही थोरैतिनो पैसा दिने चलन थियो । कति साथीहरू त चुरोट खैनी खाएर सक्थे । म बने विद्याकुटीरबाट पुस्तक निकालेर पढ्नमा त्यो पैसा खर्च गर्थेँ ।

एक पटक लिओ टल्स्टोयको वार एन्ड पिसको हिन्दी अनुवाद पढ्न लगेको थिएँ विद्याकुटीरबाट । मलाई त्यसै रात पुस्तक सकाउने हतारो थियो । त्यस बेला बिजुलीको सुविधा हुने कुरा भएन । टुकी बालेर पढ्नुपथ्र्यो । मध्यम वर्गीय परिवारमा टुकीका लागि मट्टितेल किन्नु पनि ठुलै आर्थिक भार हुन्थ्यो । त्यसैले राति अबेरसम्म टुकी बाल्न अभिभावक दिनुहुन्नथ्यो । आफूलाई भने किताब सक्नुपर्ने थियो । त्यसैले टुकीलाई सिरकभित्र लुकाएर एक हातले टुकी र अर्को हातले किताब समाएर पढेँ ।

त्यसै गरी बिहान सूर्योदयपछि भित्ताका ससाना प्लावबाट छिर्ने प्रकाशमा किताब राखेर पढ्न पनि मलाई असाध्यै मजा लाग्थ्यो ।

सिनेमाको तलतल र वितृष्णा
हुन त सिनेमाभन्दा किताब नै मेरो रुचि थियो । किताबमा पढेका विभिन्न पात्रहरू मेरा प्रेरणाका स्रोत बन्थे । इन्द्रबहादुर राईको ‘हामीजस्तै मैनाकी आमा’ कथाकी मैनाकी आमा, बिपि कोइरालाको नरेन्द्र दाइ उपन्यासका नरेन्द्र दाइ, लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको मुना र माधवप्रसाद घिमिरेको गौरीकी गौरीजस्ता पात्रहरूले मलाई छुन्थे ।

विसं. २०३६ सालतिर काकडभिट्टामा बस्दा साथीहरूसँग सिनेमाको कुरा भयो एक पटक । सिनेमा हेर्नुलाई राम्रो मान्ने चलन थिएन । तर पनि सिनेमा भनेको कस्तो होला हेर्ने मन हुन्थ्यो । बल्लबल्ल एक रुपैँया जम्मा गरेर हामी सिनेमा हल गयौँ । एक रुपैयाँमा टिकट त आउँदैनथ्यो, तर ढोकामा बस्ने मान्छेलाई पैसा दियो भने भित्र जान दिन्छन् भन्ने हामीलाई थाहा थियो । हामी उसलाई पैसा तिरेर भित्र छि¥यौँ । पर्दाको अगाडि बसेर फिल्म हे~यौँ । त्यहाँ द्वन्द्व हुँदा आफ्नै अगाडि झगडा परेजस्तो लाग्यो । अलिक पछि एउटा मान्छे टिकट जाँच्न आयो । हामीलाई “टिकट खोइ ?” भनेर सोध्यो । हामीले “बाहिर” भन्दै बाहिरतिर देखायौँ । त्यसपछि त्यो मान्छेले हामीलाई गलहत्याएर बाहिर निकाल्यो । मलाई त अघि पर्दाको पात्रले हानेको ढिसिउँढिसिउँ आफैँमाथि बज्रिएजस्तो लाग्यो । त्यसपछि धेरै समयका लागि सिनेमाप्रति वितृष्णा भयो ।

चरालाई जुठो खुवाउने होड
एक समय हामी केही साथीहरूलाई यस्तो लाग्यो कि रुखका फल त चराले खाएर बाँकी राखेका जुठा हुन्छन् । यदि चोखो फल नै खाने हो भने चराले भेट्टाउनु अगाडि नै ती फल खानुपर्छ भन्ने लाग्यो । त्यसैले रुखमै चढेर मुखैले फल खान्थ्यौँ हामी । बरु पछि चराले हाम्रो जुठो खाओस् भन्ने लाग्थ्यो ।

त्यसबाहेक अरू उट्पट्याङ् गरिएन । जान्दा पनि जानिएन ।

अनुशासन कि यातना ?
त्यस बेलाको विद्यालयको वातावरण आजको भन्दा नितान्त फरक थियो । बालबालिकालाई अधिकार दिनुपर्छ भन्ने माहोल थिएन । मूल्य मान्यताहरू नै सम्पूर्ण रूपमा फरक थिए । विद्यार्थीलाई सिस्नु पानी लगाएर पढाइन्थ्यो । चाहे त्यो घरमा होस् वा स्कुलमा । बढी पिट्न सक्ने शिक्षक बढी राम्रो मानिन्थ्यो ।

कुरा बुझे पनि नबुझे पनि दिइएको पाठ भनेको समयमा कण्ठस्थ सुनाउनुपथ्र्यो । कतिपय अवस्थामा म बीजगणितका सूत्रहरू बुझ्दिनथेँ । तर पनि कण्ठ पार्नै पथ्र्यो । नत्र सुम्ला उठ्ने गरी पिटाइ खाइन्थ्यो । पिटाइका लागि लठ्ठी तयार पार्ने जिम्मा कक्षाको नाइके (क्याप्टेन)को हुन्थ्यो । उसले बाँसका सिर्कनालाई चिल्ला बनाएर हेर्दै आकर्षक हुने गरी ल्याएर शिक्षकलाई बुझाउँथ्यो । सिर्कनाको परीक्षण होला, शिक्षकले सबैभन्दा पहिले उसैलाई पिट्थे । त्यसपछि दिइएको पाठ पूरा गर्न नसक्ने को बच्थ्यो र ? हाफ पाइन्ट लगाएका केटा र फ्रक लगाएका केटीलाई पिडौँला र तिघ्रामा सुम्ला उठ्नेगरी पिटिन्थ्यो ।

फेरि हामीले घरमा पनि त्यो चोट लुकाउनुपथ्र्यो । अभिभावकले देखे किन पिटाइ खाएको सोध्नुहुन्थ्यो । कारण थाहा पाउनुभो भने हामीलाई सम्झाउने होइन कि, थप पिटाइ पो दिनुहुन्थ्यो ।

मेरा बा हरेक परीक्षाको प्रश्नपत्र घर लगेपछि मैले के उत्तर लेखेँ भनेर सोध्नुहुन्थ्यो । जाँचमा लेख्न नसकेको भए पनि जाँच दिएर बाहिर निस्केपछि म कोही जान्ने साथीलाई सोधेरै भए पनि त्यहाँ सोधिएका हरेक प्रश्नको उत्तर घोक्थेँ । मेरा लागि जाँचमा लेख्नुभन्दा पनि बाले सोधेका बेला सही उत्तर दिन सक्नु ठुलो कुरा हुन्थ्यो ।

यसरी हिजो यातना थियो । तर अनुशासन पनि थियो । आज यातना त छैन, अधिकार र प्रेम छ । तर आज अनुशासन पनि हराएको हो कि अथवा प्रेमको दुरुपयोग पो भइरहेको छ कि भनी मलाई डर लागिरहेको छ ।

हुरीले उडाएको पात हुँ म
मान्छेको जीवनमा शिक्षा महत्वपूर्ण रहेछ । व्यवस्थित शिक्षा भए मानिसले प्रगति गर्छ । मेरो शिक्षा भने अस्तव्यस्ततामै बित्यो । प्रगति त भयो, तर आफ्नै बलबुतामा । व्यवस्थित शिक्षा भएन भने मानिसले आफैँलाई चिन्न सक्दैन । त्यसैले मैले त मेरो सपनाको चङ्गा उडाउनै पाइँन जस्तो लाग्छ । म त हुरीले उडाएको एउटा पात हुँ । संयोगवश तुलसीको मठमा परेँ र आज सबैले प्रणाम गरेका छन् । यदि म मलको थुप्रोमा परेको भए त त्यसै थुप्रोमा कुहिएर सकिन्थेँ । भविष्य सुनिश्चित गर्न सानैमा बालबालिकालाई परामर्श दिनु जरुरी हुन्छ ।

हुन त समयको दोष पनि हो । गरिबी र अशिक्षाले गाँजेको थियो हामीलाई । आज फेरि बालक बन्न पाए म त केके पो गर्दो हुँ जस्तो लाग्छ । आजसम्म म घुमेका सबै गाउँमा पुगेर चङ्गा उठाउँथेँ, गाई चराउँथेँ । असिना पानी परेका बेला असिना बटुल्दै हिँड्थेँ । एउटा हातले आमाको हात समात्दै, अर्को हातले उखु समात्दै चुस्दै हिँड्ने रहर छ । तर कहाँ पाउनु अब ?

बदलिँदो परिवेशमा बाल साहित्य
समय अगाडि बढ्दै जाँदा बाल साहित्यको परिवेश पनि बदलिएको छ । लेखक साहित्यकार र  बालबालिकामा साहित्यप्रतिको अभिरुचि बढ्दो छजस्तो मलाई लाग्छ । अर्को परिवर्तन भनेको बाल साहित्यको प्रकृति नै पनि हो । पहिला बालबालिकालाई शिक्षा र अर्ती उपदेश दिने हिसाबले साहित्य लेखिन्थ्यो भने आज स्वभाविक दैनिक जीवनका क्रियाकलापलाई नै साहित्यमा उतारिन्छ । साथै, अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धान गरेर बाल साहित्य सिर्जना गर्ने क्रम पनि बढिरहेको छ ।

आजका बालबालिकासँग मनोरञ्जन र सूचनाका लागि धेरै विकल्प छन् । उनीहरू पुस्तकमा मात्र भर पर्नुपर्ने अवस्था छैन । टेलिभिजन र इन्टरनेटको पहुँच विस्तार हुँदै छ । त्यसैले बालबालिकालाई साहित्यतर्फ आकर्षित गर्न नयाँ नयाँ तरिका अपनाउनु आवश्यक छ । हुन त विभिन्न विद्यालयहरूमा यसतर्फ सुधारका पहल पनि भएका छन् । पुस्तकालय स्थापना भएका छन् ।

आजका बालबालिकाका चुनौती
विगत ३०÷४० वर्षमा हाम्रो देशमा ठुलो परिवर्तन भयो । धेरै मान्यताहरू बदलिइसके । विज्ञानले बालबालिकाहरूलाई सूचना प्राप्त गर्न सजिलो बनाइदिएको छ । त्यसैले आजका बालबालिकालाई अब आफूले मेहनत गर्नुपर्दैन जस्तो लाग्न पनि सक्छ । विज्ञानकै कारण अचेलका केटाकेटीहरू हाम्रा समयका भन्दा धेरै बाठा छन् ।

यो परिवर्तनसँगै नयाँ चुनौती पनि थपिएका छन् । ती चुनौती सामना गर्न बालबालिका विज्ञानमा मात्र भर परेर मेहनत नगरी बसेर भने हुँदैन । पहिला कक्षामा पढाएको कुरा सबै बालबालिकाले समान रूपमा बुझ्नुपर्छ भन्ने मान्यता थियो । आज त्यसमा परिवर्तन भई मौका दिँदा जो आउँछ, उसले बुझे पुग्छ भन्ने प्रतिस्पर्धात्मक मान्यता स्थापित भएको छ । त्यसैले आफ्ना अगाडि प्राप्त हुने मौका समात्नलाई बालबालिका आफैँ अगाडि सर्नु जरुरी छ । यसका लागि उनीहरूले मेहनत गर्नुपर्छ ।

आजका बालबालिका यी चुनौती सामना गर्न र आफ्ना जिम्मेवारी निर्वाह गर्न कत्तिको सक्षम छन् त ? हामीले प्रश्न गर्नुपर्ने बेला भएको छ ।

७ असार २०७३
diwapyak@gmail.com

2 comments:

  1. हैन दिवारकले यो किसिमको लेखाई त आँगनमा मात्र पो गथ्र्यो होइन र ः अझै निरन्तरता दिएको रहेछौं हगि ?

    ReplyDelete
    Replies
    1. यो पनि 'हाम्रो आँगन'कै लागि हो दाजु ! :)

      Delete