Wednesday, November 2, 2011

पुरा हुन नसकेको रहर

यस पालिको तिहार भर्खर सकियो । तर अबको एक वर्षसम्म म भने तिहार कहिले आउला भनेर कुरी बस्न बाध्य भएको छु । कारण, यो तिहारले ममा देउसीभैलोप्रतिको आकर्षणलाई पुनर्जीवन दिएको छ ।
देउसीभैलोमा मेरो सहभागिताका यादहरू सम्झनामा अझै स्पष्ट छन् । विसं २०५८भन्दा अगाडि हाम्रो परिवार काभ्रे, पात्लेखेतमा बस्थ्यो । हाम्रो गाउँतिर औँसी ÷ लक्ष्मीपुजाको साँझ र राति केटीहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भैली ÷ भैलो भनिन्थ्यो । त्यसको भोलिपल्टको साँझ र राति केटाहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भने देउसी भनिन्थ्यो । सहरबजारको जस्तो बाह्य गीतमा नाचगान प्रस्तुत हुँदैनथे । भैलोमा “भैलिनी आइन् आँगन” शैलीका केही गीतका साथमा एकले भट्याउँदा सबैले “भैलिनी” भन्ने प्रचलन थियो । देउसी भने जहिले र जहाँ पनि “ए, भन मेरा भाइ हो — देउसिरे”बाट सुरु भएर भट्याउनेले केही सदावहार र केही परिस्थितिजन्य पदावली भन्दा अरुले “देउसिरे” भनेर सकिन्थ्यो ।
त्यस प्रकारको देउसीमा म एक रात मज्जासँग सहभागी भएको छु । भाइटिकाको अघिल्लो साँझदेखि भाइटिकाको दिन बिहान करिब आठ बजेसम्म हामी चारपाँच जनाले मट्टितेलको भाँडोमा कपडाको झुम्रो बालेर वरिपरिका टोल चहारेका थियौँ । जे होस्, रमाइलो भएको थियो । त्यसभन्दा अगाडि, उमेर अझ सानै भएको अवस्थामा नजिकका दुईतिन साथीसँग आफ्नै टोलमा ख्यालख्यालमा देउसी खेलेको पनि अलिअलि याद छ ।

आधुनिकताबिच देउसीको परम्परा

तिहार भन्नेबित्तिकै सम्झिइने कुराहरूमध्ये देउसीभैलो पनि एक प्रमुख पक्ष हो । सेलरोटी, फुलमाला र झिलिमिली बत्तीका बिच ‘देउसिरे’को सङ्गीत — दाजुभाइ र दिदीबहिनीबिच प्रेम र आत्मीयता बाहेक तिहारको सबभन्दा महत्वपूर्ण तत्व सायद् यही नै हो ।
हुन त देउसीभैलोको प्रचलन कुन समयमा, कोबाट, कसरी र केका लागि सुरु भयो भन्ने सम्बन्धमा मलाई पर्याप्त जानकारी छैन । भैली गीतका बिचमा धेरैले “हामी त्यसै आएनौँ, बलि राजाले पठाए”  भन्ने गाएको सुनिन्छ । बलि राजाले केका लागि पठाएका थिए कुन्नि ! सायद् आजको युगसम्म आइपुग्दा देउसीभैलोको महत्व र आवश्यकतामा पनि परिवर्तन आइसकेको छ ।
अचेलका देउसीभैलो मुख्यतः दुई कारणबाट सञ्चालन हुने गरेको पाइएको छ । प्रथमतः चाडपर्वको रमाइलोलाई यसले थप उत्सवमय बनाउँछ, साथीभाइको जमघटसँगै टोलछिमेक घुमेर सबैसँग चाडपर्वको शुभकामना साट्ने अवसर दिलाउँछ । अर्को पक्ष भने देउसीभैलो मार्फत् अर्थ सङ्कलनको अभियान हो, जुन समाजका विभिन्न पक्षबाट यदाकदा आलोचित पनि छ । अनौपचारिक रूपमा जम्मा भएको समूहभन्दा पनि औपचारिक रूपमा सङ्गठित सामाजिक (विशेषतः गैर नाफामूलक) समूह र संस्थाहरूले देउसीमार्फत् आफ्नो आर्थिक कोष उकास्ने गरेको पाइन्छ । यसलाई कतिपयले संस्कृतिका नाममा विकृति भिœयाएको, जबर्जस्ती चन्दा सङ्कलन गरेकोजस्ता आरोप लगाउने गरेको पाइन्छ । यद्यपि व्यक्तिगत रूपमा म भने त्यस्तो विरोधको औचित्य देख्दिनँ । यदि कसैले परम्परागत संस्कृतिको एक अभ्यासलाई आफ्नो उद्देश्य प्राप्तिका लागि सिर्जनात्मक प्रयोग गर्न सक्छ भने के आपत्ति ? तर चासो यतिमात्र हो कि त्यसले कुनै पनि मानिसलाई इच्छा विपरीत कुनै क्रियाकलापमा सहभाग िनगराओस् । अझ प्रष्ट शब्दमा भन्दा दाताको इच्छा नभईकन पैसा उठाउने प्रवृत्ति भने स्थापित हुनु हुँदैन भन्ने कुरामा हामी सचेत हुनुपर्छ ।

Sunday, May 29, 2011

भुलक्कड भएछु !

आजभन्दा केही महिनाअघिसम्म म मेरी एक जना निकटतम साथीलाई उसको भुलक्कडपनाको सन्दर्भमा व्यङ्ग्य गर्थेँ, “मोबाइलमा मात्र मेमोरी कार्ड भएर हुँदैन क्या । त्यो तिम्रो माइन्डमा पनि हुनुपर्छ ।” अचेल पनि ऊ मौका प¥यो कि जिस्काउँछे, “तिमी त ठुलो क्षमताको मेमोरी कार्ड भएको मान्छे !” तर, अचेल मेरो हालखबर भने बेग्लै छ ।

करिब एक हप्ताअगाडि लेख्न सुरु गरेको यो सामग्रीको दोस्रो अनुच्छेद लेख्ने साइत बल्ल आज जुरेको छ । कारण, म भुलक्कड भएछु । आज पुनः उही साथीसँग फोनमा कुरा गर्दा उसले त्यही डाइलग पेलेपछि मात्र मैले म मेरो भुलक्कडपनाबारे लेख्दै थिएँ भन्ने सम्झेँ ।

हो, म कुनै रङ्गीचङ्गी बनावटी गफ दिँदै छैन । बाले “थाहा पाइने गरी आँखा कमजोर हुँदै गए” भनेजस्तै म पनि ‘थाहा पाइने गरी’ भुलक्कड भएको महसुस गरेको छु मैले । यहाँसम्म कि, आज कुन बार हो भन्ने बिर्सिदा अस्तिको हप्ता म दुई दुई पटक तिनछक परेँ ।

कुनै जमाना थियो, म धेरैका लागि विभिन्न खाले तथ्याङ्कहरूको स्टोर हाउस वा डाटाबेस थिएँ । ‘तिम्रो र मेरो भेट पहिलो चोटि साँच्ची कहिले भएको हो दिवाकर ?”, धेरै साथीहरू सोध्थे । “गिरिजाप्रसाद मरेको मिति भन् त !”, बा भन्नुहुन्थ्यो । “सिडिओ पिट्ने राज्यमन्त्रीको पोर्टफोलियो के थियो रे ?”, अर्को साथी सोध्थ्यो । “मलाई घानाको राजधानी कुन हो, एस्एम्एस् गरिदेऊ त !”, अर्कीले भन्थी । “त्यो कार्यक्रममा कति जना आएका थिए रे ?’, अर्को प्रश्न आउँथ्यो । उनीहरू सबैका लागि म ती र त्यस्ता धेरै प्रश्नहरूको उत्तर भएको किताब वा हार्ड डिस्क हुन्थेँ । (हुन त यहाँ उल्लिखित सबै प्रश्नको उत्तर म आज पनि दिन सुक्छु है !) कुनै मित्रले कुनै समयमा मैले विभिन्न सन्दर्भका मितिहरू बताइदिँदा “यी मान्छे त क्यालेन्डर नै र’छन् नि” भनेको मलाई अद्यापि सम्झना छ । हुन त आज पनि मेरा केही सहपाठीहरू मलाई “मिस्टर् गुगल्”को सम्बोधन दिन्छन् । तर मलाई अचेल त्यो मात्र व्यङ्ग्य लाग्न लागेको छ, जसले मलाई कताकता चसक्क पार्छ ।

यो यो सामान किन्छु भनेर पसल गयो, फर्किदा एक दुई ओटा सामान छुट्ने । साथीले त्यो कापी ल्याइदे न है भनेर फोन गर्छ, भोलिपल्ट कलेज हिँड्ने बेला भुसुक्कै । अब हुँदाहुँदा दारी काटेको र नुहाएको कहिले हो र कति दिन भयो बिर्सिसकेपछि, अब फेरि यी काम कहिले गर्नुपर्ने हो, सम्झना कसरी हुनु र ! (नित्तान्त व्यक्तिगत कुरा — सायद् मैले यहाँ खुलाउनुहुँदैनथ्यो कि ?)

तर पनि म डराएको चै पटक्कै छैन है । मलाई यो भुलक्कडपना कुनै स्थायी रोग वा कमजोरी चै लागेको छैन । हुन सक्छ, मेरो दिमाग अचेल ओभरलोडेड भएको छ । हुन सक्छ, म कुनै तत्कालीन चिन्ताको सिकार भएको छु । हुन सक्छ, यो बढ्दो व्यस्तताको अस्थायी प्रभाव हो । यो पनि हुन सक्छ कि, कहिलेकाँहि यस्तो हुनु सामान्य, प्राकृतिक र नियमित मानव स्वभाव हो । अर्कातर्फ आफ्नो भुलक्कड बानीले धेरै दुःख पाएका धेरै मानिसहरू मैले भेटेको छु । म त्यतिसम्म डरलाग्दो भइसकेको छैन र त उनीहरूलाई हेरेर चित्त बुझाइरहेको छु । तर, संयोगवश मेरो भुलक्कडपना बढ्दै गयो भने .......... ! ओहो, त्यस्तो दुर्घटनाको कल्पना पनि नगरौँ यहाँ । ................ ह्या ........, म यसलाई कन्ट्रोल गर्न सकिहाल्छु नि जब आवश्यकता महसुस हुन्छ ।

मानव स्मरण प्रणालीलाई भर्चुअल मेमोरी कार्डसँग तुलना गर्दै मैले एक दिन फेसबुकमा ‘मेन्टल मेमोरी कार्ड’ रिफ्रेस गर्नुपर्ने आवश्यकता महसुस गरेको स्ट्याटस लेखेँ । त्यसमा कमेन्ट गर्ने धेरै साथीहरूले रिफ्रेस गरेर मात्र नपुग्ने, फम्र्याट् नै गर्नुपर्ने आवश्यकता सुझाए । तर, भनेजस्तो सजिलो कहाँ छ र मित्र, मेन्टल मेमोरी कार्ड फम्र्याट् गर्न ! मिल्ने भए त म फम्र्याट् मात्र के, पुराना सूचनाहरूलाई ड्याङ्ड्याङ् ब्याक्अप् डिस्क्मा थन्काइदिएर करेन्ट मेमोरी स्पेसियस (Spacious) बनाइहाल्थेँ नि ! मान्छे सर्वश्रेष्ठ प्राणी भन्छन् । सर्वश्रेष्ठ प्राणीलाई त प्रकृतिले सूचना भण्डारणको स्थायी क्षमता दिएको छैन भने अरु प्राणीको हालत के होला । बिचरा !

हो, मष्तिष्क व्यवस्थापन (Mind Management) साह्रै कठिन कार्य हो । तर पनि, म अचेल कसरी आफ्नै सोचाइलाई व्यवस्थित पार्न सकिन्छ भनेर सोच्दै छु, ता कि त्यहाँको अव्यवस्थाले मेरो स्मरण प्रणालीलाई भद्रगोल हुने गरी नखल्बल्याओस् ।

अचेल मलाई ‘मिस्टर् गुगल्’ र ‘तिमी त ठुलो क्षमताको मेमोरी कार्ड भएको मान्छे’जस्ता सम्बोधनले मेरा विगत र वर्तमानलाई तुलना गर्न बाध्य बनाउँछन् । तुलना गर्दा प्रायशः वर्तमानलाई कमजोर पाउने गरेको छु । तर पनि, केही समयपछि नै पुनः ती सम्बोधनले मलाई मेरो स्मरण शक्तिमा गौरवान्वित र मख्ख बनाउनेछन् भन्ने आशामा बाँचेको छु ।

Monday, January 31, 2011

विद्यार्थी सङ्गठन र परीक्षा अनुभव

त्रिवि परीक्षा प्रणालीको अव्यवस्थाले मलाई पनि छोयो यस पालि ।
गत साउनमै हाम्रो बिए दोस्रो वर्षको कक्षा सकियो । त्यसपछि कलेजले हाम्रो एक पटक आन्तरिक परीक्षा लियो, अनि छाडिदियो । हामी घरमा परीक्षाको तालिका कहिले आउँछ भनेर कुरिबस्न बाध्य भयौँ ।
हुन त दोस्रो वर्षको कक्षा सुरु हुने बेला पोहोर माघ महिनामा हामीले धेरैको मुखबाट अब चाँही परीक्षाहरू पूर्वनिर्धारित समयमा नै हुन्छन् रे भन्ने सुनेका थियौँ । यसअनुसार हाम्रो दोस्रो वर्षको परीक्षा ढिलोमा पनि दसैँअगाडि सकिनुपर्ने थियो । हाम्रो र अन्य निजी कलेजहरूको पढाइको रफ्तार हेर्दा भदौमा परीक्षा गर्न विद्यार्थी र कलेजहरूको तर्फबाट कुनै समस्या पनि थिएन । तर, हाम्रो आशा त्यति बेला निराश भयो, जब साउनको अन्त्यमा तेस्रो वर्षको परीक्षा भईसक्दा पनि दोस्रो वर्षको लागि तालिका प्रकाशन भएन । भदौँको मध्यसम्म पनि तालिका प्रकाशित नभएपछि हामी कार्तिकअगाडि परीक्षा नहुने कुरामा ढुक्क भयौँ, किनभने तालिका प्रकाशन र परीक्षा सञ्चालनको समयबीच कम्तीमा पनि एक महिना ग्याप हुनुपर्छ रे । एक महिनाअगाडि नै दसैँ सुरु हुने थियो, अनि दसैँ र तिहारको बीचमा परीक्षा सञ्चालन हुने कुरो नै थिएन । अनि, तिहार सकिँदा कार्तिक पनि सकिएको हुन्थ्यो । तालिका सार्वजनिक हुनुअगाडि एक पटक सरसर्ती सकिइसकेको कोर्स पढ्न न त विद्यार्थीलाई जाँगर चल्यो, न त कलेजले नै रिभिजन क्लासको व्यवस्था गर्न सके ।
असोज १८ गते तालिका प्रकाशन भयो । यो दिनसम्म आइपुग्दा दसैँ सुरु हुन मात्र चार दिन बाँकी थियो । उक्त तालिका अनुसार मङ्सिर १६ गतेदेखि परीक्षा सुरु हुने थियो । मेरा आफ्ना विषयहरूको कुरा गर्नुपर्दा बीचबीचमा असन्तुलित ग्यापका साथ पुस ११ गते परीक्षा सकिने थियो । सायद्, परीक्षा तालिका आएपछि सबै विद्यार्थीहरूलाई जबर्जस्ती भए पनि पढ्न मन लाग्छ । तर, बीचमा आएका दसैँ र तिहारले विद्यार्थीलाई पारिवारिक वातावरणमा बढी व्यस्त र सँगसँगै मस्त गराए । अब तिहारपछि मात्र परीक्षाको तयारी सुरु हुने भयो । अर्कातर्फ, पहिलो वर्षको नतिजा अझै प्रकाशित भइसकेको थिएन भने शुल्क वृद्धिको निहुँमा सरकारी कलेजका विद्यार्थी नेताले परीक्षा फारम सङ्कलनमा अवरोध पु¥याएका थिए । यी कारणहरूले परीक्षा तालिका सर्ने हो कि भन्ने भय हामीमा सदैव थियो ।
कार्तिक मसान्तमा पहिलो वर्षको नतिजा प्रकाशित भयो । मङ्सिरको दुईसम्म आइपुग्दा विद्यार्थी सङ्गठनहरू पनि परीक्षा फारम बुझाएर समयमै परीक्षा गराउन सहमत भए रे । अब परीक्षा हुने भन्नेमा हामी ढुक्क भयौँ । मङ्सिर १० गते परीक्षा केन्द्रको समेत सूचना सार्वजनिक भइसकेपछि त समयमै परीक्षा हुने कुरामा सायदै कसैलाई शङ्का थियो । हाम्रो परीक्षा केन्द्र पाटन संयुक्त क्याम्पस पारिएको थियो । अलिक टाढा भए पनि निर्धारित समयभन्दा करिब चार महिनापछि परीक्षा दिन पाउँदा हामी खुसी नै थियौँ ।
विश्वस्त तयारीका साथ हामी १६ गते बिहान ११ बजे नै पाटन क्याम्पस पुग्यौँ । त्यहाँ भेट भएका अर्कै कलेज तर मेरै विषय पढ्ने एक जना साथीसँग पहिलो वर्षको नतिजाबारे कुराकानी भयो । उनी त्यसप्रति पटक्कै सन्तुष्ट थिएनन् । हुन त मलाई पनि मैले पाएको अङ्कमा चित्त बुझेको थिएन । उनले आफ्ना असन्तुष्टि र आक्रोश मसँग पोखे । कुरैकुरामा उनले भने, “यसो यहाँ कुरा सुन्दा त आजको हाम्रो परीक्षा पनि नहुने सम्भावना छ ।” यो कुरा निश्चय नै उत्तेजक भए पनि मैले सजिलै पत्याइँन । कारण, मैले त्यस्तो कुनै सङ्केत देखेको थिइँन । मेरो जानकारीमा परीक्षा बिथोल्ने एक मात्र तत्व विद्यार्थी सङ्कठनहरू पनि त्यसमा सहमत भइसकेका थिए । अर्कातर्फ अन्य विषय पढ्नेहरूको अघिल्ला दिनका परीक्षा सोही केन्द्रमा शान्तिपूर्वक भएको सूचना मसँग थियो । फेरि, म सबैले भनेका सबै कुरा कहाँ सजिलै पत्याउँछु र !
करिब पौने बाह्र बजे परीक्षा हलमा बसेर पाइएको उत्तर पुस्तिकामा आफ्नो रोल नं र अन्य विवरण लेख्न लाग्यौँ । ठ्याक्क प्रश्नपत्र बाँड्न सुरु गर्दा केही युवा भित्र पसे । उनीहरूले “एक्जाम क्यान्सिल, कापी देऊ, नत्र प्रवेश पत्र च्यातिदिन्छु” भने । हामी सबै नतमस्तक भयौँ । विरोध गर्ने कसको हिम्मत ? त्यो साथीले भनेको ुकरा मिलेपछि म छक्क परेँ ।
अब परीक्षा कहिले हुन्छ त भन्दा सोही क्याम्पसका शिक्षकले पनि केही बताउन सकेनन् । खालि सञ्चार माध्यमा ध्यान दिन आग्रह गरे । परीक्षा किन बिथोलिएको थाहा पाउने त सायदै कोही थिए । बाहिर आएर घाममा गफगाफ गरियो । प्रायः सबै विद्यार्थी यसप्रति दुःखी र आक्रामक भए पनि हामीले त्यहाँ दुःख र आक्रोश व्यक्त गर्नुको कुनै अर्थ थिएन । हामी सरासर घर फर्कियौँ ।
अब मेरो अर्को परीक्षा मङ्सिर २१ गते थियो । १६ गतेकै परीक्षा बिथोलिएपछि २१ गते परीक्षा हुन्छ कि हुन्न भन्नेमा मलाई शङ्का नै थियो । तै पनि यदि भइहाल्यो भने त ......., तयारी त गर्नु नै प¥यो । भोलिपल्ट बिहान पत्रिकामा परीक्षा बिथोलिएको समाचार आयो । त्यसमा उल्लेख भए अनुसार परीक्षा बिथोलिनुको कारण गत भदौमा बिथोलिएको स्नातकोत्तर पहिलो वर्षको परीक्षा रे । उनीहरूको क्याम्पसका विद्यार्थीको परीक्षा बिथोलिएको थियो रे, अनि त्यो परीक्षा पुनः सञ्चालन नभएसम्म उनीहरूको कलेजमा परीक्षा नै हुन नदिने रे । कस्तो तर्कहीन कुतर्क ! हामी त साँढेको जुधाइमा मिचिएका बाच्छा पो भएछौँ । सरकारी क्याम्पसमा हुने अनावश्यक राजनीतिको सिकार । फेरि विद्यार्थी नेता नै विद्यार्थीको भलाइका लागि भन्दै उनीहरूलाई खत्तम पार्न लागेछन् ।
यसैबीचमा १८ गते परीक्षा केन्द्र सरेको सूचना आयो । अब हामी जाँच दिन एक्टिभ एकेडेमी, वसुन्धरा जानुपर्ने भयो । यसले अब चाँही परीक्षा शान्तसँग दिन पाइन्छ कि भनेर ढुक्क बनायो ।
तर त्यसको भोलिपल्टै २३ देखि २९ सम्मका परीक्षा पुस १६ देखि २३ सम्मलाई सारिएको सूचना आयो । यसै अनुसार मेरो मङ्सिर २८ गतेको परीक्षा पुस २२का लागि स¥यो । सूचनामा ‘विशेष’ कारणवश भनिएपनि मिडियाहरूबाट खास कारण थाहा भइहाल्यो । स्वभावतः त्यो पनि विद्यार्थी राजनीतिकै परिणाम थियो, र विद्यार्थीका लागि क्रान्ति गर्ने नेताहरूले विद्यार्थीको भविष्यमाथि गरेको खेलबाडको अर्को पराकाष्ठा । अब पुस ११मा सकिनुपर्ने मेरो परीक्षा पुस २२ सम्म जारी हुने भयो ।
त्यसबाहेकका परीक्षा शान्तसँग नै सञ्चालन भए, हाम्रै केन्द्रमा मात्र भए पनि । तर, पुस १५ गते अगाडिसम्म पनि पहिलो दिन मङ्सिर १६मा रोकिएको परीक्षा कहिले हुने वा हुने नहुने केही ठेगान थिएन । बजारमा अब त्यो परीक्षा हुँदैन रे भन्ने हल्ला व्यापक थियो । कोही, सबैलाई अनुपस्थित गराएर फेल भएको रिजल्ट पठाउँछ भन्थे, कोही मात्र उत्तीर्णाङ्क भए पनि दिन्छ भन्थे । यस्तो शङ्काका बीच भएका अन्य परीक्षाहरूमा विद्यार्थीको प्रस्तुतिलाई पनि यो वातावरणले प्रभाव पारेको हुनुपर्छ ।
पुस १५ गते बल्ल उक्त परीक्षा पुस २६ गते हुने सूचना पायौँ । हुन त यसले हाम्रो परीक्षा सकिने तिथिलाई फेरि चार दिन सारेको थियो । तर, कहिले हुने हो ठेगान नभएको परीक्षाको मिति तोकिँदा हामी मख्ख परेका थियौँ ।  
यस प्रकार बल्लबल्ल पुस २६ मा हाम्रो परीक्षा सकियो । थाहा भएकै कुरा हो, अब नतिजा आउन कम्तीमा पनि आठ महिना लाग्छ, अनि नतिजा नआई तेस्रो वर्षको परीक्षा हुनेछैन । फेरि पनि, तालिकाअनुसार तेस्रो वर्षको परीक्षा दसैँअगाडि कुनै पनि हालतमा हुनैपर्छ । यसमा हामी आजसम्म ढुक्क छौँ । तर विगतलाई हेर्दा के हुने हो थाहा छैन, किनभने हाम्रो देशमा विद्यार्थी सङ्कठन नामका विद्यार्थी विरोधी झुन्डहरू छन् । अब तेस्रो वर्षको परीक्षा ढिलो बनाउने सम्भावित कारण प्रस्तावित स्ववियु निर्वाचन हुनसक्छ ।  आगामी चैतमा हुनुपर्ने उक्त निर्वाचन कुन प्रक्रियाबाट गर्ने भन्नेमा उनीहरूबीच एक मत छैन, जसले उक्त कार्यक्रमलाई केही हप्तादेखि महिनासम्म पछि धकेल्न सक्छ । अनि, हाम्रो त्रिविमा एउटा कार्यक्रम पछि धकेलिएपछि त्यसपछिका सबै कार्यक्रमहरू पछि सर्ने प्रचलन छ ।
आशा गरौँ, मैले देखेको सम्भावना निरर्थक होस् । समयमै जाँच होस्, समयमै नतिजा आओस् । तीन वर्षमा सक्नुपर्ने कार्यक्रम चार वर्ष लागिसकेको छ, अब पाँचौ वर्ष पनि त्यसमै नबितोस् ।

Friday, October 22, 2010

दसैँ डायरी

यस पालिको दसैँले मज्जासँग मलाई विश्राम दियो, अन्य कुराहरूभन्दा महत्वपूर्ण हुने गरी । दसैँको सुरुवात हुनुभन्दा अगाडि म साह्रै व्यस्त थिएँ, आफू, आफ्नो परिवार तथा मेरा अन्य जिम्मेवारीसँग सम्बन्धित कामहरूले मेरो दैनिक तालिका पूर्वनिर्धारित हुन्थ्यो । अर्कातर्फ, सबै साथीहरू आआफ्ना काममा व्यस्त हुने भएकाले पनि म साथीहरूसँग घुलमिल गर्न पाउन्नथेँ ।
यो फुर्सदको समयमा मैले के गरेँ त ?

पहिलो — तेस्रो दिन
धार्मिक रूपमा बडा दसैँको पहिलो दिन घटस्थापना हो । मेरो दसैँ पनि यही दिन सुरु भयो, केही साथीहरूसँग काठमाडौँ उपत्यकाको केही बाहिर रहेको सुप्रसिद्ध ध्यान केन्द्र ओशो तपोवनको यात्रा गरेर । हुन त हामी त्यहाँ ध्यान गर्न गएका थिएनौँ, त्यहाँ रमाइलोका लागि गएका थियौँ । तर, अर्कातर्फ, त्यो ठाउँ रमाइलोका लागि छँदै थिएन ।  जे भए पनि त्यहाँका झरना, ओशो समाधि लगायतका स्थान हेरेर, अनि ध्यानका कोर्सहरूबारे जानकारी लिएर हामीले रमाइलो ग¥यौँ, साथमा त्यहीको शाकाहारी रेन्टुरेन्टको खाजा थियो । त्यसपछि एक घण्टाभन्दा बढी समय लगाएर बालाजुसम्म हिँडेर फर्कियौँ ।
अर्को दिन, मैले एक जना मेरो प्यारो साथीलाई सपिङ्को लागि साथ दिएँ । आंशिक रूपमा यो दसैँ सपिङ् भए पनि त्यसभन्दा महत्वपूर्ण केही अरू नै थियो । हामीले धेरै सपिङ् सेन्टरहरू चहा¥यौँ, धेरैमा “विन्डो सपिङ्” ग¥यौँ भने केहीबाट वास्तविक सपिङ् । खुब “मिठोसँग नाम राखिएको” एउटा रेस्टुरेन्टमा खाजा खाएपछि त्यो दिन सकियो । हुन त मेरो साथीले भनेअनुसार खाजा पनि त्यहाँको खुबै मिठो नै हो ।
तेस्रो दिन, मैले अरू दुई जना निकटतम मित्रहरूलाई सपिङ्को लागि साथ दिएँ । तर, हिजोको जस्तो रमाइलो भने भएन । केही न केही हामीबाट छुटेको थियो, अवश्य नै पर्याप्त समय !

चौथो — नवौँ दिन
दसैँ अझै पनि सकिएको छैन । सबै साथीहरू आआफ्नो परिवारमै रमाउन लागिसके, म अब के गर्ने होला ? फेरि म ताससास पनि त खेल्दिनँ । अब मलाई भने पूर्ण रूपमा फुर्सद भयो । मैले यसलाई पनि सकारात्मक रूपमा लिएँ — सङ्कल्प गरेँ म अब कसैका लागि केही गर्दिनँ । बरु म घरमै बस्नेछु । फलस्वरूप, मैले आमा र दिदीहरूलाई भान्छा तथा अन्य घरेलु काममा सिघाउने मौका पाएँ । त्यसैले त अचेल कान्छी दिदी मसँग मख्ख छे नि ! म पनि त धेरै खुसी भएको छु नि, मैले मेरा जीवनका लागि उत्तिकै महत्वपूर्ण धेरै सीपहरू सिक्न पाएको छु ।
मेरो यो क्रम (कृपया क्रम भन्नाले क्रमबद्ध र योजनाबद्ध कार्यक्रम नसम्झनुहोला । अरू कुनै उपयुक्त शब्द नपाएर मैले यो शब्द प्रयोग गरेको हुँ ।) दसैँको टिकाको अघिल्लो दिन महानवमीसम्म जारी रह्यो ।

दसौँ — बाह्रौँ दिन
यी तीन दिनहरू पूर्णतः परिवारका मान्यजनबाट टिकाजमरा लगाउन र आशीर्वाद थाप्नमा खर्च भए । सायद् यसलाई व्याख्या गर्नु पर्दैन होला । तपाईँलाई थाहा नै होला नि, हामी कसरी टिकाजमरा लगाउँछौँ ।

तेह्रौँ दिन
मैले मेरो जीवनमा अहिलेसम्मकै सबभन्दा गाह्रो शारीरिक श्रम गरेँ । के काम गरेँ, त्यो चाँहि ठ्याक्कै नभनौँ होला । केही कुरा त गोप्य नै राख्नुप¥यो नि ! त्यस गाह्रो श्रमको कारणले गर्दा मेरो हात यस्तोसँग दुख्यो कि म मध्यरातसम्म “ऐया ......... ऐया ...........” गरेर रुँदै थिएँ ।

चौधौँ दिन
मभन्दा ठ्याक्कै एक दिन जेठो साथीको जन्मदिन थियो त्यस दिन । उसले मलाई उसको बर्थ डे पाटीमा भाग लिन बोलाएको थियो । दुई जना साथीहरूसँग मिलेर म पनि त्यस पाटीमा सहभागी भएँ । एक्लो शाकाहारी भए पनि मलाई त्यहाँ रमाइलो नै भयो ।

पन्ध्रौँ दिन
सूर्यमासको क्यालेन्डरअनुसार आज मेरो जन्मदिन । मेरो परिवारमा, सूर्यमासीय जन्मदिनको त्यति महत्व हुँदैन, जति चन्द्रमासीय जन्मदिनको हुन्छ । (अर्थात्, मितिभन्दा तिथि महत्वपूर्ण हुन्छ ।) त्यसैले, परिवारका तर्फबाट मेरा लागि कुनै विशेष कार्यक्रम छैन । मैले फेसबुकमा, एस्एम्एस् र फोनमार्फत्  “ह्याप्पी बर्थ डे” का शुभकामनाहरू पाएँ । मेरो आफ्नै तर्फबाट पनि कुनै उत्सवको कार्यक्रम छैन, किनभने मेरो कुनै योजना छैन । (भन्दिउँ न त) मैले योजना बनाउन भ्याइनँ । (हुन त कुनै योजना नै नभएको भने होइन, केही गर्न त खोजेकै हो । तर, यो योजना असफल भयो । कृपया त्यो के थियो नसोध्नुहोला । यदि सफल भएको भए म नसोधिकन नै बताइदिने थिएँ ।) त्यसैले म यहाँ घरमा एक्लै आनन्द गरिरहेको छु ।

दसैँलाई बिदा ! अर्को वर्ष भेटौँला ।

Saturday, September 11, 2010

जागिर ः अनुभवीलाई मात्र !

निश्चित योग्यता हासिल गरिसकेपछि आफ्नो र आफ्नो योग्यताको मूल्य खोज्ने मनोवृत्ति आम मानिसमा हुँदो रहेछ । यसैअनुसार, आफूलाई आवश्यक होस् वा नहोस् वा नहोस््, म पत्रिकाका पेजहरूमा आवश्यकताका विज्ञापनहरू (Vacancy Announcements) हेर्ने गर्दछु, नियमित रूपमा । हो, मलाई अहिले कुनै त्यस्तो रोजगारीको आवश्यकता पनि छैन, न त जागिरे हुने रहर नै । विज्ञापनहरूमा आँखा डुलाउनुको मेरो उद्देश्य हुन्छ ः आफू कस्तो–कस्तो कामका लागि सक्षम भएछु भन्ने पहिचान गर्ने र यसको सहयोगमा आत्ममूल्याङ्कन गर्ने ।
शैक्षिक योग्यता, इच्छाशक्ति, चासोको विषय आदि विविध पूर्वसर्तहरू पूरा भएपनि एउटा सर्तले सधै मलाई अयोग्य बनाउने प्रयास गरिरहेको हुन्छ — कम्तीमा पनि ‘निश्चित’ वर्षको सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव । म र मजस्ता सयौँ युवायुवतीले अभिव्यक्त गरे वा नगरेपनि अनुभव गरेको र आफ्नो मनमा उठाउने गरेको प्रश्न के हो भने काम गर्ने अवसर नै नपाई अनुभव कहाँबाट आउने ? नयाँ व्यक्तिलाई पनि कामका लागि पुरानो अनुभव चाहिने रहेछ, यहाँ ! कामले अनुभव दिने हो कि अनुभवले काम ???
उत्तर दिन सायद् रोजगारदाताका प्रतिनिधिहरूलाई पनि गाह्रो पर्ला । यो कुरामा विवाद गर्न मिल्दैन कि अनुभवले कर्मचारीको सम्बन्धित क्षेत्रमा ज्ञान र दक्षता बढाउँछ । “पढेरभन्दा परेर जानिन्छ” भन्ने उखान त्यत्तिकै जनजिब्रोमा स्थापित भएको होइन । यो पनि प्रायशः सत्य नै हुने गरेको छ कि नवप्रवेशीभन्दा अनुभवीहरूले नै कुनै पनि संस्थालाई राम्रोसँग सञ्चालन गरी राम्रो नतिजा दिलाउन सक्छन् । तर पनि, मेरो प्रश्न कहाँनिर हो भने नयाँ व्यक्तिले काम गर्ने अवसर नै पाएनन् भने अनुभवी व्यक्ति कसरी विकास हुन सक्छ ? आजको अनुभवी पनि त हिजो त नयाँ नै थियो होला नि, होइन र ? उसले पनि जागिरका लागि अनुभवको योग्यता कुर्नुपरेको भए आज ऊ अनुभवी हुन्थ्यो होला र ? कि उसले ‘नवप्रवेशी’ हुनुभन्दा अगाडि नै ‘अनुभवी’को दर्जा अथवा प्रमाणपत्र पाइसकेको थियो ?
हाम्रो नेपालमा शिक्षसँगै व्यवसायिक अभ्यास (जस्तो अरू देशमा Internshipको प्रचलन छ) को खासै प्रचलन नै छैन । यदि सबै विद्यार्थीले कोर्स पूरा गर्न कार्यमूलक अभ्यास गर्नैपर्ने अनिवार्य व्यवस्था गर्ने हो भने उनीहरूले पढ्दापढ्दै छोटो अनुभव प्राप्त गरिसकेका हुन्थे । यहाँ त एउटा पत्रकारिताको विद्यार्थी क्लासरुमबाट सिधै न्युजरुममा जान्छ (यदि मौका पायो भने) र आफूले कक्षामा पढेको सिद्धान्त सम्झिदै कार्यक्षेत्रको वातावरणबाट डराएर भाग्न पुग्छ । अन्य सबै क्षेत्रमा सिधै अध्ययन बाट कार्यक्षेत्रमा हाम फाल्नेहरू आफूले कहिल्यै नसोचेको समस्याका अगाडि रन्थनिन पुग्छन् ।
अनुभवले काममा दक्षता दिने हो, तर काम दिन नै अनुभव खोज्नु प्रकृतिविपरीत हो । कार्य–कारणको प्राकृतिक नियममा अनुभव कार्य हो भने त्यसको कारण काम हो । प्रकृतिको स्वभाव कामले अनुभव दिने हो, न कि अनुभवले काम । जबसम्म अनुभवलाई जागिरको पूर्वसर्त मानिन्छ, तबसम्म अनुभवी व्यक्तिको सङ्ख्या दिनानुदिन घट्दै जान्छ, किनकी अनुभवी बन्नका लागि एक नयाँ व्यक्तिले पनि कार्यक्षेत्रभित्र पस्न पाउनुपर्छ । यही प्रचलन रहेसम्म, बरोजगार सधै बेरोजगार रहन्छन्, अनि रोजगारलाई रोजगारीको मारामार हुन्छ । कार्यक्षेत्रमा कर्मचारीको अभाव हुन्छ, अनि कार्यक्षेत्रभन्दा  बाहिर रहेकालाई कामको ।
आजका रोजगारदाताले चाहिँ कामको परिणाम अनुभव हो भन्ने प्राकृतिक सिद्धान्त नै नबुझेका हुन् कि ? अथवा उनीहरूले यसका विरुद्ध ‘अनुभवको परिणाम काम’को नयाँ सिद्धान्त प्रतिपादन गरेका हुन् ??

Sunday, September 5, 2010

अचेलको नाटक अभियान नयाँ ढङ्गमा

दिवाकर प्याकुरेल
कपन, २० भाद्र

विगत तीन वर्षअघि पशुपति क्षेत्रमा स्थापित अचेल नाट्यसमूहले नयाँ तरिकाबाट आफ्नो अभियानलाई अगाडि बढाएको छ । एकै दिन एउटै नाटक धेरै स्थानमा प्रदर्शन गरेर उसले यस्तो अभियान सुरु गरेको हो ।
गत भाद्र १९ गते उक्त समूहले गत भाद्र १९ गते शनिबार उक्त समूहले ‘कहिले बन्ला’ नामको नाटक काडमाडौँका छ स्थानमा प्रस्तुत ग¥यो । नाटक काठमाडौँको वसन्तपुर, रत्नपार्क, चाबहिल, गौशाला, पशुपति र जयवागेश्वरीमा उक्त नाटक देखाइएको हो ।
आयोजक समूहकी सञ्जिता पराजुलीका अनुसार नाटकले देशमा विद्यमान राजनीतिक गतिरोधलाई एउटा सर्वसाधारण घर, र त्यस घरका बालबालिकामा पर्न सक्ने असरलाई जोडेको छ । “बजारमा मट्टितेल छैन, चिनी छैन, पेट्रोल छैन । भए पनि भाउ आकासिएको छ । धारा छ पानी छैन । मोबाइल छ टावर टिप्दैन । संविधानसभाको निर्वाचन भएको २ वर्ष भयो संविधान बन्दैन । एउटा प्रधानमन्त्रीको चयन गर्न ३ महिना लाग्न लाइसक्यो । गाडीले पेटीमा हिँडिरहेको मान्छेलाई मार्छ । बालबालिका स्कुलबाटै अपहरण हुन्छन् । नेपाल बन्द, चक्काजामले बालबालिकाको स्कुल लाग्न पाउदैनन् । हाम्रो नाटकको विषयवस्तु यही हो ”, नाटकका निर्देशक अजित अर्यालले भने ।
अजित अर्यालको परिकल्पना तथा निर्देशनमा तयार भएको उक्त नाटकमा अजित अर्याल, सम्झना अधिकारी, अनिष राई र सञ्जिता पराजुलीको अभिनय थियो ।
अभिनयद्वारा चेतनाका लहरहरू (अचेल) युवाहरूकै सक्रियतामा करिब तीन वर्षअघि स्थापित नाट्यसमूह हो । यसले पुशुपति क्षेत्रमा नियमित रूपमा र विशेष अवसरमा छोटा नाटकहरू देखाउँदै आएको छ ।

Tuesday, August 24, 2010

लमुजुङ् यात्रा : जीवनको हिँडाइ

म किन यो लेख्दै छु ?
“दिवाकर, तिमी हाम्रो यात्राको संस्मरण लेख है !”, यात्राको पहिलो दिन नै मलाई रुबिना दिदीले एउटा महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ ।  अर्कातर्फ मैले पढेको छु, "A thing DONE has no real existence…once it is done, its existence is finished. A thing MADE…exists until it decays or is destroyed. Once it is finished, its existence begins…Fact, finally, has no real existence, while fiction may last for centuries…Fact, in order to survive, must become fiction." ['Fiction, Fact and Truth', The Elements of Fiction, Elements of Literature]

यी दुई कारणहरूले गर्दा मैले आज लेख्नु छ । साँच्चै नै मैले आज यो लेखिँन भने यो त्यत्तिकै मर्छ, हराएर जान्छ — म बिर्सन्छु । आज मैले लेखेर राखेँ भने जहिले यो पढिन्छ, त्यति बेला याद हुनछ । अनि मैले यसलाई सधै अविस्मरणीय बनाउनु छ ।
तर, न त यो यात्रा संस्मरणजस्तो व्याख्यात्मक छ, न त fiction बनाउन चाहिने colour भरिएको छ । यो रुबिना दिदीले भनेजस्तो संस्मरण नहुन पनि सक्छ, fiction पनि होइन यो । यद्यपि, म यो लेख्दै छु किनकी यसले मेरा जीवनका सात दिनहरूलाई अविस्मरणीय बनाउँछ । अरू कसैका लागि नभएपनि, म त कमसेकम सम्झिनेछु ती दिनहरू ... ।

पृष्ठभूमि
गत साउनको १३देखि १९ गतेसम्म म लमजुङ्को एक हप्ते भ्रमणमा थिएँ । काठमाडौँबाट प्रस्थानको अघिल्लो दिन मात्र मैले यसको योजना थाहा पाएको थिएँ । एउटा महत्वपूर्ण अवसरका लागि आएको निमन्त्रण टार्न नसकेर मैले धेरै हतारमा निर्णय गर्नुपरेको थियो । आफैले त पर्याप्त तयारी गर्न नपाएको अवस्थामा मैले आफ्ना अत्यन्त निकट साथीहरूलाई पनि यसबारे खबर गर्न भ्याउने समय नै थिएन । साउन १३ गते बिहान ५ बजेअगाडि नै घरबाट निस्कनुअगाडि फेसबुकको वालमा लेखिदिएको सन्देशले धेरै साथीहरूलाई अचम्मित तुल्याएछ — फर्केर आएपछि फेसबुक खोलेर हेर्दा आएका कमेन्ट देखेपछि म आफैँ दङ्ग परेँ ।

तयारी
साउनको सुरुवातदेखि नै म समयको दबाबमा थिएँ । पत्रकारिताको एउटा पत्रअन्तर्गत मैले अमेरिकाको प्रेस इतिहासबारे एउटा लामै लेख लेख्नु थियो । यसको अन्तिम म्याद (Deadline) साउन १५ थियो । म भने साउन १३भित्रै यसलाई पूरा गर्छु भनेर साउन १२ गते घरमै अध्ययन र लेखनमा व्यस्त थिएँ । दिउँसो १२ः२० बजे एउटा फोन आयो । मैले आजसम्म पनि प्रत्यक्ष कुराकानी नगरेको तर नाममार्फत् धेरै चिनेकी सुशीला दिदीले कन्सोर्टियम (बालक्लबका लागि कार्यरत संस्थाहरूको साझा सञ्जाल)बाट फोन गर्नुभएको थियो । “दिवाकर भाइ, मैले तपाईँलाई life skills training का लागि कतै पठाएँ भने जान सक्नुहुनछ ?” उहाँको यो प्रश्नको उत्तर मैले दिनै सकिनँ किनकी उहाँले तालिम लिन कि दिन बोलाउनुभएको हो थाहा हुनै सकेन । अर्कातर्फ, न मिति, समय र स्थानको नै जानकारी भयो । कुरा गर्दै जाँदा उहाँले लमजुङ्को कुनै गाउँमा रहेका बालक्लबका सदस्यहरूलाई जीवनोपयोगी सीप तालिम दिन जानुपर्ने कुरा बताउनुभयो । “तपाईँ जाने हो भने भोलि नै हिँड्नुपर्छ । त्यसकारण मलाई तत्काल निर्णय दिनूस् ।” मैले उहाँसँग निर्णय गर्नका लागि एक घण्टा समय मागेँ, अनि दस मिनेटमा निर्णय गरेर सकारात्मक उत्तर दिएँ । त्यसपछि उहाँले हातेमालो सञ्चारकी निरिजना भट्टसँग सम्पर्क गरेर यात्राको थप योजना बनाउन आग्रह गर्नुभयो । पछि निरिजना दिदीसँग फोनमार्फत् दिउँसो ३ बजे हातेमालोमा भेट्ने सहमति भयो ।
“दिवाकर, तिमी त चार घण्टा हिँडुनुपर्छ रे !” निर्धारित समयभन्दा केही ढिला पुगेको मलाई नाटक गरेको धेरै अनुभव भएकी निरिजना दिदीले हाउभाउ र भावभङ्गिमासहित बताउनुभयो । यसले मेरो मनमा कताकता डर र कताकता उत्साह थप्यो । मभन्दा पहिल्यै हातेमालो बालक्लबकै पुर्वसदस्य रेडियोकर्मी रुबिना श्रेष्ठ आइसक्नुभएको थियो । हामीले हतारहतार पाँच दिनका लागि तालिमको योजना बनायौँ । बल्ल मलाई कुरा प्रष्ट हुँदै थियो कि हामी तीन जना लमजुङ्का तीन छुट्टाछुट्टै गाउँमा जानेछौँ । त्यसमा पनि म जाने ठाउँ अलि बढी दुर्गम र टाढा छ रे । उहाँहरू जत्ति हिँड्नुहुन्छ, म त्यसको दोब्बर हिँड्नुपर्छ रे । “ठिकै छ, हिँडौला” मैले यसलाई सहज स्विकारेँ । पाँच दिनको पूर्ण योजना बनाइनसक्दै म हातेमालोबाट निस्किएँ, बाँकी काम दुई दिदीहरूले पूरा गर्नुभयो । यसअछि हामी तिनै जनाले भोलि बिहान ६ बजे कलङ्की चोकमा भेट्ने सहमति गरिसकेका छौँ ।

हतारहतारमै निर्णय गरेर तयारी सुरु गरिसके पनि मैले आमाबासँग अनुमति मागेको थिइँन, न त सूचना नै दिएको थिएँ । विशेष कामले आमाबा त्यस दिन मामाघर जानुभएको थियो । बेलुका बा फर्कनुभयो, आमा भने उतै बस्नुभयो । बेलुका बालाई भोलि म जाने कुरा बताउँदा स्वीकृति त जनाउनुभयो, तर तयारीका लागि समय नभएकोमा उहाँको पनि चित्त दुखाइ थियो । “सबै आलाकाँचा रहेछौँ, ठुला मान्छे कोही छैन । राम्रोसँग जानू”, उहाँ भन्दै हुनुहुन्थ्यो । आमासँग फोनमार्फत् कुरा गरेँ ।
साउन १३ गते बिहान ६ बजे कलङ्की पुग्ने सहमति भए पनि म अलि छिटै पुगेछु । हामी तिनै जना करिब ६ः१५मा जम्मा भइसकेका थियौँ । हामीले कलङ्कीदेखि नै लमजुङ्, बेसीसहरसम्म जाने माइक्रोबस सजिलै पाइने सूचना पाएका थियोँ । त्यसैअनुरूप हामी सोधखोजमा लाग्यौँ । पछि हामीले यहाँबाट बस पाउन गाह्रो हुने निष्कर्ष निकाल्यौँ, र नयाँ बसपार्कतर्फ लाग्यौँ । नयाँ बसपार्कबाट करिब ७ः४५ बजे हाम्रो बसले गति लिन सुरु ग¥यो ।
कलङ्कीदेखि नै सुरु हुने काठमाडौँ र धादिङ्का केही जामहरू छिचोल्दै हामी करिब दिउँसो ३ बजे तनहुँ जिल्लाको बाइसजङ्घार भन्ने ठाउँमा पुग्यौँ । हामीलाई त्यहाँ तालिमको आयोजक संस्था महिला आपसी सहयोग केन्द्र (मआसके)का प्रतिनिधिहरू कुरेर बस्नुभएको थियो । उहाँहरू चार जना  र हामी तीन जना गरी अब सात जना भयौँ । करिब १०—१५ मिनेट ओरालो हिँडेपछि मस्र्याङ्दीको झोलुङ्गे पुल तरेर हामी लमजुङ् जिल्ला प्रवेश ग¥यौँ । पुल तर्नेबित्तिकै ठाडो उकालो सुरु भयो । करिब २०—२५ मिनेट उकालो चढेपछि हामी धमिलीकुवा गाविसको पाँचभाइ भन्ने स्थानमा पुग्यौँ । यहाँबाट अब हामी कच्ची बाटोमा बसयात्रा गर्नेछौँ ।

राम नाम जप्दै
हुन त मलाई ग्रामीण क्षेत्रको कच्ची सडकमा बसयात्रा गरेको अनुभव नभएको होइन । तर पनि बसमा चढ्नेबित्तिकै मैले फरक अनुभव गरेको थिएँ । बसका पछाडिका सिटहरू खालि भए पनि त्यहाँसम्म जाने बाटो नै थिएन ! पछाडि जाने बाटोमा बोरामाथि बोरा राखिएका थिए । बस हिँड्ने बेला सबै सिट भरिए, बाँकी मानिस तिनै बोरामाथि बसे, अनि केही छतमा पनि । केही पर पुगेपछि मसँग काठमाडौँदेखि जानुभएका रुबिना र निरिजना दिदीहरू झर्नुभयो, आयोजक संस्थाका साथीहरूका साथ । अब हाम्रो टिमका म र उषा गुरुङ् (मआसकेकी प्रतिनिध) मात्र सँगै छौँ । केही पर पुगेपछि एउटा उकालो आयो । पानी परिरहेकै थियो । बस रोकियो । कसैले गाडी अगाडि बढ्न नसक्ने कुरा गरे, कसैले जसरी भए पनि जाने बताए । एक जना यात्रुले त मैप्रति लक्ष्यित गर्दै अब रातिसम्म हिँड्नुपर्ने कुरा बताए । मैले प्रत्युत्तरमा “म तयार छु” भन्ने जवाफ दिएँ । यत्तिकैमा केही युवाहरू बसबाट झरेर उक्त उकालोमा ढुङ्गा बिछ्याउन लागे । करिब दस मिनेट रोकिएपछि ड्राइभरले गाडी हाँक्ने निधो गरे । “ल सबै जना राम नाम जप्नोस् है ! के हुने हो ठेगान छैन” उनको यस्तो गम्भिर मजाकले सबैलाई हँसायो ।
अन्ततः मोटर माथि उक्लियो र ढुङ्गा छाप्न निस्केकाहरू सबै बसमा चढे । अनि त सबै मिलेर ड्राइभरको प्रशंसा गर्न पो लागे, “.............ले त कहिले पो फेल खाएको छ र !” त्यत्तिले मात्र नपुगेर अर्को ड्राइभरको खिल्ली उडाउन पनि उनीहरूले बाँकी राखेनन्, “फलानाले त बाँचुल्जेल पनि यो उकालोमा गाडी उकाल्न सक्दैन ।”
साँझको साढे ७ बज्नुभन्दा केही समयअघिमात्र हामी उक्त बसको अन्तिम स्टेसन भलायोखर्क गाविसको बोराङ्खोला पुग्यौँ । उषाजीले भन्नुभएको, वास्तवमा आज हामी कोल्कीसम्म पुग्नुपथ्र्यो रे । हामी नै काठमाडौँबाट ढिला आएकाले आज यहीँ बस्छौँ, अनि भोलि बिहानै कोल्कीतर्फ लाग्छौँ रे । हामीले बासस्थान खोज्यौँ । पहिलो प्रयासको असफलतापछि दोस्रो होटेलमा हामी बास बस्यौँ । म बसेको कोठमा जुनसुकै बेला पनि खोला बगेको आवाज आउँथ्यो । बेलुका पुगेको र बिहान सबेरै हिँडेकाले त्यो होटल र स्थानबारे मैले थप केही कुरा पनि थाहा पाइँन । तर पनि, उक्त होटेल सडकभन्दा केही तल रहेको र माथि सडकछेउमा एउटा ठुलो चौतारो रहेजस्तो लाग्छ ।

“हिँड्छु” भन्नु र हिँड्नुको फरक
भोलपल्ट बिहान ५ः३० बजे नै हामी निस्कियौँ । सुरुका ४५ मिनेटजति लमजुङ् र गोर्खाको विभाजक ऐतिहासिक चेपे नदीका किनारैकिनार तेर्सै हिँडियो । त्यसपछि भने दोभान भन्ने स्थानभन्दा केही तलबाट उकालो सुरु भयो । म आफूलाई पहिलेदेखि नै हिँड्नमा माहिर सोच्थेँ । आज भने मेरो परीक्षा हुँदै छ जस्तो लाग्यो । त्यसपछि निरन्तर आठ बजेसम्म उकालो बाटो हिँडियो । जम्माजम्मी तीन ठाउँमा हामी रोकियौँ । साढे दुई घण्टा हिँड्दा मेरा कपडा, कपडा लगाएर नुहाएजस्तै छपक्क भिजेका थिए पसिनाले । मैले आज बल्ल “म हिँड्न सक्छु” भन्नु र वास्तविक हिँड्नुमा कति फरक रहेछ भन्ने बुझेँ । साढे दुई घण्टाको बाटो हिँडेपछि अलिकति उचाइमा रहेको कोल्की भन्ने गाउँमा पुगियो ।
हुन त पहिले नै बताएजस्तै मलाई हिँडाइको दूरी र समयबारे सूचित गरिएको थियो । निरिजना दिदीका अनुसार चार घण्टा हिँड्नुपथ्र्यो । आयोजक मआसकेकी राधिका दिदीले भने डेढ–दुई घण्टा हिँडे पुग्ने बताउनुभएको थियो । तर, उषाजीका अनुसार त्यो कुरा मलाई आश्वस्त पार्न मात्र भनिएको थियो । हामीलाई सामान्यतः छिट्टै गतिमा हिँड्दा पनि ठ्याक्कै साढे दुई घण्टा लाग्यो । कोल्कीमै पुगेपछि बोराङ्खोलाबाट साढे दुई घण्टामा आइपुगेको बताउँदा सबैले छिटो हिँडेको भन्दा भने खुसी लाग्यो ।

फोनको समस्या
बोराङ्खोलामा मोबाइलको नेटवर्क लाग्दैन भनेर मलाई कसैले पनि समयमै सूचित गरेन । मस्र्याङ्दीदेखि पाँचभाइसम्मको उकालोमा नै निरिजना र रुबिना दिदीले घरमा फोन गरेर आइपुगेको जानकारी दिनुभयो । मैले भने पुग्नुपर्ने ठाउँमा नै पुगेपछि मात्र खबर गर्ने विचार गरेको थिएँ । तर दुर्भाग्य ! पाँचभाइबाट बस चढ्नेबित्तिकै मोबाइलको नेटवर्क गायब ! उषाजीहरूले हामी बस्ने ठाउँ कोल्कीमा भने नेटवर्क आउने कुराले मलाई विश्वस्त पार्न खोज्नुभो । म भने बोराङ्खोलामा न त मोबाइल, न त फोन, न त एफ्एम्को सुविधा भेट्दा नितान्त सम्पर्कविहीन भएँ । घरमा त्यसै दिन फोन गर्नुपर्ने भए पनि मसँग कुनै विकल्प थिएन । आनन्दले सुतेँ ।
“अब त टावर आयो नि सर !” भोलपिल्ट (१४ गते) बिहान झन्डै सात बज्नै लाग्दा उषाजीको यो कुराले मलाई खुसी तुल्यायो । मोबाइलले नेटवर्क देखाएपनि घरमा फोन लगाउन चार पटक प्रयास गर्नुप¥यो । बाले हिजो फोन नआएकोमा धेरै पिर गर्नुभएछ । आमाबा दुबैलाई आफ्नो मोबाइलमा सजिलै फोन नलाग्ने भएकाले फोन नगर्न, बरु मिलेका बखत आफैँ फोन गर्ने बताएँ । यसैअनुसार १५ गते बेलुका फोन गरेँ । १६ गते साँझ बाठमाडौँबाटै दिदीले फोन गरेकाले मैले फोन गरिरहनु आवश्यक रहेन । औपचारिक कार्यक्रम सकिएको दिन १८ गते बेलुका फोन गरेर आफू भोलिपल्ट बेलुका घर आउने जानकारी दिएँ ।
कोल्कीमा पनि कहाँ सजिलै फोन लाग्ने रहेछ र ? त्यसमाथि हाम्रो नमस्ते ! कुनैकुनै बेला म बसेकै ठाउँमा नेटवर्क लाग्थ्यो, कार्यक्रम भएको स्कुलमा भने शून्य । त्यसकारण एक हप्ताको बसाइँमा मैले जम्मा चार पटक मात्र फोन रिसिभ गर्न पाएँ, अनि तीन ओटा एस्एम्एस् । घरबाहेक कतै फोन गरिएन । साथीले बिहान पठाएका एस्एम्एस् म बेलुका पाउँथेँ भने मेरा प्रत्युत्तर उनीहरू भोलिपल्ट बिहान !
बाटोमा रुबिना दिदी मोबाइलबाट दैनिक फेसबुकमा अपडेट हुने कुरा सुनाउनुहुन्थ्यो । मआसकेका साथीहरूको जानकारीलाई आधार मानेर हामीले उहाँहरूलाई “फेसबुक त के फोन पनि चलाउन पाउनुहुन्न” भनेर जिस्काएका थियौँ । तर उहाँको ठाउँमा एन्सेलको नेटवर्क सजिलै उपलब्ध भएछ र फेसबुक पनि चलाउनुभएछ । निरिजना दिदीका गाउँतिर मोबाइल नलागे पनि ल्यान्डलाइन भएकाले घरको निरन्तर सम्पर्कमै हुनुभएछ । सबभन्दा बिचरामा त म पो परेँ त !

खानपिन र बसोबास
बोराङ्खोलामा पहिले नै बसिसकेको एक मान्छेलाई अर्को कोठामा सारेपछि मात्र मैले कोठा पाएँ । कोठाभित्र पसेर सामान थन्काउनेबित्तिकै मैले खानाबारे कुरा गर्नु उपयुक्त सम्झेँ । “उषाजी, खानाबारे कुरा गर्दा यो पनि भन्नुपर्ला कि, म माछा, मासु, अण्डा केही पनि खान्न ।” “हस्” भन्दै तल झर्नुभएकी उहाँ माथि चढ्दा भन्दै हुनुहुन्थ्यो, “सर्, यो त गुरुङ् बस्ती । राँगाको मासुबाहेक केही पाइन्न । चल्छ नि ?” “ओहो, उषाजी ! तपाईँ के बुझ्नुहुन्छ ?” अब म आफैँ तल झरेँ । होटलवाला दिदीले मासुको सट्टा दुधको व्यवस्था गरिदिने भइन् ।
अघिल्लो दिनको अनुभवले भोलिपल्ट १४ गते खानाको बारे आफै कुरा गर्न हौस्यायो । कोल्की पुगेको केही मिनेटमै हामी बस्ने स्थानीय होटलवाला दिदीलाई सोधेँ, “दिदी, हामीलाई खाना चाँहि के खुवाउनुहुन्छ नि ?” “त्यही त हो नि, दाल, भात, तरकारी । राँगाको मासु ।” “दिदी, म त माछा, मासु, अण्डा केही पनि खान्न है !” “अब के गरौँ त ? दाल, भात, तरकारी मात्र खानूस् ।” “हस् ।” भोलिपल्टदेखि आयोजक संस्थाका साथीहरूको आग्रहमा दाइले बिहानबिहान दुध ल्याइदिनुहुन्थ्यो । गाईभैसी पाले पनि दुधदही खाने चलन त्यति धेरै नभएकोमा मलाई अचम्म लाग्यो । खानाको गुणस्तरमा पनि चित्त नबुझेपनि मसँग अन्य विकल्प नै के थियो र ?
१४ गते साँझ मआसकेबाट राममाया थापामगर दिदी पनि आउनुभयो । तालिम हुने स्थान हिमालय मा.वि.की शिक्षिका शान्ता पौडेल पनि हामीसँगै हुनुहुन्थ्यो । अब हाम्रो टिममा चार जना भयौँ । बिहान मलाई दिइएको कोठामा दुई तथा उषाजीलाई दिइएको कोठामा एक ओच्छ्यान भएकाले साँझ फेरि कोठा साटासाट ग¥यौँ । यसरी साट्दा मैले पाएको कोठाको उचाइ कम थियो । कोठामा पस्नेबित्तिकै सिधै ओच्छ्यानमै पल्टिनुपथ्र्यो, किनकी उभिनका लागि न कुनै ठाउँ थियो, न त मेरो उचाइले नै दिन्थ्यो । बेलाबेलामा गफ गर्न उहाँहरूको कोठामा जान्थेँ ।
१४ गते नै साँझ राममाया दिदीको मुखबाट सुनेँ, “उषा ! हामी बस्ने घरमा त ट्वाइलेट नै छैन रे नि त !” “ला ! अब के गर्ने त ?” मेरा लागि यो कुरा आश्चर्यभन्दा पनि अत्यन्त उच्चस्तरकै अनपेक्षित सूचना थियो । “अँ, त्यो दाइले पल्लो घरमा भनिदिनुहुन्छ रे !”, उषाजीको यो उत्तरले पनि खासै सन्तुष्ट तुल्याएन — अब प्रत्येक बिहान उठ्नेबित्तिकै  ट्वाइलेट खोज्न जानुपर्ने भो । अघिल्लो साँझ होटलवाला दाइले देखाइदिएको ट्वाइलेटमा १५ गते बिहान पुग्दा तालाबन्दी थियो । संयोगवश तालिमकै सहभागी एक बहिनीलाई भेटेँ र उनले आफ्नो घरको ट्वाइलेटसम्म पु¥याइन् । अब भोलि बिहान के गर्ने हो फेरि ? ..... भोलिपल्ट बिहान पनि देखाइएको ठाउँमा तालाबन्दी नै थियो । म केही पनि सरम नमानी हिजो गएको ठाउँमा गएँ । फर्किने बेला त्यस सहभागी बहिनीकी आमालाई भनेँ, “दिदी म बसेको ठाउँमा ट्वाइलेट रहेनछ ।  म त्यहाँ बसुन्जेल बिहानबिहान यहीँ आउँछु है  !” “कति दिनसम्म ?”, उनको यो प्रतिप्रश्न पनि मेरा लागि अनपेक्षित नै थियो । तर भोलिपल्टदेखि भने पहिला दुई दिनमा बन्द रहेको ट्वाइलेट नै खुला भएकाले उक्त बहिनीको घरमा पुनः जानुपर्ने आवश्यकता नै रहेन ।

भाषाका कुरा
बोराङ्खोलामा बास बसेपछाडि कोल्की नपुगेसम्म उषाजीबाहेक अरू कसैको मुखबाट पनि मैले नेपाली भाषा सुनिन । हो, बाटामा भेटिनेहरू हामीलाई विभिन्न प्रश्न सोध्थे, गुरुङ् भाषामा, र उषाजी उत्तर दिनुहुन्थ्यो ।
१४ गते बिहान खाना खान तल झर्दा उषाजीका साथ अर्की एक महिला हुनुहुन्थ्यो । “सर, परिचय गरौँ”, उहाँले मलाई देख्नेबित्तिकै बताउनुभयो । मैले आफ्नो नाम, ठेगाना र आउनुको उद्देश्यबारे बताएपछि उहाँले भन्नुभयो, “म शान्ता पौडेल, यसै स्कुलमा पढाउँछु ।” मैले उहाँको अध्यापनको विषय सोध्दा उहाँले “English” भन्नुभयो । यस बेला दुई कारणले मेरो मन अलिकति हल्का भयो — पहिलो, मैले गैरगुरुङ् मातृभाषी मानिस भेटेँ, दोस्रो कारण, मेरो अध्ययनको भाषा अध्यापन गराउने साथी भेट्दा खुसी मानेँ ।
अचम्मको कुरा त के छ भने शान्ता म्याडम गुरुङ्को भन्दा राम्रोसँग गुरुङ् भाषा बोल्नुहुन्थ्यो । “मैले बिहानै कैसी खाएर आएको”, उहाँले नेपाली बोल्दा पनि गुरुङ् शब्द मिसाउनुभयो । उहाँ गुरुङ् बस्तीमा बसेको पाँच वर्षभन्दा बढी भयो रे, अनि नब्बे प्रतिशत गुरुङ् भाषा जान्नुहुन्छ रे । यसै कारण तालिम अवधिभर उहाँ मलाई गुरुङ् भाषा र लबजमा जिस्काइरहनुहुन्थ्यो । जे होस्, गुरुङ् भाषाका करिब दस शब्द त मैले पनि सिकेँ ।
तालिमको पहिलो दिन नै मैले सहभागी भाइबहिनीलाई तालिमको समयमा भने सकेसम्म नेपाली भाषा नै प्रयोग गर्न आग्रह गरेँ । जम्मा ३४ जना सहभागीमध्ये पाँच जनाबाहेक सबै गुरुङ् नै थिए । प्रवचन तथा लेखाइ–केन्द्रित क्रियाकलापमा त उनीहरूले नेपाली भाषा नै प्रयोग गरे । तर समूह छलफल (Group Work) र भूमिका निर्वाह (Role Play) का क्रियाकलापमा हामीले उनीहरूलाई गुरुङ् भाषा प्रयोग गर्नबाट रोक्न सकेनौँ । समूह छलफलको क्रममा उनीहरू गुरुङ् भाषामै छलफल गर्थे, अनि एक जनाले ती सबैलाई नेपाली भाषामा अनुवाद गरेर लेख्थ्यो । भूमिका निर्वाहमा त एउटा समूहले एक दिन पूर्णतः गुरुङ् भाषा प्रयोग ग¥यो ।
मलाई गाह्रो त्यति बेला पथ्र्यो, जब म बाटोमा हिँड्दा अलि बढ्ता उमेरका मानसिहरू मसँग गुरुङ् भाषामै विभिन्न प्रश्न गर्थे । मसँग चुपचाप आफ्नो बाटो हिँड्नुबाहेक अन्य विकल्प थिएन ।

तालिम र सहभागी
पाँच दिने तालिमको पहिलो दिन निर्धारित समयभन्दा अलि ढिला सुरु भयो । पहिलो दिन सहभागीहरू अलि निष्क्रिय देखिन्थे । दोस्रो दिनबाट उनीहरूको सक्रियता क्रमशः बढ्दै थियो । किशोरकिशोरीहरूको भिडमा विषय—विकेन्द्रित हल्लाहरू सामान्य नै भइहाले । यद्यपि मैले सकेसम्म प्रत्येक सत्र (Session) लाई आकर्षक र चाखलाग्दो बनाउने प्रयत्न गरेँ ।
सहभागीहरूको एउटा पक्ष मेरा लागि अनौठो थियो । सहरी क्षेत्रतिर बोल्न नलजाउने बालबालिकाहरू पनि नाच्न र गाउन लजाउन सक्छन् । मेरा सहभागीहरू सबै जुनसुकै समयमा पनि नाच्न र गाउन तयार हुन्थे । एउटा प्रश्न दस पटक सोध्दा पनि उत्तर नदिने एक जना बहिनी नाच्न गरिएको पहिलो आग्रहमै तम्तयार हुँदा मलाई अचम्म लाग्यो । त्यहाँका सबै भाइबहिनीमा “मैले नाच्न  र गाउन जान्नुपर्छ र त्यो प्रतिभा देखाउनुपर्छ” भन्ने भावना थियो । त्यसैले त मनोरञ्जनका लागि छुट्याइएको समयमा म चुप लागिदिए पुग्थ्यो । उनीहरू नै को नाच्ने र को गाउने भन्ने मिलाइहाल्थे । नाचगान कुनै दिन पनि छुटेन । बेलाबेला राममाया दिदी, शान्तिा म्याडम र उषाजीले नै आफ्ना गीत तथा कविता प्रस्तुत गर्नुहुन्थ्यो । भाइबहिनीलाई पनि उहाँहरू निकै उत्प्रेरणा दिनुहुन्थ्यो ।
अधिकांश सहभागीहरूले समूह छलफलमा सक्रियता देखाउँथे । यसबाहेक विभिन्न खेलहरू खेल्दा उनीहरू बढी रमाएको देखिन्थ्यो । सहभागीहरूले प्रस्तुत गर्ने समूह कार्यको निष्कर्ष र भूमिका अभिनयले मैले सिकाउन खोजेका कुरा बुझेजस्तो लाग्थ्यो । प्रत्येक दिनको सुरुवातमा म अघिल्लो दिनको विषय पुनरावलोकन गराउन दस ओटा छोटा प्रश्न गर्थेँ ।
तालिमको सुरुवातका दिन अलिकति गैरजिम्मेवार र कम गम्भिर देखिएका भाइबहिनीहरू अन्तिम दिनमा पुग्दा अलिकति बढी जिम्मेवार, सचेत र गम्भिर देखिएका थिए । दुई जना भाइले त अन्तिम दिन मलाई “तपाईँले सिकाएका कुराले मेरो म मन नै छोयो” भन्थे । समाप्तिमा सल्लाहसुझाव लिँदा धेरैले तालिम उपलब्धिमूलक भएको बताए ।
तालिमको पहिलो दिन म बनाइएको समयतालिकाभन्दा अलि पछाडि थिएँ । दा्स्रो र तेस्रो दिन समयतालिकाअनुसारै काम भयो । चौथो दिन मैले एउटा क्रियाकलाप नै हटाएर अलिकति अगाडि बढेँ, किनभने पाँचौ दिन हामीले छिट्टै सक्नु थियो ।
प्रत्येक दिन हामी — उषाजी, शान्ता म्याडम, राममाया दिदी र म — तालिम कस्तो भयो र अब के गर्दा झन् राम्रो हुन्छ भन्ने विषयमा छलफल गथ्र्यौँ ।

बिदाइ
पाँचौ दिन स्कुलका बिहानी कोचिङ् कक्षाहरू सकेर खाना खान आउँदा सहभागीहरू माला लिएर आएका थिए । हामीले पहिलो दिन नै बनाएका ‘गोप्य साथी’लाई आफ्नै हातले बनाएको उपहार दिनुपर्ने थियो । “ती के गोप्य साथीलाई दिने गिफ्ट हुन् ?”, मैले उषाजीलाई सोधेँ । “होइन होला सर !” “किन त ती ?” “हेर्दै जानूस् न । भरे थाहा भइहाल्छ नि ।” पछि बुझ्दै जाँदा सहभागीहरूले हाम्रो बिदाइका लागि ती माला ल्याएका रहेछन् ।
तालिमकै विषयवस्तुका क्षेत्रमा मैले पाँचौ दिनलाई एउटा समूह कार्य मात्र बाँकी राखेको थिएँ । सुरु हुनेबित्तिकै अघिल्लो दिनको पुनरावलोकन गरेपछि मैले समूह विभाजन गराएँ । तर सहभागीहरूले समूह कार्यमा हिजोअस्तिको जस्तो जाँगर र उत्सुकता देखाएनन् । किन त ? अधिकांश गोप्य साथीलाई दिने उपहारलाई रङ्गरोगन गर्न व्यस्त थिए । कोही भने सकारात्मक खाममा आफ्ना साथी र हामीलाई सकारात्मक पक्ष र सुझाव समेटिएको कमेन्ट गर्न व्यस्त थिए । प्रायः सबैको अनुहार हिजोअस्तिको भन्दा गम्भिर र सोचमग्न देखिन्थ्यो । त्यसैले सबै समूहले कार्य पूरा गर्न सकेनन् । एउटा समूहमा त सबै सहभागीहरूले नगर्ने भने । मैले पनि अन्तिम दिन सबै बिदाइको मुडमा भएकाले उनीहरूको भावनालाई चोट पुग्ने डरले केही भनिनँ ।
सामूहिक कार्यको प्रस्तुतिपछि पहिलो दिनदेखि सिकेका दस सीपको पुनरावलोकन गरियो । सुरुमा बताएका उद्देश्य पूरा भए–नभएको जाँचियो । सहभागीहरूको तर्फबाट फिडब्याक सङ्कलन गरियो । आयोजकका तर्फबाट राममाया दिदीले प्रत्येक बालक्लबलाई कार्ययोजना बनाउन लगाउनुभयो ।
सहभागीका तर्फबाट एक जना भाइ र एक जना बहिनीले आफ्नो भनाइ राखे । उनीहरूले तालिममा बताइएका सीप आफूलाई धेरै प्रयोगयुक्त लागेको बताए । मैले सबै सहभागीहरूलाई सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरेँ । साथै यस्तो मौका सबै बालबालिकाले नपाउने बताउँदै यस्तो महत्वपूर्ण अवसर पाएकोमा बधाइ दिएँ । उनीहरूका सकारात्मक खाममा मैले लामा–छोटा व्यक्तिगत कमेन्टहरू छोडिसकेको थिएँ । तिनमा विशेषतः मैले देखेका उनीहरूका राम्रा र सुधार्नुपर्ने पक्षहरू थिए । शान्ता म्याडमले अब आफूलाई विद्यार्थीहरूलाई अनुशासनको बारे सम्झाउन थप बाटो खुलेको बताउनुभयो । उहाँले जे भने पनि सारांशमा जीवनउपयोगी सीपको सारांश पनि आत्मअनुशासन नै भएकाले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । स्थानीय कोल्की गाउँ बालसंरक्षण समितिका अध्यक्ष धनबहादुर गुरुङ्ले पनि तालिम दिने संस्थालाई धन्यवाद दिँदै सिकेका कुरा व्यहारमा उतार्न भाइबहिनीलाई आग्रह गर्नुभयो ।
अब भाइबहिनीले नाचगान गरे । मलगायत आयोजक संस्थाका साथीहरूलाई अबिरको टिका र फूलका मालाहरू लगाइदिए । फोटाहरू खिचिए । हाँसो र दुख सँगसँगै साटासाट गरिए । एकआपसलाई धन्यवाद दिइए । ‘फेरि भेट होओस्’का कामना गरिए । कहिल्यै नबिर्सने प्रतिबद्धताहरू जनाइए । बिदाइका “बाइबाइ” र “फेरि भेटौँला”का शब्दहरू वाचन गरिए । मायापूर्ण भावमा हातहरू हल्लाइए । मुस्कानहरू साटिए । यी त देखिएका कुरा भए । अझ नदेखिने मनले केके महसुस गरे होलान्, म कसरी लेख्न सक्छु ???
केही बहिनीहरूले आफू मङ्सिरमा काठमाडौँ भ्रमणमा आउने र त्यति बेला मलाई भेट्ने बताए । मैले कथंकदाचिद् लमजुङ् आएमा कोल्की आउने र आफ्ना भाइबहिनीलाई भेट्ने प्रतिबद्धता पहिले नै जनाइसकेको थिएँ । धेरै भाइबहिनीले मेरो फोन नम्बर मागे, अनि फोन गर्ने कुरा बताए ।
पाँच दिनसम्म सँगै सिकेका, सँगै सिकाएका, सँगै खेलेका, सँगै नाचेका, सँगै गाएका, सँगै रिसाएका, सँगै हल्ला गरेका, सँगै झगडा गरेका हामी अब छुट्टिसकेका थियौँ ।

बिदाइपछिको यात्रा
त्यसपछि हामी होटलवाला दिदीसँग बिदाबादी भएर गौडासम्मको यात्रा पूरा गर्ने योजनामा थियौँ । बाटोमा हिमालय मा.वि.का व्यस्थापन समितिका अध्यक्षसँग भेट भयो । उहाँले पनि हामीलाई धन्यवाद र यात्राका लागि शुभकामना दिँदै स्कुलले अपेक्षित सहयोग गर्न नसकेको भए क्षमा माग्नुभयो । मैले स्ुकलका तर्फबाट शान्ता म्याडमको उपस्थिति रहेको र उहाँबाट पर्याप्त सहयोग मिलेको बताएँ ।
पहिलो भेटमै मेरो मनलाई हल्का बनाउने शान्ता म्याडमसँग पनि बिदा हुनुपर्ने बेला भयो । यद्यपि उहाँले पनि बेलाबेला एस्एम्एस् र फोनमार्फत् सम्पर्क गर्ने बताउँदै मलाई पनि त्यसका लागि आग्रह गर्नुभयो । उहाँले मलाई भाइका रूपमा सधै सम्झिरहने बताउँदा म खुसी भएँ ।
अब दिउँसोको करिब ४ः३० बजेतिर हामी तीन जना — म, उषाजी र राममाया दिदीले गौडातर्फको आफ्नो यात्रा सुरु ग¥यौँ । गौडा जाने बाटो तेर्सो नै थियो, त्यसकारण अलि सजिलो थियो । बीचमा वनको क्षेत्र पार गर्नुपर्नेरहेछ । बाटामा जुकाले टोकेर हैरान ! एकलाई लागेको जुका अर्काले निकालिदिदै हामी बाटो लाग्यौँ । बाटाभरि राममाया दिदीका मिठा गीत सुनिए । हाम्रा नियमित गफगाफ त किन रोकिन्थे र ? फोटोप्रति अत्यन्त सौखिन उषाजीको इच्छा पूरा गर्न बाटोभरि फोटो खिच्दै आउँदा गौडा आइपुग्दा क्यामराको ब्याट्री नै सकिइसकेको थियो । फोटोका लागि रोकिदै आएकाले हामीलाई तुलनात्मक छोटो र सजिलो बाटो पूरा गर्न पनि करिब तीन घण्टा लाग्यो । बाटैदेखि राममाया दिदीले गौडाको होटलवाला दाइलाई फोन गरेर खाना र बसोबासका लागि हामी आउने जानकारी गराइसक्नुभएकाले पनि हामीले हतार गरेनौँ ।
साढे सात बजे होटल पुगेर कोठामा पसेपछि जुत्ता खोल्दा पो थाहा भयो — मलाई त जुकाले भसक्कै पारेछ । देब्रे खुट्टाभरि रगतैरगत !
गौडाको होटल कोल्कीको भन्दा अलि “प्रोफेसनल” देखिन्थ्यो । मलाई दिइएको कोठमा पाँच ओटा ओच्छ्यान लहरै मिलाएर राखिएका थिए । धारा र ट्वाइलेट पनि सँगै थिए । कोल्कीमा भर्खरै जडित सोलारमा मोबाइल चार्ज गर्ने सुविधा थिएन । यहाँ जलविद्युत्ले झिलीमिली थियो । खानाको गुणस्तर पनि अलि राम्रै पाइयो । मोबाइलको नेटवर्क सजिलै उपलब्ध भएकाले यही मौकामा घरमा फोन गरेर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र आफू भोलि घर आउने जानकारी गराएँ ।
भोलिपल्ट बिहान करिब ७ः१५ बजेतिर हामीले होटेल छोड्यौँ । हिँडाइको करिब १५ मिनेटपछि नै राममाया दिदी आफ्नो घरतर्फ लाग्नुभो । उहाँसँग पनि बिदाइको दुःख र हाँसो एकसाथ साटासाट गरियो । ओरालो बाटोको निरन्तर यात्रामा अब पहिलो दिनजस्तै उषाजी र ममात्र थियौँ । ओरालोको यात्रा उकालोजस्तो कठिन नहुने मेरो सोचाइ पुनः फेल खायो । ओरालो हिँड्नु पनि उकालोभन्दा कम कठिन होइनरहेछ । करिब आधा घण्टाको तेर्सो बाटोबाहेक अधिकांश ओरालो बाटोमा हामी एक पटक पनि थकाइ मार्नकै लागि भनेर झोला बिसाएर रोकिएनौँ । फोटो खिच्न भने ठाउँठाउँमा धेरै पटक नै रोकियौँ । बाटामा भेटिएका ठुल्ठुला धारा, खोलानाला र चौताराले मलाई लोभ्याए ।

करिब साढे दस बजे हामी आयोजक मआसकेको कार्यालय, भोटेओडार आइपुग्यौँ । विश्रामबिनाको झन्डै सबा तीन घण्टाको हिँडाइले भोक र थकाइ जगाएको मैले प्रष्टसँग महसुस गरिसकेको थिएँ । कार्यालयमा पुगेपछि हामी गौडादेखि भोटेओडारसम्म तीन घण्टामा आइपुगेको बताउँदा कार्यालयका साथीहरू छक्क परेँ । यसले हामीलाई भने खुसी नै बनायो । उहाँहरूका अनुसार यो सामान्यतः पाँच घण्टाको बाटो रे ! हामीले त साँच्चै नै पो हिँडेछौँ त हो ।
छ दिनअगाडि पाँचभाइदेखि बोराङ्खोलासम्मको कच्ची बाटोमा छुट्टिएका रुबिना र निरिजना दिदीलाई भेटेर तालिमको अनुभव आदानप्रदान गर्न म अत्यन्त उत्सुक थिएँ । हाम्रो अपेक्षा उहाँहरू हामीभन्दा पहिल्यै आइपुग्नुभयो होला भन्ने थियो । तर उहाँहरू करिब १२ बजेतिर मात्र कार्यालय आइपुग्नुभयो । एउटै टोलीमा एउटै उद्देश्यका लागि आए पनि छुट्टिएर बसेका हामी छ दिनपछि एकअर्कालाई भेट्दा निक्कै खुसी भयौँ । आयोजकहरूसँग तालिमको अनुभवबारे एक छिन कुरा भयो । खाना खायौँ । संयोग मिले फेरि भेट्ने वाचासहित हामी दिउँसो २ः३० बजे भोटेओडारबाट काठमाडौँका लागि माइक्रोबस चढ्यौँ । अब हामीले उषाजीलगायत मआसकेका सबै साथीहरू मात्र नभएर सिङ्गो लमजुङ्लाई नै बाइबाइ भन्यौँ । सबैसँग पुनः भेट्ने वाचा त छँदै नै थियो ।
माइक्रोबसमा पनि तालिम अवधिभर भएका रमाइला–नरमाइला अनुभव आदानप्रदान भए । निरिजना दिदी अलिक धेरै नै थकित देखिनुभएकाले खासै धेरै कुराकानी भने भएन । हामी करिब बेलुकाको ७ः३० बजे कलङ्की आइपुग्यौँ । निरिजना र रुबिना दिदी यहीँबाट आआफ्नो घरतर्फ लाग्नुभयो । म भने सोही माइक्रोबसमा नयाँ बसपार्कसम्म आएँ । करिब ८ः१५ बजे म घर आइपुग्दा आमाबा, दिदीहरू र भान्जाभान्जीको न्यानो स्वागत पाएँ ।

प्रतिक्रिया
फर्किएको दुई–तीन दिन पछिसम्म पनि “भ्रमण कस्तो भयो ?” भन्ने प्रश्न आइरह्यो । मैले सबैलाई ‘रमाइलो र दुःखमिश्रित’ तथा ‘स्मरणीय’ रहेको प्रतिक्रिया दिएँ । एक जना दाइले आफूले सात दिनपछि बुधबार (१९ गते) मात्र गाडी देखेको कुरा बताउँदा “नेपाल भनेको काठमाडौँ मात्र हो कि क्या हो त भाइ ? वास्तविक नेपाल त त्यो पो हो त !” मैले हाँसेर स्वीकार गरेँ । केही दिनपछि एक साथीलाई पनि मेरो हिँडाइबारे बताउँदा “त्यो दुःखलाई त तिमीले adventure का रूपमा पो लिनुप¥यो त !” भन्यो । त्यसलाई पनि हाँसेर स्विकारेँ ।
सँगै लमजुङ् जानुभएकी निरिजना दिदीले फर्केपछि फेसबुकमा लेख्नुभएको छ, “नेपाल हेर्न काठमाडौँ होइन, तिमी लमजुङ जाऊ । पाखापर्वत हेर्न चाहान्छौ भने चार घण्टा हिँडेर दिवाकरजस्तै कोल्की जाऊ । हाहाहा ... ।” यो स्ट्याटस्ले पनि मलाई राम्रै फिडब्याक दिएजस्तो लाग्यो ।
फर्किएको भोलिपल्ट कि पर्सिपल्ट बिहान घरमा खाना खाने बेला आमाबाले “लमजुङ्मा के खायो होला ?” भन्ने प्रश्न गर्नुभयो । घरमै त कुनै पनि खानामा चित्त नबुझाउने म एक–एक हप्ता त्यस्तो ठाउँमा बसेर आएको थिएँ । खानपिनबारे बताएपछि बाले भन्नुभो, “अब तँ लमजुङ् मात्र होइन, अझ दुर्गम ठाउँमा जा । कर्णाली जा । अनि थाहा पाउँछस् जीवनको दुःख भनेको के हो !”
“भाइले त फलफूलको अनुहार पनि देखन पाउनुभएन रे नि, है !” लमजुङ्बाट फर्किएको दुई–तीन दिनपछि एक जना दिदीले अनलाइन कुराकानीमा भन्नुभयो । मलाई लाग्दै थियो कि ती दिदीलाई म लमजुङ् गएको कुरा नै थाहा छैन । तर यहाँ त कुरा निकै अगाडि बढेर के खाएँ र के खान पाइँन भन्नेसम्म पनि सबैलाई थाहा भइसकेछ बा ! तर, दुःखको कुरा, सफलताको भन्दा समस्याको समाचार अगाडि पुग्न भ्याएछ उहाँसँग पनि !
फर्किएको भोलिपल्ट बेलुका एक जना सहभागी भाइले फोन ग¥यो । कुरा सकिने बेला उसले सोध्यो, “सर, हामीलाई केही भन्नु छ कि ?” म अलमल्लमा परेँ, मैले भन्नुपर्ने कुरा पाँच दिनमा भनिसकेको थिएँ, के नै बाँकी छ र ? अर्कातर्फ, यदि मैले पुनः उनीहरूलाई भेटेँ भने भन्नुपर्ने कुरा धेरै भइसके, सबै कुरा फोनमै भन्नु कहाँ सम्भव छ र ? ‘धेरै भन्नु छ, तर केही भन्नु छैन’ आशयको उत्तर दिएँ । त्यसपछि केही भाइबहिनीले फोन गरे । बिचरा भाइबहिनीहरू — ल्यान्डलाइन फोन छैन, मोबाइलको नेटवर्कको हालत त्यस्तो छ । र पनि, फोन गरिरहन्छन् । शान्ता म्याडम र उषाजीसँग प्र.ायशः एस्एम्एस् (र कहिलेकाँही फोन) आदानप्रदान भइरहन्छ । उहाँहरूमार्फत् भाइबहिनीलाई सम्झना पठाइरहन्छु ।
केलेजमा एक हप्ता नहुँदा छाडेर गएको एउटा कार्यमा थप दुई ओटा जोडिइसकेछन् । एउटा त अझै पनि सुरु गर्न सकिएको छैन । परीक्षा नजिकै छ । म कहिले पूरा गर्छु होला त्यो काम ?
जे भए पनि, लमजुङ्को एक हप्ते बसाइमा जति नै समस्या भए पनि अत्यन्त रमाइलो, उत्साहजनक, अविस्मरणीय र सफल रह्यो । समस्या नै नआए त समाधानको लागि कसले पहल गर्छ त ? अनि समस्याबिना विकास र प्रगति पनि समभव छैन नि । हामीले समस्याबाट डराउने होइन, जुधेर अगाडि पो बढ्ने हो त । हाम्रो जीवनको यात्रा पनि मैले लमजुङ्मा गरेको अनुभवजस्तै त हो नि ! हाम्रा अगाडि समस्या आउँछन्, तर हामीले रमाइलोका रूपमा लिन सक्नुपर्छ । हामीले सिक्ने–सिकाउने जीवनोपयोगी सीपको मुख्य सन्देश नै त्यही त हो, कि कसो त ?


Tuesday, June 22, 2010

अक्षरको डर

सबै विद्यार्थीहरूमा परीक्षा दिइसकेपछि नतिजा नआउन्जेलसम्म डर हुने गर्छ । हुन त मलाई अरू साधारण विद्यार्थीहरूको जस्तो धेरै डर त हुँदैन । तर पनि, नतिजा आउन लाग्यो भन्नेबित्तिकै एउटा किसिमको डर भने आइहाल्छ । अक्षरको डर । न परीक्षकले मेरो अक्षर नै बुझेन कि ?

मैले बाल्यकालदेखि नै धेरै कुरा सुनेको छु, राम्रा अक्षर कस्ता हुनुपर्छ भनेर । मैले व्यक्तिगत रूपमा अक्षर नराम्रो भएकै कारणले आजसम्म कुनै निर्णायक परीक्षामै असफल हुनुपरेको त छैन, तर आन्तरिक परीक्षाहरूमा परीक्षकको मप्रतिको पहिलो कमेन्ट हुन्छ, “कस्तो नराम्रो अक्षर !”, “यदि तिम्रा अक्षर राम्रा भइदिएका भए ...”, “मैले तिम्रो ५ अङ्क घटाइदिएँ किनकी ...”, "You have so terrible handwriting" आदिआदि । 
एक जना सरले केही समयअघि भन्नुभयो, “हेर भाइ, तिमीले आफ्नो अक्षर सुधार है । नत्र पछि तिमीले दुःख पाउछौ ।” मेरा लागि यस्ता सुझाव कुनै नयाँ थिएनन्, त्यसैले त सजिलै भनिदिएँ, “ह्या.... । आजसम्म चलिरहेको छ । चल्दै जान्छ । जे होला होला ।” यो कुरा सुनेपछि सरले भन्नुभएको अर्को कुरा भने अलि गम्भीर नै थियो । “तिमीलाई थाहा छ कि छैन, मानिसले लेख्ने अक्षरले उसको मनोवैज्ञानिक अवस्था (Psychological state) बताइरहेको हुन्छ । तिमी आफ्नो अक्षर जस्ता हुन् वास्ता गर्दैनौ भन्नुको अर्थ हो, तिमी आफ्नो जीवन पनि जता जान्छ, जाओस् भन्ठान्छौ । खासै वास्ता राख्दैनौ आफैप्रति ।” मैले यो कुरामा सहमति जनाउन त सकिनँ नै, न त विरोध नै गर्ने हिम्मत गरेँ । 
एक जना म्याडम हुनुहुन्छ । प्रत्येक परीक्षाको नतिजा आएपछि मलाई भन्नुहुन्छ, “तिमी आफूले पढाइमा खर्च गर्ने कुल समयको २५ प्रतिशत अक्षर सुधार्न खर्च गर । क, ख, ग, घ, A, B, C, D देखि नै सुरु गर ।” कक्षाका साथीहरूबीच म हाँसोको पात्र हुन्छु । तर पनि अहँ म त्यहाँ केही गर्न सक्ने अवस्थामा हुन्न । 
बेलाबेलामा शिक्षकहरूबीच विद्यार्थीको प्रस्तुतिबारे छलफल हुन्छ रे । अरू साथीहरूका विविध पक्षमा कुरा हुन्छन् रे । तर मेरा बारे सरम्याडमले के भन्नुहुन्छ त ? अवश्य पनि मलाई यसमा चासो हुने नै भयो । अप्रत्यक्ष रूपमा यो कुरा थाहा पाउन म विविध प्रश्न सोध्छु । फेरि पनि मेरो अरू कुनै पक्षभन्दा पनि त्यही विषयको चर्चा हुन्छ, “यसको अक्षर राम्रो छैन । बुझ्न गाह्रो छ ।” 
केही दिनअघि मैले एक पुस्तकमा पढेँ “अक्षराणी बाटुलानी, घनानी र पृथक्पृथक् ।” अर्थात्, अक्षरहरू बाटुला, बाक्ला र फरकफरक छुट्याएर लेख्नुपर्छ रे । मैले त्यही भनाइलाई उद्धरण गरेर फेसबुकमा स्याटस लेखेँ र थपेँ “अब मैले के गर्ने होला ?” एक जना दाइले मेरो अक्षरलाई नै पनि राम्रो नै भनिदिनुभयो (सायद् उहाँको मेरोभन्दा पनि नराम्रो भएर हो कि ?) । अर्को एक साथीले “नानीदेखि लागेको बानी छुटाउन गाह्रो पर्ला । बरु पढ्नेले नै अक्षर बुझ्ने बानी विकास गर्नुपर्ला” भन्ने विचार राख्नुभयो । अर्को एक साथीले, “मानिस सबै पक्षमा पूर्ण हुने नभएकाले” चित्त बुझाउन सुझाव दिनुभयो । अरू केही फुटकर कमेन्ट पनि आए । 
हुन त मैले सधै चित्त बुझाउँदै आइरहेको छु । तर, मैले आजसम्म पनि अक्षर सुधार्न आएका अनगन्ती सुझावहरूलाई गम्भीर रूपमा लिएकै छैन । न त कहिल्यै अक्षर सुधार्ने प्रयास नै गरेको छु, न त अक्षर नराम्रो हुँदा मेरो जीवन नै बर्बाद हुन्छ भन्ने लागेको छ । 
तर पनि, अहिले पनि म डरमा छु । परीक्षा दिएर नतिजा कुरेर बसिरहेको बेला म सोचिरहेको छु, “कतै परीक्षार्थीले मेरो अक्षर बुझेन भने र त्यसकै कारणले म फेल भएँ भने कसैले आश्चर्य नमाने हुन्छ ।”




Friday, June 4, 2010

आत्महत्या !

गत मङ्गलबार बिहानै एउटा दुःखद समाचार सुन्नुप¥यो । हाम्रै कलेजमा एम्.ए. दोस्रो वर्षमा पढ्ने एक जना दिदीले आत्महत्या गरिन् रे ! आफूले व्यक्तिगत रूपमा नचिनेपनि मृत्युको खबरले मलाई सामान्यतः दुःखी नै बनाउँछ । त्यसमाथि, त्यस दिन त शोक कार्यक्रममा नै सहभागी हुने भएकाले दुःखी अनुभव गरि नै हालेँ । 
ती दिदीलाई मेरो पनि हार्दिक श्रद्धाञ्जली !
तर पनि, अब म चित्त नबुझेको कुरा सुनाउँदै छु । व्यक्तिगत रूपमा नै भन्ने हो भने मलाई आत्महत्याप्रति सकारात्मक सोचाइ कहिल्यै पनि आएन । मलाई पहिलेदेखि नै लाग्थ्यो, र अहिले पनि त्यत्तिकै रूपमा लाग्छ, कि आत्महत्या जीवनको लडाइँमा हार्नु हो । आत्महत्या गर्नेहरू कातर (Coward) हुन्, मेरो विचारमा । 
मलाई लाग्छ, मानिसले कुनै पनि अवस्थामा जीवनसँग सङ्घर्ष गर्न छोड्नुहुँदैन । बुझ्नुपर्ने कुरा के हो भने, आत्महत्याले आत्महत्यावालालाई समस्याबाट छुटाएपनि बाँचेकाहरूमा झन् शङ्का पैदा गर्न सक्छ । नेपाली समाजमा चलेको उखान, “मर्नुभन्दा बौलाहाउनु निको” वास्तवमै सही छ । 
होला, आत्महत्या गर्नेहरूका पनि गम्भीर कारणहरू होलान् । भन्नेहरू भन्लान्, बाँचन नसकेपछि के गर्ने त ? आत्महत्याका केही घटनाहरूलाई केलाउने हो भने के थाहा हुन्छ भने अधिकांश आत्महत्याहरू अन्तव्र्यक्ति, पारिवारिक तथा सामाजिक सम्बन्धको कारणबाट हुन्छन् । अनि, ती समस्याहरूको समाधान आत्महत्या हुँदै होइन । हामी, सजिलै (आत्महत्याको कठिनाइको तुलनामा) ती समस्याहरूबाट मुक्त हुन सक्छौँ । हामी, सजिलै ती समस्याग्रस्त वातावरणहरूबाट आफूलाई मुक्त गरिदिन सक्छौँ, जसले हामीलाई बाँच्न गाह्रो बनाउँछन् । आखिर हामी बाँचेको त एक्लै नै हो भने पछि जोडिएका सम्बन्धहरू तोड्न हामीलाई केको कठिनाइ ?
हो, मान्छे प्राकृतिक रूपमा सामाजिक प्राणी हो, र नितान्त एक्लो जीवन उसका लागि असम्भव छ । तर पनि मानिसलाई एउटा समाज पूर्णतः त्याग्न असम्भव पनि हुँदेन । तर पनि ऊ नयाँ सामाजिक सम्बन्धहरू स्थापना गर्न क्षमता राख्ने हुनाले आफूलाई मर्न बाध्य बनाउने परिवार, समाज वा वातावरण छोड्न उसले आँट गर्न सक्नुपर्छ । आखिर, हाम्रा पारिवारिक, सामाजिक सम्बन्धहरू हामी आफैँले स्थापना र विकास गरेको होइन र ? यदि  हो भने हामी फेरि पनि त्यो गर्न सकिहाल्छौँ नि !
त्यसकारण, आत्महत्या गर्नुअगाडि सबैले सोच्नुपर्छ — के मैले यो परिवार, समाजमा मात्र बाँच्न नसकेको हो कि, यो संसार नै मेरा लागि अयोग्य भएको हो । अधिकांशतः उक्त पहिलो विकल्प हुन्छ, जसको समाधान हामी निकाल्न सक्छौँ । 
आशा गरौँ, कसैले पनि आत्महत्या गरेको समाचार सुन्नु नपरोस् ।