Tuesday, June 22, 2010

अक्षरको डर

सबै विद्यार्थीहरूमा परीक्षा दिइसकेपछि नतिजा नआउन्जेलसम्म डर हुने गर्छ । हुन त मलाई अरू साधारण विद्यार्थीहरूको जस्तो धेरै डर त हुँदैन । तर पनि, नतिजा आउन लाग्यो भन्नेबित्तिकै एउटा किसिमको डर भने आइहाल्छ । अक्षरको डर । न परीक्षकले मेरो अक्षर नै बुझेन कि ?

मैले बाल्यकालदेखि नै धेरै कुरा सुनेको छु, राम्रा अक्षर कस्ता हुनुपर्छ भनेर । मैले व्यक्तिगत रूपमा अक्षर नराम्रो भएकै कारणले आजसम्म कुनै निर्णायक परीक्षामै असफल हुनुपरेको त छैन, तर आन्तरिक परीक्षाहरूमा परीक्षकको मप्रतिको पहिलो कमेन्ट हुन्छ, “कस्तो नराम्रो अक्षर !”, “यदि तिम्रा अक्षर राम्रा भइदिएका भए ...”, “मैले तिम्रो ५ अङ्क घटाइदिएँ किनकी ...”, "You have so terrible handwriting" आदिआदि । 
एक जना सरले केही समयअघि भन्नुभयो, “हेर भाइ, तिमीले आफ्नो अक्षर सुधार है । नत्र पछि तिमीले दुःख पाउछौ ।” मेरा लागि यस्ता सुझाव कुनै नयाँ थिएनन्, त्यसैले त सजिलै भनिदिएँ, “ह्या.... । आजसम्म चलिरहेको छ । चल्दै जान्छ । जे होला होला ।” यो कुरा सुनेपछि सरले भन्नुभएको अर्को कुरा भने अलि गम्भीर नै थियो । “तिमीलाई थाहा छ कि छैन, मानिसले लेख्ने अक्षरले उसको मनोवैज्ञानिक अवस्था (Psychological state) बताइरहेको हुन्छ । तिमी आफ्नो अक्षर जस्ता हुन् वास्ता गर्दैनौ भन्नुको अर्थ हो, तिमी आफ्नो जीवन पनि जता जान्छ, जाओस् भन्ठान्छौ । खासै वास्ता राख्दैनौ आफैप्रति ।” मैले यो कुरामा सहमति जनाउन त सकिनँ नै, न त विरोध नै गर्ने हिम्मत गरेँ । 
एक जना म्याडम हुनुहुन्छ । प्रत्येक परीक्षाको नतिजा आएपछि मलाई भन्नुहुन्छ, “तिमी आफूले पढाइमा खर्च गर्ने कुल समयको २५ प्रतिशत अक्षर सुधार्न खर्च गर । क, ख, ग, घ, A, B, C, D देखि नै सुरु गर ।” कक्षाका साथीहरूबीच म हाँसोको पात्र हुन्छु । तर पनि अहँ म त्यहाँ केही गर्न सक्ने अवस्थामा हुन्न । 
बेलाबेलामा शिक्षकहरूबीच विद्यार्थीको प्रस्तुतिबारे छलफल हुन्छ रे । अरू साथीहरूका विविध पक्षमा कुरा हुन्छन् रे । तर मेरा बारे सरम्याडमले के भन्नुहुन्छ त ? अवश्य पनि मलाई यसमा चासो हुने नै भयो । अप्रत्यक्ष रूपमा यो कुरा थाहा पाउन म विविध प्रश्न सोध्छु । फेरि पनि मेरो अरू कुनै पक्षभन्दा पनि त्यही विषयको चर्चा हुन्छ, “यसको अक्षर राम्रो छैन । बुझ्न गाह्रो छ ।” 
केही दिनअघि मैले एक पुस्तकमा पढेँ “अक्षराणी बाटुलानी, घनानी र पृथक्पृथक् ।” अर्थात्, अक्षरहरू बाटुला, बाक्ला र फरकफरक छुट्याएर लेख्नुपर्छ रे । मैले त्यही भनाइलाई उद्धरण गरेर फेसबुकमा स्याटस लेखेँ र थपेँ “अब मैले के गर्ने होला ?” एक जना दाइले मेरो अक्षरलाई नै पनि राम्रो नै भनिदिनुभयो (सायद् उहाँको मेरोभन्दा पनि नराम्रो भएर हो कि ?) । अर्को एक साथीले “नानीदेखि लागेको बानी छुटाउन गाह्रो पर्ला । बरु पढ्नेले नै अक्षर बुझ्ने बानी विकास गर्नुपर्ला” भन्ने विचार राख्नुभयो । अर्को एक साथीले, “मानिस सबै पक्षमा पूर्ण हुने नभएकाले” चित्त बुझाउन सुझाव दिनुभयो । अरू केही फुटकर कमेन्ट पनि आए । 
हुन त मैले सधै चित्त बुझाउँदै आइरहेको छु । तर, मैले आजसम्म पनि अक्षर सुधार्न आएका अनगन्ती सुझावहरूलाई गम्भीर रूपमा लिएकै छैन । न त कहिल्यै अक्षर सुधार्ने प्रयास नै गरेको छु, न त अक्षर नराम्रो हुँदा मेरो जीवन नै बर्बाद हुन्छ भन्ने लागेको छ । 
तर पनि, अहिले पनि म डरमा छु । परीक्षा दिएर नतिजा कुरेर बसिरहेको बेला म सोचिरहेको छु, “कतै परीक्षार्थीले मेरो अक्षर बुझेन भने र त्यसकै कारणले म फेल भएँ भने कसैले आश्चर्य नमाने हुन्छ ।”




Friday, June 4, 2010

आत्महत्या !

गत मङ्गलबार बिहानै एउटा दुःखद समाचार सुन्नुप¥यो । हाम्रै कलेजमा एम्.ए. दोस्रो वर्षमा पढ्ने एक जना दिदीले आत्महत्या गरिन् रे ! आफूले व्यक्तिगत रूपमा नचिनेपनि मृत्युको खबरले मलाई सामान्यतः दुःखी नै बनाउँछ । त्यसमाथि, त्यस दिन त शोक कार्यक्रममा नै सहभागी हुने भएकाले दुःखी अनुभव गरि नै हालेँ । 
ती दिदीलाई मेरो पनि हार्दिक श्रद्धाञ्जली !
तर पनि, अब म चित्त नबुझेको कुरा सुनाउँदै छु । व्यक्तिगत रूपमा नै भन्ने हो भने मलाई आत्महत्याप्रति सकारात्मक सोचाइ कहिल्यै पनि आएन । मलाई पहिलेदेखि नै लाग्थ्यो, र अहिले पनि त्यत्तिकै रूपमा लाग्छ, कि आत्महत्या जीवनको लडाइँमा हार्नु हो । आत्महत्या गर्नेहरू कातर (Coward) हुन्, मेरो विचारमा । 
मलाई लाग्छ, मानिसले कुनै पनि अवस्थामा जीवनसँग सङ्घर्ष गर्न छोड्नुहुँदैन । बुझ्नुपर्ने कुरा के हो भने, आत्महत्याले आत्महत्यावालालाई समस्याबाट छुटाएपनि बाँचेकाहरूमा झन् शङ्का पैदा गर्न सक्छ । नेपाली समाजमा चलेको उखान, “मर्नुभन्दा बौलाहाउनु निको” वास्तवमै सही छ । 
होला, आत्महत्या गर्नेहरूका पनि गम्भीर कारणहरू होलान् । भन्नेहरू भन्लान्, बाँचन नसकेपछि के गर्ने त ? आत्महत्याका केही घटनाहरूलाई केलाउने हो भने के थाहा हुन्छ भने अधिकांश आत्महत्याहरू अन्तव्र्यक्ति, पारिवारिक तथा सामाजिक सम्बन्धको कारणबाट हुन्छन् । अनि, ती समस्याहरूको समाधान आत्महत्या हुँदै होइन । हामी, सजिलै (आत्महत्याको कठिनाइको तुलनामा) ती समस्याहरूबाट मुक्त हुन सक्छौँ । हामी, सजिलै ती समस्याग्रस्त वातावरणहरूबाट आफूलाई मुक्त गरिदिन सक्छौँ, जसले हामीलाई बाँच्न गाह्रो बनाउँछन् । आखिर हामी बाँचेको त एक्लै नै हो भने पछि जोडिएका सम्बन्धहरू तोड्न हामीलाई केको कठिनाइ ?
हो, मान्छे प्राकृतिक रूपमा सामाजिक प्राणी हो, र नितान्त एक्लो जीवन उसका लागि असम्भव छ । तर पनि मानिसलाई एउटा समाज पूर्णतः त्याग्न असम्भव पनि हुँदेन । तर पनि ऊ नयाँ सामाजिक सम्बन्धहरू स्थापना गर्न क्षमता राख्ने हुनाले आफूलाई मर्न बाध्य बनाउने परिवार, समाज वा वातावरण छोड्न उसले आँट गर्न सक्नुपर्छ । आखिर, हाम्रा पारिवारिक, सामाजिक सम्बन्धहरू हामी आफैँले स्थापना र विकास गरेको होइन र ? यदि  हो भने हामी फेरि पनि त्यो गर्न सकिहाल्छौँ नि !
त्यसकारण, आत्महत्या गर्नुअगाडि सबैले सोच्नुपर्छ — के मैले यो परिवार, समाजमा मात्र बाँच्न नसकेको हो कि, यो संसार नै मेरा लागि अयोग्य भएको हो । अधिकांशतः उक्त पहिलो विकल्प हुन्छ, जसको समाधान हामी निकाल्न सक्छौँ । 
आशा गरौँ, कसैले पनि आत्महत्या गरेको समाचार सुन्नु नपरोस् । 

Thursday, May 6, 2010

बन्दको ब्लग

“देशै बन्द छ भने म खुला हुनुको के अर्थ ?” मैले अस्ति अल्छीलाग्दो पारामा फेसबुक स्ट्याटस् लेखेँ । साँच्चै नै, यो बन्दमा दिक्क लागेको छ । 
पहिलो कारण, बन्द लामो अवधिको भयो । यदि बन्द नभएको भए मेरो दिन पूरै दौडधुपमा बित्ने थियो, पढाइ र विभिन्न साना–ठुला कामहरूमा । तर अहिले, थाहा पाइहाल्नुभयो होला नि । घरबाट बाहिर निस्कन पनि पाएको छैन । कहाँ जाने ? कसलाई भेट्ने ? के गर्ने ? कसरी जाने ? किन जाने ? त्यसैले, दिउँसोभरि घरमा बस्छु । मन लागे पढ्छु, मन लागे टिभी हेर्छु, मन लागे फेसबुक चलाउँछु, मन लागे कम्प्युटरमा अन्य काम गर्छु, केही गर्न मन नलागे सुत्छु । 
तर पनि मैले यति फुर्सद पाउँदा पनि ब्लगमा नलेखेको भने धेरै भइसक्यो । बन्दको बेला किन हो ब्लग लेख्न मनै लागेन । के विषयमा लेख्ने ? दिमागमा बन्दबारे केही पनि छैन । बन्दबारे के लेख्ने ? सबैले भनिरहेकै छन् कि बन्दले दिक्क लागिसक्यो । मैले पनि त्यो फेरि भनिरहनुपर्ने आवश्यकता छ र ? ती आयोजक र आयोजकका अन्धसमर्थकबाहेक कसलाई पो बन्द रमाइलो भयो होला र ? त्यसैले त प्रतिकार सुरु भइसकेको छ । 
हुन त, यति लामा बन्द नभएका होइनन् । २०६२÷६३को आन्दोलन योभन्दा धेरै नै लामो थियो । तर, त्यो बेलाको बन्द र अहिलेको बन्दमा धेरै फरक छ । त्यसबेला आम जनता आन्दोलनकारी थिए, आज निश्चित पार्टीका कार्यकर्ता आन्दोलनकारी छन् । त्यस बेला माग राज्यव्यवस्था र कानुनकै परिवर्तन थियो, आजको माग (बन्द गर्नै नसुहाउने, भन्नै लाजलाग्दो) प्रधानमन्त्री परिर्वनको छ । त्यतिबेलाको आयोजक बहुदलीय थियो, यति बेलाको आयोजक एउटा दल मात्र हो । आयोजकले ‘जनआन्दोलन’ भने पनि यो जनआन्दोलन त होइन नै, किनभने यसका आयोजक र सहभागीले जनआन्दोलनको जस्तो समग्र जनताको प्रतिनिधित्व गर्दैनन् । 
हुन त, आन्दोलन प्रजातन्त्रिक अधिकारको प्रयोग हो, तर पनि लाग्छ यो प्रजातन्त्रका लागि होइन । अस्ति एक जना राजनीतिलाई मेरो भन्दा नजिकबाट बुझेका आदरणीय व्यक्तिसँग बन्दबारे कुरा भएको थियो । उहाँले सुरुमा “ठिकै छ, आन्दोलन गरून्, यो प्रजातन्त्रको विषय हो” भन्नुभो । अनि, मैले “के अहिलेको आन्दोलन सफल भयो भने प्रजातन्त्र बलियो हुन्छ” भनेर सोधेँ । उहाँले भन्नुभयो, “बलियो त के हुन्थ्यो भाइ, उल्टै कति गुणा कमजोर हुने हो !”   
मेरो आशा यो बन्द छिट्टै टुङ्गियोस् भन्ने हो । हिजो फेरि फेसबुकमा नयाँ स्ट्याटस् हालेको छु, “बन्द कहिले सकिने रहेछ, कसैलाई केही थाहा छ ?” अहिलेसम्म कसैले पनि केही उत्तर दिएको छैन । म भने त्यही प्रश्नको उत्तर पर्खेर बसेको छु । 

Friday, April 23, 2010

‘खरीको घेरो’ हेरेपछि

आज मैले गुरुकुल नाटकघरमा नेपाली भाषमा अनुदित ‘खरीको घेरो’ हेरेँ ।
वास्तमा यो नाटक गम्भीर अर्थपूर्ण र सँगसँगै अत्यधिक रमाइलो रहेछ । यसले दर्शकहरूलाई बुझाइ तथा रमाइलो दुबै दिएको छ । 
मैले बुझेसम्म नाटकका मुख्य सन्देशहरू मातृत्व, साहस, प्रेम तथा न्याय हुन् । राजा जयबहादुर मल्लको दरबारमा काम गर्ने गीता नै यस नाटककी वास्तविक नायिका (अथवा नायक) हो । उसले सेनाहरूद्वारा कुनै षड्यन्त्रका लागि खोजी भइरहेको राजकुमार मनोहरलाई बचाउँछे र हुर्काउँछे । गीताले ती सेनाहरूबाट आफूलाई र मनोहरलाई बचाउन गरेको सङ्घर्ष नै यस कथाको मुख्य र आधारभूत कथानक (Plot) हो ।  गीता, साँच्चै नै एक साहसी र मायालु महिला हो । नाटकको उत्तरार्धमा मात्र देखा पर्ने अक्कलबहादुर गीतापछिको दोस्रो प्रमुख पात्र हो । धेरै कमजोरीहरू भए पनि उसले नाटकको अन्त्यमा आफूलाई एक कुशल न्यायाधीशको रूपमा प्रस्तुत गरेको छ  । आर्थिक मामलामा ऊ अत्यन्त भ्रष्ट छ, मानिसहरू (विशेषतः महिलाहरू)सँग ऊ अत्यन्त रुखो बोलीव्यवहार गर्छ । उसलाई न त कानुनबारे केही ज्ञान छ, न त ऊ जान्न नै चाहन्छ । तैपनि, उसलाई लाग्छ, ऊ नै सम्पूर्णतः अदालत हो र आफूलाई जे मन लाग्यो, त्यसैअनुसार फैसला गर्छ । यति हुादाहुादै पनि, बालक मनोहर रानी वा गीता कसलाई दिने भनने सवालमा उसले उपयुुक्त र न्यायपूर्ण निर्णय गरेको छ । 
अत्यन्त महत्वपूर्ण सन्देश बोकेको मिठो गीतका साथ नाटकको अन्त्य हुन्छ, “गाडी — हाँक्नेको, बच्चा — पाल्नेको, जमिन — रोप्नेको, खेत — जोत्नेको ...” । नाटकमा देखाइएअनुसार, यो सिधा, सरल तर उपयुक्त र वस्तुगत सुत्र हो, न्याय सम्पादन तथा निर्णयका लागि । 

नाटकका धेरै दृश्यहरूमा दर्शकहरू आफ्नो हाँसो रोक्न सक्दैनन् । विशेष गरी राजाको भाइ, गीताका श्रीमान् तथा सासू, अक्कलबहादुर र केही सिपाहीहरूका अभिनय तथा संवादहरू धेरै हाँसोउठ्दा छन् । 
नाटकले कताकता केही त्यस्ता दृश्य तथा संवादहरू समेटेको छ, जो नेपाली समाजमा पारिवारिक जमघटका अगाडि “अर्ध–अश्लील” लाग्न सक्छन् । सिपाहीहरूको गीताप्रतिको व्यवहार, गीताका श्रीमान्ले नुहाएको दृश्य तथा बारम्बार देखिइरहने सिपाहीहरूका यौन–लक्षित मौखिक तथा व्यवहारगत सङ्केतहरू केही नेपालीहरूलाई नपच्न पनि सक्छन् । अर्कातर्फ, नाटकमा रानीलाई एक “निर्दयी आमा”को रूपमा प्रस्तुत गरिएको छ, जो आफ्नो सानो छोरोभन्दा पनि लुगाकपडा र श्रृङ्गारमा बढी ध्यान दिन्छे । 
बीचको दस मिनेटको मध्यान्तरसमेत नाटक दुई घण्टा दस मिनेटभन्दा बढी लामो छ । नाटक बेलुका साढे पाँच बजेपछि मात्र सुरु हुने भएकाले सकिँदा झन्डै आठ बज्छ । समयको यस्तो बाध्यताले गर्दा नाटक हेर्न एकदमै उत्सुक मानिसहरू पनि आउन नसकेको कुरालाई आयोजकले बुझेको हुनपर्छ । यदि नाटक केही छिटै सुरु हुने भइदिएको भए, वा केही छोटो भइदिएको भए, अझ धेरै मानिसहरूले यसको आनन्द लिने थिए । 



Friday, April 16, 2010

कवि बाजेले धाप मार्नुभो

रामकृष्ण दुवाल (२००७, कीर्तिपुर, काठमाडौँ) एक सुपरिचित गीत–सङ्गीतकर्मी हुनुहुन्छ । राष्ट्र र जनताको सर्वोत्तम हितमा गाइएका ‘गाउँ–गाउँबाट उठ!’ जस्ता गीतमा पनि उहाँ संलग्न हुनुहुन्छ । यसबाहेक उहाँले .................. लगायतका बालबालिकालाई सन्देश दिने गीतहरूमा सङ्गीत दिनुभएको छ । उहाँका अनुसार उहाँले बालबालिकाका लागि गाइएका यस्ता ५०–६० जति गीतमा सङ्गीत दिनुभएको छ भने केही लेख्नु र गाउनुभएको पनि छ । सङ्गीत, सािहत्य र संस्कृतिबाहेक उहाँ आदिवासी–जनजातिका भाषा र  पहिचानसम्बन्धी आन्दोलनमा पनि निरन्तर सक्रिय हुनुहुन्छ । सामाजिक र राष्ट्रिय महत्व भएका यी क्षेत्रहरूमा उल्लेखनीय योगदान दिनुभएकामा उहाँ विभिन्न संस्थाहरूबाट स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरमा सम्मानित र पुरस्कृत हुनुहुन्छ । ‘हाम्रो आँगन’का लागि गरिएको कुराकानीमा उहाँले बालापनको अनुभवसँगै बालगीतका विभिन्न पक्षहरूबारे पनि चर्चा गर्नुभएको छ । आजसम्म पनि बालबालिकाका लागि गीत लेख्ने, सङ्गीत भर्ने र गाउने काममा सक्रिय दुवालका बालापनका अनुभव यस पालीको ‘बाल्यकालका कुरा’मा प्रस्तुत गरिएको छ । 

बाल्यकाललाई सम्झँदा
मेरो जन्म २००७ साल असार महिनामा भएको हो । म हाल बसिरहेको पाँगा, कीर्तिपुरस्थित घर नै मेरो जन्मघर हो । आमा पूर्णकुमारी र बुबा रामप्रसाद दुवालका छोराछोरीहरूमध्ये म पाचौँ हुँ । मेरा दुई दाजु सानैमा बित्नुभएको हो । यसबाहेक मेरा बाआमाबाट दुई दिदी र एक बहिनी जन्मनुभएको छ । मेरो परिवार पुख्र्यौली रूपमा सम्पन्न भए पनि म जन्मिएको समयमा भने हाम्रा्े परिवार ‘सर्वहारा’ (बाँच्नका लागि पूर्णतः श्रममा निर्भर र उत्पादनका साधनहरूमाथि नियन्त्रण नभएको) भइसकेको थियो । हातमुख जोड्नका लागि समस्या नै थियो । हाम्रो परिवार पहिलेदेखि नै कीर्तिपुरमै बस्दै आएको रहेछ । 
त्यति बेला खासै स्कुलहरू थिएनन् । स्कुल नभए पनि छ–सात वर्षको हुँदा मलाई काकाले घरमै पढाउन सुरु गर्नुभएको हो । उहाँसँग दुई वर्ष पढेपछि म तत्कालीन जलविनायक आधार हाई स्कुलमा भर्ना भएँ, (जसलाई आज जनसेवा उच्च मा.वि.का नामले चिनिन्छ) । मेरो पढाइ खासै राम्रो पनि थिएन, नराम्रो पनि थिएन । म विद्यालयमा मध्यम तहको विद्यार्थी थिएँ । त्यति बेलाको पढाइ पूर्णतः घोकन्ते थियो । जसले बढी घोक्न सक्थ्यो, उसले बढी पढ्न सक्थ्यो । पाठ्यक्रम पनि निश्चित थिएन, न त पाठ्यपुस्तक नै थिए । शिक्षकले जे सिकाउन उपयुक्त ठान्थे, हामीलाई त्यही सिकाउँथे । 
कक्षा एक र दूईमा साधारण नेपाली मात्र पढाइन्थ्यो । क, खका सादा अक्षरदेखि क्य, ख्यजस्ता जोडिएका गाह्रा अक्षरका पनि बाह्रखरी पढ्न लगाइन्थ्यो । त्यति जानेपछि हिसाबको सामान्य जोडघटाउ सिकाउन सुरु गरिन्थ्यो । अङ्ग्रेजीको पढाइ त कक्षा छदेखि मात्र सुरु हुन्थ्यो । मैले पढेको विद्यालय प्राविधिक स्कुल थियो । प्राविधिक भन्नाले आजको जस्तो नयाँनयाँ वैज्ञानिक प्रविधि थिएनन् । सिकर्मी, डकर्मीजस्ता कामहरू सिकाइन्थे । त्यति बेला घर बनाउन जान्नु नै प्राविधिक हुनु थियो । 
स्कुलमा पढाइका बाहेक अन्य कार्यक्रम केही पनि हुँदैनथे । खेलकुद त हाम्रो दैनिकीमा थिएन । न त हामीलाई घरमा खेल्ने वातावरण थियो, न त स्कुलमा । स्कुलमा खेलकुदका नाममा ब्याडमिन्टन र क्यारम थिए । यद्यपि हामी गोठालो जाँदा कहिलेकाँही साथीहरू मिलेर कपडा, बोरा आदिबाट बल÷भकुन्डो बनाउँथ्यौँ र खेल्थ्यौँ । कहिलेकाँही ठुलाहरूले दिए भने फुटबल पनि खेल्थ्यौँ । आजको जस्तो रबरको बल खेल्नु भनेको त हाम्रो जमानामा कहाँ हो कहाँ !
हाम्रो नेवारी बस्तीमा पनि दसैँ–तिहार त भव्यताका साथ मनाइन्थ्यो नै । अझ यसभन्दा पनि भव्य र विशेष रूपमा विभिन्न जात्राहरू मनाइन्थे । हामी गाईजात्रा, बखुमर, सिठीजस्ता चाडपर्वका जात्राहरूमा हामी  खुब मज्जा लिन्थ्यौँ । चाडपर्व आउन लागेको थाहा पाउनेबित्तिकै अब सो पर्व आउन कति दिन बाँकी छ भनेर औँला भाँची दिन गनेर बस्थ्यौँ । चाडपर्व सुरु हुनुअघिको अर्को पक्ष पनि रमाइलो छ । हामी त्यो समयमा साथीहरूसँग उधारोमा गुच्चाजस्ता खेलहरू खेल्थ्यौँ । अर्थात्, चाडपर्वको समय आएपछि तिर्ने सर्तमा पुष्टकारी, गुच्चा आदिको बाजी लगाउँथ्यौँ । ‘डाफा’ संस्कृति हाम्रो दैनिकीको अर्को महत्वपूर्ण पक्ष थियो । प्रत्येक बिहान टोलटोलका पाटीहरूमा एउटा विशेष प्रकारको नाचगान हुन्थ्यो, जसलाई हामी डाफा भन्थ्यौँ । अझ चाडबाड र जात्राका समयमा त डाफाको भव्यता झन् बढ्थ्यो । डाफा लोकशास्त्रमा आधारित एक सांस्कृतिक पद्धति हो । 
डाफाको नाचगानमा ठुला मानिसहरूले नाचेको देख्दा हामी पनि त्यसको नक्कल गरेर नाच्ने प्रयास गथ्यौँ । त्यसमा केही गल्ती भए उहाँहरूले हामीलाई सच्याइदिनुहुन्थ्यो । यति हुँदाहुँदै पनि ती वयष्क मानिसहरूमा बालबालिकाहरूलाई पनि यस्तो नाचगान सिकाउनुपर्छ भन्ने चिन्तन नै थिएन  । यसकारण, हामी भने यो नाच सिक्न औपचारिक रूपमा पाउँदैनथ्यौँ । अर्कातर्फ, ‘दुवाल’ थर नेवारहरूभित्र पनि उच्च जातिको मानिन्छ । त्यहाँ डाफा सिक्ने क्रममा ढोगभेट गर्नुपथ्र्याे, जसका लागि हामी दुवाल थर भएकालाई अनुमति थिएन । त्यसैले त झन् मैले त डाफामा भाग लिन पाउँदै पाइँन । घरभित्रको ‘आँगो’ भन्ने विशेष स्थानमा हुने नियमित पूजा मैले बाल्यकालमा भोगेको संस्कृतिको अर्को महत्वपूर्ण पक्ष हो । 
सैद्धान्तिक रूपमा बालअधिकार कसैलाई पनि थाहा थिएन त्यति बेला । न त बालबालिका, न त अभिभावकलाई नै बालबालिकाको विकासका लागि उनीहरूले अधिकार पाउनुपर्छ भन्ने कुराको ज्ञान थियो । पढाइका नाममा सामान्य जोडघटाउ जानेपछि काम गर्नुपर्ने बाध्यता हुन्थ्यो । कोही बालबालिकाले आर्थिक कारणले काम गर्नुपथ्र्यो त  कोहीले सामाजिक कारणले । तर, कुनैकुनै घरमा भने ‘पढाउनुपर्छ’ र ‘पढ्नुपर्छ’ भन्ने धारण पनि रहेको थियो । मेरा बाआमाको पनि छोरालाई पढाउनुपर्छ भन्ने विचार थियो । तर पनि छोरीहरूलाई पढाउने कुरा भने कसैले सोच्दैनथ्यो । 
स्कुलमा पढाइबाहेक कुनै पनि अतिरिक्त क्रियाकलाप हुँदैनथे । शिक्षकहरू सबै हाम्रो गाउँभन्दा बाहिरका भएकाले उनीहरूलाई बिहान समयमा स्कुल आइपुग्न र बेलुका घर फर्कन नै हतार हुन्थ्यो । विद्यार्थीहरूलाई खेलाउने र अन्य किसिमका प्रतिभा देखाउने अवसर दिलाउने समय उहाँहरूसँग कहाँ हुन्थ्यो र !
अर्कातर्फ हामी बालबालिका पनि नियमित विद्यालय जादैनथ्यौँ । त्यति बेलाको समयमा पढेर बचेको समयमा काम गर्ने होइन कि, काम गरेर बचेको समयमा पढ्ने धारणा र चलन विद्यमान थियो । 
मेरो दाजुभाइ म सानै छँदा बितिसक्नुभएको थियो । दिदीबहिनीहरूसँग मेरो राम्रो सम्बन्ध थियो । हाम्रो कहिल्यै पनि झगडा भएन । म दिदीहरूको चित्त दुखाउँदैनथेँ । अझ म दिदीहरूको चित्त दुखाउन चाहदैनथेँ । मभन्दा करिब पाँच–छ वर्ष कान्छी बहिनी छिन् । उसँग भने म पनि साथीजस्तै व्यवहार गर्थेँ । हामी सँगै खेल्थ्यौँ । हामी दुबै जना हामीभन्दा २०–२५ वर्ष जेठी दुई जना दिदीहरूलाई अभिभावकजस्तै मान्थ्यौँ । आजसम्म पनि हामी दिदीको कुरा काट्दैनौँ । 
म सानो छँदा मेरो बासँग त्यति कुरा हुन्नथ्यो । पहिलो कुरा त बाको स्वभाव नै कम बोल्ने थियो । दोस्रो कुरा उहाँ धेरै टाढा काम गर्न जानुहुन्थ्यो । मेरो बाले पहिले सिकर्मी र पछि जागिरेको काम गर्नुभयो । यसकाराण बासँग हामीसँग कुरा गर्ने समय नै थिएन । बाल्यकालको यस बानीले म ठुलो हुँदासम्म पनि बासँग कमै बोलेँ । आमासँग भने निर्धक्क कुरा हुन्थ्यो । आमाको माध्यमबाट नै बासँग कुरा पु¥याइन्थ्यो । 
तैपनि बालापन रमाइलोमै बित्यो । गोठालो जाँदा होस् वा घरमा, साथीहरू साथमै हुन्थे र सँगै भएपछि रमाइलो हुन्थ्यो । विशेष गरी मसँग मसमेत तीन जनाको समूह थियो । अहिले गैरआवासीय नेपाली सङ्घ (एन्आर्एन्)का सल्लाहकार डा. देवकाजी डङ्गोल र नेपाल तथा नेपाली भाषाका साहित्यकार नजरराम महर्जन मेरा सबभन्दा नजिकका साथी थिए । डङ्गोल पढ्नमा चलाक थिए, हामी ‘तिमी पछि डाक्टर बन्छौ’ भन्थ्यौँ । महर्जनलाई लेख्ने बानीमा रमाइलो लाग्थ्यो, हामी ‘तिमी पछि लेखक बन्छौ’ भन्थ्यौँ । मलाई भने पढाइ र लेखाइभन्दा पनि गाउन, बजाउन र नाँच्न बढी रुचि थियो । उनीहरू मलाई ‘तिमी कलाकार बन्छौ’ भन्थे । आखिर भविष्यमा त तीनै जनाका लागि गरिएको भविष्यवाणी मिल्यो । 
त्यति बेला म करिब आठ–नौ वर्षको थिएँ होला । दसैँको बेला थियो । टोलका सबैले नयाँ लुगा सिलाइसकेका थिए । मेरो लुगा सिउन बाँकी नै थियो, कारण बाले काम गरेको ठाउँबाट पैसा पाइसक्नुभएको थिएन । सबैको तयारी सकिदा पनि पैसा नआएपछि बा फूलपातीको दिन बिहान साहुको घर वसन्तपुर जाने हुनुभयो । म पनि बासँगै जाने भएँ । खाली खुट्टा वसन्तपुरमा पुग्दा मलाई सबभन्दा नरमाइलो अनुभव भयो । म लुगा लाउन पाउँछु कि पाउँदिन भन्ने द्विविधा र डरले पिरोलिरह्यो । लुगा लाउन नपाए दसैँभरि घरबाट बाहिर ननिस्कने विचार आयो । पछि साहुले केही पैसा दिए । हामी तयारी लुगा किन्न मङ्गलबजारतर्फ लाग्यौँ । मङ्गलबजार नपुग्दासम्म मन शान्त भएन । त्यहाँ तयारी कमिज–सुरुवाल र जुत्ता किनेपछि मात्र म ढुक्क भएँ । बिहान जाँदा मनभरि चिन्ता लिएर गएको म फर्कदा त नयाँ योजनाहरूको साथमा थिएँ । एक छिन नरमाइलो भए पनि अन्त्यमा त मज्जा नै आयो नि !
हरेक साल साउनमा मेरा मामा हरिगोविन्द श्रेष्ठको बाको जन्मदिन मनाइन्थ्यो । मामाले सबैलाई ‘समय्बजि’ बाँड्नुहुन्थ्यो । केटाकेटीका लागि भने उहाँ एउटा रमाइलो खेल खेलाउनुहुन्थ्यो । बीचमा एउटा पुष्टकारी राखेर दुई दिशाबाट दुई जनालाई दौडन लगाइन्थ्यो । एक पटक मैले पनि दौडेर पुष्टकारी जितेको थिएँ । मामाले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई चिन्नुभएको थियो । मैले पुष्टकारी जितेको दिन पनि देवकोटा त्यही हुनुहुन्थ्यो । तर, हामी उहाँलाई चिन्दैनथ्यौँ । मैले जितेपछि नचिनेका देवकोटाले मलाई धाप मारेर, “केटाले भविष्यमा केही गर्छ” भन्नुभएको थियो । पछि उहाँ को भनेर सोध्दा मामाले “यी त कवि बाजे हुन् । ठुला मान्छे हुन्” भन्नुभयो । देवकोटा मन्त्री पदबाट हटिसकेको र उहाँको मृत्युअगाडिको यो घटना २०१५–१६ को हुनुपर्छ । 
मैले बाल्यकालमा कोही विशेष व्यक्तिबाट विशेष रूपमा प्रेरण पाएँ भने त्यो मेरो बा नै हुनुहुन्थ्यो । हुन त मैले उहाँको कुनै गुणको पनि प्रत्यक्ष अनुशरण गरेको छैन । तर पनि, उहाँका भनाइहरूले मलाइ प्रेरणा दिए । बा भन्नुहुन्थ्यो, “मैले कमाएको सम्पत्ति तेरो होइन । तेरा लागि तँ आफैले केही गर्नुपर्छ ।” उहाँको यस भनाइले मलाई आफ्नै मिमित्त केही गर्ने भावना जाग्यो । गीतसङ्गीतका लागि भने मलाई माथि भनिएको डाफा संस्कृतिले नै विशेष प्रेरणा दियो । डाफा सङ्गीत सुनेर अरुको नक्कल गर्दा अरुले मेरो प्रशंसा गर्थे । अरुको सकारात्मक प्रतिक्रियाले मलाई थप सिक्न उत्सुक बनायो । पछि मैले सङ्गीतका ज्ञाता मास्टर सुकरामलाई गुरु मानेर उहाँसँग सङ्गीत सिकेँ ।
‘ठुलाले लेख्ने बालगीत होइन’
बालगीत भनेको बालबालिकाहरू स्वयंले आफ्ना मनका कुराहरू व्यक्त गरी लेखेको र लेख्ने गीत हो । ठुला मानिसहरूले बालबालिकाका लागि लेखेको गीत बालगीत होइन । यसलाई बालबालिकालाई सन्देश दिने गीत वा उनीहरूलाई मार्गनिर्देश दिने गीत मात्र मान्न सकिन्छ । बालकको मनस्थितिलाई सन्तुलित राख्नका लागि हो, बालगीतको आवश्यकता भएको । यसले उनीहरूको दिमाग सधै ताजा बनाउँछ । अर्कातर्फ यसले उनीहरूलाई आफ्नो करा निर्धक्क भन्ने वातावरण बनाउँछ । बालबालिकाको अभिव्यक्ति क्षमता बढाउन बालगीत महत्वपूर्ण हुन सक्छ । 
तर, बालबालिका आफै बालगीत रचनाका लागि सक्षम बन्न सजिलो छैन । यसका लागि ठुलाले अभिप्रेरित गर्नुपर्छ । यसमा पनि शिक्षकशिक्षिकाको भूमिका अझ बढी महत्वपूर्ण छ । जस्तो, एउटा शिक्षकले आफ्नो विद्यार्थीलाई ‘आफूले घरमा गर्ने कामको बारे लेखेर ल्याउनू’ भन्न सक्छ । विद्यार्थीले कथा, निबन्ध, कविता, वा गीत — जुनसुकै रूप पनि दिन सक्छ । यसरी लेख्दा थाहा नपाईकन नै बालबालिकाले आफ्ना विचार, समस्या र समग्रमा आफ्नो मनस्थिति अभिव्यक्त गर्छन् । शिक्षकले सम्भव भएसम्म विद्यार्थीहरूसँग व्यक्तिगत रूपमै अन्तक्र्रिया र कुराकानी गर्नुपर्छ । अनि उसलाई आफ्नो समस्या अभिव्यक्त गर्न प्रोत्साहन गर्नुपर्छ । बालगीत वा जुनसुकै सिर्जनाका विधाका लागि पनि अभिव्यक्ति मुख्य आधार हो । 
यसबाहेक बालबालिकालाई बालगीत नै सिकाउने हो भने केही थप कुरामा पनि ध्यान दिनुपर्छ । सिकाउने शिक्षक बालकजस्तै भइदिनुपर्छ । त्यही समयमा उसले बालबालिकालाई राम्रोसँग व्यवहार गर्न सक्नुपर्छ । साधारण सङ्गीतसम्बन्धी ज्ञान पनि भएको हुनुपर्छ । विचार गर्नुपर्ने अझ महत्वपूर्ण कुरा के हो भने सिकाइका क्रममा कहिल्यै पनि जबर्जस्ती गर्नु हुँदैन । बालको गलाले भ्याउने स्वर मात्र, उनीहरूको दिमागले भ्याउने ताल मात्र र शरीरले थेग्न सक्ने मुद्रा मात्र सिकाउनुपर्छ । 
नेपालमा बालगीतको अवस्था बिस्तारै राम्रो हुँदै छ । अचेल त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले पनि बालबालिकाको विकासमा ध्यान दिएका छन् । तर, उनीहरू सबैको नपाली भाषामा मात्र ध्यान केन्द्रित भएका छन् । नेपालमा त धेरै भाषहरू बोलिन्छन् । नेपालीबाहेकका अन्य भाषामा बालसाहित्यको अवसथा करिब शून्यबराबर नै छ । हामीले यसको विकासमा पनि ध्यान दिनुपर्छ । अरु भाषा बोल्ने बालबालिकाले पनि त आफ्नो कुरा अभिव्यक्त गर्ने उपयुक्त वातावरण त पाउनुप¥यो नि !
म बालबालिकाको लागि लेखिने गीतको क्षेत्रमा लाग्नुको प्रसङ्ग पनि छुट्टै छ । वि.सं २०२२मा रेडियो नेपालले ‘जीवनदबु’ नामको नेवारी कार्यक्रम बन्द ग¥यो । यसको विरोधमा कविकेशरी चित्तधर हृदय, गीतकार दुर्गालाल श्रेष्ठ लगायतका व्यक्तिहरूको नेतृत्वमा आन्दोलन चल्यो । यो अभियानमा म पनि सामेल भएँ । पछि हुँदै जाँदा मलाई ठुलाहरूले ठुलाहरूको मात्र कुरा हुने हुँदा बालबालिकाको लागि छुट्टै अभियान आवश्यक भएकोजस्तो लाग्यो । यसका लागि हामीले वि.सं. २०२६मा एउटा साहित्य सम्मेलन ग¥यौँ । यस सम्मेलनमा बालबालिकाका लागि लेखिने धेरै साहित्यिक रचनाहरू प्रस्तुत भए । यसपछि पनि मलाई बालबालिकाका लागि पढ्ने सामग्रीहरू कम भएजस्तो लागिरह्यो । यही कमीलाई परिपूर्ति गर्न म केही साथीहरूसँग बालबालिकाका लागि गीत लेख्ने काममा लागिरहेँ । मलाई आज पनि बालबालिकाका लागि पर्याप्त सामग्री छैनन् जस्तो लाग्छ । 

शुभकामना सन्देश
बालकको बालापन उसको परिवार कस्तो छ, त्यसमा भर पर्छ । उसलाई हुर्काउने परिवारले जे सिकायो, त्यो बालक त्यस्तै हुन्छ । यस कारण, म फेरि बालक बन्न पाए कस्तो बन्थेँ भन्ने कुरा म अहिले सोच्न सक्दिन । यो कुरा बालकको आफ्नो इच्छाभन्दा पनि परिवारको भूमिकामा बढी निर्भर हुन्छ । तापनि, मलाई आजका बालबालिका हाम्रा् जमानाका बालबालिकाजस्ता कमजोर छैनन् जस्तो लाग्छ । उनीहरू हरेक पक्षमा सक्षम छन् । खालि, उनीहरूलाई कस्तो शिक्षादीक्षा दिने भन्ने योजना बनाउनुपर्ने छ । देशलाई आवश्यक जनशक्ति तयार हुने गरी बालबालिकालाई शिक्षित गर्नुपर्छ । अनि मात्र, उनीहरूले देश बनाउन सक्छन् र हाम्रो देशको भविष्य राम्रो बन्न सक्छ । 
यस ‘हाम्रो आँगन’ पत्रिकाले पनि बालबालिकाको जीवनमा सार्थकता र सिर्जनात्मकता बढाउने सामग्री देओस् । ‘हाम्रा् आँगन’जस्ता सबै बालबालिकाले के बुझ्नुपर्छ भने बालपत्रिका बालक आफैँ किन्न सक्दैन र हाम्रो समाजमा बालबालिकालाई अभिभावकले प्रायः पत्रिका किनिदिदैनन् । बालपत्रिकाका सामग्रीले अब अभिभावक र बालबालिका दुबैलाई चेतना बोध गराउनुपर्ने छ । ‘हाम्रो आँगन’ बालबालिकाले पढ्नुपर्ने र अभिभावकले पढाउनुपर्ने सामग्रीको रूपमा अगाडि बढोस् । 

२०६६/१२/२९
diwapyak@gmail.com

Thursday, April 8, 2010

झन्डै अन्तर्राष्ट्रिय बेइज्जत



यो हप्ता म परीक्षामा व्यस्त भएँ । यस पटकको परीक्षाको अनुभव अन्य परीक्षाहरूभन्दा फरक भयो । विशेष गरी, 'History, Law, Ethics, and Management of Media' भन्ने विषयको परीक्षामा । 
त्यो विषयको परीक्षाभन्दा अगाडि म धेरै नै डराइरहेको थिएँ । मैले साथीहरूलाई के भनेको थिएँ भने, “कुनै चमत्कार भएन भने मेरो अन्तर्राष्ट्रिय बेइज्जत हुनेछ ।” मेरो बेइज्ज्त हुनबाट रोक्न, कि त प्रश्न सोधाइमा, कि त उत्तर लेखाइमा, कि त कापी जँचाइमा चमत्कार हुनुपथ्र्यो । परीक्षा हलमा पनि मैले एकदमै फुर्सदसँग लेखेँ । प्रश्न सजिलो भएर होइन, समय बढी भएर पनि होइन । लेख्नुपर्ने कुरा नै नभएपछि मैले फुर्सद पाएँ । 
हुन त, सरले सुरुमै भन्नुभएको थियो, “यो सब्जेक्ट गारो छ नि केटा हो । राम्रोसँग पढ नि ।” तर, मलाई भने सबभन्दा रमाइलो सरले पढाउने विषय सबभन्दा नरमाइलो लाग्न लाग्यो । हामीले मिडियाको विश्व इतिहासबाट कक्षा सुरु ग¥यौँ । मलाई इतिहास र भूगोल भनेपछि स्कुल पढ्दादेखि नै टाउको दुख्थ्यो । मलाई लाग्छ, अहिले हामीले पढेको तरिकाले इतिहास पढ्दा सूचना मात्र पाइन्छ, ज्ञान पाइन्न । हाम्रो कक्षामा पनि विभिन्न देशका मुख्य पत्रिका वा प्रसारण माध्यमको नाम, प्रकाशक/प्रसारक र मितिबाहेक केही थप जानकारी पाइएको थिएन । तिनीहरूमा बुझ्नुपर्ने भन्दा पनि थाहा पाउनुपर्ने कुरा थिए । अनि थाहा पाउनका लागि दिमागलाई जलाउने भन्दा पचास पटक घोकेर सम्झनुपर्ने थियो । त्यसै कारण, परीक्षाको अघिल्लो दिनअगाडि मैले गम्भीरतापूर्वक यो विषय पढ्दै पढेको थिइँन ।  
तर पनि म बेइज्जत हुनबाट बचेँ । हुन त माथि भनिएका तीन चमत्कारमध्ये दुई चरण पार भइसके, कुनै पनि चमत्कार नभइकन । अब तेसा्रे चरणमा पनि चमत्कार हुने सम्भावना देखिन्न । तर म किन बचेँ भने, कम तयारीका बाबजुत मैले परीक्षा त्यस्तो नराम्रो गरेको छैन । थाहा भएको सीमित सूचनाका आधारमा लम्ब्याई–लम्ब्याई उत्तर लेखेको छु । आशा छ, मैले यो विषयमा पनि झन्डै पहिलो श्रेणी भेट्ने छु । 

Tuesday, March 30, 2010

धर्मनिरपेक्षताले हिन्दूलाई केही घाटा गर्दैन

अहिले देशमा फेरि धर्मनिरपेक्षताको बहस बढ्दै गएको छ । बाहुन र क्षेत्रीका विभिन्न सङ्गठनहरूले नेपालाई हिन्दू राज्यकै रूपमा पुनस्र्थापना गर्न मााग गरिरहेका छन् । झन् केही साताअघिको काली बाबाको यज्ञले त यो विषयलाई झन् आगोमा घिउ थपिदिएको छ । 
हो, म पनि एक हिन्दू हुँ । मलाई पनि अन्य हिन्दूहरूजस्तै आफ्नो धर्मप्रति आस्था छ । मलाई पनि थाहा छ, नेपालका असी प्रतिशतभन्दा बढी जनता हिन्दू छन् । तर पनि म हिन्दू राष्ट्रको पक्षमा छैन । किन त ?
पहिलो कुरा, हामी हिन्दूहरूले हिन्दू राष्ट्रको पालामा जे सुविधा पाएका छौँ, त्यसमा निरपेक्षताको जमानामा पनि केही कमी आएको छैन । न त, धर्मनिरपेक्ष समयमा हामीलाई आफ्नो इच्छाअनुसार धार्मिक गतिविधि गर्न बन्द गरिएको छ । 
दास्रो कुरा, धेरै स्विकारिसकेका छन् कि धर्म व्यक्तिले मान्ने हो, राष्ट्रले होइन । त्यसकारण सबै व्यक्तिले आआफ्नो धर्म मान्ने स्वतन्त्रता पाएको खण्डमा राज्यको छुट्टै धर्म हुनु आवश्यक छैन । 
तस्रो, हिन्दू धर्म समावेशी र सहिष्णु छ । हामीले अरुको फरकलाई स्विकानुपर्छ । यदि धर्मनिरपेक्ष राज्य हुँदा अन्य धर्मका दाजुभाइ–दिदीबहिनी खुसी हुन्छन् भने हामीले टाउको दुखाउनुपर्ने कारण के छ ?
बरु, केही धार्मिक विद्वान्ले धर्मनिरपेक्षको सट्टा ‘सर्वधर्म समभाव’ राख्न सुझाएका छन् । यसतर्फ भने सोच्न सकिन्छ ।
यो विचार नितान्त व्यक्तिगत हो । मेरो परिवार र समुदाय यसमा असमत हुन पनि सक्छ । 

Tuesday, March 23, 2010

चैते दसैँको शुभकामना !

आज चैते दसैँ हो । थाहा पाउनुभयो ?

दुई शब्दमध्ये दास्रो शब्द सुन्नेबित्तिकै प्रायः सबै नेपालीका कान ठाडा हुन्छन् । उनीहरू सबैको मष्तिष्कमा झिलीमिली, भव्यता र पारिवारिक मेलमिलापको याद आउँछ । तर ,यसमा ‘चैते’ विशेषण जोडिएर आउँदा भने त्यो सब झिलीमिली कतै छुटिसकेको हुनछ । असोज र चैतबीच किन यति धेरै भेदभाव ? झन्, चैत त ऋतुहरूको राजा मानिने वसन्तको समय होइन र ?

विगतका केही वर्षहरूदेखि त सरकारले पनि चैते दसैँमा सार्वजनिक बिदा दिन छाडिसकेको छ । आज कतिपय स्थानमा बिदा भए पनि धेरै कार्यालयहरू खुला नै छन् । तर, भोलिको दिनका लागि भने सरकारले उहिल्यै सार्वजनिक बिदाको घोषणा गरेको छ — रामनवमीको अवसरमा ।

यस्ता कारणहरूले गर्दा धेरै नेपालीहरूले चैते दसैँलाई बिर्सिसकेका हुन सक्छन् । ‘दसैँ’ शब्दले धेरैलाई यो पनि दशमीकै दिन पर्न जान्छ भन्ने भ्रम रहेको हुन सक्छ । त्यसैले त धेरैले रामनवमीको भोलिपल्ट चैते दसैँ सम्झन्छन् । असोजे दसैँलाई भने त्यति धेरै महत्व दिएर मनाउने हामी नेपालीले कि त चैते दसैँ पनि भव्यताका साथ मनाउनुपर्छ भन्ने मेरो विचार हो । होइन भने, यसको नाममा रहेको ‘दसैँ’ शब्द हटाइनुपर्छ । कि कसो त ?

तर, दुःखको कुरा चैते दसैँको पक्षमा वकालत गरिरहँदा म आफैँलाई पनि असोजे दसैँको जत्तिको ज्ञान छैन यसबारे । के गर्नु ? मेरो परिवार र समाजले पनि चैतलाई बडो भेदभावपूर्ण दृष्टिकोणले हेरेको छ  । मेरा लागि भने सबै महिना बराबर छन् है ! त्यसैले असोजे दसैँ मान्ने सबैलाई उनीहरूले सम्झिए पनि नसम्झिए पनि चैते दसैँको शुभकामना ।

Saturday, March 20, 2010

सिविसले बालसंरक्षणमा सर्भे गर्ने

दिवाकर प्याकुरेल,
कपन, ६ चैत

बालअधिकारको क्षेत्रमा कार्यरत संस्था सिविसले सहरी महिलाहरूबीच बालसंरक्षणको विषयमा सर्भे गर्ने भएको छ ।
संस्थाले आगामी हप्ता ‘बाल यौनदुव्र्यवहारबारे अध्ययन ः सहरी महिलाहरूबीच बुझाइ तथा संरक्षणको अभ्यास’ नामको अध्ययन कार्यक्रम सञ्चालन गर्न लागेको हो । अध्ययनमा विभिन्न दस क्षेत्रका २०० महिलाहरू सहभागी हुनेछन् ।
संस्थाका अनुसार अध्ययनको नतिजाले बालसंरक्षणबारे सहरी महिलाहरूको बुझाइ तथा उनीहरूको प्रयासका साथै यससम्बन्धी सेवाप्रदायक संस्थाको सेवासुविधाको मूल्याङ्कन गर्नेछ । साथै, यसले प्रभावकारी नीति निर्माणका लागि सुझाव पनि दिनेछ ।
आयोजक संस्थाकी कार्यक्रम संयोजक ऋतु भट्टका अनुसार अध्ययनमा महिलाहरूको बालदुव्र्यवहार तथा बालसंरक्षणबारेको बुझाइ तथा संरक्षणका लागि उनीहरूले गर्ने प्रयासको अध्ययन गरिनेछ । यसमा पनि अध्ययनका लागि बनाइएको प्रश्नावलीले बाल यौनदुव्र्यवहारको मुद्दालाई पहिलो प्राथमिकता दिएको उहाँको भनाइ छ । भट्टका अनुसार, अध्ययनमा सहभागी हुने महिलाहरूमध्ये सय जना पहिले नै बालअधिकार तथा बालसंरक्षणका विषयमा जानकार हुनेछन् भने बाँकीले यस विषयमा थाहा नपाएको पनि हुनसक्छ । “त्यसकारण हाम्रो कार्यक्रम दुई समूहको तुलनात्मक अध्ययनको रूपमा अगाडि बढ्नेछ”, भट्टले थप्नुभयो ।

कार्यक्रमको सञ्चालनका लागि १० जना तथ्याङ्क सङ्कलकहरू छनौट भइसकेका र उनीहरूले आगामी आइतबारदेखि काम सुरु गर्ने संस्थाले जानकारी दिएको छ ।
तथ्याङ्क सङ्कलनको कार्य एक हप्ताभित्रै सक्ने संस्थाको योजना छ । तर पनि यसको विश्लेषण र प्रकाशनका लागि भने केही महिना कुनुपर्ने स्रोतले जनाएको छ ।




Friday, March 19, 2010

आशा मरेको छैन

अचेल सबैतिर जेठ १४ मा संविधान जारी हुन सक्दैन भन्ने हल्ला सुनिन लागेको छ । तर मलाई भने जेठ १४ मै संविधान जारी होला जस्तो लाग्छ । 
राजनैतिक नेताहरूको कार्यशैलीबारे कुरा गर्दा मलाई आजभन्दा करिब तीन वर्षअघिजतिको समयको सम्झना आउँछ । त्यतिबेला सरकार र माओवादीबीच वार्ता हुँदा नेताहरू रातभर पनि बैठकमा व्यस्त हुन्थे । उनीहरू निद्रा त्याग्न पनि तयार हुन्थे । तर, सुरुसुरुमा उनीहरूले यस्तो लगनशीलता देखाउँदैनथे । जब, योजनाअनुसार निर्धारित समय सकिने बेला हुन्थ्यो, उनीहरूमा एकाएक जाँगर भरिएर आउँथ्यो । 
त्यही अनुभवलाई सम्झिँदा मलाई के लाग्छ भने अब बैसाख १५ सम्म पनि नेताहरूको चालामाला यस्तै हुनेछ । उनीहरूका बीच विवाद कायम नै हुनेछ । तर त्यसपछिको एक महिना भने उनीहरू दिन–रात नभनी बैठकमा व्यस्त हुनेछन् । अनि जेठ १४ मै संविधान जारी गर्नेछन् । 
संविधान जनताले चाहेजस्तो, वा राम्रो बन्छ वा बन्दैन — त्यो छुट्टै बहसको विषय हो । तर संविधान बन्छ । 
आशा गरौँ । मेरो आशाले फेल नखाओस् ।