Thursday, March 28, 2013

कमिला जुधाउने मेरो रहर


प्रस्तुति : दिवाकर प्याकुरेल

डा. कृष्णहरि बराल (वि.सं २०१०, हत्पते, सिन्धुली) नेपाली गीतसङ्गीत क्षेत्रमा सर्वाधिक लोकप्रिय गीतकारहरूमध्ये एक हुनुहुन्छ । “म भक्त हुँ यो देशको ...”देखि “यहाँ देशको छ चिन्ता ...” हुँदै छिट्टै सार्वजनिक हुन लागेको “भन्न त सबै भन्छन् जमाना खराब छ ...” लगायतका गरी उहाँले करिब छ सय गीत तथा गजल लेख्नुभएको छ । यसमध्ये करिब तीन सय रेकर्ड भएका छन् भने त्यसमध्ये आधाभन्दा धेरै लोकप्रिय छन् । उहाँका एकल गीतिएल्बमको सङ्ख्या झन्डै एक दर्जन पुग्न लागिसकेको छ । गीत र गजलका अतिरिक्त उहाँको साहित्यिक समालोचना क्षेत्रमा पनि छुट्टै पहिचान छ । यस क्षेत्रमा उहाँका ‘गीत : सिद्धान्त र इतिहास’, ‘गजल : सिद्धान्त र परम्परा’, ‘कवि भूपि : विश्लेषण र मूल्याङ्कन’, ‘संदृष्टि’ लगायतका कृतिहरू प्रकाशित छन् । पाठ्यपुस्तकहरूसमेत उहाँका प्रकाशित पुस्तकहरूको सङ्ख्या ४०भन्दा बढी छ । सङ्गीत र साहित्यमा पु-याउनुभएको योगदानबापत उहाँले ‘छिन्नलता सङ्गीत पुरस्कार’, ‘नई कलानीधि सङ्गीत पुरस्कार’, ‘भुपालमान सिंह युवा साहित्य पुरस्कार’, ‘गजलश्री सम्मान’ लगायत दर्जनौ पुरस्कार, अभिनन्दन र सम्मान पाउनुभएको छ । पेसागत रूपमा उहाँ त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत हुनुहुन्छ । हाल बल्खुमा बस्दै आउनुभएका बरालको बाल्यकालका रमाइला सम्झना यस पटकको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ । 

Friday, March 22, 2013

औलाभन्दा सियोको पिर

फोटो : एटमको फेसबुक एकाउन्टबाट

नेत्र एटम (२०२६, मानपुर, दाङ्) नेपाली भाषा तथा साहित्यका क्षेत्रमा एक परिचित व्यक्तित्व हुनुहुन्छ । उहाँ पेसागत रूपमा काठमाडौँमा रहेका त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग तथा जनमैत्री बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ । साहित्यका क्षेत्रमा उहाँका कविता, समालोचना तथा गजल विधामा विभिन्न पुस्तकहरू प्रकाशित छन् । समालोचनातर्फ ‘उपन्यासको विश्लेषण’, ’उपन्यास सिद्धान्त र नेपाली उपन्यास’, गजल विधामा ‘भित्र कतै दुख्छ भने’, तथा ‘सीमान्त आकाश : स्रष्टासितको अन्तर्यात्रा’ नामको निवार्ता (निबन्ध र अन्तर्वाताको संयुक्त स्वरूप) उहाँका केही चर्चित कृतिहरू हुन् । उहाँ यसबाहेक करिब तीन दर्जन शैक्षिक पाठ्यपुस्तका लेखक हुनुहुन्छ । ‘तन्नेरी’, ‘रजनी’, ‘खसानी’ र 'The Bud' जस्ता पत्रिकाहरूमा पनि उहाँको संलग्नता छ । यसरी राष्ट्रको शिक्षा, भाषा तथा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएबापत उहाँले नवकविता प्रतिभा पुरस्कार (२०५१), उत्कृष्ट निबन्ध पुरस्कार (२०५४), हृदयचन्द्रस्मुति समीक्षा पुरस्कार (२०६०), नन्द प्रज्ञा पुरस्कार (२०६६) लगायतका पुरस्कारहरू प्राप्त गर्नुभएको छ । हाल बल्खुमा बस्दै आउनुभएका एटमको बाल्यकालका विविध अनुभवहरू यस पटकको बालककालका कुरामा समेटिएको छ । 

Wednesday, March 20, 2013

विद्यालय भेट्नु भनेको उडेको चरो समाउनुजस्तै थियो

फोटो : कमल चापागाईँ
 कृष्णप्रसाद पराजुली (वि.सं. १९९२, काभ्रे) नेपाली साहित्यका सुप्रसिद्ध कवि, गीतकार, निबन्धकार र कथाकार हुनुहुन्छ । भाषा–व्याकरण, लोकसाहित्य र बालसाहित्यका पाका र सिद्धहस्त स्रस्टा पराजुलीका विविध विधा र विषयका चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् । एक दर्जनभन्दा बढी साहित्यिक पत्रपत्रिका र आधा दर्जनजति ग्रन्थहरूको सम्पादनमा पनि उहाँको संलग्नता छ । ‘राम्रो रचना : मीठो नेपाली’जस्ता व्याकरणका पुस्तकदेखि ‘रमाइला नानी’लगायतका बालसाहित्यका लेखक पराजुलीले भाषा–साहित्य र शिक्षा क्षेत्रमा धेरै अनुभव सँगाल्नुभएको छ । उहाँ आफ्नो योगदानबापत् राष्ट्रिय स्तरका अनगन्ती सङ्घसंस्थाहरूबाट सम्मानित र अभिनन्दित हुनुहुन्छ । बाल्यकालदेखि नै आफूलाई बालसाहित्यले आकर्षित गरेको बताउने पराजुली बुढेसकालमा पनि बालबाकिाका लागि अझै लेख्दै हुनुहुन्छ । आगामी वर्ष आफ्नो पचहत्तरौँ शुभ जन्मोत्सवमा आफ्नो आत्मकथा प्रकाशन गर्ने तयारीमा उहाँ अचेल व्यस्त हुनुहुन्छ । हाम्रा बालबालिका साथीहरूका लागि उहाँको बाल्यकाल प्रेरणादायी हुने विश्वासका साथ प्रकाशोन्मुख आत्मकथा ‘शिखरयात्रा’मा आधारित भई उहाँको बाल्यकालका सम्झनाहरू यहाँ प्रस्तुत गरिएको छ ।

Tuesday, March 19, 2013

रेडियो : मेरो साहित्यको जग


प्रमोद प्रधान (२०१५, विराटनगर, मोरङ्) एक वरिष्ठ साहित्यकार तथा पत्रकार हुनुहुन्छ । उहाँले विशेष गरी बालसाहित्यको क्षेत्रमा धेरै लामो समयसम्म काम गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)का अवकाशप्राप्त प्रधान सम्पादक प्रधानले पत्रकारिताको प्रशिक्षणका क्रममा नेपालका धेरै जिल्लाहरू घुम्नुभएको छ । ‘कान समात् कान’ (२०५३), ‘सधैँभरि लुकामारी’ र ‘कानाकाना कुर्र’ (२०६२) उहाँका बालकवितासङ्ग्रहहरू हुन् । साथै उहाँले बालबालिकाका लागि भनेरै ‘माहुरी र गड्यौला’ (२०६४)नामक कथासङ्ग्रह अनुवाद गर्नुभएको छ भने ‘रामोन म्यागासेसे पुरस्कार विजेता नेपालीहरू’ (२०६६)शीर्षकमा जीवनीसङ्ग्रह प्रकाशित गर्नुभएको छ । साथै उहाँले लेख्नुभएका ‘नेपाली बालसाहित्यको इतिहास’ (२०५७) र ‘नेपाली बालवाङ्मय परिचयकोश’ (२०६५) नामका पुस्तकहरू बालसाहित्यबारे बुझ्न महत्वपूर्ण छन् । यससमेत उहाँका एक दर्जन कृतिहरू प्रकाशित छन् भने आधा दर्जनभन्दा बढी पुस्तकहरूको सम्पादन गर्नुभएको छ । साथै, उहाँ थप सात पुस्तकहरू प्रकाशन गर्ने तयारीमा हुनुहुन्छ । नेपाल बालसाहित्य समाज लगायत विभिन्न संस्थाहरूमा आबद्ध प्रधानले साहित्य र पत्रकारिताका क्षेत्रमा एक दर्जनभन्दा बढी पुरस्कारहरू पाइसक्नुभएको छ । स्थायी निवास विराटनगर भए पनि उहाँ हाल काठमाडौँको मालीगाउँमा बस्नुहुन्छ । बालसाहित्यका लागि आजसम्म सक्रिय प्रमोद प्रधानका बाल्यकालको संस्मरण यस पालीको ‘बाल्यकालका कुरा’मा प्रकाशन गरिएको छ ।

Saturday, March 16, 2013

बोली नफुट्दै पढाइ सुरु भो




पूर्णप्रकाश नेपाल ‘यात्री’ (वि.सं. १९९१, भोजपुर) नेपाली साहित्यका एक विशिष्ट विद्वान् हुनुहुन्छ । सम्पूर्ण नेपाल भ्रमण गर्ने अभियानमा निस्किएका बेला उहाँलाई योगी नरहरिनाथले ‘यात्री’को विशेष परिचय दिनुभएको हो । उहाँ साहित्यका अतिरिक्त भाषा, संस्कृति, इतिहास, मानवशाास्त्र र समालोचनाको क्षेत्रमा पनि आफ्नो योगदानका लागि सुप्रसिद्ध हुनुहुन्छ । नेपाली भाषाका प्रकाशित महाकाव्यहरूमध्ये हालसम्मको सबभन्दा ठूलो मानिने ‘सिजापतीबाला’का रचनाकार पनि उहाँ नै हुनुहुन्छ । नेपालका विभिन्न १६ विषय समेटेर उहाँले ‘इन्साइक्लोपेडिया अफ नेपाल’ तयार पार्नुभए पनि प्रकाशन हुन भने सकेन । यसबाहेक उहाँका विविध अनगन्ती कृतिहरू प्रकाशित छन् भने दर्जनौँ कृतिहरूको सहलेखन पनि गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक यात्री दर्जनौ साहित्यिक तथा सामाजिक सङ्घसंस्थाहरूसँग आबद्ध हुनुहुन्छ । उहाँले साहित्यको क्षेत्रमा पाएका पुरस्कारहरूको सूचि पनि लामो नै छ । नेपाली साहित्यको सेवामा अनवरत सक्रिय यात्रीका बाल्यकालका तितामिठा सम्झनाहरू यसपालिको ‘बालककालका कुरा’मा प्रस्तुत गरिएको छ । 

Sunday, February 17, 2013

सम्पन्नताले पारेको अप्ठेरो

नेपाली र अङ्ग्रेजी भाषाबिच तुलना गर्दा धेरैले नछुटाउने एउटा कुरा के हो भने अङ्ग्रेजीमा दोस्रो पुरुषलाई सम्बोधन गर्ने शब्द एउटा मात्रै ‘यु’ छ भने नेपालीमा आदरका तह अनुसार भिन्न रूप छन् । धेरैले यसलाई नेपाली भाषाको सम्पन्नता (रिचनेस)को एक पक्ष मान्छन् । हुन पनि हो, “तँ यता आइज” र “तपाईँ यता आउनुहोस्”बिचको फरक अङ्ग्रेजी समानार्थी वाक्य “क्यान यु प्लिज कम हियर”मा सायदै भेटिन्छ । तर यही सम्पन्नता कहिलेकाँहि समस्या हुने रहेछ । 

Saturday, February 16, 2013

त्यागिएको योजनाका बाबजुत लेखिएको यो संस्मरण


समर्पण उहाँलाई नै
अब मनस्थिति नै यस्तो बनेको छ कि प्रत्येक यात्रा संस्मरणमा म उहाँलाई नै सम्झन पुग्छु । उहाँ अर्थात्, रुबिना (श्रेष्ठ) दिदी । परार लमजुङ् सँगै जाँदा उहाँले “यात्रा संस्मरण लेख है, दिवाकर” भनेर उक्साएपछि प्रायः नयाँ ठाउँतिर जाँदाका एक दिनभन्दा लामा यात्रालाई सकेसम्म संस्मरण बनाउने गरेको छु । सायद् समय अभावले केही छुटे होलान् ।

मेरो फेसबुक स्ट्याटसमा सितिमिती कमेन्ट नगर्ने उहाँले मेरो कार्तिक २०को स्ट्याटस “जीवनको पहिलो उडानका लागि उत्साही — धनगढीतर्फ”मा “सुरक्षित उडान होस् । संस्मरण आउँछ पक्कै भन्ने लागेको छ” भनेर कमेन्ट गर्नुभो । हुन त मलाई यो यात्राको संस्मरण त्यति लामो र चाखपूर्ण हुने विश्वास नै थिएन, किनकि तुलनात्मक रूपले छोटो समयको यस यात्राका सहयात्री मसँग त्यति निकटका थिएनन् । रमेश भिनाजु (रमेशकुमार पौडेल, हिमराइट्स) मात्र मैले पहिल्यै चिनेका एक जना हुनुहुन्थ्यो । तर उहाँ पनि अलिक पाको उमेरकै भएकाले रमाइलोकै लागि भने म सामान्यभन्दा बढी उत्साहित थिइँन । त्यसैले संस्मरणको सोच आए पनि योजना त्यागिसकेको थिएँ । तर आंशिक रूपमा रुबिना दिदीको कमेन्टले र आंशिक रूपमा आफ्नै मन बदलिएकाले फेरि लेख्दै छु, यात्रा संस्मरण लायक भए पनि नभए पनि ।

Friday, December 23, 2011

‘पागल बस्ती’ पढेर सरुभक्तलाई भेट्दा


प्रतीक्षाको फल
गत वर्ष साउनमा लमजुङ् यात्राका क्रममा रुबिना (श्रेष्ठ) दिदीलाई नजिकबाट चिनेपछि उहाँसँग अनलाइन कुराकानीको क्रम बढ्दै गएको थियो । कुराकानीका क्रममा साहित्यका प्रसङ्ग आउने बित्तिकै उहाँ मलाई सरुभक्तको ‘पागल बस्ती’ पढ्न सिफारिस गर्नुहुन्थ्यो । “बरु किताब किन्न मन नलागे मैरै दिउँला, पढेर फिर्ता गर्नू”, एक दिन उहाँले भन्नुभयो । त्यसबिच मैले केही पटक उहाँसँग त्यो पुस्तक मागेँ । उहाँले सायद् त्योभन्दा धेरै पटक मेरा नाममा त्यो पुस्तक पठाउनुभो होला । तर मेरा हातमा उहाँको त्यो पुस्तक गत कार्तिक ७ गते मात्र आइपुग्यो, चेतना (तुलाचन)जी मार्फत् । (फिर्ता चै गरेको छैन है अझैसम्म पनि !)
‘पागल बस्ती’लाई मैले ‘पढ्न सिफारिस गरिएका पुस्तकहरू’को सूचीमा गत वर्ष नै राखेको थिएँ, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’सँगै । हुन त म पढ्न चाहेर पनि आजसम्म पढ्ने बानी विकास गर्न नसकेको मान्छे भन्छु आफूलाई । ‘जीवन काँडा कि फूल’लाई आफ्नै गतिमा पढिसकेर पर्ल एस् बक्को ‘द गुड अर्थ’ भ्याउँदासम्म भने मलाई मैले पढ्ने अर्को पुस्तक छान्न हतार भइसकेको थियो । यसबिचमै अनपेक्षित रूपमा ‘पागल बस्ती’ हात प-यो ।

Tuesday, November 22, 2011

‘एभरेस्ट विक्ली’का लागि गरिएको इन्टर्नसिप अनुभव

बिए तेस्रो वर्षको कार्यमूलक पत्र ‘नेपाली पत्रकारिता’ विषय अन्तर्गत गर्नुपर्ने प्रयोगात्मक अभ्यासका लागि साथीहरूबिच कार्य विभाजन गर्दा मैले हङ्कङ्बाट प्रकाशन हुने ‘एभरेस्ट विक्ली’ रोजेँ । यसका पछाडि मुख्यतः दुई कारणहरू थिए । प्रथमतः त्यो अन्तर्राष्ट्रिय स्तरको पत्रिका थियो । दोस्रो, म मेरा अन्य साथीका भन्दा फरक काम गर्न चाहान्थेँ, र यो प्रत्यक्ष समाचार लेखन नभई अनुवाद भएकाले अन्यको भन्दा फरक थियो । यसै कारण म घरमै काम गर्न सक्थेँ र यसलाई धेरैद्वारा सजिलो सोचिएको थियो ।

Wednesday, November 2, 2011

पुरा हुन नसकेको रहर

यस पालिको तिहार भर्खर सकियो । तर अबको एक वर्षसम्म म भने तिहार कहिले आउला भनेर कुरी बस्न बाध्य भएको छु । कारण, यो तिहारले ममा देउसीभैलोप्रतिको आकर्षणलाई पुनर्जीवन दिएको छ ।
देउसीभैलोमा मेरो सहभागिताका यादहरू सम्झनामा अझै स्पष्ट छन् । विसं २०५८भन्दा अगाडि हाम्रो परिवार काभ्रे, पात्लेखेतमा बस्थ्यो । हाम्रो गाउँतिर औँसी ÷ लक्ष्मीपुजाको साँझ र राति केटीहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भैली ÷ भैलो भनिन्थ्यो । त्यसको भोलिपल्टको साँझ र राति केटाहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भने देउसी भनिन्थ्यो । सहरबजारको जस्तो बाह्य गीतमा नाचगान प्रस्तुत हुँदैनथे । भैलोमा “भैलिनी आइन् आँगन” शैलीका केही गीतका साथमा एकले भट्याउँदा सबैले “भैलिनी” भन्ने प्रचलन थियो । देउसी भने जहिले र जहाँ पनि “ए, भन मेरा भाइ हो — देउसिरे”बाट सुरु भएर भट्याउनेले केही सदावहार र केही परिस्थितिजन्य पदावली भन्दा अरुले “देउसिरे” भनेर सकिन्थ्यो ।
त्यस प्रकारको देउसीमा म एक रात मज्जासँग सहभागी भएको छु । भाइटिकाको अघिल्लो साँझदेखि भाइटिकाको दिन बिहान करिब आठ बजेसम्म हामी चारपाँच जनाले मट्टितेलको भाँडोमा कपडाको झुम्रो बालेर वरिपरिका टोल चहारेका थियौँ । जे होस्, रमाइलो भएको थियो । त्यसभन्दा अगाडि, उमेर अझ सानै भएको अवस्थामा नजिकका दुईतिन साथीसँग आफ्नै टोलमा ख्यालख्यालमा देउसी खेलेको पनि अलिअलि याद छ ।